८ वैशाख २०८१ शनिबार
अन्य

सूर्यको ‘फूलैफूल’

पुस्तक चर्चा

धरतीकी रानी जस्ती

नेपाल आमा हाम्री

संसारमा यिनीभन्दा

अरू छन् र राम्री ?

माथिको सुन्दर कवितांश फूलैफूल बालकविता सङ्ग्रहको हो । नेपाल हामी सबैको जन्मभूमि हो ।  नेपाल आमा धरतीकै रानी हुन् । नेपाल आमाभन्दा सुन्दर हाम्रा लागि यो संसारमा अरू कुनै छैनन् । यस्तै भावधारा बोकेका कविताहरू छन् फूलैफूल बालकविता सङ्ग्रहभित्र । फूलैफूल बालकविता सङ्ग्रह कवि सूर्यप्रसाद लाकोजूको सिर्जना हो । कवि सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यका मुक्तक, हाइकु, कविता, संस्मरण, जीवनी, नियात्रा जस्ता विविध विधामा कलम चलाउँदै आएका छन् । उनका दुई दर्जन कृतिहरू प्रकाशित छन् । स्रष्टा लाकोजूले बालसाहित्यमा पनि निरन्तर कलम चलाउँदै आएका छन् । नेपालको बालसाहित्यको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेका उनको कोपिला, घाम उदायो, मेरो सानो घर, साथी गरी पाँच ओटा बालकविता सङ्ग्रह प्रकाशनमा आएको छ भने एउटा यःमरी नामक परिचयात्मक बालपुस्तक र अतिथि नामक अंग्रेजी भाषामा लेखिएको पुस्तक पनि प्रकाशित छन् ।

फूलैफूल कविता सङग्रहमा जम्मा सोह्रओटा बालकविताहरू रहेका छन । प्रत्येक कवितासँगै कविताका भाव र मर्मअनुसारका सुन्दर चित्र पनि राखिएका छन । कविता सङ्ग्रहमा शब्द र चित्रको सुन्दर संयोजन छ ।  कविले बालबालिकाहरू भनेका फूल हुन र तिनीहरूलाई राम्रोसँग फुल्ने र फक्रने अवसर दिनुपर्ने विचार कवितामा पोखेका छन् । कवि लाकोजूले आफू जन्मेको देश र आफूलाई जन्म दिने आमा स्वर्गभन्दा पनि ठूलो हुन्छ भन्ने भाव व्यक्त गरेका छन् । देशले हामीलाई के दियो भनेर सोच्नुभन्दा देशलाई हामीले के दिन सकेका छौं भनी सोच्नुपर्ने विचार पनि कविताहरूले बोकेका छन् । उनले हामी सबैले देशलाई माया गर्नुपर्ने सन्देश सङ्ग्रहित कविताहरूका माध्यमबाट दिन खोजेका छन् ।

त्यस्तै कविले आफ्नो संस्कृति, भाषा भनेको हाम्रो मौलिक पहिचान हो भनेका छन् । हाम्रो संस्कृति, परम्परा, प्राचीनता जस्ता विषयमा पनि बालकविता कोरेरे यस्ता कुराहरूको संरक्षण गर्नुपर्छ । बालबालिकाहरूलाई पनि यस्ता विषयको जानकारी गराउनुपर्छ भन्ने कुरामा सचेत कवि लाकोजूले यस्ता विषयमा पनि बालकविता कोरेर यस बालकविता सङ्ग्रहभित्र समावेश गरेका छन् । यलम्बर शीर्षकको कविता यसैको उदाहरण हो । त्यस्तै बालबालिकाहरूले नेपाली व्याकरणमा पढ्नुपर्ने समूहवाचक शब्दहरूका बारेमा ज्ञान दिन उनले केको समूह के हुन्छ शीर्षकको कविता तयार पारेर यस सङ्ग्रहमा समावेश गरेका छन् । कविता सङ्ग्रहभित्र मेरो नेपाल आमा, रमाइलो तिहार, मनपर्छ, स्वदेश नै राम्रो, मेरो छोरा, वर्षायाम, मेरो पुस्तक, पप्पी,  हामी साना छौं, सानो घोडा जस्ता विषयका कविताहरू पनि सङ्गृहीत छन् । वर्षायाम शीर्षकको कवितामा वर्षाऋतु आएपछि धरतीमा पानी पर्न थालेपछि प्रकृतिमा ठूलो परिवर्तन आउने कुरालाई कविले कविताका माध्यमबाट बुझाउने प्रयास गरेका छन् । यसका साथै तिहारको झिलिमिली, त्यसबाट प्राप्त हुने आनन्दलाई तिहार शीर्षकको कवितामा शब्दबाट पोखेका छन् । आफ्नो पसिना स्वदेशकै निर्माणका लागि पोख्नुपर्ने मार्मिक विचार कविले स्वदेश नै राम्रो, कवितामा पोखेका छन् ।

विविध विषयमा रचिएका बालकविताहरू सरल छन् छन् ।  कविताहरूले बालबालिकाहरूको मन जित्न सक्ने देखिन्छ । कविताहरू हृदयलाई छुने खालका छन् । कविताभित्र देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेमलाई सुन्दर ढङ्गले चित्रण गरिएको छ । मानवता लगायत अन्य विविध विषयमा रचिएका कविताहरू पनि सुन्दर छन् । अमिना श्रेष्ठ  प्रकाशक रहेकोे यो बालकविता सङ्ग्रह भाइबहिनीहरूका लागि उपयोगी हुने छ ।

प्रकाशित: २६ असार २०७७ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App