१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य

दिप्सन नेपाल  

कक्षा – ६,

वाल्मीकि शिक्षा सदन ।

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती हो । हामीलाई गुरुआमाले भानुभक्तका बारेमा केही बताउनुभएको थियो । भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । उनको जन्म विसं १८७१ असार २९ गते तनहूँको चुँदी रम्घामा भएको हो ।

भानुभक्तका पिताको नामचाहिँ धनञ्जय आचार्य हो । उनकी माताको नाम धर्मावतीदेवी हो । उनले आफ्ना हजुरबा श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका थिए । हामीलाई गुरुआमाले भानुभक्तले घाँसीबाट कविता लेख्ने प्रेरणा पाए भन्नुभएको थियो । 

घाँसीले दिनभर घाँस काटेर बेच्थ्यो । यसरी बेचेर आएको पैसा खर्च गरेर बाटोमा हिँड्ने मानिसलाई पानी पिउन सजिलो हुन्छ भनेर कुवा बनाएको थियो रे । घाँसीसँगको कुराकानीबाट भानुभक्त प्रभावित भएछन् । अनि उनले आफूले पनि केही नौलो काम गरेर समाजमा नाम राख्न पाए हुन्थ्यो भन्ने सोचेछन् ।

उनले घाँसीसँगको कुराकानीपछि यस्तो कविता रचेछन्  

भर् जन्म घाँसतिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

मो भानुभक्त धनी भैकन किन यस्तो ।

यही बेलामा आफ्नै घरमा हजुरबाले पढ्ने गरेको संस्कृतका आदिकवि वाल्मीकिले लेखेको अध्यात्म रामायण देखेछन् । यो किताब संस्कृतमा लेखिएको थियो । भानुभक्तलाई यो संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गर्न मन लागेछ । नेपालीमा लेख्दा धेरैले बुझ्न सक्ने उनलाई लागेछ । भानुभक्तले यही किताबलाई नेपालीमा लेख्न थालेछन् । उनले संस्कृतको रामायणलाई नेपालीमा उल्था मात्रै गरेनछन् त्यसलाई नेपाली संस्कृतिसँग मिलाएर लेखेछन् ।

भानुभक्तले अध्यात्म रामायण, वधू शिक्षा, प्रश्नोत्तरमाला, भक्तमालाजस्ता कृतिहरू लेखे । उनको पालामा किताब छाप्ने छापाखाना थिएन । त्यसैले उनले लेखेको रामायण त्यतिखेर छापिएन तर उनले नेपालीमा लेखेको रामायण अरू मानिसले सुन्दै र भन्दै गर्न थालेछन् । यस्तो काम धेरै पछिसम्म भएछ । पछि नेपाली साहित्यका युवाकवि मोतीराम भट्टले पनि रामायणको श्लोक सुनेछन् । यति मीठो श्लोक लेख्ने को कवि होला भन्ने उनलाई लागेछ । मोतीरामले खोज्दै जाँदा भानुभक्त आचार्य भन्ने पत्ता लगाएछन् । मोतीरामले नै भानुभक्तको जीवनी लेखेर उनको चिनारी गराए । मोतीरामले नै भानुभक्तका किताबहरू खोजीखोजी छपाएछन् ।

भानुभक्त आचार्य अहिले हामीसामु छैनन् । उनको १९२५ साल असोज ६ गते सेतीघाट तनहूँमा मृत्यु भएको हो । उनी मरेर गए पनि उनले लेखेका कृतिहरू अझै पनि हामीसँग छन् । पहिलाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए । त्यसै गरी भानुभक्तले नेपाली भाषाका माध्यमबाट नेपालीलाई एकीकरण गरेका थिए । उनी नेपाली साहित्यका शुरूका कवि भएकाले आदिकवि भनिएको हो । त्यसैले उनलाई विश्वभरि बसेका नेपालीहरूले आदिकविका रूपमा सम्मान गर्छन् । 

प्रकाशित: २९ असार २०७७ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App