७ वैशाख २०८१ शुक्रबार
अन्य

धनमाया राईका पाँच गजल

गजल

धनमाया राई

सोचिरहेछु हरेकपल बुझ्नै सक्दिनँ

कहाँनेर भएँ अलमल बुझ्नै सक्दिनँ।

 

साम, दाम, दण्डभेद अपनाए मात्र

हुने रहेछ चहलपहल बुझ्नै सक्दिनँ।

 

वृहस्पति झुट्टा हुन्छन् दुनियाँको सामू

पिपलपाते हुने सफल बुझ्नैै सक्दिनँ।  

 

खुरापाति गर्नेलाई मानी ठूलो मान्छे

गर्नुपर्ने गोडी मलजल बुझ्नै सक्दिनँ।  

 

मेटी आफ्नै पहिचान गुलाम बन्छ कोही

बिर्सी टेकेको धरातल बुझ्नै सक्दिनँ।  

 

तलाउझैँ नजमेर सफर बन्न मन छ

बग्दैझर्दै सागर छुने प्रखर बन्न मन छ।  

 

आरनमा राखी कूट छैन क्यै गुनासो

विरोधीलाई प्रहार गर्ने खञ्जर बन्न मन छ।  

 

भगवानले कमलो दिल बनाइ दिए पनि

समाज देख्दा आफूलाई हिट्लर बन्न मन छ।  

 

मेरै छाती ढाल बनाई लड सुपुत्र हो

युगले सधैँ सम्झिरहने अमर बन्ने मन छ।  

 

हिउँजस्तै पग्लिएर पक्कै आउँछौ भनी

तिमीलाई छुने बहानामा बगर बन्ने मन छ।  

 

इमान्दार थिए बाको कुरा कति गरुँ?

भारी बोक्दै खोले खाको कुरा कति गरुँ?

 

खाली आङ चर्को घाम सोता बारी खन्ने

मूल्यहीन पसिनाको कुरा कति गरुँ ?

 

देखेपछि  थोत्रो चोली भारीसँग कोही

झल्को आउँछ आमाको कुरा कति गरुँ?

 

सुरक्षित छैनन् कोही चेलीबेटीहरू

पथभ्रष्ट फटाहाको कुरा कति गरुँ?

 

निर्मला त यो समाजकी प्रतिनिधि पात्र

फेरिफेरि त्यो कथाको कुरा कति गरुँ?

 

गयो एउटा भक्त, भगवान खोज्दै गयो

आधा रातै उठेर ऊ बिहान खोज्दै गयो।  

 

जान्दैनथ्यो दायाँबायाँ तलमाथि गर्न

र त आफ्नो कर्म, धर्म, इमान खोज्दै गयो।

 

कुटेखेलो गर्नेलाई सहेनन् कसैले ?

बल्झाइरहे समस्या ऊ निदान खोज्दै गयो।  

 

उर्वर जमीन जब जर्जर भयो हेर्दाहेर्दै

बृद्ध बाबु छोडी छोरो मुग्लान खोज्दै गयो।

 

काम पाएन इमानदारले चाप्लुसीको अघि

बाल्दै टुकी अँध्यारोको अवसान खोज्दै गयो।  

 

फूल हराएछ आज एकाएक डालीबाट

गुनासो आएकोथ्यो सखारै मालीबाट।  

 

गएको थेँ मन्दिरमा पाती मात्र लिएर

उही फूल मुस्कुरायो अर्कैको थालीबाट।  

 

रोप्न त फूल रोप्छन् नै आफ्नै छेउछाउ

कसले चोर्छ मालीको हालीमुहालीबाट।  

 

सम्हालेर राखेको थेँ आँखाभरी अटाएर

मेरो पनि हराएथ्यो माथि अटालीबाट।  

 

भेटेँभने भन्ने नै छु मालीलाई एकदिन

दह्रो गर बार बन्देज बगैचा यसपालीबाट। 

प्रकाशित: ९ भाद्र २०७७ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App