६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

जनतान्त्रिकका सप्तरी कमान्डर पक्राउ

राजविराज- सप्तरी प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका सप्तरी कमान्डर मनीष भनिने मुनेश्वर मण्डल पक्राउ परेका छन्। मण्डल जिल्लाको दक्षिणी सीमावर्ती लालपट्टि गाविसबाट आइतबार राति पक्राउ परेका हुन्। 'संगठन सुदृढीकरणका लागि सीमावर्ती गाविसका युवालाई एकजुट पार्न भारतबाट नेपाल छिरेको विषेश सूचनाको आधारमा उनी पक्राउ परेका हुन्,' जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आमात्यले भने।४६ वर्षीय मण्डलविरुद्ध एउटा हत्या, चार अपहरण र एउटा बसमा आगजनी गरेको मुद्दा रहेको एसपी आमात्यले जानकारी दिए। २०६६ चैत ३१ गते राति छिमेकी २५ वर्षीय शैलेशकुमार मण्डलको गोली गोली हानी हत्या गरेको आरोप उनलाई लागेको छ। शैलेश मण्डलका अंगरक्षक थिए। उक्त हत्या घटनामा संलग्न अन्य फरारको खोजी भइरहेको एसपी आमात्यले जानकारी गराए। 
सप्तरी लौनिया–१ घर भएका मण्डल यसअघि जयकृष्ण गोइत नेतृत्व मोर्चाका एरिया कमान्डर थिए। पछि गोइत र ज्वाला छुट्टिएपछि उनी ज्वाला सिंह नेतृत्वको मोर्चामा समावेश भएका थिए। त्यतिबेलै मण्डललाई सप्तरी कमान्डरको जिम्मेवारी दिइएको थियो। 
मनीषका नामले भूमिगत जीवन बिताउँदै आएका मण्डल सैन्य कारबाही र सांगठन विस्तारमा पोख्त रहेको प्रहरीको भनाइ छ। केही महिनाअघि ज्वाला र गोइतबीच कार्यगत एकता हुँदा उनले संगठन विस्तारको जिम्मा पाएका थिए। 
उनी लामो समयदेखि भारतमै बस्दै आएका थिए। सप्तरीमा प्रहरी, प्रशासनको सक्रियता तथा सुरक्षाको वस्तुस्थित बुझ्न यता आएको प्रहरीको अनुमान छ। 
'मण्डलको बयानका आधारमा विद्रोहीहरूको आगामी रणनीतिबारे थुप्रै जानकारी प्राप्त हुने आशा छ,' उनले भनेे, 'यसबाट अन्य कार्यकर्तालाई समेत पक्राउ गर्न सहज हुनेछ।' 
मण्डलले भने तीन वर्षअघि नै ज्वाला सिंह नेतृत्वको मोर्चा परित्याग गरिसकेकेा दाबी गरेका छन्। आफू भगत सिंह नेतृत्वको मोर्चामा आबद्ध रहेको र मोर्चा २१ महिनाअघि नै हतियार बुझाएर वार्तामा आइसकेको उनको दाबी छ। 
भारतीय प्रहरीले आफूलाई भारतको बिहार राज्यअन्तर्गत निर्मली प्रखण्डस्थित हरियाही ग्राम पञ्चायतमा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको उनको भनाइ छ। 
प्रहरीले पछिल्लो साता मात्रै भूमिगत नेता जयकृष्ण गोइतका भान्से सप्तरी दुई नम्बर योगिनिया ९ का लालबाबु भनिने लालजी माझीलाई पक्राउ गरेको थियो। उनी प्रहरी नियन्त्रणमै छन्। लालजीकै बयानका आधारमा मण्डल पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७० १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App