४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

डिआइजी नेतृत्वमा उच्चस्तरीय छानबिन समिति

काठमाडौं- सरकारले गोरखा, फुजेलका कृष्ण अधिकारी हत्याको विषयमा छानबिन गर्न डिआइजीको नेतृत्वमा चारसदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। डिआइजी गणेशराज राईको संयोजकत्वमा बिहीबार छानबिन समिति गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिÈद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले बताए।समितिको गठनपश्चात बास्कोटा नेतृत्वमा वीर अस्पताल पुगेको टोलीले छोरा कृष्ण अधिकारीको हत्यारालाई कारबाही माग गर्दै लामो समयदेखि अनसन बस्दै आएका नन्दप्रसाद र गंगामायालाई अनशन तोड्न आग्रह गरेका थिए। तर उनीहरुले दोषी नपक्रेसम्म अनशन नतोड्ने बताए।
लामो समयदेखि अनशन बसेका दम्पतीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि दम्पतीको रक्षाका लागि अधिकारकर्मीले सरकारलाई माग पूरा गर्न दबाब दिँदै आइरहेका छन्। 
गोरखा, फुजेलका १७ वर्षीय कृष्ण अधिकारीलाई चितवनको रत्ननगर नगरपालिका–१, बकुल्लहरबाट तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले अपहरण गरी २०६१ जेठमा गोली हानी हत्या गरेका थिए। हत्यारालाई कारबाही गर्नुपर्ने प्रमुख माग अधिकारी दम्पतीको छ। किटानी जायरी दिँदा पनि अभियुक्तलाई गिरफ्तार नगरेपछि उनीहरु प्रधानमन्त्री भेट्न काठमाडौं छिरेका थिए। तत्कालीन प्रधानमन्त्री बाबुरामलाई भेट्नसमेत नदिइएपछि अधिकारी दम्पतीले प्रधानमन्त्री निवासअगाडि नै अनशन थालेका थिए। उनीहरुलाई सरकारले पहिलो पटक गत जेठ ३१ मा मानसिक अस्पताल लगेर भर्ना गराएको थियो।
अधिकारी हत्याको आरोपमा उनको परिवारले ११ जनाको नाममा किटानी जाहेरी दिएको थियो। सोही हत्यामा संलग्न रहेको भन्दै यसअघि प्रहरीले दुई जनालाई गिरफ्तार गरी प्रमाण नपुगेको भन्दै छाडेको थियो। 
यसैबीच नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पनि अस्पतालमा पुगेर अधिकारी दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
छोराको हत्यारालाई कारबाही माग गर्दै पछिल्लो ४० दिनदेखि अनशनमा बसेका गोरखा फुजेलका अधिकारी दम्पतीको स्वास्थ्य नाजुक बन्दै गएको छ। वीर अस्पतालका विशेष वार्डमा अनशनरत दम्पतीले सामान्य स्वास्थ्य जाँचसमेत अस्वीकार गरेकाले पूर्ण अवस्था भन्न कठिन भएको चिकित्सकहरुले बताएका छन्।
४० दिनदेखि केही नखाएका अधिकारी दम्पती बोल्न र उठ्नसमेत नसक्ने अवस्थामा छन्। उनीहरुले चिकित्सकलाई स्वास्थ्य अवस्था परीक्षणसमेत गर्न दिएका छैनन। 
अस्पतालका निर्देशक डा. बुलन्द थापाले उनीहरुले स्लाइन पानी चढाउन र रक्तचाप नाप्नसमेत नदिएको बताए। 'केही दिनदेखि स्लाइन पनि चढाउन कठिन भइरहेको छ,' डा. थापाले भने, 'ड्रिपसमेत थुतेर फालिदिन्छन्, उपचारमा समेत समस्या परिरहेको छ।' चिकित्सकहरुका अनुसार लामो समयदेखि खाना नखाएका कारण पाचनप्रक्रियामा समस्या आउँछ। खाना नखाएको अवस्थामा निरन्तर रुपमा स्लाइनसमेत दिन नसक्दा आकस्मिक बेहोस हुने र तत्काल महत्वपूर्ण अंगले काम गर्न छोड्न सक्छ।
अघिल्लो पटक अनशन बसेको समयपछि गिरफ्तार परेका प्रमुख अभियुक्तलाई समेत प्रमाण नपुगेको भन्दै चितवनका सरकारी वकिलले मुद्दा चलाउन नमानेपछि नन्दप्रसाद र श्रीमती गंगामाया पछिल्लो पटक कात्तिक ७ देखि अनशनमा बसेका थिए।
यसअघि पनि वीर अस्पतालमा लामो समय अनशन बसेका अधिकारी दम्पतीलाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले अभियुक्तलाई पक्रिएर कारबाही गर्ने बचन दिएका थिए। अभियुक्त रामप्रसाद अधिकारीको गिरफ्तारीपछि उनीहरुले अनशन तोडेका थिए। तर प्रहरीले भदौ २० मा पक्राउ गरेका रामप्रसादलाई दुई दिनमै छाडेको थियो।

प्रकाशित: २५ पुस २०७० २१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App