३१ श्रावण २०७७ शनिबार
अन्य

विभेदरहित समाज निर्माणमा विद्यार्थीको भूमिका

प्रश्ना सुवेदी

प्रश्ना सुवेदी  

कक्षा – ९, श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, बर्दिया ।

सबैको एकै हाडमासु रंगरोगन  

देहमा दिलदिलमा ईश्वर अछूत नभन ।

वास्तवमा  राष्ट्रकवि  माधवप्रसाद घिमिरेको कक्षा – ७ को नेपाली विषयमा समेटिएको यो एउटै मुटु, एउटै मर्म कविताको अंश राख्दै म आफ्नो लेखलाई अगाडि बढाउन चाहन्छु ।

उम्खोन्ता वे सिज्वेका नेता र विरोधी आन्दोलनका महान् अभियन्ता नेल्सन मण्डेला, बालिका शिक्षाका लागि वकालत गरी २०१४ को नोबेल पुरस्कार जित्न सफल मलाला युसुफजई, विभेद र छुवाछूत अन्त्य गर्ने भारतका सर्वश्रेष्ठ न्यायधिस डा. वि. आर. अम्बेडकर, सिएनएन हिरो अनुराधा कोइराला, अन्तर्राष्ट्रिय दर्नाल अवार्डबाट सम्मानित सरस्वती नेपाली जस्ता सामाजिक विभेद अन्त्य गर्न बलिरहेका जाज्वल्यमान शिखाहरूलाई प्रारम्भमा सलाम अर्पण गर्छु ।

वास्तवमा विभेदले वर्ण, जाति, धर्म, रङ, क्षेत्र, लिङ्ग, शारीरिक अवस्था र कामका धारमा गरिने पक्षपातलाई जनाउँदछ । वैदिक सनातन धर्म  अनि वर्ण व्यवस्थाबाट प्रारम्भ भएको नेपाली समाजमा कुनै पनि प्रकारको विभेद नभएको कुरा ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ ले प्रस्ट पारेको छ । यसले पनि यो प्रमाणित गर्दछ कि विभेदको उद्गम विन्दु धर्म नभएर समाजमा भ्रष्ट सोच भएका चरमपन्थीहरूले बीजारोपण गरेको कुप्रथा हो ।

नेपालको संविधान भाग तीनमा सबैलाई समान मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ ।  साथै विभेद अन्त्यका लागि थुप्रै कानुनी प्रावधानहरू छन् तर रुकुम र कपिलवस्तुमा भएका हत्या काण्डहरू लगायतका घटनाहरूले जुनसुकै कानुनी प्रावधानलाई पनि निरर्थक प्रमाणित गरिदिएका छन् ।

फलामको काम गर्ने शिल्पकारले बनाएको मूर्ति मन्दिरमा राखिन्छ, समाजमा हेयको दृष्टिकोणले हेरिने सुचिकारले लाएको लुगा यहाँका ठूलाबडाहरूले लगाउँछन् तर तिनै सर्जक मन्दिरभित्र जानबाट वञ्चित हुन्छन् किन ? म प्रश्न राख्न चाहन्छु ।

विभेद समाजमा व्याप्त मनोवैज्ञानिक समस्या हो जुन कानुनी उपचारले मात्र समाधान गर्न सकिँदैन । यसका लागि भ्रष्ट मनोवृत्तिका दैलाहरूमा लागेका भोटेताल्चाहरू फोड्नुपर्छ ।  विभेदरूपी ताल्चा फोर्न विद्यार्थीहरूले खेल्नुपर्ने भूमिका र कर्तव्य अत्यन्तै महत्वपूर्ण छ ।  तर यसका लागि राज्यले शिक्षा क्षेत्रमा व्याप्त विभेदलाई निमिटयान्न पार्न देशमा एकैप्रकारको शैक्षिक प्रणाली लागू गर्नुपर्दछ  ।  यसका लागि बाल क्लव, युवा क्लब, समुदाय अनि विद्यालय र स्थानीय तहहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरू संचालन गर्न आवश्यक पर्दछ । सात सय त्रिपन्नवटै स्थानीय तहले आवश्यक बजेट विनियोजन गरी विद्यार्थीहरूलाई समेटेर सडकनाटक, रयाली, घरदैलो अभियान, अन्तरक्रियात्मक कार्यक्रमहरू, सहभोज, सहयात्रा र सहअस्तित्वका शिविरहरू सञ्चालन गर्नुपर्दछ । यस्ता शिविरहरूमा समाजका ठूलाबडाहरू र बुजु्रकहरूलाई सहभागी गराउन सकेमा विभेदको अन्त्य सहजै गर्न सकिन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा समेटिएको यो विचारले पनि विभेदलाई अन्त्य गर्ने सन्देश दिन्छ । यो विचार आजसम्म पनि उत्तिकै सान्दर्भिक रहेको छ –  

‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन,

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’

तसर्थ विभेद भन्ने कुरा कुनै पनि आधारमा भन्दा पनि मानवीय सोचका आधारमा हुने व्यवहारलाई नै बुझिन्छ ।  यस्ता प्रकारका विभेदहरू अन्त्य गर्न निकै लामो समय लाग्ने गर्दछ ।  हिजोका पुस्ताहरूमा भएका सोचहरू क्रमिक रूपमा परिवर्तन हुँदैछन् ।  आशा गरौं आगामी दिनमा समाजमा रहेका यसप्रकारका विभेदहरू बिस्तारै अन्त्य हुँदै जानेछ ।

समातामूलक समाजको निर्माण गर्न हामीले आफैबाट शुरुवात गर्नुपर्ने हुन्छ ।  आरोपप्रत्यारोप छोडेर सरकारले के गरयो भन्नु भन्दा पनि आफैबाट परिवर्तनको सुरुवात गर्न सकियो भने समाजलाई विभेदरहित बनाउन धेरै समय कुर्नुपर्दैन ।  यसका लागि तपाईको सुध्रिनु जरुरी छ । मैले मेरो व्यवहारलाई सुधार्नु जरुरी छ । त्यसो भइसकेपछि बिस्तारै घरपरिवार समुदाय हुँदै सम्पूर्ण समाजमा विभेदरहित उसको जागृत गर्न सकिन्छ । यो लेखका माध्यमबाट मैले पनि यहाँहरू सबैलाई विभेद अन्त्यका लागि हातेमालो गर्न आह्वान गर्छु ।

अतः  आमव्यक्तिका कलुषित भावना र साँघुरो सोचरूपी दिवाललाई अब फेरि कहिल्यै नउठ्नेगरी खण्डहर बनाउन हामी विद्यार्थीहरूले आवाज उठाएर मात्र होइन आफ्नै घर परिवार र समाजका अग्रज व्यक्तिहरूको विभेदपूर्ण धारणालाई चिर्न सके मात्रै विभेदरहित समाज निर्माणको अभियानलाई सफल बनाउन सकिन्छ ।  

‘जय समतामूलक समाज, जय मातृभूमि’

(यो लेख हालै  नेपाल  शिक्षक  संगठन कास्कीले आयोजना गरेको राष्ट्रव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको वक्तृताको लेखन रूप हो ।)

प्रकाशित: २० असार २०७७ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App