२२ असार २०७७ सोमबार
अन्य

होसियारी

 बालकथा

 रामकुमार पण्डित क्षेत्री

स्यालको छोरा ‘स्यालु’ र खरायोकी छोरी ‘खरी’ सँगसँगै खेल्दथे । एकदिन उनीहरू जंगल घुम्न निस्किए । घुम्दाघुम्दै पत्तै नपाई घना जंगलको बीचमा पुगे । खरीले ‘घर जाउँ न मलाई डर लाग्यो’ भनी । स्यालुले ‘नडराऊ न ! म छँदै छु नि’ भनेर फकायो । सानो चौरमा खेल्दाखेल्दै स्यालुले खरीलाई प्वाक्क कुट्यो । त्यसपछि खरी रोई । ‘अझ रुन्छेस् ’ भन्दै फेरि दुई झाप्पु हान्यो ।

 ‘पख्लास् तँलाई ! म आमालाई भन्दिन्छु’ भनेर ह्वाँह्वाँ गरेर रुँदै ऊ घर फर्किन थाली । स्यालुचाहिँ ऊ रोई भनेर खुशी भयो । एक्लै त्यहाँ उफ्रीउफ्री खेल्न थाल्यो । खरी अलिपर पुगेपछि ह्वाँह्वाँ गर्न छोडी तर आँखामा आँसुचाहिँ थामिएको थिएन । बाटामा एउटा ठूलो ओडार थियो । त्यो ओडारभित्र बाघ सुतेर घुरेको आवाज सुनियो । उसले सर्तक भएर सुनी । पछाडि फर्किउँ स्यालुले कुट्ने र अघि बढौं त बाघले खाला भन्ने डर भयो । उसले धैर्य गर्दै बिस्तारै अघि बढी । माथि डाँडामा पुगेपछि उसले आफ्नो छातीको ढुकढुकी छामी । त्यो अघिकोभन्दा कम भएको थियो । तल फर्किएर हेरी । स्यालु पनि पछिपछि आउँदै रहेछ । उसले साउतीको आवाजमा चिच्याई, ‘स्यालु, बिस्तारै आऊ ।  त्यहाँ बाघ सुतेको छ ।’

‘बाघ’ भन्ने सुनेपछि स्यालुको सातो गयो । उसले पनि ओडारभित्र बाघ घुरेको सुन्यो । त्यतिबेला के गर्ने भनेर उसले सोच्नै सकेन । त्यहीँ थुचुक्क बसेर रुन थाल्यो । यसरी रोयो कि जसरी ‘भुइँचालो गएको बेलामा होस हराउने मान्छे कोठाभित्रै बसेर आत्तिएर रुन्छ । सतर्क भएर सुरक्षित ठाउँ खोज्दैन ।’ उसले आमालाई गुहारयो । बाबुलाई बोलायो तर उसको आवाज टाढाको घरसम्म सुनिएन ।

बाघ बिउँझिएर बाहिर आयो । स्यालुलाई लछारपछार गर्दै ओडारभित्र लग्यो । खरीचाहिँ बाघ मास्तिर नआउँदै आफ्नो घर पुगी । अघि भएको घटना आफ्नो परिवार र छिमेकीलाई सुनाई । खबर सुनेर स्यालको परिवार टोल थर्काउँदै ‘हुइयाँहुइयाँ’ गरी रुन थाले ।

खरीको होसियारी देखेर खरायोको समूह खुशी भयो । आमाले उसको केश सुमसुमाउँदै गालामा माया गरिन् ।   

प्रकाशित: १५ असार २०७७ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App