२२ असार २०७७ सोमबार
अन्य

स्वास्थ्यका लागि योग र ध्यान

सन्ध्या जमरकट्टेल

सन्ध्या जमरकट्टेल

कक्षाः १०

विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ  ।

 

योग र ध्यान गर्न आफूलाई जागरुक गराउनु भनेको आफूले आफूलाई दिने सबैभन्दा ठूलो उपहार हो ।

सबै मानिसलाई आफ्नो जीवनभरि स्वस्थ रहने इच्छा हुन्छ । अहिलेको  युगमा मानिसहरू स्वस्थ रहन विभिन्न विधि अपनाउने गर्छन् । समय समयमा ठूला स्वास्थ्यचौकी गएर आफ्नो स्वास्थ्य अवस्था चेकजांच गराउने मानिसहरू धेरै भेटिन्छन् । यस आधुनिकीकरणले भरिपूर्ण युगमा स्वस्थ रहने अनेकौं विधि पालना गर्दै मानिसहरू मनभित्रबाटै प्रफुल्लित हुने गर्छन् । धेरै मानिसहरूले स्वस्थ रहनका लागि विभिन्न शारीरिक व्यायाम, योग र ध्यान गर्ने गर्छन् । योग र ध्यान गर्नु भनेको आफ्नो जीवनलाई स्वस्थ राख्नुको एक प्राकृतिक विधि हो।

स्वस्थ रहन योग र ध्यान गर्नु एउटा प्राचीन कालदेखि नै चलिआएको विधि हो । समयले जति नै खुड्किला पार गर्दै यस समयसम्म आइपुग्दा पनि यो योग र ध्यान गर्ने प्राचीन विधि भने अझैं ताजै छ किनभने योग र ध्यान गर्दा स्वास्थ्य लाभ त भई नै हाल्छ, साथसाथै मनले सबै दुःख पीडा भुली शान्त हुने बाटो पनि पाउँछ । 

आजकाल मानिसहरू कामको बोझ र व्यस्तताले धेरै नै चिन्तित हुने गर्छन् । धेरै चिन्ता लिनाले मानिसहरूमा डिप्रेसन जस्तो भयानक मानसिक रोग देखापर्ने गरेको छ । यस्ता मानिसहरूका लागि योग र ध्यानको महत्व निकै हुन्छ । योग र ध्यान गर्नाले मानिसको मानसिक स्वास्थ्य निकै राम्रो हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

योग र ध्यान गर्नाले मानिसमा विभिन्न कुराहरू लामो समयसम्म सम्झन सक्ने क्षमताको पनि वृद्धि हुन्छ। यस्ले अन्य उमेर समूहका मानिसमा भन्दा बुढेसकाल लागेका मानिसलाई धेरै फाइदा गराउंछ किनभने अन्य उमेर समूहका मानिसमा सम्झन सक्ने क्षमता खासै घटेको हुँदैन। तर पनि अन्य उमेर समूहका मानिसमा पनि यसले केही न केही फरक भने अवश्य देखाउंछ । धेरै मानिसहरूलाई अहिले हामी कुलतमा फसिरहेको देख्न सक्छौं । जांडरक्सी पिउने, गांजा, चुरोट तान्ने, खैनी खाने आदि जस्ता कुलतले मानिसको जीवन तहसनहस पारिदिन्छ र उनीहरूलाई क्यान्सर, टिवी , अल्सर, आस्थमा जस्ता रोगले सताउँछ । अझ कतिपयको त उमेर नपुग्दै मृत्यु समेत हुन्छ ।

 योग र ध्यान गर्नाले मानिसलाई आफ्नो  मनोबल बढाउने क्षमता मिल्छ, आफू कुलतमा फसेर बिग्रेको अनुभव हुन्छ र आफूभित्र पलाउने नकरात्मक विचारहरूलाई सम्हाल्न सक्ने क्षमताको पनि वृद्धि हुन्छ अनि बिस्तारैबिस्तारै पत्तै नपाई मानिसहरू कुलतबाट पनि मुक्त हुन्छन् । ध्यानको अभावमा मानिसलाई निन्द्रा नलाग्ने वा छिट्टै बिउँझिने जस्तो समस्या देखापर्छ ।

मानिसहरूलाई शरीरको विभिन्न भाग दुख्ने रोग सामान्य सामान्य बनिसकेको छ । शारीरिक दुखाइ मानसिक अवस्थासँग जोडिएको हुन्छ । मानसिक अवस्था राम्रो भयो भने शारीरिक दुखाइ पनि कम हुन्छ । त्यसैले, योग र ध्यान गर्नाले विभिन्न दुखाइहरूबाट मुक्त हुन सकिन्छ किनभने यसले मानिसको मानसिक अवस्था निकै नै राम्रो बनाइदिन्छ ।

योग र ध्यान गर्नाले मानिसहरूमा हृुने उच्च रक्त्तचापको बिमारी पनि हट्छ । उच्च रक्त्तचाप हुने मानिसको मुटुले राम्ररी रगत तान्न सक्दैन र यसो हुनाले हृदयाघात हुने सम्भावना धेरै हुन्छ । योग र ध्यानमा निरन्तरता दिने हो भने यस्तो भयानक रोगबाट बच्न निकै नै सहज हुन्छ । योग र ध्यान गर्ने व्यक्ति नगर्नेहरूको तुलन          मा धेरै नै स्वस्थ हुने एक वैज्ञानिक अनुसन्धानले देखाएको छ । योग र ध्यान गर्नाले यति मात्र नभई मानिसमा सकारात्मक सोच, विभिन्न कला, धैर्य गर्ने क्षमता आदिको विकास हुन्छ । वैज्ञानिक अनुसन्धानअनुसार चिन्ता, टाउको दुखाइ, डर, त्रास, क्यान्सर, महिनावारी समस्या, ढाड दुखाइ आदि रोगहरुको सहज र प्राकृतिक उपचार भनेकै योग र ध्यान हो ।

योग र ध्यान पनि धेरै किसिमका हुुन्छन् र यसका फाइदाहरू पनि धेरै नै छन् । कतिपय मानिसहरू मृत्युको मुखबाट फर्केर आएको कारण पनि योग र ध्यान नै हो भन्ने कुरामा दुई मत छैन । योग र ध्यान गर्दा फाइदा त हुन्छ नै साथसाथै      मज्जा नि निकै नै आउँछ । योग र ध्यान कतिपय मानिसको हाँसोको राज बन्न पनि सफल भएको छ । त्यसैले आफू पनि योग र ध्यान गरौं र अरूलाई पनि गर्ने प्रेरणा प्रदान गरौं।

प्रकाशित: १५ असार २०७७ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App