१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

भारतमा लुक्छन् अपराधी

दाङ- दाङको रामपुर काउलेका भरतराज बस्नेतको २०६१ भदौ ९ मा हत्या भयो। घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले हत्यारा समात्न सकेन। जिल्लाका सबै प्रहरी युनिटमा सञ्चार भयो। तर, हत्यारा फेला परेनन्। २०६१ मा भरतको हत्या गरी फरार काउलेका सुरजबहादुर आग्री (सुनार) ९ वर्षपछि गत साउनमा बल्ल समातिए। ९ वर्षसम्म भारतमा लुकेर घर फिरेका सुरजलाई प्रहरीले घरमै पुगेर हत्कडी लगायो।ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका घोराही– ८ बडहराका सञ्जय आले पनि दुई वर्षसम्म भारतमै लुकेर बसे। उनलाई घर आएको बेला प्रहरीले गत साउनमा समात्यो। यी दुई अभियुक्त अहिले कारगार चलान भएका छन्। अपराध गरेको लामो समयपछि पक्राउ पर्नेमध्येका यी दुई अभियुक्त उदाहरण मात्र हुन्। 
जिल्लामा हुने आपराधिक घटनामा संलग्न अधिकांश अभियुक्त तत्काल पक्राउ पर्दैनन्। प्रहरीको तथ्यांक अनुसार यो आर्थिक वर्षमा २० बढी अभियुक्त घटना भएको ६ महिनादेखि ९ वर्षपछि पक्राउ परेका छन्। 
यहाँ अपराध गर्ने अधिकांश अभियुक्त भारतमा गएर लुक्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ। खुला सीमा नाकाका कारण यहाँ अपराध गरेर फरार हुने अभियुक्त सजिलै भारत पुग्ने गरेका छन्। प्रहरीले तत्काल अपराधी पक्राउ पर्न नसक्नुको प्रमुख कारण खुला सीमा नाका रहेको जनाएको छ। जिल्लाको ८३ किलोमिटर क्षेत्र नेपाल भारत सीमा क्षेत्रमा पर्दछ। 
‘सीमा नाका प्रहरीका लागि मुख्य चुनौती बनेका छन्,' जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत रामप्रसाद घर्ती भन्छन्, ‘अधिकांश अपराधी यिनै नाकाबाट सजिलै भारत पुग्ने गर्छन्।' उनका अनुसार यहाँ अपराध गर्नेहरु अधिकांश यिनै खुला सीमा नाका भएर भारत उम्किने गरेका छन्। जिल्लामा यो आर्थिक वर्ष पक्राउ परेकामध्ये पनि अधिकांश भारतमै लुकीछिपी बसेको अनुसन्धानका क्रममा खुलेको घर्ती बताउँछन्। यी फरार अभियुक्त पनि खुला सीमा नाकाको प्रयोगबाटै भारतसम्म पुगेको प्रहरी दाबी गर्छ। चालु आर्थिक वर्षमा मात्रै दाङमा ४ सय ८५ आपराधिक घटना भएका छन्। यी घटनामा संलग्न ९८ जना अभियुक्त फरार छन्। यीमध्य केही जघन्य अपराधमा संलग्न छन् भने केही सामान्य अपराधमा संलग्न छन्। ‘यो आर्थिक वर्षमा पक्राउ परेका पनि धेरैजसो भारतमै लुकेर बसेको अनुसन्धानमा खुलेको छ,' घर्तीले भने, ‘हाल फरार कोही पनि जिल्लामा छैनन्।'
भारतसँग जोडिएका जिल्लाका २६ नाकामध्ये सातवटामा मात्रै प्रहरी छ। भारतसँग जोडिएको जिल्लाको ८३ किलोमिटर सीमाक्षेत्र सुरक्षाका लागि ४४ जनपथ प्रहरी ती क्षेत्रमा छन्। कूल नाकामध्ये कोइलावास, भैसाही, खंग्रा, चंगुवा, बेला, सिरिया र डग्मारा नाकामा मात्रै प्रहरी चौकी छन्। अन्य सबै नाका खुला छन्। प्रहरी युनिट भएका नाकामा पनि प्रहरी संख्या न्यूनमात्रै छ। 
अधिकांश नाका खुला रहेका कारण यहाँ अपराध गरेर फरार हुनेहरु भारतसम्म सजिलै पुग्ने गर्छन्। खुला सीमा नाकाको फाइदा लिएर भारत छिर्ने अभियुक्तहरु लामो समयसम्म भारतमा लुकिछिपी मजदुरी गरेर बस्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ। उनीहरु जिल्ला फर्केपछि मात्रै प्रहरीको नियन्त्रणमा आउने गर्छन्। ‘भारत हुँदासम्म उनीहरु निस्पि्कक्री भएर बस्छन् तर घर फर्किएपछि प्रहरीको नियन्त्रणमा आउँछन्,' घर्तीले भने। उनका अनुसार कतिपय अभियुक्त सजाय सकिएको अनुमान गरेर घर फर्कने गरेको समेत पाइएको छ। आफूलाई मुद्दा लगाएका प्रहरी सरुवा हुने भएकाले पनि नयाँ प्रहरीले आफूलाई नचिन्ने भन्दै घर फर्किएका अभियुक्तलाई समातिएको अनुभव पनि प्रहरीसँग छ।
विभिन्न आपराधिक घटनामा संलग्न फरार अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले छुट्टै विशेष टोली बनाएको छ। पाँचजना सम्मिलित यो टोलीले अभियुक्तको पहिचान, उनीहरु लुकिछिपी बसेको स्थानको पहिचान गरी नियन्त्रणमा लिने गरेको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए। ‘फरार अभियुक्तको खोजीका लागि पनि यो टोली बनाएका हौं,' खत्रीले भने, ‘यो टोलीले अपराधीको निगरानी गरिरहेको हुन्छ।'
आपराधिक घटना बढे
अपराध न्यून गर्न प्रहरीले विभिन्न नयाँ नयाँ रणनीतिक योजना ल्याए पनि जिल्लामा आपराधिक घटना घटेको देखिँदैन। प्रहरीको तथ्यांकअनुसार यो आर्थिक वर्षमा गत वर्षको भन्दा बढी आपराध भएका छन्। जिप्रकाका अनुसन्धान अधिकृत रामप्रसाद घर्तीका अनुसार बर्सेनि आपराधिक घटना बढेको बढ्यै छन्। गएको वर्ष जिल्लामा ४ सय ६८ वटा आपराधिक घटना उल्लेख भएको प्रहरी तथ्यांकमा चालु आर्थिक वर्षमा ४ सय ८५ घटना दर्ता भइसकेका छन्। 
‘घटनाको संख्यालाई हेर्ने हो भने बढेको देखिन्छ,' घर्तीले भने। तर, आपराधिक घटना बाहिर आउने क्रम बढेका कारण पनि संख्यामा वृद्धि भएको हुनसक्ने प्रहरी अनुमान छ। ‘अघिल्ला वर्षमा आपराधिक घटनाबारे सर्वसाधारणले प्रहरीलाई जानकारी दिन डराउने भएका कारण पनि कम भएको हुन सक्छ,' घर्तीले भने, ‘अहिले सर्वसाधारणबाट सूचना बढी आउने गरेको छ।' यद्यपि अभियुक्तकै धम्कीका कारण सबैजसो घटना पीडित पक्षबाट बाहिर आउन नसक्ने प्रहरी बताउँछ। प्रहरीलाई जानकारी गराए ज्यान मार्नेसम्मको धम्की दिने अभियुक्तका कारण पनि सूचना लुक्ने गरेको अनुसन्धान अधिकृत घर्ती बताउँछन्।

प्रकाशित: ६ फाल्गुन २०७० ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App