२३ असार २०७७ मंगलबार
अन्य

उद्घोषण कला

आयुष्मा ढकाल

आयुष्मा ढकाल  

 

बोल्नु र विधिपूर्वक बोल्नुमा धेरै फरक हुने रहेछ । एक हप्ते अनलाइन उद्घोषण तालीम लिएपछि थाहा भयो । स्कुल पढ्दा केशव सिग्देल सरले वक्तृत्वकला प्रतियोगिताको उद्घोषण गर्न उत्पे्ररित गर्नुहुन्थ्यो । भाग लिन लगाउनुहुन्थ्यो । कसरी बोल्ने होला ? के बोल्ने होला लागिरहन्थ्यो तर कहिल्यै हिम्मत आएन । कापीमा लेख्न त सजिलो हुने तर त्यही कुरा बोल्न अप्ठ्यारो हुने । साथीहरूसँग बोल्न सजिलो लाग्ने कुरा स्टेजमा धेरै मानिसहरूको अगाडि बोल्न गाह्रो हुने । रहर मनमा थियो स्टेजमा बोल्ने । सबैको अगाडि आफ्नो विचार व्यक्त गर्ने । तर कहिल्यै हिम्मत गर्न सकिएन । सरको बोली टारेजस्तो भयो ।

कक्षा १० को परीक्षा रोकियो । नतीजा व्यवस्थापनको जिम्मेवारी विद्यालयले पायो । अब हाम्रो त्यसमा कुनै भूमिका नै रहेन । ब्रिज कोर्षको तयारी गराउने इन्सिच्युटहरू पनि बन्द छन् । त्यसैले चित्र कोर्नु र निबन्ध लेख्नु मात्र दिनचर्या बन्दै गयो । मनमा सधैं एकनासको हुटहुटी थियो । अब कलेज पढ्ने बेला भयो । कता पढ्ने भन्ने  टुङ्गो गर्न कोरोना भाइरसले दिएको छैन । आफ्नो ठाउँमा त जसो गरे पनि राम्रो थियो । अन्य ठाउँमा गइयो भने निर्धक्कसँग बोल्ने बानीको विकास गर्नै परथ्यो   ।

असल शासन क्लबका कार्यकारी निर्देशक नमस्कार शाहको फेसबुकवालमा अनलाइन उद्घोषण तालीम सञ्चालनका लागि सूचना रहेछ । बाबामामुले देख्नुभएछ । मलाई भाग लिन उत्प्रेरित गर्नुभयो । तालीम बास नेपालको आयोजनामा सञ्चालन गरिएको थियो । तालीममा बस्ने अवसर मैले पनि पाएँ । विभिन्न स्थानका सहभागीहरूका अनुभवहरू सुन्न पाइयो । आफूलाई  पढाउने गुरु र मलाई माया गर्ने आफन्तसहित मामुसँग तालीममा बसें । अहिले धेरै कुरा सिकिएको महसुस भएको छ । सहजकर्ता नमस्कार शाह लगायत सबै धन्यवादका पात्र हुनुहुन्छ ।

मसँग धेरै क्षमता छ जस्तो सधैं लागिरहने । तर चाहेको बेलामा मुखबाट बाहिर निस्कनै नसक्ने । कसरी सिक्ने ? कसरी निर्धक्क बोल्ने ? मञ्चमा उभिएर निस्फिक्री कार्यक्रम कसरी चलाउने ? लागिरहन्थ्यो । एकदुईपटक मञ्चमा पुग्दा खुुट्टा कामेका पनि थिए । एकदिन घरमा भएका हामी छ जना बालबालिकाले हाम्रै घरका अभिभावकहरूसँग अन्तर्वार्ता लियौं । अन्तर्वार्ताका लागि प्रश्न पनि हामी आफैले बनाएका थियौं । जति सजिलो प्रश्न बनाउँदा लागेको थियो त्यति सजिलो कार्यक्रम चलाउँदा नहुने महसुस गरें मैले । आफूले लेखेको प्रश्न पढे जस्तो लाग्यो । बोल्ने कलाको विकास नभएको महसुस त्यति बेला पनि भएको थियो । पछि बाबाले अंकलसँग अन्तर्वार्ता लिएर हामीलाई सिकाउनुभयो ।

कोहीसँग टेबुलमा बसेर बोल्ने कला हुन्छ तर स्टेजमा उभिएपछि हराएर जाने रहेछ । मलाई पनि त्यस्तै हुन्थ्यो । त्यसैले म तालीममा सहभागी भएको थिएँ ।

कुनै पनि कार्यक्रमको मुटु नै उद्घोषक रहेछ । एकहप्ते तालीमले धेरै कुरा सिकायो । तालीम उद्घोषण अचम्मको कला । मञ्च वरपर बसेका अतिथि र सयौं दर्शकहरूको मनोविज्ञान बुझेर प्रस्तुति दिनुपर्ने । दर्शकहरूलाई झिंजो नलागोस् भनेर पनि ध्यान दिनुपर्ने । जोस, जाँगर भरेर कार्यक्रमलाई आर्कषक बनाउनुपर्ने । सजिलो काम पटक्कै होइन रहेछ । सहभागीहरूका बीचमा कार्यक्रम बनाएर उद्घोषण गर्दा यो अनुभव भयो । आफूमा भएका गल्ती र कमजोरी मेटाउने अवसर प्राप्त भयो ।

उद्घोषकका लागि समयको महत्व निकै हुने रहेछ । जसरी जीवनमा समयको महत्व रहने गर्छ । आयोजकले दिएको समय सीमामा कार्यक्रम सक्नुपर्ने, दर्शकको कार्यक्रमप्रतिको चासो र आर्कषण बुझ्नुपर्ने अनि बोल्नै पर्ने कुरा बोलिसक्नुपर्ने रहेछ । कार्यक्रम चलाउनु र जीवन चलाउनु उस्तै लाग्यो मलाई । कार्यक्रम सञ्चालन गर्दा समय ख्याल गर्न नसके कार्यक्रम लथालिंग भए जस्तै समयको महत्व नबुझ्ने मानिसको जीवन पनि लथालिंग हुन्छ । कार्यक्रमका आउने अवरोध मिलाउन सके कार्यक्रम राम्रो भए जस्तै जीवनमा आउने अवरोध मिलाउन सके जीवन सुखी र खुशी हुन सक्ने महसुस यो तालीमले सिकायो ।

हामी सधैं भन्ने गर्छौं ‘कोसिस गर्छु ।’ यो वाक्यको प्रयोगले मानिसलाई गैरजिम्मेवार बनाउने रहेछ । समाजले पनि हामीलाई यसले त के सक्ला र खोई भनेर अविश्वास गरिदिन्छन् । हामीले त्यसैलाई स्वीकार गरेर म त सक्दिनँ कि क्या हो भन्दै कोसिस गर्छु भन्ने गरेका छौं । नसकेपछि कोसिस त गरेको हो । भएन त के गर्नु भनेर चित्त बुझाउँछौं । सधैं काम शुरू नगर्दै हार खाएर कोसिस गर्छु भन्नुभन्दा म सतप्रतिशत गर्छु । भैहाल्छ नि भन्नुपर्ने कुरा महसुस भएको छ । डाक्टरले बिरामीको अपरेसन गर्दा, इन्जिनियरले घर र पुल निर्माण गर्दा साथै पाइलटले हवाईजहाज चलाउँदा ‘कोसिस गर्छु’ भनेर हुँदैन । धेरैको ज्यान उनीहरूको हत्केलामा हुने भएकोले  सधैं म सतप्रतिशत गर्छु र सफल हुन्छु भन्ने उद्देश्य राखेर अघि बढ्नुपर्ने कुरा तालीमले सिकायो ।

उद्घोषण तालीमले ऊर्जा दिएको छ । आत्मविश्वासी बन्न सिकाएको छ । मञ्चमा निर्धक्क भएर बोल्न सक्नुको मतलब जीवनका हरेक मोडमा हिँड्न सक्नु हो । निडर भएर परिस्थितिको सामना गर्नु हो । आफूलाई दिएको सीमाभित्र रहेर कार्यक्रम चलाउन सक्ने सफल उद्घोषक हो भने जीवनमा छरिएर रहेका अनगिन्ती भीडहरूलाई बोलीवचनले बाँधेर अगाडि बढ्न सक्ने सफल व्यक्ति हो ।

हामीले आफैलाई स्वतन्त्र छोड्नुपर्ने रहेछ । जसरी रूखको हाँगामा बसेको चरालाई हाँगो भाँचिएला र लडिएला भन्ने डर हुँदैन । चराले आफ्नो पखेटामा विश्वास गरेर नै रूखमा बसेको हुन्छ । हामी पनि सधैँ आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । काम गर्दै जाँदा बिस्तारै सिकिन्छ र आफूमाथि पनि विश्वास बढ्दै जान्छ । संसार जित्ने मानिसले नै हो ।

तालीममा सिकेका केही सकारात्मक पक्षहरू 

– मरेको मान्छे बोल्दैन । जिउँदो मान्छे बोल्ने, प्रतिक्रिया जनाउने, उत्साही हुने, जिम्मेवारी लिने, धक फुकाएर बोल्ने गर्छन् । सास होइन आवाज निकालेर बोल्नुपर्छ । आफूले भाग लिएको जुनसुकै कार्यक्रममा उत्साहजनक सहभागिता देखाउनुपर्छ ।  

– कुनै पनि काम गर्दा योजना बनाएर गर्नुपर्छ । योजना बनाएर काम गर्दा समयमै सकिन्छ भने काम पनि राम्रोसँग सम्पन्न हुन्छ ।

हामीले  आफूभित्र रहेको मुख्य क्षमता पहिचान गर्नुपर्छ । सोही क्षमताअनुरूप मिल्ने विषय छनौट गरेर प्रतिस्पर्धा गर्नुपर्छ ।

– अर्काको कुरा सुनेर मात्र प्रतिक्रिया दिने बानी बसाल्नुपर्छ ।  

– व्यक्तिगत रूपमा असल प्रतिभा र क्षमता हुनु राम्रो कुरा हो । समूहमा बसेर एक अर्काको क्षमता र प्रतिभालाई समायोजन गर्न सके अझ राम्रो गर्न सकिन्छ । एकले थुकी सुकी सयले थुकी नदी ।

– सधैं सबै ठाउँमा प्रतिस्पर्धा उपयुक्त हुँदैन । सामहिक कार्य गर्दा  आफूले नजानेको काम पनि सजिलै गर्न सकिन्छ । प्रतिस्पर्धा छाडेर परिस्थितिसँग जुध्न थाल्छौं । थप मिहिनेत गछौं । तब काम राम्रोसँग सम्पन्न गर्न सक्छौं ।

– असफलता हात लागे पनि हरेस खाएर चुप लाग्नु हुँदैन । निरन्तर रूपमा काम गर्न सके अवस्य सफल हुन सकिन्छ ।

– अरूले दिएको पूर्ण ज्ञानभन्दा आफूले निर्माण गरेको वा प्राप्त गरेको थोरै ज्ञान महत्वपूर्ण हुन्छ ।

प्रकाशित: १६ असार २०७७ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App