९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

भात कसरी बन्छ ?

द्वारिका नेपाल

बाबुनानीहरू !

तिमीहरूलाई थाहा छ, हामीले बिहानबेलुका खाने भात केबाट बन्छ ? धेरैलाई थाहा होला, यो चामलबाट बन्छ । चामलचाहिँ केबाट बन्छ नि ? यो पनि धेरैलाई थाहा छ, चामल धानबाट बन्छ । धानचाहिँ खेतमा फल्छ । अर्को कुरा पनि थाहा पाइराख है । धान नेपालको प्रमुख खाद्यबाली हो । नेपालमा खाइने अन्नहरूमध्ये धानले मात्रै ५० प्रतिशत योगदान दिएको वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेत बताउनुहुन्छ ।

चामल विश्वभरि नै पाइन्छ तर यही चामल बन्ने धानको उपभोग एसियाली मुलुकहरूमा बढी हुने गरेको पाइन्छ । धानको ९० प्रतिशत उत्पादन र खपत(प्रयोग) एसियाली मुलुकहरूमा नै हुन्छ । प्रायः वर्षा याममा गरिने धानखेतीमा नेपालका अधिकांश नागरिक संलग्न हुने गरेका छन् । किन थाहा छ ? किनभने नेपाल कृषिप्रधान मुलुक हो । नेपालका ७० प्रतिशतभन्दा बढी मानिस कृषि पेसामा आश्रित छन् । हिमाली भेग छोडेर नेपालका प्रायः सबै ठाउँमा धानको खेती गरिन्छ । तिमीहरूलाई यो पनि थाहा होला, नेपालको जुम्ला विश्वमै सबैभन्दा उचाइमा धान खेती गरिने जिल्ला हो ।

तिमीहरूले रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूबाट थाहा पाएका होऔला । नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवश मनाइन्छ । यो दिवस मनाउन थालेको धेरै भएको छैन । नेपाल सरकारले विस २०६१ सालदेखि धान दिवश मनाउने निर्णय गरेको हो । त्यही सालदेखि नै नेपालमा सरकारी स्तरबाटै विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ मा दही र चिउरा खाने प्रचलन पनि छ । यसलाई नेपाली समाजको एउटा परम्पराको रूपमा लिने गरिन्छ ।  

असारलाई मानो खाएर मुरी उब्जाउने समय पनि भनिन्छ । असार वर्षा हुने समय भएकोले पनि नेपालका अधिकांश क्षेत्रमा रोपाइँ गरिन्छ । पहाड तथा तराई क्षेत्रमा नदी, खोलाबाट नहर, कुलो आदि बनाएर खेतसम्म पानी लैजाने व्यवस्था गरिएको हुन्छ । सबै ठाउँमा यस्तो सुविधा हुँदैन ।

आकासे पानीको भर पर्नुपर्ने ठाउँमा जुन दिन पानी पर्छ त्यही दिन  जोतेर रोपाइँ गर्ने बाध्यता छ । धान रोप्ने खेतमा पहिले नै जोतेर जमीन ठिक्क पारिएको हुन्छ । पानी पर्न थालेपछि खेतमा किसानहरू रोप्न मिल्ने गरी जोत्ने, बाउसे गर्ने गर्न थाल्छन् । पहाडतिर अझै पनि गोरु नारेर हलोबाटै जोत्छन् भने तराईतिर जोत्नका लागि ट्याक्टर प्रयोग हुन्छ । तराईका सबै क्षेत्रमा ट्याक्टरको सुविधा छैन । यस्तो ठाउँमा हलोले नै जोतेर खेत तयार गरिन्छ । अचेल धानको बीउ राख्नेदेखि धान रोप्ने, गोड्ने र काट्ने कामका लागि अलग्गै औजारको पनि प्रयोग हुन थालेको छ । वैज्ञानिकहरूले काममा सहज बनाउन यस्ता उपकरणहरू निर्माण गरेका छन् जसले कम समयमा थोरै जनशक्ति(मानिस) प्रयोग भएर धेरै काम गर्न सजिलो बनाउँछ ।

धानको खेती कसरी गरिन्छ होला ? ल भन त, ककसले भन्न सक्छ ? कति बाबुनानीहरू आफ्ना बाबा, ममी, हजुरबा, हजुआमा, काका, काकी, दाइ र  दिदीहरूसँग खेतमै गएर काम पनि गरेका छौ होला । कतिलाई चाहिँ यो अवसर नमिलेको पनि होला । सबैभन्दा पहिले किसानहरूले आफ्नो खेतमा ब्याड बनाएर धानको बीउ राख्छन् । बीउ उम्रेर रोप्ने बेला भएपछि बीउ उखेलेर रोप्न ठिक्क पारेको हिले खेतमा पाँज्ने गरिन्छ । धान रोप्नका लागि ट्याक्टर, हलोको प्रयोग गरेर खेत बनाइन्छ । 

काठमाडौँ उपत्यकामा भने मान्छेले नै खनेर धान रोप्ने खेत तयार पारिन्छ । तिमीहरूमध्ये कतिपयलाई जानकारी नहोला, उपत्यकामा जोत्ने प्रचलन छैन । यसरी तयार भएको खेतमा बाउसेले छेउ–कुना मिलाउँछन् । रोपाहारहरूले असारे गीत गाउँदै छुपुछुपु धान रोप्छन् । धान रोप्ने दिन खेतमा बाउसे, रोपाहारहरू मिलेर निकै रमाइलो गर्छन् ।धान रोपेको केही दिनपछि  झार उखेल्न र धानलाई जोगाउन किसानहरू धान गोड्न जान्छन् । बेलाबेलामा खेतमा गएर पानी लगाउने, रेखदेख गर्ने कामलाई किसानहरू आफ्नो धर्म सम्झन्छन् ।

 घोकन्ती विद्या, धावन्ती खेती भन्ने संस्कृतमा लोकप्रिय भनाइ छ । यसको अर्थ नियमित पढ्दा विद्या प्राप्त हुने र लगातारको स्याहारसुसारले खेती राम्रो हुने भन्ने हो । त्यसै गरी संस्कृतमा ‘अन्नं ब्रह्म’ भनिएको छ । अर्थात् अन्न नै आत्मा हो । त्यसैले आत्मालाई जोगाउन पनि अन्न चाहिन्छ । असारमा रोपेको धान कात्तिकमंसिरतिर पाक्छ । यो समय किसानका लागि सबैभन्दा बढी महत्त्वपूर्ण हुनेगर्छ । असारमा रोपेको मेहनत मंसिरमा धानको बाला बनेर खेतमा झुलेको देख्दा सबै किसान मख्ख हुन्छन् ।

आज तिमीहरूले धान र धानखेतीका बारेमा केही कुरा थाहा पायौ । यसका बारेमा धेरै अध्ययन गर्न सकिन्छ । तिमीहरू ठूलो भएपछि धानका बारेमा धेरै जान्नका लागि कृषि क्याम्पसहरूमा पनि पढ्न सक्छौ । नेपालमा पनि यस्ता कृषिका बारेमा पढ्न पाइने क्याम्पस तथा विश्वविद्यालयहरू छन् । नेपालमा चितवनको रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालय छ । यहाँ कृषि, पशुपालन र वनविज्ञानसम्बन्धी पढाइ हुन्छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गत पनि केही क्याम्पसहरूमा कृषिका बारेमा पढ्न पाइन्छ । तिमीहरूमध्ये धेरै जना ठूलो भएपछि नेपालको कृषिलाई विश्वभरि चिनाउने गरी काम गर्न सक्षम हुनेछौ भन्ने मैले आशा लिएको छु । सबैलाई धान दिवशको शुभकामना छ । 

प्रकाशित: १५ असार २०७७ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App