१२ मंसिर २०७७ शुक्रबार
अन्य

मिस ! बालअधिकार कहाँ पाइन्छ?

बालकथा

सुनिता खड्का

आशा ९ वर्षकी थिइन्। उनको परिवारमा २ जना भाइ र आमा थिए। उनीहरूलाई सानैमा छोडेर उनका बुवाले अर्कीसँग विवाह गरेका थिए। उनलाई बुवाको मुहार सम्झना छैन।  

आमा घरेलु श्रमिकका रूपमा एक सम्पन्न घरमा बिहानदेखि बेलुकासम्म काम गर्थिन्। आशाचाहिँ घरमा बसेर भाइहरूको हेरचाह गर्थिन्। खाना पकाउँथिन्। खुवाउँथिन्।  

शनिबार र बिदाका दिनमा अन्य केटाकेटीसँग खेल्न घर बाहिर निस्किए पनि अरू दिन भने उनी कोठामै बसेर भाइहरूसँगै खेल्थिन्। दौंतरीहरू स्कूल गएको देख्दा उनलाई पनि जान मन लाग्थ्यो तर सम्भव थिएन।  

आमा घरेलु श्रमिकका रूपमा बिहानदेखि बेलुकासम्म काम गर्थिन्। नौ वर्षीया आशाचाहिँ घरमा बसेर भाइहरूको हेरचाह गर्थिन्।    

एकदिनको कुरा, कसैले उनकी आमालाई नयाँ खोलेको शिशु स्याहार केन्द«का बारेमा जानकारी दिएछन्। उनी सोध्दैसोध्दै त्यहाँ पुगिन् र आफ्नो सम्पूर्ण विवरण सुनाइन्। केन्द्र उनका छोराहरूलाई सेवा दिन राजी भयो।  

आशाका दुवै भाइले त्यो केन्द्रमा ठाउँ पाए। तर, आशाको अवस्था भने उस्तै रह्यो। भाइहरूलाई तयार गर्ने, त्यहाँ लाने र ल्याउने, हेरचाह गर्ने काम उनको जिम्मामा थियो। त्यति मात्र होइन, आमा आएपछि खाना पकाउने र सरसफाइ गर्ने काम पनि उनकै हुन्थ्यो।  

उनी स्यानो भाइलाई पिठ्यूँमा बोकेर र ठूलो भाइलाई हातमा समाएर आधा घण्टाको बाटो हिँडेर शिशु स्याहार केन्द्रमा पुग्थिन्। दिउँसो पनि लिन जान्थिन्।  

उनी बाटोभरि बालबालिका स्कूल गएको देख्थिन। यो दृश्यले उनको मन पोल्थ्यो। उनको पढने इच्छा अझ तीव्र हुँदै गयो। उनी आफू पनि स्कूल गएको कल्पना गर्न थालिन्। भाइहरू अपरान्ह घरमा फर्केपछि केन्द्रमा दिउँसो गाएको गीत सुनाउँथे। त्यहाँ खेलेको, खाएको र रमाइलो गरेका सबै कुरा सुनाउँथे।  

उनीहरूका कुरा सुन्दा आशालाई खुसीभन्दा मानसिक दबाब पर्न थाल्यो। उनी सपनामा स्कूल गएको, साथीहरूसँग रमाइलो गरेको, पढेको, खेलेको देख्न थालिन्। उनी यो कुरा चाहेर पनि आमालाई भन्न सक्दिनथिन् किनभने भाइहरूलाई केन्द्रमा पु-याएर सिधै आमालाई काममा सघाउनु उनको दिनचर्या थियो।  

त्यतैबाट केन्द्रमा पुगेर भाइहरूलाई लिएर आउँथिन्। आमाको दुःख बुझेकी उनको मनमा आमालाई कसरी सजिलो बनाइदिने भन्ने भावना खेलिरहन्थ्यो।  

पोखरेली कलाकार पदम घलेले बनाएको चित्र।  

एक दिन भाइहरूलाई पु-याउन जाँदा उनीहरूको केन्द«मा कार्यक्रम थियो। भाइहरूलाई छिट्टै लिन आउनु भन्ने सूचना पाएकाले त्यो दिन आशा त्यहीँ बसिन् कार्यक्रम हेरेर।  

त्यो दिन भदौ ४ अर्थात् बाल दिवस। त्यतिबेला भदौ ४ गते बाल दिवस मनाइन्थ्यो। कार्यक्रममा बोल्नेहरूले बालअधिकारका कुरा गरे। उनले छक्क पर्दै आफ्नै मनसँग सोधिन्, ‘मैले चाहिँ किन बालअधिकार नपाएको होला? बालअधिकार पाउन धनीको छोराछोरी भएर जन्मनुपर्ने हो कि?’

आशाले आफ्नै मनसँग सोधिन्, ‘मैले चाहिँ किन बाल अधिकार नपाएको होला? बालअधिकार पाउन धनीको छोराछोरी भएर जन्मनु पर्ने हो कि?’  

उनी मनोवाद गर्न थालिन्। अचानक उनले बुबालाई सम्झिइन्। मुहारसम्म याद नभएका बुबालाई। ‘मेरो बुबा कस्तो हुनुहुन्छ होला? आज बुबा हामी सँगै भइदिएको भए हाम्रो परिवारले यति दुःख पाउने थिएन होला। बुवा कहाँ के गर्दै हुनुहुन्छ होला?’, आशालाई बुबाको बारेमा जान्ने इच्छा भयो।  

त्यो रात उनी निदाउन सकिनन्। मनमा छटपटी भयो। कहाँ होला यो बालअधिकार? कसले दिन्छ होला? कसलाई सोधौं भनेर कोल्टे फेर्दाफर्दै उनी निदाइन्।  

उनले बुबालाई सम्झेर ठिकै गरिन्। वास्तवमा छोराछोरीको समानुपातिक विकास र सफलताका लागि चाहिने धारणा र सीप सिकाउनमा आमाबुबा दुवैको भूमिका हुन्छ।  

जब निदाइन् तब उनी गहिरो निद्रामा परिन्। राति मीठो सपना देखिन्। अचम्मै भयो, आशा स्कुल डे«समा ठाँटिएर झोला बोकेर स्कुल गइन्। मेहेनत गरेर पढिन्। परीक्षामा राम्रो अंक ल्याइन्। विद्यालयका हरेक गतिविधिमा सहभागी भइन्। एकपछि अर्को कक्षा चढ्दै गइन्। उनले स्कुलमा पुरस्कार जितेर घरमा ल्याइन्। गदगद् हुँदै आमा र भाइहरूलाई त्यो पुरस्कार देखाइन्।  

त्यत्तिकैमा आमाले उठेर ढोका खोलिन्। ढोकाको आवाजले आशा झल्याँस्स ब्यूँझिइन्। उनी छाँगाबाट खसेजस्ती भइन्। उनले आफूलाई एकपटक नियालेर हेरिन्, ‘के यो सपना सम्भव होला त?  

एकछिन मौन बसिन्। अनि आमा बाहिर निस्केको ढोकातिर हेरिन्। र, निदाइरहेका भाइहरूलाई पनि एकटकले हेरिरहिन्।  

उनी गहिरो सोचमा परिन्, ‘भाइहरूलाई शिशु स्याहार केन्द्रमा पु-याउन जाँदा त्यहाँका मिसलाई सोध्नु पर्ला, बालअधिकार कहाँ र कसले दिन्छ भनेर।’  

उनी उठेर नित्य कर्ममा जुटिन्। त्यसपछि घरायसी काममा व्यस्त भए पनि उनको मनमा कुरा खेलिरह्यो। उनी भाइहरूलाई तयार पारेर सधैंझैं केन्द्रमा पुगिन्। भाइहरू गेटभित्र पसेपछि एकछिन टक्क उभिइन्।  

मिसलाई सोधौं कि नसोधौं भइरह्यो। केही बेरपछि आँट गरेर भित्र पसिन्। मिस केन्द्रको भवन बाहिरै थिइन्।  

‘मिस एउटा कुरा सोध्नु थियो’, आशाले भनिन्।  

‘भनन के कुरा हो आशा’, मिसले मायालु पारामा भनिन्।  

तर आशा लजाइन्। उनको मनोविज्ञान बुझेर मिसले उनलाई अफिस कोठामा लगिन्।  

‘भन आशा के कुरा हो?’  

डराउँदैडराउँदै आशा बोलिन्, ‘अस्तिको कार्यक्रममा भनेको बालअधिकार कहाँ पाइन्छ मिस?’  

मिस मुसुक्क मुस्कुराइन्। उनले छक्क पर्दै सोधिन्, ‘तिमीलाई किन चाहियो भन त।’  

बल्ल आशा खुलिन्। उनले आफ्नो उमेरका साथीहरू झोला बोकेर स्कुल गएको देख्दा आफूलाई पनि पढ्न मन लागेको कुरा गरिन्। अनि हिजो राति देखेको सपना बारे सुनाइन्।  

उनी भविष्यमा सामाजिक अभियन्ता बन्न चाहन्छिन्। उनले आफूले जस्तै बेलैमा पढ्न नपाएका बालबालिकाको सहयोग गर्ने अठोट लिएकी छन्। हरेक बालदिवसका दिन उनी त्यो आफ्नो अठोट दोहो-याउँछिन्।  

उनलाई सुनेर मिसका आँखा रसाए। ‘आशा! साँच्चै तिमी पढ्छ्यौ त?’, मिसले प्रश्न गरिन्।

‘पढ्छु नि मिस तर मलाई कसले पढाउँछ र’, यति भन्न नपाउँदै उनी भक्कानिएर रुन थालिन्। मिसले उनलाई थुम्थुम्याइन्।  

‘अब खुसी हुने र भोलिदेखि यहीँ पढ्न आऊ। जान्ने भएपछि म स्कुलमा भर्ना गरिदिउँला। भोली आमालाई पनि ल्याउनु है!’  

मिसका कुरा सुनेर आशा फुरुङ्ङ बनिन्। उनले बेलुकी आमा आएपछि बेलीबिस्तार लगाइन्। आमा पनि छक्क परिन्। आफूले छोरी आशालाई पढाउनुपर्छ भन्ने नसोचेकामा उनलाई ग्लानी भयो।  

आमाको मनमा खुसी र पहाडले एकै पटक थिचेझैं भयो। उनी केही बेर मौन भइन्। अनि मिसलाई भेट्न अलि चाँडै जाउँला भनेर भान्छामा गइन्। आशाको मनमा कहिले भोलि आउला र पढ्न जान पाइएला भन्ने भइरह्यो।  

भोलिपल्ट घरको सबै काम भ्याएर उनीहरू केन्द्रमा पुगे। मिस र आमाबीच कुराकानी भयो। केन्द्रमा तीनै जना सन्तानलाई छाडेर आमा काममा गइन्।  

त्यही दिनबाट आशाको अक्षरारम्भ भयो।  

वर्ष दिन त्यहाँ अनौपचारिक शिक्षा लिएपछि आशालाई एकैपटक ३ कक्षामा भर्ना गरियो। यसरी उनको शैक्षिक यात्रा अघि बढ्यो।  

समय बित्दै गयो। उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। सफलताका पाइला चुम्दै गइन्। अहिले उनी विएसडब्लु दोस्रो वर्षमा पढ्दैछिन्।  

उनी भविष्यमा सामाजिक अभियन्ता बन्न चाहन्छिन्। उनले आफूले जस्तै बेलैमा पढ्न नपाएका बालबालिकाको सहयोग गर्ने अठोट लिएकी छन्।  

अचेल भदौ २९ गते बाल दिवस मनाइन्छ। उनी प्रत्येक बालदिवसका दिन त्यो सपनालाई सम्झिन्छिन। अनि भावुक बन्छिन्। त्यतिबेला उनका आँखाका डिल भत्किन्छन्।  

उनले शिशु स्याहार केन्द्रकी मिसलाई कर्म दिने आमा र केन्द्रलाई घर मानेकी छिन्। त्यसैले आफ्नो छुट्टीका दिनमा केन्द्रमा आएर नानीहरूलाई पढाउने र अन्य काममा पनि सहयोग गर्ने गर्छिन्।  

आशा जब केन्द«मा आउँछिन् तब ती दिनहरू सम्झेर तिनै मिसप्रति आभारसूचक भावमा मुस्कुराउँछिन्!  

प्रकाशित: २० भाद्र २०७७ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App