महाशाखाका प्रमुख विजयलाल कायस्थका अनुसार भोजपुर देउराली सुनचाँदी पसलका प्रमुख सुदन र थमबहादुरबीच १० वर्षअगाडि साउदी अरबमा काम गर्ने क्रममा चिनजान भएको थियो।
यी दुवै स्वदेश फर्केपछि ४ महिनाअगाडि भण्डारी पैसाको अभाव भयो भन्दै सुनका गहना लिएर गहतराजको नयाँबानेश्वरमा रहेको सुनचाँदी पसलमा पुगेका थिए। पुरानो चिनजानको व्यक्ति भएकाले गहतराजले भण्डारीले ल्याएको सुनका गहनामाथि शंका नगरी रकम दिएका थिए।
अनुसन्धान अधिकारीका अनुसार भण्डारीले ठगीको योजनाअनुसार गहतराजकोमा सुन बन्धकी राख्न गएका थिए। उनले सुनको कारोबार गर्दै आएका तर्चेल, ढकबहादुर, टेकबहादुर र बुदु लामासँग मिलेर नक्कली सुनका गहना बनाएर सोही गहना गहतराजकोमा बन्धकी राख्न गएका थिए।
अनुसन्धान अधिकारीका अनुसार ४ महिनाअगाडि भण्डारी र उनका सहयोगीबीच नक्कली सुनका गहना बनाएर बन्धकी राखी पैसा निकाली ठगी गर्ने योजना बनेको थियो। सोही योजना अनुसार उनीहरुले चाँदीको गहना बनाएर त्यसलाई बाहिरबाट सुनको जलप लगाएर नक्कली गहना बनाएका थिए। उनीहरुले सुन किनेको नक्कली बिल बनाएर त्यसैका आधारमा पटकपटक भोजपुर देउराली सुनचाँदी पसलमा गएर सोही गहना बन्धकी राखेर पैसा लिएका थिए।
प्रहरीका अनुसार उनीहरुले पुल्चोकको गुण ज्यास पस र सामाखुसीको अब्राहक सुनचाँदी पसलको बिल प्रयोग गरेर नक्कली सुनलाई सक्कली बनाएका थिए। प्रहरीका अनुसार गहतराजसँग पैसा लिएपछि उनीहरुले दामासाहीले बाँड्दै आएका थिए। अनुसन्धानमा ठगीको रकममध्ये ६ लाख ५० हजार पिच्दा तामाङ, ९ लाख टेकबहादुर तामाङ, २ लाख १० हजार बुदु तामाङ, ९ लाख ५ हजार तर्चेल, ८ लाख १५ हजार ढकबहादुर र १३ लाख नवीन भण्डारीले लिएको खुलेको छ।
पछि परीक्षणका क्रममा बन्धक राखिएको सुन नक्कली भएको खुलेपछि गहतराजले अपराध महाशाखामा उजुरी दिएपछि प्रहरीले उनीहरुको डेरामा छापा मारेको थियो। महाशाखाका अनुसार प्रहरीले नवीन भण्डारीको डेराबाट १ लाख रुपैयाँ, सुनले मोडेको ४४ वटा चाँदीको चुरा, आंैठी, गणेश हिमाल सुनचाँदी पसल, नबोबुद्ध सुनचाँदी पसल, ओर आरबी सुनचाँदी पसल लगायतको बिल फेला पारेको थियो।
प्रकाशित: ६ आश्विन २०७० २१:०९ आइतबार



-600x400.jpg)

