१९ श्रावण २०७७ सोमबार
अन्य

कोरोनाबाट परेको असर

युगशा हुमागाईं

कक्षा –४ क,

पाठशाला नेपाल फाउन्डेसन, नयाँ वानेश्वर, काठमाडौं ।

आजभोलि विश्वमा  फैलिएको अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) ले गर्दा सबैतिर त्रासको अवस्था रहेको छ । यस्तै त्रास म र मेरो घर परिवारमा पनि रहेको छ । सन् २०१९ को अन्त्यतिर यो भाइरस सर्वप्रथम चीनको वुहान प्रान्तमा देखापरेको र  अहिलेसम्म विश्वमा एक करोड जनाभन्दा बढी मानिसहरू संक्रमित भैसकेका र झन्डै छ लाख मानिसको ज्यान नै गैसकेको छ । हालसम्म पनि यो भाइरसको रोकथामका लागि कुनै औषधि तथा खोपको पत्ता लागेको छैन । यसबाट बच्ने उपाय भनेको यो भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कदेखि अन्य व्यक्तिहरू टाढै बस्नु नै मुख्य उपाय हो । त्यसैले हामीले पनि आफ्नोे परिवारका सदस्यबाहेक अन्य व्यक्तिसँगको सम्पर्क नगरी बसेका छौं ।

जति धेरै संक्रमित व्यक्तिको सम्पर्क हुन्छ त्यति नै यो भाइरस सर्ने हुँदा त्यसबाट बचाउन विश्वभरिका देशहरुले लकडाउनको उपाय अपनाएका छन् । जसका कारण हाम्रो देशमा पनि चार महिनादेखि बन्दाबन्दीको अवस्था रहेको छ । जसले गर्दा विद्यालयहरू बन्द छन् । पसल र बजार खुलेका छैनन् । मनोरन्जनका क्षेत्रहरू, पार्क, सिनेमा घर, यातायातका साधन, होटल पनि सबै बन्द रहेका छन् । सबै मानिसहरूलाई यो बेला जो जहाँ छन् त्यहीँ बस्नुपर्ने बाध्यता छ । संक्रमणबाट जोगिन सबैले   आआफ्नो घरमा नै बस्नु परेको छ । व्यापारव्यवसाय, विद्यालय केही पनि नचलेकाले सबैजसो मानिसहरू डर र त्रासका बीच घरमा नै बसी राखेको यो अवस्था ज्यादै नै कठिनका साथ बितिराखेको छ ।

 म जस्ता सानो उमेरका धेरै केटाकेटीहरूलाई कोरोनाका कारण आफ्नोे घरमा मात्र बस्नुपरेको छ । यसरी घरभित्र मात्र बस्नुपरेकोले मलाई आजभोलि दिनहरू बिताउन धेरै गाह्रो  भएको छ । अहिले मैले विद्यालय जान पाएको छैन । साथीहरूसँग भेट्न पाएको छैन ।  साथीहरूसँग खेल्नदेखि  आफूलाई फूल मन लागेको ठाउँ घुम्न पाएको छैन । आफूलाई फूल मन पर्ने मीठामीठा खानेकुरा खान पनि पाएको छैन । यस्तो अवस्थामा सुरुसुरुमा मैले मेरो घरका कोठाहरू मिलाउन र सरसफाइमा मेरा अभिभावकहरूलाई सघाए । मैले गमलाहरुमा फूल रोप्ने, छतमा तरकारी लगाउने काम पनि बाआमा र दाइसँग मिलेर गरें । यसरी हामीले रोपेका  फूल र तरकारीलाई दिनदिनै पानी हाल्ने गोडमल गर्ने गर्दा मलाई रमाइलो लाग्थ्यो । विरुवाका वृद्धि विकासलाई दैनिक अवलोकन गर्ने काम मैले सधैं गरिरहन्थे । मैले तरकारीका विरुवा उम्रेदेखि फल लाग्दासम्मका अवस्था नजिकबाट हेर्ने मौका पनि यो बन्दाबन्दीका बेलामा पाएँ । धेरै थरीका परिकार बनाउन पनि सिकें । मैले घरैमा आइसक्रिम बनाउन सिकें । विभिन्न मिठाईहरू बनाउन पनि सिकें । यसरी बन्दाबन्दीले मलाई धेरै कुरा सिक्ने मौका मिल्यो ।

 अहिले मेरो विद्यालयले विद्युतीय माध्यमबाट नियमित कक्षाहरू सन्चालन गरिरहेको छ । कक्षामा साथीहरूसँगै बसेर गुरुआमागुरुवाहरूसँग पढ्ने, लेख्ने अनि खेल्ने मेरा इच्छा र रहरहरू यस्तो कक्षाबाट पूरा नभए पनि मैले नयाँ तरीकाबाट पनि पढ्न सकिने कुरा यो भाइरसका कारण भएको बन्दाबन्दीमा सिकें । यस्तो विद्युतीय माध्यमबाट घरमै बसेर पढ्ने कुरा पनि राम्रै हुने रहेछ । तैपनि विद्यालय गएर साथीहरूसँगसगै कक्षाकोठामा बसेर पढेको जस्तै भने नहुने रहेछ । 

आज पनि मलाई विद्यालय र कक्षाकोठामा साथीसँगै बसेर पढेका दिनको सम्झनाले भने सताइरहन्छ । कहिलेकाही त घरमै बसी बिहानदेखि बेलुकासम्म सधैं एउटै काम गरिरहँदा दिक्क पनि लाग्छ ।  त्यस्तो  हुँदा म गीत सुन्ने टिभी हेर्ने चित्र बनाउने गरेर रमाउँछु । घरमा बाआमा र दाइले मलाई मैले गर्ने हरेक कार्यहरूमा सघाउने र सल्लाह दिने गर्नुहुन्छ । यसो गर्दा मलाई अझ रमाइलो लाग्छ तर कहिले भने उहाँहरूले जबर्जस्ती केही काम गर्न र कहिले कुनै काम नगर्न भन्नुहुन्छ । त्यस्तो बेला भने मलाई नरमाइलो लाग्छ । दिक्क लागेर कही जान मन लाग्छ, साथीभाइसँग भेट्न मन लाग्छ अनि खेल्न मन लाग्छ । जे भए पनि जसरी भए पनि समयअनुसार चल्नै परयो ।

मानिसले समयअनुसार चल्न सिक्ने क्रममा आफ्ना आवश्यकता पूरा गर्न विभिन्न खालका क्रियाकलाप गर्दा प्राकृतिक वातावरणमा भएको असन्तुलनले नै अहिलेको यो महामारी  फैलिएको  हो । अब हामीले यसलाई सकेसम्म  फैलिन नदिन आवश्यक उपाय अपनाउनुपर्छ । घरैमा बसेर यो भाइरसको संक्रमणबाट बच्नु नै हामी सबैको बुद्धिमानी हुन्छ । हामीले आफ्नो खाना र सरसफाइमा ध्यान दिनुपर्छ । यो भाइरसबाट बच्न यसले हामीलाइ मद्दत गर्छ । अन्यमा हामी सबै घरमै बसौं ।  नियमित सरसफाइ गरौं । आफ्ना सबै नियमित गर्नुपर्ने क्रियाकलाप गर्दै जाऊँ । 

प्रकाशित: ९ श्रावण २०७७ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App