९ वैशाख २०७८ बिहीबार
अन्य

भेडेटारमा देशै रमाइलो

नियात्रा

सुमित्रा बाङ्देल ‘चेली’

दमक नगरपालिकाको महेन्द्र राजमार्गमा हुइँकिरहेका छौं हामी। दुईवटा कारमा सवार छौं–उपभोक्ता संरक्षण हकहित मञ्चका अध्यक्ष डा. नविन चापागाईं, उपाध्यक्ष अधिवक्ता देवेन्द्र भण्डारी, सचिव पत्रकार गोपाल झापाली, कोषाध्यक्ष स्वयं पङ्क्तिकार सुमित्रा वाङ्देल ‘चेली’, सदस्य, उद्योग व्यवसायी चैतन्य बराल, प्राध्यापक धनञ्जय बास्कोटा, उद्योग व्यवसायी हेमकुमारी भट्टराई आदि। काठमाडौँबाट केन्द्रीय अध्यक्ष ज्योति बानियाँ बाटोमा आउँदै गरेको खबर छ । दमक नगरपालिकाबाट मेयर, उपमेयर र दशवटा वडाका वडा अध्यक्षहरू सरकारी सवारी साधानमा हामीभन्दा पछि आउँदै हुनुहुन्छ।  

भेडेटार हाम्रो गन्तव्य। तराईको उष्मलाई दुई दिन मात्र भए पनि छल्दै थियौँ हामी। झापामा उसिनिएको ज्यानलाई १,४२० मिटरको उचाइमा पु-याउँदै थियौँ। मञ्चले जुराइदिएको थियो यो सुनौलो अवसर। म मञ्चप्रति आभार प्रकट गर्दैछु मनमनै।

इटहरी पुगेपछि उत्तरतर्फ कोशी राजमार्गपट्टि मोडियो कार। अबको यात्रा धरानतर्फ। महाभारतकालीन इतिहास बोकेको नेपालको एक सुन्दर तथा विविध साँस्कृतिक विविधता भएको शहर हो धरान। धरान नगरको शिर हो विजयपुर। पछिल्लो समयमा किरात राजधानीका थियो विजयपुर। सतिदेवीको दन्तपतन भएको किंवदन्ती छ विजयपुरमा। दन्तकाली लगायत पाँच सय वर्ष पहिले बङ्गालका राजाले जिर्णोद्वार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरूबाट यो ठाउँले पुरातात्विक, पौराणिक र ऐतिहासिक एवम् पर्यटकीय महत्व बोकेको छ।

सुनेकी थिएँ– हालको धरान शहर रहेको ठाउँमा पनि घना जङ्गल नै थियो। जङ्गल फडानीका क्रममा काठ चिर्ने आरावालहरूले काठ चिर्न थुप्रै धरानहरू बनाएका थिए रे। यही धरानबाट धरान शहरको नाम रहन गएको रे।  

थुप्रै मानवबस्तीहरू पार गर्दै प्रवेश ग-यौं हामी। चारकोसे झाडी, जङ्गलमा कोरिएको कालो धर्सामा गुडिरहेका थियौँ। गुड्नु थियो अझै।  

धरानस्थित घण्टाघर।  

सुनेकी थिएँ– हालको धरान शहर रहेको ठाउँमा पनि घना जङ्गल नै थियो। जङ्गल फडानीका क्रममा काठ चिर्ने आरावालहरूले काठ चिर्न थुप्रै धरानहरू बनाएका थिए रे। यही धरानबाट धरान शहरको नाम रहन गएको रे।  

समशितोष्ण हावापानीतर्फ नजिकिँदै गरेकाले होला लोलाउन पुगेछन् मेरा आँखा।  

“धरान आइपुग्यो” कसैको आवाज मेरो कानमा ठोक्किएपछि ब्यूझिएँ म। परेला उघार्ने बित्तिकै एउटा बोर्डमा ठोक्किए मेरा आँखा। लेखिएको थियो ‘यहाँलाई धरान नगरपालिका हार्दिक स्वागत गर्दछ।’

विजयपुरको बुढासुब्बा मन्दिर।

घडीले नौ बजाइसकेको रहेछ। त्यतिबेला सन्ताउन्न किलोमिटर पार गरिसकेका थियौँ हामीले। तराईदेखि पहाडसम्म फैलिएको भौगोलिक विविधता भएको। तीनतिर पहाडी धरातलले घेरेको। एकातिर चारकोसे जङ्गल रहेको र पूर्वमा बूढीखोलादेखि पश्चिममा पटनाली खोला। खोलासम्म फैलिएको थोरै दूरीमा पनि उचाइको धेरै फरक रहेको। भिरालो प्रकारको जमिन। पहाड र तराईको सङ्गमस्थल। नेपालको दोस्रो धेरै पानी पर्ने स्थान पनि हो–धरान। थुप्रै विशेषता छन् धरानको। उबेलादेखि नै पूर्व ब्रिटिश सैनिकहरूको बाक्लो बसोवास रहेको ठाउँ हो धरान। नयाँ–नयाँ फेशन उनीहरूले नै भित्र्याउँथे नेपालमा। कुनैबेला नेपालको फेशनको शहर भनेर चिनिन्थ्यो धरानलाई। अहिले त फेशनमा काठमाडौँलाई जित्न कहाँ सकिन्छ र?

धरानमा किराती राजा यलम्बरको मूर्ति। 

“आइयो है भेडेटार!”  

पछाडिबाट आएको आवाज कसको हो, यकिन गर्न सकिनँ मैले। धरानबाट सोह्र किलोमिटरमात्र भएकाले गाडीलाई भेडेटार आइपुग्न बेरै लागेन। पहाडलाई  फन्को मारेको नागबेली सडकलाई पछ्याएका थियौँ हामीले।

मैले यताउति नजर डुलाएँ। भेडेटारमा अवस्थित शङ्खको मूर्तिलाई पछि छाडेर उकालोतर्फ बढ्दै थियो कार।  

शंखेश्वर महादेव।

बाफ् रे ! कस्तो ठाडो उकालो। सातो उडेथ्यो मेरो। त्यो उकालोमा गाडी चढेको देख्दा गायक सुन्दर श्रेष्ठ र तिर्थ कुमारीहरूले गाएको गीत याद आयो मलाई–‘उकालीमा पनि हजुर मोटर जादोरै’छ

ड्राइभर दाइलाई सासना

माया सलल जाउँ हिँड रेलैमा ..’  

उकालो काटेपछि दम्साइलो तेर्सो सडकमा अघि बढ्यो हाम्रो कार। डाँडाको थाप्लोमा पुगेर कार पार्क गरी सरासर होटल ग्रीन हेवनको सिँढी चढ्यौँ। कारमा लगभग बयासी किमि पार गर्न हामीलार्य तीन घण्टा लागेछ।  

आजको बास यतै।  

तराईको उष्णमा बस्ने बानी परेकाले होला, भेडेटारको प्राकृतिक वातनुकूलनले चिस्याइसकेको थियो हामीलाई। कहाँको समुद्री सतह बराबरको झापा, कहाँको १,४२० मिटर उचाइको भेडेटार! मान्छेको शरीर न हो चिसोले आच्छु–आच्छु पारिहाल्यो।  

सुनसरी र धनकुटाको सीमामा अवस्थित भेडेटार क्षेत्रमा भाषाविद् इमानसिंह चेम्जोङको सालिक, शंखेश्वर महादेव, चाल्र्स टावर, सिम्सुवा झरना, पाथीभरा मन्दिर, साँगुरीगढी, नाम्जे गाउँ लगायत सम्पदा छन्।

होटलका स्टाफले स्वागत गरे हामीलाई। शरीर चिसिएको बेला तातो चिया पिउनुको मज्जा नै बेग्लै थियो। सहयात्रीहरू भन्दै थिए–कसरी दुई रात बिताउने होला?

घाम र कुहिरोको लुकामारी चलिरहन्छ यहाँ। बाह्रै महिना चिसो मौसम भइरहनु विशेषता हो भेडेटारको। यसैले त गर्मीमा तराईबाट भेडेटार आउने पर्यटकहरूको घुइँचो लाग्छ । नेपाली मात्र होइन, भारतीय समेत आउँछन्।  

भेडेटारबाट देखिएको धरान बजार। 

हामीले केही बेर भेडेटारको पर्यटनका विषयमा कुराकनी ग-यौं। भुइँकुहिरोसँग लुकामारी खेलिरहने भेडेटार सुनसरी र धनकुटाको सीमामा पर्दो रहेछ। यस क्षेत्रमा भाषाविद् इमानसिंह चेम्जोङको सालिक, शंखेश्वर महादेव, चाल्र्स टावर, सिम्सुवा (नमस्ते) झरना, पाथीभरा मन्दिर, साँगुरीगढी, नाम्जे गाउँ लगायत सम्पदा छन्।  

भेडेटार नाउँको विषयमा रोचक प्रसंग सुनियो। एक समय पूर्वका भेडा राख्ने जक्सन भएकाले यसलाई भेडेटार भनिएको रे। तीसको दशकमा धरान–धनकुटा सडक खन्ने बेला संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायत जिल्लाबाट हिँडाएर हुलका हुल भेडा धरानसम्म ल्याइन्थ्यो। तिनलाई भेडेटारमा राखिन्थ्यो। भेडा राख्ने टार भएकाले ‘भेडेटार’ भन्न थालियो।  

किराती आमा।  

भेडेटारबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल देखिन्छ। बजारबाट तीन किमिमा पाथीभरा मन्दिर र साँगुरीगढी छ। त्यस्तै ४ किमिको मगर गाउँ नाम्जेमा होमस्टे सुविधा छ। त्यहाँ आत्मा बस्ने घर छ। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहानलाई आत्मा बस्ने घर भनिन्छ।  

नाम्जे गाउँको शिरमा आत्मा बस्ने घर। 

उपभोक्ता संरक्षण हकहित मञ्च केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको “स्थानीय बजार व्यवस्थापन तथा अनुगमन एवम् उपभोक्ता सचेतना अभिवृद्धि विषयक दमक नगरस्तरीय अभिमुखीकरण कार्यक्रम”का लागि आयोजित कार्यक्रममा काठमाडौँ, दमक नगरपालिका र हामी आयोजक संस्थाको टोलीलगायत सुनसरीका पत्रकार गरी जम्मा २८ जना उपस्थिति भइसकेको हुँदा निर्धारित समय दश बजे आयोजक संस्थाको सचिव गोपाल झापालीबाट औपचारिक कार्यक्रम सुरु भयो। संस्थाका शाखा समिति अध्यक्ष डा. नविन चापागाईंको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ज्योति बानियाँ, विशिष्ट अतिथि नगरपालिकाका मेयर रोमनाथ ओली, विशेष अतिथि उपमेयर गीता अधिकारी, विशिष्ट अतिथि दमक न.पा. कार्यकारी अधिकृत गणेश तिम्सिना आदि उपस्थित रहनुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवेन्द्र भण्डारीको थियो।  

तराईको उष्णमा बस्ने बानी परेकाले होला, भेडेटारको प्राकृतिक वातनुकूलनले चिस्याइसकेको थियो हामीलाई। कहाँको समुद्री सतह बराबरको झापा, कहाँको १,४२० मिटर उचाइको भेडेटार! मान्छेको शरीर न हो चिसोले आच्छु–आच्छु पारिहाल्यो।  

उपभोक्ता अधिकारका बारेमा एपीवान टेलिभिजनका सञ्चारकर्मी, पत्रकार मञ्च– सुनसरी, अध्यक्ष मिलन बुढाथोकी, ज्योति बानियाँ, रोमनाथ ओलीज्यूले शुभकामना मन्तव्य राख्नुभई प्रथम सत्रको कार्यक्रम समापनको घोषणा गरियो।

कार्यक्रम सकिँदा हाम्रो लागि दालभात तयार भइसकेको थियो। कालोदाल र पात्ले सिस्नुको दाल, ताजा स्कुसको मुन्टाको तरकारीमा अकबरे खोर्सानी मिचेर खाँदा ख्याल मज्जा आएन।

‘भोजन होइन भोक मिठो’ भनेको हो रहेछ।  

खानापछि एकैछिन बगैँचामा टहलिँदै वारिपारि नियाल्यौँ। भूइँकुहिरोको साम्राज्य चलिरहेको थियो भेडेटारको भूगोलमा। इलाममै जन्मेर हुर्किएकी हुँ म। यति धेरै चिसो महसुस गरेकी थिइनँ मैले माइती गाउँमा। चिसो मौसमकै कारण होटल वारि–पारिका बगैँचामा पाखनवेद (पाषणभेद) मौलाएको देखिन्थ्यो। महत्वपूर्ण जडबिुटी पाखनवेदलाई पुरुष र स्त्री दुवैका लागि उपयोगी औषधी मानिन्छ। हाम्रो देश जडीबुटीको खानी भए पनि एलोप्याथी प्रयोग गर्न बाध्य छौं। आफूसँगै भएका जडीबुटीलाई कहाँ सही तरिकाले उपयोग गर्न सकेका छौं र हामीले? छिमेकी राष्ट्र चीनले सुनको सिरानी लगाएर सुतिरहेको छ नेपाल त्यसै कहाँ भनेको हो र? खेर गइरहेको जडीबुटी देख्दा रोयो मेरो मन।  

सिम्सुवा झरना। 

निर्धारित समयमा प्रशिक्षण कार्यक्रम सुरु भयो। साँझ ढलिसकेको थियो सकिँदा। बेलैमा रात्रीभोज गरेर कोठातिर लाग्यौँ। चिसोले कोठामा पट्याएर राखेको सिरक–डसना र सिरानी पानीले भिजेको जस्तै भएको थियो। आफूसँग भएको ऊनीको पछ्यौराले न्याय ग¥यो मलाई। नत्र कहाँ सक्थेँ होला र निदाउँन!

बिहान उठेर नित्यकर्म गरीवरी नास्ता खाई प्रशिक्षण कार्यक्रममा सहभागी भइयो। अघिल्लो दिन नै दोस्रो दिन नजिकै रहेको साँघुरीगढी गाउँपालिका होमस्टे अवलोकन भ्रमणको बारेमा जानकारी गराइएको थियो। प्रशिक्षणपश्चात् खाना खाएर दिउँसो एक बजे हामी लाग्यौँ त्यता।  

भिरालो परेको जमिनमा दक्षिण मोहोडा पारेर धरानलाई चिहाए पनि सुनसरीको केही भाग हेर्दै हरियाली घुम्टोमा सजिएकी युवती मुस्काइरहेझैं लाग्छ साँघुरीगढी गाउँपालिका। गुजमुज्ज बसेको सुन्दर गाउँ। परम्परागत शैलीमा घरहरू छन्, रातो माटो र कमेरोले पोतेर चिटिक्क। नामजस्तै साँघुरो छ बाटो पनि। चिसो मौसम र मनोरम ठाउँ। यातायातको पनि सुविधा। होमस्टेको सुरुवात भइसकेकाले स्वदेशी र विदेशी पाहुनाको एउटा गन्तव्य नै हुने भएको रहेछ त्यो ठाउँ। पर्यटन नै हो आर्थिक पक्ष सबल हुने।  

साँगुरीगढीमा स्थानीय दिदीबहिनीहरूले खादा ओढाई स्वागत गर्नुभयो। परिचयात्मक कार्यक्रमपछि नाङ्लोभरि ताजा, हरियो काँक्रा, पिसेको अकबरे खोर्सानी र जम्बो बोत्तलभरीको तीनपाने आइपुग्यो हाम्रो सामु। इच्छा हुनेहरूले खाए मज्जैले। अनि सुरु भयो नाचगान।  

गाडीबाट ओर्लिएर ओरालो हिँड्दै एउटा निर्माणाधीन सामुदायिक भवनमा पुग्दा स्थानीय दिदीबहिनीहरूले खादा ओढाई स्वागत गर्नुभयो। परिचयात्मक कार्यक्रमपछि नाङ्लोभरि ताजा, हरियो काँक्रा, पिसेको अकबरे खोर्सानी र जम्बो बोत्तलभरीको तीनपाने आइपुग्यो हाम्रो सामु। इच्छा हुनेहरूले खाए मज्जैले। यसैबीचमा मनोरञ्जन कार्यक्रम पनि राखिएको रहेछ। मगर पोशाकमा सजिएका दिदीबहिनी र दाजुभाइहरू लहरै उभिएर लोकभाकामा गीत गाउँदै हात समाई समाई नाच्न थाले।

“हिमालैचुली नि हौ त्यो पल्लो पनि

गाई म-यो रोगैले हौ देशै रमाइलो ।

कहाँको तिमी नि हौ कहाँको हामी

भेट भयो जोगैले हौ देशै रमाइलो ।”

उहाँहरू नाच्दा–नाच्दै हामी सबैलाई तान्दै नचाउनुभयो। निकैबेर रम्यौँ हामी स्थानीयहरूको नाचगानमा। खानपीन र नाचगान पश्चात हाम्रोतर्फबाट नगरपालिका मेयर रोमनाथ ओलीज्यूले उक्त सामुदायिक भवन निर्माणको लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो।

सूर्योदय।  

भोलिपल्ट।

बिहानदेखि नै भूइँकुहिरोसित लुकामारी खेलिरहेको थियो पारिको धनकुटा र तलको धरान बजार। कुहिरोसँगै धनकुटा र धरान डुलेको अनुभूति गरेँ मैले।  

नास्तापछि भेडेटार छाड्यौं हामीले।  हामीसँगै धरानतिरै ओरालो लाग्दै थियो कुहिरो। साँच्चै गर्मी छल्ने आकर्षक गन्तव्य रहेछ भेडेटार। भेडेटारमा ५ दर्जन हाराहारीमा होटल तथा रिर्सोट रहेछन्। अन्य परिकारका साथमा बंगुरको कानजिब्रो र तोङ्बाका लागि भेडेटार प्रख्यात रहेछ।  

त्यहाँको प्रकृति र आत्मीयता सम्झँदा मलाई फेरी भेडेटार पुगिहालौं जस्तो लाग्छ।  

धराने कालो बंगुरको सेकुवा।

प्रकाशित: ३० श्रावण २०७७ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?