त्रिलोचन ढकाल
पिङ्कु हराइन् । भर्खर त यहीँ थिई । आमा भुट्भुटाउन थालिन । उनले यताउता खोजिन । ओल्ला पल्ला घरमा सोधिन् । कसैले पनि देखेको कुरा गरेनन् ।
त्यही बेला घनघोर वर्षा भयो । पिङ्कु आइनन् । खोल्सामा ठूलो भल बग्यो । खेतबारीका डील भत्के पैराले । आमाको चिन्ता झन् बढ्यो । कतै पैरोमा त परिन । भलले त बगाएन । चर्को आवाजमा बोलाइन् । पिङ्कुको आवाज सुनिएन । आमा आत्तिइन ।
खोज्दैखोज्दै नजिकैको स्कुलमा पुगिन् । वरिपरि हेरिन् । पिङ्कु देखिइनन् । कोरोनाका आतङ्कको समय स्कुल बन्द थियो । चकमन्न थियो जताततै ।
स्कुलका कोठामा ताला लगाइएको थियो । उनी शौचालयतिर गइन् । त्यहाँ पनि ताला झुन्डिएका देखिए । भवनको पछाडि हेरिन् । पिङ्कु त्यहीँ भेटिइन् । उनी रोइरहेकी थिइन् ।
आमाले सोधिन्,‘किन आएकी पिङ्कु स्कुलमा ।’
रिसको भावमा पिङ्कुले जवाफ दिइन्, ‘स्कुलमा किन आउँछन् पढ्न ।’
– स्कुल बन्द छ नि छोरी ।
– बन्द भएर के भयो त । मलाई पढन मन लाग्यो ।
– दाइले घरमै पढेका छन् । तिमी किन स्कुल आयौ। दाइले अनलाइनमा पढन थाल्यो । हाम्रो स्कुलले अनलाइनमा पढाउँदैन । अनि के गर्ने त ?
– दाइसँगै पढ नू ।
– मलाई पनि सिकाइदिनु न भन्दा दाइले के भन्यो, थाहा छ ?
– के भने छोरी दाइले ?
– कम्प्युटरमा पढ्ने भए त बोर्डिङ स्कुलमा पढ्थिस् नि । सरकारी स्कुलमा पढ्नेले पनि अनलाइनमा पढ्न पाइन्छ । तेरो स्कुलले अनलाइनमा पढाएको छैन । भन्यो दाइले अनि म स्कुल नआएर कहाँ जाउँ ।
– छोरीको मन साह्रै दुखेछ ।।
– फुट्लाजस्तो भएको छ ।
आमाले मायालु भावमा हाँस्दै भनिन्, ‘अब दाइलाई पनि यही स्कुलमा भर्ना गरिदिन्छु अनि त दाजुबहिनीसँगै ।’
– हुँदैन । दाइलाई यहाँ ल्याउने होइन।
– त्यसो भए पिङ्कु छोरीलाई दाइ पढ्ने बोर्डिङ स्कुलमा भर्ना गरिदिउँला।
पिङ्कु हँसिली भइन् । उज्यालो भयो उनको अनुहार ।
प्रकाशित: ६ श्रावण २०७७ ०९:१० मंगलबार