१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

मासु र मिलन

नेपालीहरूको ठूलो चाड दसैँ आयो। गरिबगुरुवादेखि सम्भ्रान्तसम्मले दसैँलाई खानपिन, मनोरञ्जन र भेटघाटले रमाइलो बनाउने गरेका छन्। खर्च गच्छेअनुसार गरिएलान्। हरेक सालझैँ यसपालिको दसैँ पनि महँगो भएको छ। रेमिट्यान्सका कारण दूरदराजका गाउँलेका हातमा पनि दुईचार पैसा पर्न थालेका छन्। नेपालीहरूको खर्च गर्ने प्रवृत्ति बढेको छ। मिठो भनेकै मासु ठान्ने नेपालीको खाद्य संस्कृति छ। दसैँ त यसै पनि मासु पर्व! आफन्तसँग मिलन र पुनर्मिलन दसैँको अर्काे सुखद पक्ष हो। यसपालि दसैँ कसरी मनाउँदै छन् तन्नेरीहरू? सजना बरालले उनीहरूको 'फेस्टिभल मुड' छाम्ने कोसिस गरेकी छिन्।नयाँ लुगा किन्नेमामा घर जानेटीका लाउनेआशीर्वाद थाप्नेदक्षिणा बटुल्नेमासुभात खानेपिङ खेल्ने।

दसैँमा सबैले गर्दै आएका काम यिनै हुन्। हरेक साल उही 'सेलब्रेसनशैली! 'केही नयाँनौलोउपयोगी र रमाइलो कामकुरो गर्न पाए पो दसैँ दसैँ जस्तै हुन्छ,' भृकुटीमण्डपमा भेटिएको अम्बिका  पोखरेल भन्दै थिइन्, 'म त परम्परागत ढंगले दसैँ मनाउने मुडमा छैन। म त घुम्न जाने विचारमा छु।दसैँ बिदालाई पढ्नेघुम्नेफिल्म हेर्नेबाइक/स्कुटर हाँक्न सिक्ने काममा सदुपयोग गर्ने नयाँ चलन सुरु भएको छ। 'तरमासु चाहिँ टन्न खाइन्छ,' कपनकाठमाडौँकी १८ वर्षीया अम्बिकाले भनिन्, 'दसैँ भनेकै मासु हो।'

कीर्तिपुरमा बस्ने पोखराका शान्त क्षत्री पनि दसैँलाई मासुकै पर्व मान्छन्। एमएका विद्यार्थी उनी शाकाहारीले कसरी दसैँ मनाउँदा होलान्छक्क पर्छन्। 'शाकाहारीले त दसैँ नमाने पनि हुन्छ,' मासुप्रेमी शान्तले भने, 'आफू त मासु भनेपछि जहिले पनि हुरुक्कै। झन् दसैँमा त बिहानै मासुबेलकै मासु खाइन्छ। बाउले खसी पनि ठीक पारिसके। हाम्रो परिवारलाई त दुइटा खसी चाहिन्छदसैँका लागि।'     

०००

'म शुक्रवार पोेखरा जाँदै छु,' स्वयम्भूकी तृष्णा दवाडीले योजना सुनाइन्, 'लुगा किन्ने र दक्षिणाबापत मलाई दिने पैसा पहिले नै मागिसकेँ बाबासँग। त्यही पैसाले पोखरा घुम्ने प्लान छ। प्याराग्लाइडिङ गरेर फर्किन्छु।उनले साथीभाइसँग मिलेर यस्तो योजना बनाएकी हुन्। टीकाको पर्सिपल्टमात्रै काठमाडौँ फर्किने तृष्णाले यसपालिको दसैँ अविस्मरणीय हुने अनुमान गरेकी छन्। 'पोहोरतिर जहिल्यै घरमै बसिन्थ्यो,' उनले भनिन्, 'टीकाको दिन कुर्दाकुर्दा दिक्कै लाग्थ्यो। एकछिन ह्वार्र टीका लगायो। त्यसपछि सकियो दसैँ। रमाइलै हुन्थेन।पोखरा भ्रमणले दसैँमा रौनक थप्ने उनको विश्वास छ। मनमैजुबालाजुकी २० वर्षीया सम्झना आचार्य पनि यसपालिको दसैँमा घरमा हुँदिनन् रे। उनी काभ्रेस्थित साथीको घर जाँदै छिन्। भनिन्, 'आजै (सोमवार) हिँड्न लाग्या। उतै टीका लगाउँछु। आफ्नो घरमा त जन्मेदेखि नै टीका लगा'को हो। यसपालि साथीको घरमा दसैँको एक्स्पिरियन्स गर्नेछु।

हप्तादश दिन लामो बिदा यत्तिकै खेर फालिने भएकाले युवायुवतीले केही नयाँ अनुभव बटुल्न चाहेको बताए। दिनभरि हाई काढ्दै घरमा बस्नुभन्दा कतै घुम्न गए रमाइलो र रिफ्रेस भइने मोर्गन कलेजकी सञ्जु मगरको भनाइ छ। 'वर्षैभरि काम गरिन्छकलेज गइन्छ,' उनले भनिन्, 'घुमघाम गर्ने बेला भनेकै दसैँताका हो।तरउनले लक्ष्य गरेको घुमाइ ठाउँ विशेषमा भने होइन। दसैँ सांस्कृतिक पर्व भएकाले देशका विभिन्न धार्मिक तथा सांस्कृतिक रूपले महŒवपूर्ण स्थानको भ्रमण गर्नुपर्ने उनको भनाइ छ। 'गोरखा दरबारमनकामनामुक्तिनाथतिर जाँदा हुन्छ,' उनले सुझाइन्, 'घरमा जमरा राखेर  घुम्न निस्किने र टीकाको अघिल्लो दिन फर्किने। जमरा पनि उमि्रसक्छघुमेर पनि आइन्छ। दसैँ सेलब्रेसन र घुमघाम दुवै हुन्छ।

०००

दसैँका बेला आफ्नो ज्ञानभण्डार बढाउन चाहने युवायुवती पनि कम छैनन्। सामाखुसीकी २२ वर्षीया कल्पना तामाङ यसपालि दसैँभरि किताब पढ्ने सुरमा छिन्। 'दुई दिनमा एउटा नोभल सिध्याउँछु,' उनको लक्ष्य छ, 'बाह्र वटा किताब किनेकी छु। एक हप्तामा सबै पढेर सकाउनेछु।उनले नेपालीहिन्दी र अंग्रेजी आख्यान पढ्ने बताइन्। मनमोहन स्मृति कलेजका कमल पन्थीको ध्यान पनि पढाइतिरै छ। 'मंसिरमा आइएलटिएस टेस्ट दिँदै छु,' उनले भने, 'त्यसको लागि तयारी गर्नुछ। दसैँभरि अंग्रेजी भाषाका किताब पढ्छु। अंग्रेजी पत्रिका किन्छु। जे पनि अंग्रेजीमै गर्छु यसपालि।'  लमजुङकी देविका थापाले चाहिँ यो बिदामा थेसिस सकाइछाड्ने अठोट गरेकी छन्। 'अरू बेला अफिस जानुपर्छ,' नवजीवन स्कुलकी शिक्षिका उनले भनिन्, 'थेसिसलाई टाइम दिन पाइँदैन। यो बिदामा ढुक्कले लेखपढ गर्ने हो।

कल्पनाले एक दर्जन किताब किनेझैँ उनकी बहिनी चिनोले भने दुई दर्जन फिल्मका सिडी भेला पारेकी छन्। हिन्दीकोरियनथाई र अंग्रेजी फिल्मको राम्रो कलेक्सन छ उनीसँग। 'बिदामा पनि कोही पढ्छ?' उनले दिदीलाई व्यंग्य गरिन्, 'पढेर को ठूलो भ'को छ। आफू त दिनभरि फिल्म हेरिन्छ।लाजिम्पाटका पुष्कर सिंह पनि फिल्म हेर्ने ध्याउन्नमा छन्। 'इंग्लिस फिल्म घरमै हेर्छु। हिन्दी चाहिँ हलमै गएर हेर्न मन थियो। तरदसैँ सुरु भएपछि हल पो खुल्छखुल्दैन कुन्नि?' उनले भने। 

०००

केही  सिक्ने र सिकाउने वा नयाँ अनुभव हासिल गर्ने अवसर पनि बन्न थालेको छ यो पर्व। बसुन्धराका २० वर्षीय विनय श्रेष्ठ तिहारपछि बाइक किन्ने सोचमा छन्। तरबाइक किनेर मात्रै भएन। चलाउन जान्नुपर्‍यो। 'चलाउन त साइकलसमेत आउँदैन,' पूर्णिमा फाइनान्समा काम गर्ने उनले भने, 'काठमाडौँको सडकमा कसरी बाइक कुदाउने होलासम्भि्कँदै आङ सिरिङ्ङ हुन्छ। तरदसैँभरिमा जसरी भए पनि बाइक चलाउन सिकेरै छाड्छु।मामासँग सिकिमाग्ने उनको विचार छ। यो बेला रोड खाली हुने भएकाले मौकाको फाइदा उठाइहाल्ने पक्षमा छन् उनी। 

नयाँ बसपार्ककी कविता गुरुङ र बालाजुका मोहन भण्डारीका सीप सिक्ने योजना छन्। कविता यसपालि फुपूसँग मासुका अनेक परिकार बनाउन सिक्दै छिन्। मोहन भने आफ्ना ग्राफिक डिजाइनर दाइसँग डिजाइनिङका टिप्स लिँदै छन्। 'अरू बेला दाइ व्यस्त हुन्छ,' मोहनले भने, 'ऊ फुर्सदमा भएको बेला डिजाइनिङ सिकिहाल्ने दाउ छ मेरो।'

०००

दसैँ र मासु एकअर्काका पर्यायसरह छन्। दसैँ भनेकै मासु बुझ्ने चलन छ नेपालमा। टिनएजरको स्वादे जिब्रो त झन् मासु भनेपछि हुरुक्कै हुन्छ। 'हाम्रोतिर च्यांग्रा काटिन्छ,' सोलुखुम्बु स्थायी घर भएकी सोनम शेर्पाले भनिन्, 'च्यांग्राको मासुलाई झिरमा उनेर अगेनोमाथि सेकाएर सुकुटी बनाउने प्लान छ मेरो। दसैँपछि काठमाडौँ आउँदा लिएर आउँछु।लमजुङकी मनीषा घिमिरे पनि यसपालि आमाजू दिदीनन्द र बहिनीहरूसँग मिलेर मासु र कोल्ड ड्रिंक्स पार्टी गर्ने सुरमा छिन्। 'केटाहरू मात्रै मस्ती गर्छन्,' उनले भनिन्, 'यसपालि हामी आइमाई खलकले पनि रमाइलो गर्ने प्लान बनाएका छौँ।

दसैँ भेटघाटको पर्व होमिलनको पर्व हो। टाढाटाढा रहेका आफन्त र साथीभाइसँग भेट हुने हुँदा मन गद्गद् हुने सोनमले बताइन्। उनले यसपालिको दसैँ पूरै परिवारलाई समर्पित गरेकी छिन्। 'घरपरिवारसँगै रमाइलो गर्ने हो,' उनले भनिन्, 'अमेरिकाबाट दाजुभाउजू र भदाभदै आएका छन्। भदाभदै उतै जन्मिएका हुन्। तिनलाई नेपाली बोल्न सिकाउँछु।'

दसैँ बिदाको उपयोगिता बढेको छ। यो बेलामा जति लामो सरकारी बिदा वर्षैभरि पाइँदैन। त्यसैले पनि मानिसहरूले यसलाई आफ्ना व्यक्तिगत कामकाजमा उपयोग गर्छन्। प्रायः जागिरे युवायुवतीले दसैँबिदालाई घुमघाममा व्यतीत गर्ने बताए भने स्कुल र कलेज पढ्नेहरू घरपरिवारसँगै दसैँ मनाउने सोचमा छन्। 

पुर्ख्याैली घर जानेको लर्को लामो छ। 'म पाँच वर्षपछि गाउँ जाँदै छु,' स्याङ्जागल्याङकी चाँदनी पुनले भनिन्, 'बाजेबज्यैसँग भेट हुने भयो। खुसी लागेको छ।'

०००

दसैँका बेला गरिने पूजापाठसरसफाइकिनमेललगायत काम घरका मूलीले गर्ने गरेका छन्। ती कार्यमा छोराछोरीलाई सामेल गराउने चलन अहिले हराउँदै गएको छ। घरका लागि आवश्यक सामग्री ठूलाबडा आफैँ किन्छन्। टिनएजर छोराछोरीलाई 'आफैँ सपिङ गरभन्दै पैसा दिने चलन सुरु भएको छ। पूजापाठ गर्ने कार्यमा बालबच्चालाई कमैले सहभागी गराउँछन्। यी कार्यको अनुभव नभएकाले अहिलेका युवायुवतीले दसैँको धार्मिक पक्षबारे त्यति जानकारी पाएका छैनन्। सोह्र श्राद्ध कहिलेदेखि सुरु हुन्छनौरथामा के गरिन्छघटस्थापना भनेको के होफूलपातीका दिन के गर्नेअष्टमीनवमी र दशमीका विशेषता के हुन्दसैँलाई किन विजया दशमी भनिएको होजस्ता विषयमा धेरै युवा अनभिज्ञ छन्। दसैँको रितिथितिबारे जानकार नभएकाले पनि उनीहरू यो चाडलाई आफ्नै ढं्रगले मनोरञ्जनात्मक बनाउँछन्। 

'एक दिन त हुन्छ दसैँ,' ग्रिनल्यान्ड स्कुलकी आशिका खड्गीले भनिन्, 'खसी काट्ने दिनलाई के गन्नुटीका लगाउने दिन मात्रै त दसैँ हो नि।'  टीकाको अघिपछि के गरिन्छदसैँ कहिलेदेखि  सुरु हुन्छउनलाई पत्तो छैन। गजबको कुरा त के भने उनले अहिलेसम्म जमरा राखेको समेत देखेकी छैनन् रे। 'पनौतीमा बाले जमरा राख्नुहुन्छ,' उनले भनिन्, 'कसरी राख्नुुहुन्छथाहा छैन। हामी जाँदा पूजाकोठामा धान उमि्ररहेको हुन्छ। त्यही उखेलेर हामीलाई लगाइदिने  हो।जमरा किन लगाइन्छयो कुरा आशिकालाई मात्र होइनअधिकांश युवायुवतीलाई थाहा रहेनछ। मनमैजुकी सम्झनाको बुझाइ यस्तो छ– 'दुर्गा मातालाई वनस्पति मन पर्छ रे। उनले खोइ कुन राक्षसलाई मारेपछि पृथ्वीका मान्छेले टीका र जमरा लगाउन थालेका हुन्।

असत्यमाथि सत्यको जीत भएको खुसियालीमा दसैँ मनाउन थालिएको क्याम्पेन एकेडेमीकक्षा ११ का सञ्जय थापा मगरले बताए। 'पौराणिक कालमा नौ वटा देवीसँग एउटा दानवको युद्ध  परेको थियो रे,' उनी दसैँको किंवदन्ती आफ्नै हिसाबले सुनाउँदै थिए, 'खैके कुरामा झगडा गरेका हुन्त्यो चाहिँ मलाई थाहा भएन। जे होस्त्यो युद्धमा देवीहरूको जित भएको थियो रे। युद्ध १० दिनसम्म चलेको र त्यसमा देवीहरूको जीत भएकाले यसलाई विजया दशमी भनिएको हो।दसैँको धार्मिक पृष्ठभूमिबारे युवाहरूले जानेसुनेका कथा यस्तै छन्। स्कुलमा छँदा दसैँबारे रटेको एक पेजको निबन्ध कलेजसम्म पुग्दा दिमागबाट 'आउटभइसक्ने कक्षा १२ मा अध्ययनरत भूपेन्द्र क्षत्रीले बताए। 'घ त बिर्सिसकियो,' उदहारणसहित हाजिर भए उनी, 'दसैँको धार्मिक पक्ष कसरी सम्भि्कनु?'

प्रकाशित: २६ आश्विन २०७० ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App