१४ मंसिर २०७८ मंगलबार
अन्य

जनकलालको विराट व्यक्तित्व

अक्षर

जनकलाल शर्मा जोसमनी सन्त उमाकान्तदासका नाति र सन्त गोविन्ददासका छोरा थिए। आफ्ना बासित उनी नेपालदेखि असम र बर्मासम्म घुमेका थिए। जोसमनी सन्तहरू जातभात मान्दैनथे, ठूलोसानोको भेदभाव गर्दैनथे। त्यसको प्रभाव जनकलाल शर्माको सोचाइ र व्यवहारमा पनि परेको देखिन्छ।

जनकलाल शर्मा पूर्वमा पुरानो असम, दक्षिण–पूर्वमा म्यानमार, उत्तर–पश्चिममा रावी नदीको किनार र दक्षिणमा महाराष्ट्रसम्मको भारतीय उपमहाद्वीपको क्षेत्रमा घुमेको देखिन्छ। भारतीय उपमहाद्वीपबाहिर उनी पेरिस, लन्डन, होल्यान्ड र जर्मनीसम्म पुगेको सूचना पाइन्छ। उनका २००४ सालदेखि २०४१ सालसम्मका डायरी हेर्दा पुरातŒव विभागको अनुसन्धान अधिकृतका रूपमा गरिने स्थलगत सर्वेक्षणका क्रममा उनी नेपाल र भारतका विभिन्न ठाउँ पुगेको पाइन्छ। ती ठाउँ घुम्दा उनले किसिम–किसिमका अनुभव बटुलेका छन्, सानादेखि ठुल्ठूला मान्छेको संगत पाएका छन्, अनौठा कुरा आफ्नै आँखाले देखेका छन् र नौलानौला जानकारी सँगालेका छन्।

इलाममा जन्मेर सिक्किममा हुर्केका जनकलाल शर्मा पढ्न दार्जिलिङ, कलकत्ता, बनारस, वर्धा र पूनामा बस्ता पनि नयाँनयाँ अनुभव बटुले। राहुल सांकृत्यायनसँग मसुरीदेखि रावी नदीको किनारसम्म पश्चिमोत्तर भारतको यात्रा गरे। सन् १९४८–५० मा वर्धाको गान्धीवादी आश्रममा तालिम लिँदा उनले धागो कात्ने, ढल सफा गर्ने, मौनव्रत धारण गर्ने, भाँडा माझ्ने, प्रवचन सुन्ने, चर्खा चलाउने, जाँतोमा जुनेलो र चना पिस्ने, बारी खन्ने, गैँती चलाउने, बगैँचाको काम गर्ने, तेल पेल्ने, कैँचीले फूलका हाँगा छाँट्ने, मल ओसार्ने, उर्दू पढ्ने जस्ता अनेक तालिम लिए। उनले व्याकरण, धर्मशास्त्र र आयुर्वेद आदि तीन विषयमा मध्यमा पास गरेका थिए, पूनाको हस्केल रिसर्च इन्स्टिच्युटमा तेल प्रविधि र साबुन प्रविधिको तालिम लिएका थिए। उनले झाँसीमा इन्जेक्सन दिने तालिम पनि लिएका थिए र डा. यागनाथ उपाध्यायका क्लिनिकमा त्यसको अभ्यास पनि गरेका थिए।

पुरातत्व विभागका अनुसन्धान अधिकृतदेखि का.मु. महानिर्देशकसम्मका पदमा हुँदा–रहँदा उनले नेपालका विभिन्न भागमा भएका पुरातात्विक उत्खनन र स्थलगत सर्वेक्षणमा सक्रियता साथ भाग लिए। यसरी ब्रिटिस पुरातत्वविद्सँग मिलेर बुटवल क्षेत्रको शिवालिक पहाडमा गरिएको अन्वेषणमा नेपालमा विश्वको दोस्रो पुरानो मान्छे रामापिथेकस (राम–मानव)को पत्ता लागेको थियो। रुसी पुरातत्वविद्सँग बूढानीलकण्ठमा गरेको प्रागैतिहासिक अन्वेषणमा ३० हजार वर्ष पुराना उत्तरपुरापाषाणकालका हातहतियार फेला पार्दा पनि उनी सहभागी थिए। लुम्बिनी, कपिलवस्तु (तिलौराकोट), कुदान (तौलिहवा), बन्जरही र पैसियामा गरेको उत्खननमा मौर्यकालपूर्व र मौर्यकालका ऐतिहासिक र पुरातात्विक सामग्री पत्ता लगाउनेमा उनी पनि थिए। विराटनगरको भेडियारीमा गरेका उत्खननबाट उनले मौर्यकालीन अवशेष पत्ता लगाए। एकपल्ट डेक्कन कलेजका प्राध्यापक देवसँग अर्कोपल्ट इटालीका पुरातत्वविद्सँग मिलेर गरेको काठमाडौंको उत्खननमा उनले काठमाडौंको इतिहास कृषाणकालसम्म पु¥याए। सुनसरी जिल्लाको बराह क्षेत्रमा भएका गुरूवराहको मूर्ति बराह क्षेत्रको सबभन्दा पुरानो मूर्ति भएको ठहर पनि उनैले गरे।

लुम्बिनी र निग्लीहवाका अशोक स्तम्भका अभिलेख, मानदेवको चाँगुनारायणको अभिलेख, जयदेवको पशुपति अभिलेख, स्वयम्भू, पाटन र भक्तपुरको अभिलेख, लिच्छविकालीन र मल्लकालीन अभिलेख, दुल्लुको पृथ्वी मल्लको कीर्तिस्तम्भ, दैलेखको मूर्तिमा रहेको वास्तु अवशेष आदिको अनुसन्धानबाट उनले नेपालको इतिहासका महत्वपूर्ण सूचनाका कोसेढुंगा ठड्याए। त्यस्तै, उनले सुर्खेतको काँक्रेविहार र लाटीकोइलीका भग्नावशेषको पनि अध्ययन गरेका थिए। स्वयम्भू र बोधनाथको चैत्य, चाबेल चारुमती विहारको चैत्य र पाटनका अशोक चैत्यको अनुसन्धान पनि उनले गरेका छन्। राहुल सांकृत्यायनको पश्चिमोत्तर भारतको यात्रामा नेपालको पश्चिमी सिमाना काँगडा र सतलज मात्र होइन, त्यहाँभन्दा पर रावी नदीसम्म पुगेको प्रमाण उनले दिएका छन्। योगी नरहरिनाथसँगको गोरखा र कास्कीसम्मको भ्रमणमा नेपाली भाषाको सबभन्दा पुरानो कविता सुवानन्ददासको ‘साँढ्याको कवित्’ उनैले फेला पारेका थिए। त्यस्तै, ‘जोसमनी सन्तपरम्परा र साहित्य’ तथा ‘हाम्रो समाज ः एक अध्ययन’मा उनले गरेको अनुसन्धान अद्वितीय र उल्लेखनीय छ।

जनकलाल शर्माका जर्ज फर्नान्डिसजस्ता थुप्रै सहपाठी, डा. राजेन्द्रप्रसाद, स्वामी करपात्री र कुलचन्द्र गौतमजस्ता थुप्रै गुरु, श्यादास वैष्णव र जनार्दन समजस्ता थुप्रै्र सहकर्मी, राहुल सांकृत्यायन, योगी नरहरिनाथ, बालचन्द्र शर्मा र डा. ईश्वर बरालजस्ता थुप्रै सहयात्री, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, बाबुराम आचार्य, विश्वेश्वरप्रसाद कोइराला र नयराज पन्तजस्ता थुप्रै लेखक, डा. राजेन्द्रप्रसाद, बिपी र राजेश्वर देवकोटाजस्ता थुप्रै राजनीतिक नेता, थुप्रै अनुसन्धाता, ऐतिहासिक र स्थलगत सर्वेक्षणमा सहभागी हुने सेतेन्को, ए.के. घोष, बनर्जी र डा. देवजस्ता थुप्रै पुरातत्वविद्, आफ्ना घरमा बास दिनेहरू, साइनेदारहरू र थुप्रै परिचितको संगतमा परेर पनि उनका संस्मरण रमाइला भएका हुन्।

जनकलाल शर्मा जोसमनी सन्त उमाकान्तदासका नाति र सन्त गोविन्ददासका छोरा थिए। आफ्ना बासित उनी नेपालदेखि असम र बर्मासम्म घुमेका थिए। जोसमनी सन्तहरू जातभात मान्दैनथे, ठूलोसानोको भेदभाव गर्दैनथे। त्यसको प्रभाव जनकलाल शर्माको सोचाइ र व्यवहारमा पनि परेको देखिन्छ। २००५–७ सालतिर उनी भारतको वर्धामा भएको गान्धीवादी आश्रममा तालिम लिन बसेको जुन कुरो माथि उल्लेख गरियो, त्यस तालिमले पनि जोसमनी सन्तको प्रभावमा परेका जनकलाल शर्मालाई सबैसँग मैत्रीपूर्ण समान व्यवहार गर्न सघायो। त्यसमाथि राहुल सांकृत्यायनको संगतले पनि प्रभावशाली भूमिका खेलेको छ। उपरोक्त तीनवटा नियामक तत्वले गर्दा सबै तहका मान्छेसँग समान व्यवहार गर्न र मित्रता कायम राख्न उनी सफल भए। उनका संस्मरणमा ज्यान आउने एउटा महत्वपूर्ण पक्ष यो पनि हो। उनको समाजवादी–मानवतावादी दृष्टिकोण र व्यवहारमा जोसमनी सिद्धान्त, गान्धीवाद र राहुलका अनुशासनकै प्रभाव मिसिएको छ।  

जनकलाल शर्माका ३४ वटाजति संस्मरण प्रकाशित रहेछन्। यस ग्रन्थमा तिनै संस्मरण सँगालिएका छन्। उनको बहुआयामिक अनुभवले गर्दा उनका संस्मरणलाई अलिखित इतिहास पनि भन्न सकिन्छ। उनका संस्मरण २०४० साल भन्दाअगाडि लेखिएका फेला परेका छैनन्।  

चन्द्रधर उप्रेतीको संस्मरणका प्रसंग (२०४१) मा उनी लेख्छन्, ‘२००७ सालअघि होटलमा खाने बानी थिएन नेपालीहरूको। नयाँ सडकको न्यु होटेल र कुलेखानीको एउटा होटलबाहेक अरू चियापसल पनि थिएनन् भने हुन्छ काठमाडौंमा। द्वितीय विश्वयुद्धमा गएर फर्केका सिपाहीलाई चिया खुवाउन धरहराको छेउमा खुलेको थियो एउटा चियापसल। ...अरू चियापसलजस्तै एउटा चियापसल खुल्यो डिल्लीबजारमा पनि। ...लप्टनको होटलका नामले प्रसिद्ध भयो त्यो।’

वासुदेव भट्टराईको संस्मरण (२०४५) मा उनी लेख्छन्, ‘वि.सं. १९४५ मा ...भारतीय उपमहाद्वीपका साढे सात सयजति राजा–रजौटा र सामन्त अंग्रेजका दास बनेका थिए। स्वतन्त्र राष्ट्रका नाममा दासानुदास थियो नेपाल पनि। अंग्रेजलाई नसोधी कुनै राष्ट्रसँग सम्पर्क राख्ने अधिकार थिएन उनलाई। राणाहरू डरलाग्दा आक्रामक जन्तुजस्ता देखिन्थे जनताका लागि। नेपाली जनताका भाग्यविधाता मानिन्थे राणाहरू। भक्ष र भक्षकको सम्बन्ध थियो जनताप्रति राणाशासकहरूको। अंग्रेजले पूरै स्वतन्त्रता दिएका थिए राणाहरूलाई जनताको शोषण गर्न। त्यसै कारण स्वतन्त्र राष्ट्र मानिन्थ्यो नेपाल पनि।’

‘आफू किञ्चित् मात्रामा शिक्षित भएको हुँदा आफ्ना छोरानातिलाई पनि केही शिक्षा दिलाउन चाहन्थे चन्द्रशमशेर। ...एकातिर आफ्ना सन्ततिलाई आधुनिक शिक्षा दिलाउने धोको मनमा थियो भने, अर्कातिर त्यसै शिक्षाले राणाशासनको अन्त्य गराउला कि भन्ने डर पनि लुकेको थियो, उनका मनको एउटा कुनामा। त्यसै कारण त ‘त्रि–चन्द्र कलेज’को उद्घाटन गरेका दिन ‘राणाशासनको अन्त्य गराउन विषवृक्ष रोपेँ आज मैले’ भनेका थिए अरे चन्द्रशमशेरले आफ्ना सन्ततिलाई।’

‘माओत्सेतुङका नेतृत्वको प्रभाव नबढेसम्म अफिमको नशामा चुर्लुम्म डुबेर बसेका थिए चीनका जनता। चिनी अफिमको प्रचार सम्पूर्ण एसियामा फैलिएको थियो त्यस समय। भारत र नेपालका जनता प्रभावित नहुने कुरै छैन यसबाट। प्रायः प्रत्येक टोलमा अफिमची बूढाहरू पाइने गर्थे त्यस समय। धेरैजसो हुनेखाने महिलाका पोल्टामा केराउको दानाजत्रो अफिमको गोली पाइन्थ्यो खोजिपसेका खण्डमा। काखको बालक सुताउने काममा प्रयोग हुन्थ्यो त्यस्तो अफिमको गोली। आफ्ना दूधका मुन्टामा अफिम दलेर लाम्टा चुसाउने गर्थे नानीहरूलाई आमाहरू।’

‘करियाअमलेखका समय पशुपतिमन्दिरका वरिपरि बिछ्याइएका चाँदीका मुद्रामा ‘सम्राट् चन्द्र’ अंकित गराएका थिए चन्द्रशमशेर राणाले। आज पनि खोजेमा पाउन सकिएला चन्द्रशमशेरका रजतमुद्रा पशुपतिमा। ‘त्रि–चन्द्र कलेज’को नामकरणमा पनि ‘त्रिचन्द्र–चन्द्र’को साटो ‘त्रि–चन्द्र’ मात्र लेखेर त्रिभुवनलाई अँध्यारामा हालेका थिए उनले। त्रिचन्द्रको अर्थ त्रिभुवन–चन्द्र नभएर श्री ३ चन्द्र भन्ने अर्थ लाग्न जान्थ्यो। प्रधानमन्त्रीलाई ‘सम्राट्’को उपाधिले विभूषित गराइएको उदाहरण पाइँदैन कतै पनि।’

बाबुराम आचार्यको संस्मरण (२०४५) का प्रसंगमा उनी लेख्छन्, ‘स्वदेशका भन्दा पनि विदेशका इतिहासकार अधिक प्रशंसक थिए उनका। स्वदेशमा प्रशंसा पाउन भाट नभई हुँदैनथ्यो त्यस समय। आज पनि त्यसको चुरो मरेको छैन समाजमा। ...उनको विद्वता नै अफापसिद्ध भएको थियो सरकारी पदको बढुवाका लागि। त्यसैकारण त खरदारबाजेकै रूपमा जीवनभर टंचिनुपर्‍यो ‘इतिहासशिरोमणि’को मानार्थ दर्जा राष्ट्रले दिँदा पनि। ...राणाको कुरै छोडौँ सात सालपछि पनि कृतघ्न नै रह्यौँ हामी खरदारबाट माथि उचाल्ने कुरामा।’

‘महात्मा गान्धीको उर्लंदो नेतृत्व देखेर चन्द्रशमशेरले आफ्नू मान्छेलाई गान्धीआश्रममा चियो गर्न पठाएको देखेसुनेका थिए, पछि शासन गर्ने राणाले पनि। ‘श्री ३ चन्द्र कामधेनु चर्खा प्रचारक गुठी’ खोल्न लगाएका थिए चन्द्रशमशेर राणाले तुलसीमेहरलाई गान्धी आश्रममा तालिम लिन पठाएर। भारतीय ग्रामोद्योगको नक्कल गरेर नेपालमा घरेलु उद्योग अड्डा खोल्ने श्रेय चन्द्रशमशेरपछि जुद्धशमशेरले पाएका थिए १९९५ सालमा नै। २००४ सालमा आधारशिक्षाका केन्द्र खुले नेपालमा पनि भारतमा जस्तै। यस पंक्तिका लेखकले पनि तत्कालै ग्रामसुधारसम्बन्धी तालिम लिएर आएको थियो वर्धाको मगनवाडी गान्धीआश्रमबाट। त्यसैको प्रचारअभियानमा आफैँले खोलेको सिनामंगलस्थित घरेलु आश्रमको एउटा सभामा परिचय भयो खरदार बाबुराम आचार्यसित।’

‘२०१० सालतिर योगी नरहरिनाथको संयोजकत्वमा इतिहासप्रकाशमण्डलको स्थापना भयो। बाबुराम आचार्य अध्यक्ष भए यस मण्डलका। संयोजकले नै सम्पादन पनि गर्नुपर्ने भयो त्यहाँ। योगी नरहरिनाथको झोलीमा थियो त्यसको कार्यालय। अघोषित सदस्य बनाएका थिए बाबुराम आचार्यले मलाई पनि। २०११ सालमा बाढीले ठूलो क्षति पुर्‍यायो नेपालमा। बाढीपीडित कोषबाट ऐतिहासिक सामग्री संकलन गर्ने आर्थिक सहयोग पायौँ योगी नरहरिनाथ र मैले पनि। सुवानन्ददासको कृति सर्वप्रथम पत्ता लागेको हो कास्कीकोटका मगर पुजारी लालबहादुरका घरमा त्यसै समय। संकलित सामग्रीको केही अंश छापियो पनि इतिहासप्रकाश मण्डलबाट २०१२ साल वैशाख १ गते निकालेको इतिहासप्रकाशनामक पत्रिकाको पहिलो अंकमा।’

धर्मरत्न यमिबारेको संस्मरण (२०४६) मा निम्नलिखित सूचना पाइन्छन्, ‘धर्मरत्न यमिलाई चिनाउने श्रेय महापण्डित राहुल सांकृत्यायनलाई छ। राहुलले आफ्नो यात्रासाहित्यका अनेक पन्नामा धर्मरत्नलाई अंकित गरेका छन्। धर्मरत्नलाई राहुलले जति चिनेका छन्, त्यति अरूले चिन्न सकेका छैनन्। उनको बाल्यकाल तिब्बतमा बित्यो।’

पूर्णप्रसाद ब्राह्मणबारेको संस्मरण (२०४६) मा पाइने सूचना, ‘पूर्णप्रसाद क्विन्स कलेज (बनारस) मा पढ्थे भने गोयनका कलेज राजराजेश्वरीघाटमा अध्ययन गर्थें म। उनको विषय मीमांसा थियो भने मेरो व्याकरण र साहित्य।  

पूर्णप्रसादका मीमांसाको निजी अध्ययन बुद्धिसागर हुन्थ्यो भने साहित्यिक अध्ययन कुलचन्द्र गौतमसँग गएर हुन्थ्यो मेरो। बुद्धिसागर पराजुली मंगलगौरीमा बस्थे त्यस समय। पकौडीको घर भनेपछि निकै प्रसिद्ध थियो त्यहाँ, त्यही घर नेपाली धर्मशालाका नामले विख्यात छ आज।’

विश्वेश्वरप्रसाद कोइरालाबारेको संस्मरण (२०४८) मा निम्नलिखित सूचना पाइन्छ, ‘सं. २०१५ मा उनी संसदीय दलको नेता चुनिएपछि बधाई दिन उनलाई भेट्ता एक जना मित्र (सूर्यविक्रम ज्ञवाली)को चर्चा गरेँ मैले। चर्चित व्यक्तिकै प्रेरणाबाट आफू कथाकार बनेको स्वीकार गरे कोइरालाले।’

‘हङकङबाट कसैले (लेखनाथ पौड्याललाई) ल्याइदिएको रहेछ एउटा सानो ट्रान्जिस्टर। सबैले चाख मानेर हेरे त्यहाँ। यो कुरा पढ्दा पाठकलाई पनि पत्यार हुने छैन अहिले। तर भोजै खाएर आएका थियौँ ट्रान्जिस्टरका मालिकका घरमा त्यस समय।’

सोभियत रूसका राष्ट्रपति भोरोसिलोभ नेपाल आउँदा एउटा उपसचिव मित्रका करले विमानस्थलमै स्वागत गर्न जनकलाल शर्मा गएछन्। त्यहाँ उनी लेख्छ्न्, ‘म अगाडि बढ्दै थिएँ अति विशिष्ट व्यक्तिका लागि बनेको पालतिर। त्यहाँ नियुक्त सैनिकले ढ्याक्क बुट बजारेर सलाम ग¥यो मलाई। सलाम स्वीकार गर्ने कि नगर्ने दुविधामा परेँ म। स्वीकार नगरे जुन बुट बजाएर सलाम ग¥यो त्यसैले कुल्चिनेछ मलाई। मन नलागे पनि स्वीकार गरेँ मैले। अर्कातिर कानमा प¥यो, तेरो बाजे गणेशमान आयो।’

‘भोरोसिलोभको आगमन पनि अनौठै भयो त्यस समय। आतिथ्यको उत्तर नेपाली भाषामै पढेर सुनाएका थिए उनले। त्यही नै आदि र अन्त्य होला कुनै विदेशी राष्ट्राध्यक्षले नेपाली भाषामै आतिथ्यको उत्तर दिएको।’

गोपाल पाँडे ‘असीम’बारेको संस्मरण (२०४८) मा उनको भनाइ छ, ‘दिवंगत लेखकको वर्षमा एकपटक ‘मानसिक श्राद्ध’ गर्ने परम्परा त उनैले चलाएका हुन् नेपालमा सर्वप्रथम। जीवित लेखकको रथयात्रा गराउनमा पनि उनै अग्रणी भए नेपालमा। मोतीराम भट्टपछि नेपालभित्र भानुको प्रचारमा उनलाई उछिन्न सकेको छैन कसैले। गोपाल पाँडे नलागेको भए न कतै भानुभक्तका सालिक उभिन्थे न मोतीरामकै। लेखनाथ र देवकोटाको त झन् कुरै छोडौँ अहिले। साहित्यिक महारथीका नाममा कुनै भवन वा मार्गको नामकरण गर्ने कुरा उनैको प्रयासबाट भएको देखिन्छ जताततै। गोपाल पाँडेको प्रयत्न नथपिएको भए भानुभक्त र मोतीराम भट्ट नेपालको राष्ट्रिय विभूतिमा आउने नै थिएनन् पक्कै।’

दलबहादुर प्रजापतिबारेको संस्मरण (२०४९)का रोचक सूचना निम्न छन्, ‘मेरा पनि एकजना मिल्ने साथी थिए, लप्टन दलबहादुर प्रजापति। भक्तपुरका सबभन्दा ठूला किसानमा नाम थियो उनका पुर्खाको। तराईमा पनि सत्रवटा मौजा थिए भक्तपुरे प्रजापतिका। सप्तरीको पोर्ताहा भन्ने मौजालाई मूलथलो बनाएका थिए यिनीहरूले। चन्द्रशमशेरका कृपापात्र थिए दलबहादुर प्रजापतिका बाबु। छोरालाई दरबारसित परिचय गराउन लिएर गएछन् बाबुले। केटाको स्वभावबाट प्रशन्न भएछन् चन्द्रशमशेर। पाँचै वर्षको उमेरमा लप्टन दर्जा पाएछ दलबहादुर प्रजापति नामक केटाले। अध्ययनका लागि अयोध्या पठाइयो दलबहादुर प्रजापतिलाई। अयोध्यामा पढ्दापढ्दै वैष्णव सम्प्रदायमा दीक्षित भए उनी। अयोध्याबाट जनकपुर आउँदा दलबहादुर किशोरीदास भइसकेका थिए प्रजापति।’

‘चन्द्रशमशेरले प्रतिबन्ध लगाएका थिए केही धार्मिक सम्प्रदायमा। त्यस्ता सम्प्रदाय हिन्दू नै भए पनि पूर्वस्वीकृति लिनुपथ्र्यो त्यसमा दीक्षित हुन वा दीक्षित गराउन। त्यो नियमपालन गरेका थिएनन् किशोरीदासले। स्वीकृतिका लागि बिन्तीपत्र पनि हाले उनले जुद्धशमशेरका हजुरमा। बिन्तीपत्र लेख्तालेख्तै बिट मार्ने ठाउँमा झर्को लागेर आएछ उनलाई। त्यसै कारण अन्त्यमा लेखेछन्, ‘निकासा भए होस् महाराज, नभए यत्रैसिति जो हुकुम’ भनेर। यो कुरा जाहेर हुँदा साह्रै रिसाएछन् जुद्धशमशेर। ‘पाँच वर्ष कैद ठोक्नू’ भन्ने हुकुमआदेश भयो जुद्धशमशेरको। केही समय जेलजीवन बिताएपछि पुनः माफी पाए उनले। त्यस घटनापछि राणाविरोधी हुन पुगे उनी। त्यसै कारण बनारस पुगे उनी। भारतीय स्वतन्त्रता आन्दोलनमा निकै तीव्रता आएको थियो त्यस समय। आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र डा. राजेन्द्रप्रसादसँग पनि राम्रो घनिष्ठता भयो यिनको।’

‘सन् १९४२ मा अनियन्त्रित भयो अहिंसात्मक आन्दोलन पनि। ठाउँठाउँमा हिंसात्मक दंगा भए भने रेलका पटरी पनि उखेलेर फ्याँकिदिए उत्तरपूर्वी भारतमा। सबभन्दा बढी आन्दोलन भयो बिहार र बंगालमा त्यस समय। करिब ५० राजनीतिक कार्यकर्ता भागेर आए बिहारबाट दलबहादुर प्रजापतिसित नेपाल तराईमा। लाहानभन्दा उत्तरको जंगलमा गुप्तवास बसे यसरी आउने शरणार्थीहरू। प्रजापतिको मौजाबाट गुप्त रूपमा खाद्यसामग्री पुर्‍याइन्थ्यो त्यहाँ। शरणार्थी हुन आउने कार्यकर्ताको नेतृत्व गरेका थिए जयप्रकाश नारायणले। भारतबाट भागेर गएका शरणार्थीलाई फिर्ता माग्यो अंग्रेज सरकारले नेपाल सरकारसित। त्यसरी शरणार्थी आएको थाहै थिएन राणासरकारलाई। केन्द्रबाट सूचना गएपछि शरणार्थीको पत्ता लगाए बडाहाकिमले। शरणको मरण गर्ने चलन थिएन क्रूर शासन भए पनि राणाहरूमा। अर्को कुरा, अंग्रेजी शासन डगमगायो भने यिनै शरणार्थी हुन्छन् त्यहाँका हर्ताकर्ता। त्यसै कारण सुपुर्द गर्न मानेन राणासरकारले। आफ्नै देशको जेलमा राख्यो अंग्रेजलाई खुसी पार्न। हनुमाननगर जेलमा थुनिए शरणार्थी भएर नेपाल आएका भारतका राजनीतिक कार्यकर्ताहरू। कोइलाडी र वर्षाइनका रजपूत जमिनदारहरूसित मिलेर हजार–बाह्र सय मुसहर जातका मान्छे जम्मा गरेर जेल तोड्ने काम भयो। रातारात भगाए (दलबहादुर प्रजापतिले) त्यहाँबाट जयप्रकाश नारायण र उनका साथीहरूलाई। त्यसै समयदेखि भूमिगत भए दलबहादुर प्रजापति पनि। उनको गुनबाट चिरऋणी भए भारतीय नेताहरू। प्रजापतिको व्यक्तित्वमा चारचाँद लाग्यो त्यस घटनाले गर्दा। दलबहादुर प्रजापति भनेर कसैले चिन्दैनथ्यो उनलाई। बाबा किशोरदासबाट पहाडी बाबाका नामले प्रसिद्ध भए उनी भारतको राजनीतिक आन्दोलनका क्षेत्रमा।’

राहुल सांकृत्यायन सम्बन्धमा उनका तीन–चारवटा संस्मरण पाइन्छन्। तिनीहरूमा पाइने रोचक सूचना निम्नलिखित छन्, ‘विश्वपर्यटक महापण्डित राहुल सांकृत्यायन ‘नेपाल’ नामक पुस्तक लेख्ने उद्देश्यले सन् १९५३ सालको जनवरी ८ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म काठमाडौं बसेका थिए। कुमाउँ–गढवालतिर गए पच्चीसौँ हजार श्लोकका पाण्डुलिपि पाउन सकिन्छ नेपाली भाषामा लेखिएका कृतिहरू अप्रकाशित रूपमै आज पनि भनेका थिए राहुले त्यस समय। त्यति मात्र होइन नेपाल विषयक ऐतिहासिक सामग्री पनि प्रशस्त पाउन सकिने चर्चा गरेका थिए उनले।’

‘कुमाउँ–गढवालतिर नेपाली सामग्री संकलन गर्न कुनै एक व्यक्तिलाई पठाउनैपर्ने भयो त्यहाँ। यसमा सबभन्दा बढी अभिरूचि लिएका थिए विश्वेश्वरप्रसाद कोइरालाले। कुनै एक व्यक्तिलाई पठाउने नै निर्णय गरे उनले। योजना पेस गर्ने उत्तरदायित्व यस पंक्तिका लेखकलाई दिए विश्वेश्वरप्रसाद कोइरालाले। यसको सबै आर्थिक व्यय ‘नेपाल सांस्कृतिक परिषद्’ नामक संस्थाले व्यहोर्ने आश्वासन दिए उनले। नेपालका धनकुबेर जेनरल केशरशमशेरले परिषद्को कार्यका लािग एउटा कार र आफ्नै कम्पाउन्डभित्रको एउटा र बाहिरको एउटा गरी जम्मा दुई घर पनि दिएका थिए त्यसमा भएका सबै फर्निचरसहित। फर्निचर समेतको घर र कार मात्र होइन, त्यसलाई चाहिने आर्थिक भार वहन गर्दै गर्न भारू डेढ लाख संकल्प गरेर एक लाख भारू त ‘नेपाल सांस्कृतिक परिषद्’को खातामा जम्मा गराइदिइसकेका थिए उनले।

सुगौलीसन्धिभन्दा पहिलेको नेपालको कुरा गर्दा वा गोरखालीले कहाँदेखि कहाँसम्म विजय गरेका थिए भन्ने प्रसंगमा टिस्टादेखि सतलजसम्म वा किल्ला काँगडासम्म भन्नु भूल हुन आउँछ। वास्तवमा भन्नु हो भने गोरखालीले रावीसम्म आफ्नू विजययात्रा पुर्‍याएका थिए। नेपालको आधिपत्य स्वीकार गर्ने राजामध्ये चम्बाका राजा जीतसिंह पनि थिए। चम्बा राज्यको राजधानी चम्बानगर रावीनदीको पश्चिमी तटमा छ। त्यहाँबाट जम्मु राज्यको सीमा केवल ४० माइल मात्र पर छ। हामीले जानेको सतलज नदी भाखडा नांगल योजनामा छ। तर गोरखालीहरू चम्बा पुग्न त्यहाँबाट सुकेत, मण्डी, वैजनाथ, पालमपुर पुगेपछि बल्ल केही पर पुग्दा काँगडा किल्ला आउँछ। किल्ला काँगडाबाट निकै पर जाँदा नूरपुर आउँछ। नूरपुरका राजा वीरसिंहले नेपालको आधिपत्य स्वीकार गरेको कुरा पहिले नै चर्चा भइसकेको छ। नूरपुरपछि पठानकोट आउँछ। पठानकोटबाट निकैमाथि पहाड चढेपछि बकलोह आउँछ, जहाँ आज पनि ५–७ हजार नेपालीहरू स्थायी रूपले बसेका छन्। त्यसभन्दा निकै माथि पुगेपछि डलहौजीनगर छ र डलहौजीभन्दा ८–१० माइल तलैबाट एउटा बाटो जान्छ, जो २७ माइल पर गएर चम्बा राज्यको राजधानी चम्बानगर पु¥याउँछ।’

विश्वेश्वरप्रसाद कोइरालासम्बन्धी अर्को संस्मरण (२०५३) मा परेका रोचक सूचना निम्नानुसार छन् ः

‘तीनधारा पाकशालाको छात्रवासमा कुमाई र पूर्विया ब्राह्मणका अलगअलग थिए भान्सा। भान्सा छुट्टिएपछि छात्र पनि छुट्टिएरै बस्थे अलगअलग कोठामा पूर्विया र कुमाईका हिसाबले।’

‘२००७ साल कार्तिक २१ गते श्री ५ त्रिभुवनबाट दरबार त्याग भयो आफ्ना परिवारसहित एकाबिहानै। सम्भवतः त्यसै दिन सदाका लागि निर्वासनमा गोरखा पठाउने निर्णय गरिसकेका थिए राणाहरूले श्री ५ त्रिभुवनलाई गोप्य रूपमा।’  

‘आफ्नू दुनु सोझिएपछि फागुन ४ गते मात्र फर्कायो भारतले राजपरिवारलाई नेपालमा। नेपालको होइन भारतको दुनु सोझियो त्यस समय। त्यसै समयको उपज हो १९५० इस्वीको असमान सन्धि।’

‘ज्ञानेन्द्रलाई राज्यारोहण गराउने उर्दी हुँदा जागिर जोगाउन म पनि गएको थिएँ हनुमानढोकामा हाजिर हुन। त्यस समय सैनिक पोसाकमा थिए उनी (बालकृष्ण सम) फोटोग्राफरका रूपमा काम गरिरहेका। नायब बडागुरूज्यू स्वर्गीय हेमराज पाण्डेले बालक ज्ञानेन्द्रका शिरमा श्री ५ को श्रीपेच पहिराइदिएको बिर्सनै नसकिने घटना थियो त्यो।’

‘लालीपाउडर र लिपिस्टिक प्रयोग नगरेको कोही थिएन त्यहाँँ उम्रेदेखि खुम्रेसम्म। त्यसै कारण त मानिसको भनाइ थियो, ‘सम परिवारले शृंगारका लागि जति पाउडर खर्च त्यति मात्रामा पीठो पनि खर्च हुँदैन रोटी नै खाने परिवारमा।’

‘तीन चक्का भएको साइकिल सडकमा गुडाउँथे उनी (सम)। एकपछि अर्को गर्दै तीन चक्का थिए, उनका साइकिलमा। दुईचक्के नियमित साइकिलमा एक चक्का अझै थपिएको थियो। दुईजनाले चलाए झन्डै सनसाइनको गतिमा दगुथ्र्यो उनको साइकिल। समको साइकिल आउने–जाने समय सबै बाटामा लाम लागेर उभिएका हुन्थे त्यसको रमिता हेर्न।’

‘भवानी ‘भिक्षु’बारेको संस्मरण’ (२०४९)मा दुईवटा सूचना उल्लेखनीय छन् : ‘एकजना घनिष्ठ मित्र (बीसी मल्ल)सँग कलह भएछ उनको। ‘गोलभेँडामल’ शीर्षक दिएर त्यसै विषयमा राम्रो कथा लेखेछन् तत्कालै। ‘दधिनमन्थन’ नामक कविता लेखेका थिए भर्खरै भनेजस्तो पहाडबाट आएका एकजना कवि (माधव घिमिरे)ले। साथीलाई हेपेर चित्त कुँडिने गरी ‘चुनाभुजा’ नामकरण गरेर पेच हानेछन् कुनै ठाउँमा ती कविले कुरा गर्दा। अर्को कथा पनि लेखेछन् उनले ‘दधिमन्थन’कै शीर्षक दिएर। यी दुवै कथा आफ्नै सम्पादकत्वमा निस्कने ‘धरती’नामक पत्रिकाको कुनै अंकमा छापिए पनि जनसमक्ष आउन सकेनन् ती। एकजना मित्र (हृषिकेश शाह)सित ज्यादै राम्रो सम्बन्ध थियो, ‘गोलभेँडामल’का कथाकारको। ‘गोलभेँडामल’ले उनै मित्रकी बहिनीसित विवाह गरे त्यसै समय। ‘धरती’को पूरै अंक नष्ट गरे त्यो विवाह सम्पन्न भएपछि मेरा साथीले। ‘दधिमन्थन’ नामक कथा प्रकाशित भएको ‘धरती’को अंक पनि त्यसै गरी नष्ट गरे उनले रायल नेपाल ऐकेडेमीको सदस्यमा ‘दधिमन्थन’ कविताका लेखक र आफ्नू अर्थात् दुवै जनाको नाम मनोनीत हुने पक्का भएपछि।’

‘नेपाली सामाजिक कहानीका नामले थुप्रै कथा लेखेका छन् ज्ञानेश्वरका लेखक (भिमनिधि तिवारी)ले। महापण्डित राहुल सांकृत्यायन नेपाल आएका बेला आमसभामै घोषणा गरेका थिए, जुद्धशमशेरका छोराभन्दा बढी नै प्रकाशन हुनेछन् कथाका क्षेत्रमा मेरा कृति भनेर। जुद्धशमशेरका वैध छोरा नै चौबीस भाइ थिए भन्ने सुनेको मैले। दशभन्दा माथि जान सकेनन् कथाका क्षेत्रमा यिनी।’

(जनकलाल शर्माका संस्मरण नामक कृतिको सम्पादकीयको प्रमुख अंश। आउँदो वैशाख १८ गते पर्ने शर्माको जन्म शताब्दीको अवसर पारेर अजम्बरी पब्लिकेसनले यसलाई बजारमा ल्याउँदै छ।)

प्रकाशित: ७ चैत्र २०७७ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App