६ वैशाख २०८१ बिहीबार
अन्य

कुरीकी सिर्जना

घुमफिर

कालिन्चोकका हिउँको कुरा गर्नेबित्तिकै त्यता जाऊँजाऊँ जस्तो लग्थ्यो । अग्लो ठाउँमा बसेर हिमाल हेर्ने रहर  सधैं थियो । अझ फेसबुकमा हिउँ परेको ‘लाइभ भिडियो’ हेर्दा त मनै फुरुङ्ङ हुन्थ्यो । त्यसैले फागुनको मध्यतिर कालिन्चोक जाने गाउँले भाइ रामप्रसाद सापकोटाको प्रस्ताव एकैपटकमा स्वीकारे ।  

यात्रामा मन मिल्ने साथीको  निकै महत्व हुन्छ । ‘अफर’ सुन्नेबित्तिकै  अन्य यात्रीको बारेमा सोधे ।  उनीहरू पनि  मन मिल्ने र परिपक्व थिए । अझ चालक  त सानैदेखिको साथीजस्तै थिए ।  लामो यात्रामा गाडी कुदाइरहने राजेन्द्रप्रसाद खतिवडा ।  

अनुभवी राजेन्द्र गाडी कुदाउँदै भक्तपुरको बाटो हुँदै धुलिखेलतर्फ हुइँकिए ।  उनको गाडीमा बजेका आधुनिक नेपाली गाना तथा पुराना हिन्दी गानाले यात्राको माहौल झनै रमाइलो बनायो । तीव्र गतिमा चलेको गाडीमा बज्ने सुमधुर संगीतमा मन रमाउन थाल्यो । 

टाउको दुखेको  बुझेलगत्तै उनले तातो चिया हातमा  दिँदै पानी उमालिन् । मगमा पानी भरेर रातो रुमाल दिँदै बाफ लिन भनिन् । बाफ लिएसंगै टाउको हल्का भयो । उनको नाम सिर्जना रहेछ । हातमा क्यामेरा थियो । तस्बिर मनले खिच्यो । मनमा गढेको त्यो तस्बिरअघि दर्शन गर्न नपाएको कालिन्चोक माताको  जस्तै थियो ।  

भर्खरै बनेको  चिल्ला सडकमा पाँचखाल, दोलालघाट हुँदै  खाँडीचौर पुग्दा बाटोको खूबै तारिफ गरियो । मुढे नपुग्दै त्यो रमाइलो पिच बाटोसंगै चुँडियो । पिच बन्ने तयारीमा रहेको  बाटोमा धुलो उडाउँदै गाडी चरिकोट लाग्दा बाइरोटको बाटोमा  भन्ने गीतको सम्झना आयो ।  

मुडेमा खाना खाँदै गर्दा आकारमा हल्का बादल देखियो । बादलले पानी पानीले हिउँ पर्ने हल्ला पहिल्यैदेखि सोचकै हो । कालिन्चोकमा हिउँ  होला र भनेर साहुलाई सोधे । पानी परे त पर्ला नि भन्ने जवाफले खुसी भए ।  

चरिकोट बजारबाट कुरीतर्फ लाग्दै गर्दा  गाडीले  उकालो तान्न सकेन । चरिकोट पुगेर सोरुममा देखाउँदा सामान नभएको  पसलेको जवाफले मन खिन्न बन्यो । तर, चालकले डराउनु पर्देन । उपया धेरै छ । यसले तान्न सकेन भने बलेरो भाडामा लिएर  भए पनि  लैजान्छु भन्दा मन खुसी भयो ।  

इन्जिन सेलाएपछि गाडीले पिकअप  लियो । बलेरो खोज्न परेन । बल गरेरै भए पनि गाडी उकालो उक्लदै कुरीको बाटोतिर अगाडि बढ्यो । सुन्दर दृश्य नियाल्दै मनमा कुरी सजाएर हामी कुरीतर्फ अगाडि बढ्यौ । कुरीको मुखनेरै पुगेर दृश्य नियाल्दा मन फुरुङ्ङ भयो । रंगीचंगी आकर्षक घरले सजिएको कुरी भिलेज  निकै  राम्रो देखियो । मन फुरुङ्ङ भयो ।  

कुरीमा दिउसो ३ बजेतिर पुगेका थियौ ।  पुगेकै दिन कालिन्चोक माताका दर्शन गर्नेकी भन्ने कुरा साथीभाइमाझ नचलेको होइन । होटलको कोठामा बसेपछि विचार बदलियो । बिहान खाली पेटमा देवीको दर्शन गर्ने सबैको सल्लाह भयो ।  

 दिउँसोदेखि नै आकाशमा बादल देखिन थाल्यो । बादलले पानी पर्छ, पानीले हिउँ पर्छ भन्ने जानकारी  थियो । त्यसैले बादल देख्दा मन खुसी हुन्थ्यो । तर, गुरुजीको अनुहार भने बादलले झनै कालो हुन्थ्यो । अनुभवी उनलाई थाहा थियो हिउँ परेपछि कुरीबाट गाडी उकालो लाग्न सक्दैन भन्ने ।  

नभन्दै  साँझतिरबाटै हल्का पानी पर्यो । पहिलो केही मसिना असिना खस्यो । त्यसपछि फुरफुर हिउँ झर्न थाल्यो । हिउँ परेको देखेपछि सबै रमाए  । तर, गुरुजी भने चूपचाप रहे । भुईमा हिउँको सेतो  बाक्लिदै जाँदा उनको अनुहार भने अँध्यारो देखियो । एउटै विषयले केहीलाई सुख र केहीलाई दुख देखाउने कुरा  यहाँ  ‘ब्याल्क एन्ड ह्वाइट’को रूपमा प्रष्ट थियो ।  

हिउँमा खेलेर  बेलुकाको खाना खाएपछि केही बेर ‘फायर क्याम्पमा’ सहभागी भइयो  । हिउँको चिसोमा आगोको राप निकै स्वादिलो थियो । चिसो र तातो बिचको त्यो द्वन्द्वले मन  रोमाञ्चित  बन्यो ।  

चिसो मौसममा न्यानो ओछयानमा निदाएको पत्तै भएन । बिहान आँखा खोल्दा त  आकाशभन्दा भुई उज्यालो देखियो । हिउँले ढाकेका डाँडाकाँडा दृश्य निकै भव्य  थियो । क्यामराले तस्बिर खिच्नुभन्दा पहिला मन भर्ने गरि  आँखाले मजासँग नियाले।  

हिउँको रमाइलोमा तस्बिर खिच्दै रमाउँदै गर्दा  समय कटेको पत्तै भएन । कारको टिकट काट्न झन्डै बिर्सेको ।  टिकट काट्न त खासै टाइम लागेन र तर घुमेको लामो लाइन यति ढिलो अगाडि बढ्यो कि त्यसले घन्टौ समय लिन थाल्यो । हिँड्दा ४५ मिनेटमा पुगिने कालिन्चोकको उकालो चढ्न अल्छी मानेका हामी  ३ घन्टा जति भुईकै लाइनमा चक्कर लगाइरह्यौ ।  

तर, दुर्भाग्य केवलकार चढ्ने ढोकाको मुखैमा पुग्दै गर्दा  हिउँका कारण एउटा डिब्बामा समस्या आएको भन्दै यात्रा असम्भव रहेको जानकारी मिल्यो । त्यसैले टिकट फिर्ता गर्न चाहनेले  फिर्ता गर्न आग्रह गरियो । चिसो हिउँमा घन्टौ उभिँदा नथाकेको शरीर  केवलकार नचल्ने सुनपेछि फत्रक्क गल्यो । गलेको शरीरले उकालो चढ्ने आँट के गर्न सक्थ्यो ?  

टिकट काट्नुअघि  हिउँमा रमाउनु हाम्रो गल्ती भएको अगुवा बलराम गजुरेल अंकलले सुनाउनुभयो ।  हिउँ त माथि पुगेर आउँदा पनि रहन्थ्यो नि भन्दै उनले आफ्नै गल्तीले देवीको दर्शन गर्न  छुटेको बताउँदा  मन खिन्न भयो । गजुरेल अंकलले कालिन्चोक माताको दर्शन गर्न नपाए पनि तस्बिर किन्न छुटाउनु भएन । तस्बिर बोकेर फर्कदै गर्दा उहाँको अनुहार पनि उदास थियो ।  गन्तव्य पुग्नुअघि नै धेरै रमाउँदा  सफलता छुट्न पुग्दो रहेछ भन्ने महसुस भयो । कुरीमा कुरीकुरी भइयो ।

निराश हामी होटलमा फर्कियौ । मन खिन्न हुँदा लेक लाग्दो रहेछ । टाउको भारी भयो । खुट्टा गल्न थाल्यो । खाना खान पनि मन लागेन । टिमुर पानी पिएर घर फर्कने सल्लाह भयो । कुरीको फेदीबाट घर फर्केने उकालो चढ्दै गर्दा फेरि कुरीलाई नियाल्न पुगे । शुक्रबार साँझ त्यहीँ ठाउँबाट हेर्दा कुरी सफा र सुन्दर थियो । शनिबार फर्कदा त्यहीँ ठाउँबाट तस्बिर खिच्दा हिउँको घुम्टोमा कुरी बेहुलीझैं सिंगारिएको देखिन्थ्यो ।  

गाडी डिलमा रोकेर राखिएको थियो । टाउको धेरै दुखेकाले चढ्नुअघि  चिया खाने सल्लाह भयो । टाउको दुखेको  बुझेलगत्तै उनले तातो चिया हातमा  दिँदै पानी उमालिन् । मगमा पानी भरेर रातो रुमाल दिँदै बाफ लिन भनिन् । बाफ लिएसंगै टाउको हल्का भयो । उनको नाम सिर्जना रहेछ । हातमा क्यामेरा थियो । मनले तस्बिर खिच्यो । मनमा गढेको त्यो तस्बिरअघि दर्शन गर्न नपाएको कालिन्चोक माताको जस्तै थियो ।  

कालिन्चोकलाई मनमा सजाएर यात्राबाट फर्कियो । बाटोमा निन्द्रा परेर बिउँझिदा दोलखा भिमसेन मन्दिरमा आइपुगिएछ । भिमसेनलाई किन शक्तिशाली भनिएको थाहा भएन । तर, भिमसेनको दर्शनपछि मनमा बल मिलेको महसुस भयो । फेरि मुढेमा खाना खायौ । तर, आज हिजोको स्वाद बिग्रेछ । पसलेले किन आफ्नो कर्मलाई निरन्रता दिँदैन है भन्ने चर्चा चल्यो । 

मुढेबाट पुराना गीत सुन्दै खाँडीचौर बजार ओर्लियो । सुकुटे बगर हुँदै दोलालघाटको बाटो घरतर्फ आइयो । कालिन्चोक माताको दर्शन गर्न हिँडेका हामी हिउँको दर्शन गरेर फर्किएका थियौ । घरमा के भन्ने भन्ने कुरा मनमा खेलिरहेको थियो । सूर्य नअस्ताउँदै घरमा अइपुगियो । गाडीबाट सबै ओर्लिने  थाले । बलराम अंकलले कालिन्चोक माताको तस्बिर दिन आग्रह गरे । मैले उनलाई तस्बिर दिने क्रममा एकपटक नियालेँ । यसपटक भने मैले कालिन्चोक माताको अनुहारमा सिर्जनाको मुहार देखे ।

प्रकाशित: २ वैशाख २०७८ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App