१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

बालकको अपहरण गरी हत्या गर्ने ८ जनालाई ७८ वर्ष कैद

दिनेश गौतम, नेपालगन्ज, मंसिर २९- दुई स्कुले बालकको अपहरण गरी हत्या गरेका मुख्य अभियुक्त मेराज अहमद साईलगायत आठ जनालाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित ७८ वर्ष कैद सजाय भएको छ। दुई बालक कपिल द्विवेदी र लीलाधर भट्टको कर्तव्य गरी हत्या गरेको अभियोगमा साईलगायत अन्य अभियुक्तलाई २०/२० वर्ष जन्मकैद, अपहरण तथा शरीर बन्धकअन्तर्गत १५ वर्ष र थप दुई/दुई वर्ष गरी ७८ वर्ष कैदको फैसला गरेको छ।

जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासमा शुक्रबार भएको फैसलामा अन्य अभियुक्त कैलाशकुमार गडरिया, राजीतराम कुर्मी, रामशोभित कुर्मी, वर्षाति भन्ने नजिर खाँ , रज्जब अलि साई ,इब्राहिम मनिहार र इन्साफ अलिलाई पनि ७८ वर्ष कैदको फैसला भएको छ।

हत्याका मुख्य अभियुक्त साईले बालक द्विवेदीको परिवारबाट १० लाख फिरौती समेत लिएका थिए। उनलाई फिरौती लिए वापतको १० लाख पीडित परिवारलाई दिलाई दिनु पर्ने फैसला भएको छ। पीडित परिवारलाई क्षतिपुर्ति वापत सबै प्रतिवादीबाट एक लाख भराई पाउने समेत फैसलामा उल्लेख छ। फिरौती दिनेक कार्यमा मध्यस्थता गरेको आरोप लागेका अधिकारकर्मी सिपि सिंहलाई अदालतले सफाई दिएको छ।

अपहरण र हत्यामा सहयोग गरेको अभियोग लागेका प्रहरी हवल्दार शाकिर अलि बेहना ४४ वर्ष कैद सजाय तोकिएको छ। फैसला सुने पछि अदालत परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कपिलकी आमा ऋचाले न्याय पाएको बताइन्। २०६७ साल असोज महिनामा अपहरण गरी हत्या गरेको अभियोग लागेका अन्य ६ जना फरार छन्।

प्रकाशित: २९ मंसिर २०६९ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App