११ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

'हिरो बन्न कम्ती धैर्य गरिएन!'

हिरो बन्ने सपना देख्न थालेको झन्डै २० वर्षपछि श्याम अर्याल सफल भएका छन्। उनले हिरोका रूपमा 'हिरो'कै भूमिकामा अभिनय गरेको फिल्म 'प्रोड्युसर' अर्को हप्ता रिलिज हुँदै छ। रंगकर्मी, मोडल, आरजे र भिजेका रूपमा भने उनी परिचित छन्। पचासभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका उनका रेडियो कार्यक्रम 'मेची महाकाली' राम्रो सुनिने कार्यक्रममध्ये पर्छ। श्यामसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः'हिरो बन्न कम्ती धैर्य गरिएन!'
हिरो बन्ने पुरानो सपना पूरा भएको छ। कस्तो अनुभूति भइरहेको छ?
म स्याङ्जाबाट पोखरा, पोखराबाट काठमाडौँ हिरो बन्ने सपनाका साथ हेलिएको थिएँ। हिरो बन्ने सपना देखेको लगभग दुई दशकपछि साकार भएको छ। त्यसैले खुसी त लाग्ने नै भयो। फिल्म रिलिजको मिति नजिकिँदै गर्दा मनमा डर मिसिएको उत्साह तरंगित भइरहेको छ। 
हिरो बन्नकै लागि शहर पसेको तपाईंले फिल्ममा पनि 'हिरो' भूमिकामा अभिनय गर्न पाउनुभयो। यो मिलाइएको हो कि संयोग हो?
मेरा लागि यो गजबकै संयोग हो। अरू फिल्मबाहिरबाट हेर्दा हिरो भए पनि फिल्मको कथामा समाजकै अरू पात्रका रूपमा अभिनय गरिरहेका छन्। तर, मैले संयोगले यस्तो फिल्म पाएँ कि फिल्मबाहिरबाट हेर्दा त हिरो भइहालेँ, फिल्मभित्र पनि मेरो भागमा हिरोकै भूमिका पर्योस।
हिरो बन्न तपाईंले वास्तविक जीवनमा भोगेका यथार्थसँग फिल्मको त्यो हिरोको कति अंश मिल्छ?
धेरै नै मिल्छ। ठ्याक्कै मेरै चाहिँ होइन।
हिरो बन्न रहर गरेको ठ्याक्कै कति वर्ष भयो?
स्याङ्जाबाट क्लेज पढ्न पोखरा झर्दा पनि दिमागमा 'कलाकार बन्न पाए' भन्ने थियो। झन्डै २० वर्ष भयो। २०५१ सालमा पोखरामा इन्टरमिडियट पढ्दै गर्दा हिरो बन्ने उपक्रममा लागिसकेको थिएँ। त्यतिबेलै नाटक 'लस्केका पाइला'मामा अभिनय गरेर कलाक्षेत्रमा प्रवेश गरेको हुँ।
रंगमञ्चमा कति समय अभिनय गर्नुभयो?
०५१ देखि ०५९ सालसम्म नाटकतिरै थिएँ। मोहनसिंह खड्कासँग रंगमञ्च र रेडियो नाटक गरियो। यहीबिचमा अनुप दाइ (अनुप बराल)सँग केही नाटक गरेँ। 
अनुप बरालसँग कसरी भेट भयो?
उहाँ मेरा आफ्नै भान्दाइ हो। तर, उहाँलाई म नाटकमा अभिनय गर्छु भनेको थिइनँ। मैले अर्कै ग्रुपबाट पोखरा सभागृहमा 'तुवाँलो' भन्ने नाटक गर्दा उहाँले पनि हेर्नुभएछ। त्यसपछि भन्नुभयो, 'भाइ, तिमी पनि नाटक गर्दा रहेछौ।' त्यसपछि दाइसँग 'मलामी' भन्ने नाटक गरेँ। उहाँसँगै अभिनय सिकेर केही समय काम पनि गरेँ। त्यसपछि पोखरामा एफएम खुल्यो। प्रकाश साय्मी दाइ स्टेसन म्यानेजर हुनुहुन्थ्यो। 'रेडियोमा बोल्छौ भाइ?' भन्नुभयो। त्यसपछि रेडियोतिर लागेँ। नेपाल टेलिभिजनका लागि पोखरा डटकम भन्ने कार्यक्रम पनि गर्न थालेँ।
मिडियामा आएपछि हिरो बन्ने सपना थाती रह्यो?
कामै नभएको भए प्रयास गरिन्थ्यो होला। पछि बिजी भइयो। पोखरामा सुमन पहारी, राजु गिरी र मेरो प्रोडक्सन हाउस पनि थियो। हामी म्युजिक भिडियो र डकुमेन्ट्री बनाउने, निर्देशन र अभिनय गर्ने काम पनि गर्थ्याैं।
काठमाडौँ चाहिँ कहिले आउनुभएको हो?
पोखरामा राम्रै प्रगति भइरहेको थियो। त्यसैले काठमाडौँ आउने योजना र रहर दुवै थिएन। काठमाडौँमा इमेज एफएमले नियमित प्रसारण थालेपछि भरत शाक्य दाइले फोन गरेर 'भाइ काठमाडौँ आउने हो?' भन्नुभयो। त्यतिबेला के सम्झेर 'आउँछु' भनिदिएँ। पछि पो 'यता यस्तो राम्रो भइराछ, दाइलाई किन आउँछु भनेँ होला' भन्ने भयो। उहाँलाई दिएको वचन हार्न सकिनँ, काठमाडौँ आएँ।
इमेज एफएममा 'मेची महाकाली' चलाउन थालेको कति भयो?
छ वर्ष भयो। 
एक दिनमा कति जना कलरसँग कुरा हुन्छ?
कम्तीमा १० जनासँग। 
यो अवधिका तपाईंका त्यो कार्यक्रममा सहभागिता जनाउने सबैले फिल्म हेरिदिए पनि हिट हुने भयो?
मेरो त्यो कार्यक्रम सुन्ने दुई प्रतिशतले मात्रै हेरिदिए पनि मेरो फिल्म हिट हुन्छ। कार्यक्रममा फोन गर्नेमध्ये धेरै जनाले भन्नुहुन्थ्यो, 'म्युजिक भिडियोमा त्यति राम्रो देखिनुहुन्छ, फिल्म पनि खेल्नुस् न।' मैले फिल्म खेलेँ, हेर्नुहुन्छ होला।
काठमाडौँ आएपछि हिरो बन्न के–के गर्नुभयो?
काम देखाउँछु भनेर धेरै फिल्ममा सानातिना रोल गरेँ। एउटा फिल्ममा सानो रोलमा पनि राम्रोसँग काम देखाउँछु भन्दा खुट्टा भाँचियो। मेरो काम देखेर अर्को निर्देशकलाई सिफारिस पनि गरे, तर आफँैले बनाउने फिल्ममा हिरोकै रूपमा लिएनन्। सानोतिनो रोल, टेलिसिरियल, म्युजिक भिडियो र टीभी कार्यक्रम गर्दै 'एक दिन हिरो बन्छु' भन्ने सपना पालिरहेँ। 
हिरो बन्न धेरै लामो समय धैर्य गर्नुभएछ!
सायद मेरो जति लामो समय धैर्य गर्ने र अहिलेसम्म प्रयास गरिरहने मान्छे नै छैन होला। 
तपाईंलाई शारीरिक बनोटले पनि साथ दिएको छ, हगि? 
मभन्दा पछिका साथीहरू पाका देखिन थालिसके। तर, मलाई चाहिँ दाह्री पालिनँ भने फुच्चे देखिने भएर फिल्म र म्युजिक भिडियो खेल्दा काट्न पाइन्न। 
फिल्म 'प्रोड्युसर'का निर्माताले चाहिँ तपाईंलाई कसरी पत्याए?
फिल्मका निर्देशक जनकदीप पराजुलीसँग चार वटाजति म्युजिक भिडियोमा काम गरिसकेको थिएँ। प्रस्तुतकर्ता ज्योतिराज राईको 'साइनो कस्तो–कस्तो' भन्ने सिरियलमा पनि काम गरेको थिएँ। फिल्म बनाउने केशव अधिकारी मेरो असाध्यै शुभचिन्तक, मैले हरेश खाँदा पनि ढाडस दिने मान्छे र राजकुमार राई दाइको टिमले फिल्म बनाउने भएपछि मलाई अवसर जुर्योक।

प्रकाशित: १० माघ २०७० ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App