१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

मुस्कानलाई बिग आइकन

पोखरा– गायन विधाको सामसुङ ग्यालेक्सी ग्रान्ड बिग आइकन २०१३ को उपाधि मुस्कान रानाभाटले हात पारेकी छन्।४८ जिल्लाका ७ सय ७० प्रतिस्पर्धीलाई उछिन्दै पोखरा बिरौटाकी मुस्कानले उपाधि जितेकी हुन्।
बिग आइकनको चौथो संस्करण आइपुग्दा महिला प्रतिस्पर्धीले पहिलोपटक उपाधि जितिन्। मुस्कानले डेढ लाख रुपैयाँ बराबरको पियाजियो स्कुटर र बेलायत भ्रमणको मौका पाएकी छन्।
शनिबार पोखरा सभागृहमा अतिथि गायक निमा रुम्बाले विजेता घोषणा गरेका थिए। विजेतालाई रवि अटोमोबाइल्सका प्रबन्ध निर्देशक टीकाकुमारी गुरुङले स्कुटरको चाबी हस्तान्तरण गरेकी थिइन्।
प्रतियोगितामा पोखराका मिलन गुरुङ फस्ट रनरअप भए भने बागलुङकी लक्ष्मी थापामगर सेकेन्ड रनरअप भइन्। गुरुङले ७५ हजार र मगरले ५० हजार रुपैयाँ पाए।
यसअघि पहिलो बिग आइकन गगन पुन, दोस्रो सुमन गौतम र तेस्रो नवीन काफ्लेले जितेका थिए। ग्रान्ड फिनालेमा प्रतियोगिताका निर्णायकमध्येका एक विनोद बानियाँले समेत एउटा गीत प्रस्तुत गरेका थिए।
प्रतियोगिताको उत्कृष्ट १० मा पर्न सफल सबैले गीत सुनाएका थिए। प्रतियोगिताकै सबैभन्दा कान्छी प्रतियोगी प्रशान्ति राईको प्रस्तुतिले कार्यक्रममा विशेष रौनक थपेको थियो। निमा रुम्बाले केन्द्रबाहिर रहेर पनि बिग एफएमले सांगीतिक प्रतिभाको खोजी गर्न  यति ठूलो मञ्च दिएको भन्दै धन्यवाद दिए।
एफएमका अध्यक्ष महेश भण्डारीले सबैको सहयोग र सद्भावले कार्यक्रम सफल भएको बताए।
काठमाडौंको ब्रिटिस कलेज विशेष सहयोगीको रुपमा रहेको थियो। उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर/बाइक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रवि अटोमाबाइल्स नयाँबजार, पोखरा रहेको थियो।

बिग आइकन विजेता मुस्कान रानाभाट (बीचमा) साथमा फस्ट रनरअप मिलन गुरुङ र सेकेन्ड रनरअप लक्ष्मी थापामगर। तस्वीर :  मनोज घर्तीमगर

प्रकाशित: ५ श्रावण २०७० २२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App