पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो प्रेम पत्र त्यहीँ फालेर हिँडेँ। त्यो गुलाब स्वीकार नगरे पनि असाध्यै डर लाग्यो। कसैले देखेको पो थियो कि, कसले केही भनिहाल्छ कि? जस्ता कुरा मनमा खेलिरहे। त्यो केटोले के ठान्यो होला भन्ने मनमा पछिसम्म परिरहेको थियो।
केकी अधिकारी/अभिनेत्री
अशिष्मा नकर्मी, अभिनेत्री
पहिलो प्रेमपत्र : मैले नौ कक्षामा छँदा पहिलो प्रेमपत्र पाएकी थिएँ। साथीमार्फत चिठी आएको थियो। साँझतिर घरमा बसिरहेकी थिएँ, साथीले 'ला, तँलाईं दिनू भन्या छ' भन्दै एउटा मोटो डायरी थमाइन्। खोलेर हेरेँ, डायरीमा सायरी, कविता, उपदेश आदि लेखिएका थिए। त्यसमा दुई पेजजतिको चिठी पनि च्यापिएको रहेछ। स्कुलकै एउटा केटाले 'तिमी साहै्र मन पर्छ, आई लभ यू' आदि लेखेर पठाएको थियो। त्यो चिठी हेरेपछि मलाई स्कुल जानै लाज लाग्यो। स्कुलमा त्यसको अगाडि कसरी मुख देखाउँला भनेर पिर पर्योो। तर, त्योभन्दा ठूलो समस्या चाहिँ घरमै आइलाग्यो। साँझ दिदीले मेरो सिरानमुनि लभलेटर फेला पार्नुभएछ। 'त्यो केटालाई के गर्नुपर्छ मैले जान्या छु' भन्दै उहाँ गर्जिनुभयो। म डरले क्वाँक्वाँ रोएँ। किन लभलेटर पाएछु भनेर ग्लानि भयो। त्यो लभलेटर ध्यारधुर पार्दै दिदीले 'तँ चाहिँ किन रोएकी?' भनेपछि पो झस्किएँ।
सुनिता दुलाल, गायिका
पहिलो नजर : खै के जाति गल्ती गरेकाले सरले मलाई मुर्गा बनाउनुभएको थियो। म ढोकाको सीधा अगाडिपट्टि कुप्रिएर बसेको थिएँ। 'मे आई कम इन, सर' भनेको महिला आवाज सुनेँ। मुन्टो उठाएर यसो हेर्छु त क्या राम्री केटी उभिरहेकी! म उनलाई हेरेको हेर्यैआ भएछु। मुर्गा बनिरहेको मान्छे टाउको ठड्याएर बसेको देखेपछि सरले लात्तिले भुक्क हान्नुभयो। उनी खितित्त हाँसिन्। हाँस्दा गालामा डिम्पल पर्दो रहेछ। त्यो देखेपछि म झन् लोभिएँ। ऊजस्ती राम्री केटि संसारमै छैन जस्तो लाग्यो। उनलाई सम्भि्कनतिर लागेर मैले आफ्नो हालत बिर्सिएछु। क्लास सकिएपछि उठ्दा पो याद आयो– म मुर्गा बनेको उनले पनि देखिन्। त्यसपछि भयंकर लाज लाग्यो।
यस कुमार, गायक
पहिलो साँझ : त्यतिबेला म ८ र उनी ६ कक्षामा पढ्थ्यौँ। त्यतिबैलेदेखि हामी प्रेमी–प्रेमिका बनिसकेका थियौँ। हामी धान, मकैजस्ता बाली लगाएको बारीमा लुकीलुकी भेट्थ्यौँ। त्यतिबेला फोनको सुविधा त्यति नभएकाले हाम्रो कुरा साट्ने माध्यम चिठी वा भेटघाट नै हुन्थ्यो। त्यसै वर्ष पाल्पाको रामपुरस्थित हाम्रै गाउँको राम्चेवनको डाँडामा भेट्न जाने योजना बन्यो। दिउँसो हामी त्यहाँ पुगेर गफगाफ सुरु गर्यौँ । हाम्रो त्यो मिठासपूर्ण गफ साँझ पर्दा पनि सकिएन। मन नभई–नभई छुट्नुपर्यो त्यो साँझमा। पहिलो साँझका रूपमा म त्यसैलाई सम्झन्छु। साँझ ढिला घर पुग्दा हामी दुवै जनाले गाली खाएका थियौँ। शारीरिक वा अन्य कुनै आकर्षणबिना नै त्यो साँझ बित्यो। अहिलेको जस्तो समय भएको भए त्यो साँझमा के हुन्थ्यो वा के गरिन्थ्यो, त्यो त सबैलाई थाहा भएकै कुरो हो। बरु मैले त्यो भेटमा ‘मैले हलो जोते तिम्ले कोदालो खन्ने’ भन्दा उनले त्यसमा सही थापेकी थिइन्। उनैसँगको त्यही अञ्जान प्रेमले केही वर्षपछि बिहेको रूप लियो।
बद्री पंगेनी, गायक
पहिलो कल : २०५९ सालको कुरो हो। ब्रिटिस काउन्सिलको सेमिनारमा उनीसँग भेट भएको थियो। त्यहाँ फोन नम्बर साटासाट भएको थियो। हाम्रो घरनजिकै भए पनि चिनजान भने थिएन। त्यतिबेला म आफूलाई ‘स्मार्ट’ ठान्थेँ। भेटिएका जति प्रायः केटीलाई बाल दिन्नथँे। त्यो भेटको एक हप्तापछि फोन आयो। उनले आफ्नो परिचय दिँदै ‘आई लाइक यू’ भनिन्। त्यो कुरा सामान्य ठानेर मैले कुनै पनि प्रतिक्रिया दिइनँ। फेरि उनले ‘आई लभ यू’ पनि भनेपछि मैले जोक गरेको ठानेँ। उनले ‘यस्तो कुरामा पनि जोक गरिन्छ? सिरियस्ली नै हो’ भन्न थालेपछि मैले पनि केही सोच्न बाध्य भएँ। भेटेरै कुरा गर्ने भनेर करिब १० मिनेटपछि फोन काटियो।
सुनील रावल, निर्माता
पहिलो एसएमएस : आजभन्दा सात वर्षअघि र्यानडिसन क्यासिनोमा डान्स पार्टी थियो। त्यहाँकै एक जना स्टाफ मेरो डान्सबाट अत्यन्तै प्रभावित भइन्। उनले मतिर आँखै नझिम्काएर हेरिरहिन्। केही घण्टासम्म हेराहेर निकै चल्यो। उनले मसँग बोल्न खोजेजस्तो गरिन् तर आँट गर्न नसके जस्तो लाग्यो। मलाई पनि उनी साह्रै राम्री लागिन्। मैले एक जना भाइमार्फत उनको मोबाइल नम्बर मागिहालेँ। नम्बर साटासाट भए पनि केही दिन फोन भने भएन। त्यसको ११ दिनपछि उनले एउटा एसएमएस गरिन्। उनले लेखेकी थिइन्, 'कहाँ हो? के गर्दै हो? खाजा भयो?' उनको त्यो एसएमएसले मनमा मायाको पालुवा पलायो। आधा घण्टाजति लगातार एसएमएसमै कुरा भयो।
रोहित रुम्बा, अभिनेता
प्रकाशित: २ फाल्गुन २०७० ००:५८ शुक्रबार





