११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

रुचाइयो 'झोले'को गीत

फिल्म निर्देशक दीपेन्द्र के खनाल दर्शकलाई नयाँ स्वाद चखाउन चाहन्छन्। फिल्म 'धर्मा'मा मनीषा कोइरालालाई अभिनय गराएर, 'चपली हाइट'मा यौन र अपराधको विषयलाई फरक तरिकाले प्रस्तुत गरेरमात्रै होइन, नेपालमै पहिलो पटक थ्रीडी प्रविधि भित्र्याएर उनले आफूलाई फरक निर्देशक ठहराइसकेका छन्। यसपटक उनले फिल्म 'झोले'मा अर्को फरक तरिकालाई अँगालेर चुनौती लिएका छन्। त्यो हो, 'कमेडी तथा क्यारेक्टर अभिनेता'का रूपमा रुचाइएका दयाहाङ राईलाई सदा हिरोइनका रूपमा देखिएकी सुन्दरी प्रियंका कार्कीसँगै हिरो बनाएका छन्। 
डार्क कमेडी फिल्ममा प्रियंकासँग 'झोले'का रूपमा प्रस्तुत भएका दयाहाङले देखेको सपना पूरा भएपछि दीपेन्द्र पनि उत्साहित भएका छन्। किनभने, फिल्ममा एउटा सामान्य युवाले देख्ने सपनाका रूपमा देखाइएको गीत 'तिमी नै मेरो' सार्वजनिक गरेको छोटो समयमै साढे तीन लाखभन्दा बढीले हेरिसकेका छन्। अधिकांशले उनलाई कमेन्ट गरेका छन्, 'प्रियंकासँग नचाउने नै भएपछि गठिलो ज्यान र चकलेटी अनुहार भएको हिरोलाई लिएको भए राम्रो हुन्थ्यो। दयाहाङ अलि सुहाएनन्।' दीपेन्द्र भन्छन्, ''झोले' औसत शारीरिक सुन्दरता भएका आम युवाको प्रतिनिधि हो। सबै युवाले पैसा कमाउने र राम्री युवतीसँग घरजम गर्ने सपना देख्छन्।' फिल्मको कथाअनुसार सही पात्र दयाहाङ नै भएकाले यो निकै सुन्दर 'कम्बिनेसन' भएको उनी बताउँछन्।
फिल्म हेर्न गीतले दर्शक तान्ने भएकाले फिल्म हिट हुने संकेत देखिएको निर्माता टेकेन खड्काले बताए। फिल्म फागुन ९ गतेदेखि देशभर रिलिज हुनेछ।

प्रकाशित: ९ माघ २०७० २२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App