२२ असार २०७७ सोमबार
अन्य

जैविक कृषि क्रान्ति

एकीकृत शत्रुजीव व्यवस्थापन

खुस्बु राई

खुस्बु राई    

शत्रुजीव ती हुन् जसले बोटविरूवालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्षति पु¥याउँछन्। तिनले पानी, प्रकाश, जमिन आदि खाद्यतत्वमा प्रतिस्पर्धा गरी बिरूवालाई अस्वस्थ बनाउँछन्। किराफट्यांग्रा, शंखेकिरा, चरा, मुसा, बाँदर, ढेडु आदि र रोग उत्पन्न गराउने ढुसी, ब्याक्टेरिया, भाइरस, झारपात र अन्य साना तथा ठूला शाकाहारी जनावर आदि शत्रुजीव हुन्।    

नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा संलग्न छ। तर मौसमअनुसार बालीमा देखापर्ने रोगकीराले खेतीमा धेरै कठिनाइ भित्र्याएको छ। त्यसैले तिनको रोकथाम र नियन्त्रण गर्न नयाँनयाँ प्रविधि पनि विकास हुँदैछ।  

नेपालको करिब २५ प्रतिशत बालीमा रोग कीराले मात्र नोक्सानी पु¥याएको पाइएको छ। किसानले आफ्नो बल र बुद्धिले भ्याएसम्म विभिन्न तरीका अपनाउँदै आइरहेका छन्। साथै समय र विकाससँगै शत्रुजीव व्यवस्थापनका निम्ति नयाँनयाँ प्रविधि विकास भइरहेका छन्। तर प्रविधिको एकतर्फी विकासले वातावरण, प्राणी तथा वनस्पतिमा पारेको नकरात्मक असर निर्मूल पारेर वातावरणमैत्री शत्रुजीव व्यवस्थापनका लागि एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली उपयुक्त विकल्प बन्न सक्छ। 

रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै स्थानीय स्रोतसाधन प्रयोग गरी जैविक पद्धतिबाट शत्रुजीव व्यवस्थापन गरी दिगो कृषि विकास र जैविक कृषि क्रान्तिमा एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीले विशेष योगदान पु-याउन सक्छ।  

एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली शत्रुजीवलाई वातावरणीय असर नपर्ने गरी रोकथम गर्ने विधि हो। यो प्रणाली बाली संरक्षणको सशक्त र प्रभावकारी विधि हो जसले आर्थिक, पर्यावरणीय, प्राविधिक र मानव स्वास्थ्यसम्बन्धी विषयमा जोड दिन्छ। तर, खेतबारीका रोगकीरा नियन्त्रणमा प्रयोग गरिने रासायनिक विषादीले शत्रु मात्र नभई मित्र जीवलाई पनि असर गर्छ र मानव स्वास्थ्यमा समेत हानि  पु¥याउँछ।  

संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफएओ)ले सन् १९७२ मा दिएको परिभाषा अनुसार शत्रुजीवलाई नियन्त्रणमा राख्न प्रयोगमा ल्याइने सबै प्रकारका प्रविधि समावेश भएको अवस्थालाई एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ।  

किसानले खेतबारीका शत्रुजीव नियन्त्रण गर्न खास किसिमको वातावरणसँग मेल खाने वैकल्पिक विषादीको न्यून प्रयोग गर्ने जसले पर्यावरणको अन्य मित्रजीवलाई असर पु¥याउनु हुँदैन भन्ने पद्धति हो।

यो प्रणालीमा जैविक विधिलाई विशेष महत्व दिइन्छ। र रासायनिक विधिलाई आवश्यकता परेमा अन्तिम उपायका रूपमा प्रयोग गरिन्छ।  

आइपिएमका फाइदा  

यसमा रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने भएकाले वातावरण, मानवजीवन र पर्यावरणमै पर्न सक्ने संकटबाट बचाउँछ। शत्रुजीवको उचित व्यवस्थापन र मित्रजीवको पहिचान गरी संरक्षण गर्न सकिन्छ। रासायनिक पदार्थको प्रयोग घटाएर घरेलु तरीकाबाट रोगकीरा व्यवस्थापन गर्दा आर्थिक बचत हुनका साथै दिगो, भरपर्दो र वातावरणमैत्री हुन्छ। कृषक आफैलाई खेतबारीमा देखापरेका रोगकीरा पहिचान गर्न र त्यसको व्यवस्थापनका निम्ति आफ्नै ज्ञान र सीप प्रयोग गर्न सक्ने दक्ष तथा अनुभवी बनाउँछ जसले कृषकको आत्मविश्वास बढाउँछ।  

नेपालका सन्दर्भमा धेरैजसो कृषकद्वारा विषादीको सुरक्षित प्रयोग नभएकाले  विषादीको दुष्परिणामबारे उनीहरूलाई सचेत बनाउनु पर्छ। साथै घरेलु स्रोतसाधनबाट सहज ढंगमा रोगकीरा व्यवस्थापन गर्न सकिन्छ। यसबाट व्यावहारिक प्रविधिको विकास, अनुसन्धान र दक्ष जनशक्ति विकास हुँदै जान्छ। रासायनिक विषादी आयात गर्दा बाहिरिने करोडौं रुपैयाँ बचाएर देशको आर्थिक पक्षलाई थप सबल बनाउन सकिन्छ।  

आइपिएमका बेफाइदा  

गरेर सिकिन्छ भन्ने अवधारणा बोकेको यस प्रविधिले कृषकलाई खास किसिमको रोगकीरा पहिचान गरी तिनको उचित व्यवस्थापन पद्धति अपनाउन सक्ने दक्ष बनाउन बढी अनुभव र समयको खाँचो पर्दछ। परम्परागत शत्रुजीव व्यवस्थापन प्रणालीभन्दा सुरुवातमा बढी खर्चिलो पनि हुनसक्छ। नेपालका सन्दर्भमा प्रायः  कृषकमा रोगकीराविरुद्ध जथाभावी प्रयोग गरिने रासायनिक विषादीले जीवन र पर्यावरणमा पार्ने असरका बारेमा आधारभूत ज्ञान नभएकाले आइपिएम प्रणाली व्यावहारमा उतार्न कठिन हुनसक्छ।          

स्वस्थ्यबाली उत्पादन

स्वस्थ्यबाली उत्पादन आइपिएमको प्रथम र महत्वपूर्ण सिद्धान्त हो जसमा खेती गर्ने तरीकामा बढी ध्यान दिइन्छ। रोगकीरा लागेर बालीमा क्षति पु-याउन  थालेपछि विकल्प खोज्नुभन्दा पनि सकेसम्म सुरुकै अवस्थामा रोगकीरा लाग्न नदिएर स्वास्थ्य बाली उत्पादन गर्न सक्यौं भने राम्रो हुन्छ। यस सिद्धान्तअनुसार र कीरा अवरोधक जातहरू लगाउने, स्वस्थ बीउ उपयोग गर्ने, बीउबाट सर्ने रोग लाग्न नदिने। यसका लागि छर्नुपूर्व ढुसीनाशक विषादीले बीउको उपचार गर्ने। बाली लगाउनुपूर्व झारपात राम्ररी हटाएर खेतबारीका चारैकुना राम्ररी सफाइ गर्ने, बालीलाई उपयुक्त समयमा लगाउने, सन्तुलित खाद्यतत्व व्यवस्थापनका लागि उचित मलखाद व्यवस्था गर्ने, उचित सिँचाइको प्रबन्ध मिलाउने, आवश्यकताअनुसार बेलाबेलामा गोडमेल गर्ने र सकेसम्म रोगकीरा व्यवस्थापनका घरेलु तथा जैविक तरीका अपनाउने गरिन्छ।  

खेतबारीको नियमित अवलोकन  

एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीको यो सिद्धान्तअनुसार कृषकले बालीनाली लगाएदेखि बाली नभित्र््याउन्जेलसम्म खेतबारीको नियमित अवलोकन गर्नुपर्ने बुझिन्छ। यसलाई कृषि पर्यावरणीय अध्ययन विश्लेषण पनि भनिन्छ। यसरी खेतबारीको नियमित अवलोकन गर्दा उनीहरू खेतबारीमा देखिने रोग कीरासँग राम्ररी परिचित हुने र कस्तो किसिमका कीराले कस्तो वा कुन बालीमा बढी क्षति पु-याउँछ भन्ने बुझ्न सक्छन्। कुन कीराको कुन अवस्थाले बिरुवाको कुन अवस्थामा कसरी असर पु¥याउँछ, तिनीहरूलाई नियन्त्रण गर्न आवश्यक छ या छैन, ती रोगकीराका प्राकृतिक शत्रुजीव हुन् कि हैनन््? कुन मौसममा कुन कीराको प्रकोप बढी देखिन्छ आदिको नियमित अध्ययन हुन्छ।  

यसले गर्दा कृषक बढी सतर्क र अनुभवी बन्छन्। र शत्रुजीव समाधान गर्न आफैं उपाय पत्ता लगाउन सक्छन्। फरकफरक समय बिहानी, दिउँसो र बेलुकी पारेर कीराका गतिविधि अध्ययन गर्नुपर्छ।  

मित्र जीवको संरक्षण  

हामीले शत्रुजीव व्यवस्थापनका नाममा जथाभावी प्रयोग गरिरहेको रासायनिक विषादीले प्रकृतिमा रहेका मित्र जीवलाई पनि प्रत्यक्ष असर पारेको हुन्छ। त्यसैले यस किसिमका विषादी प्रयोग गर्दा लक्षित वर्गका रोगकीरालाई तोकिएको विषादी सही तरीकाले सही मात्रामा र सही समयमा प्रयोग गर्नुपर्छ। जसले गर्दा त्यहाँका मित्रजीवलाई असर नपुगोस्। आइपिएमको यो सिद्धान्तअनुसार प्रकृतिमा पाइने मित्र जीवको प्रयोग गरेर यहाँका शत्रुलाई नष्ट गरिन्छ, जसले गर्दा पारिस्थितिक प्रणाली पनि सन्तुलन रहने र प्रकृतिका अन्य कुरामा पनि असर पुग्दैन। खेतबारीको नियमित अवलोकन गर्दा त्यहाँ देखिने विभिन्न शत्रुजीव तथा मित्रजीवको पहिचान गरिन्छ र उनीहरूबीचको अन्तरसम्बन्ध अध्ययन गरी कुन जीव कसको विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने पत्ता लगाइन्छ। र त्यसैअनुसार मित्रजीव पहिचान गरी बालीनालिका रोगकीराको नियन्त्रण गरिन्छ।

कृषकलाई दक्ष बनाउने

आइपिएमको मुख्य उद्देश्य नै कृषकहरू आफैंलाई आफ्नो खेतबारीमा देखापर्ने रोग कीराहरूविरुद्ध वैकल्पिक तरीका सोच्न सक्ने बनाउनु हो। यसरी कृषकलाई आफ्नै  अनुभवबाट दक्ष बनाई ज्ञान, सीप र प्रविधि फैलाउन कृषक स्वयंलाई स्रोतव्यक्तिका रूपमा परिचालन गरी प्रविधिको समेत प्रसार गरिन्छ। यसरी कृषककै संलग्नतामा परिचालन गरिने विभिन्न कार्यक्रमले प्राविधिक ज्ञानलाई सहज र प्रभावकारी रूपमा बुझ्न र बुझाउन मद्दत गर्दछ। मौसमअनुसार बालीमा देखापर्ने विभिन्न रोगकीराको असरबारे कृषकलाई बेलैमा सचेत भएर त्यसबाट बच्न विभिन्न उपाय सिर्जना गर्नसक्ने बनाउँछ। यसरी रोगकीराको नियमित अवलोकन र त्यसका विरुद्धमा अपनाएका आफ्नै स्रोतसाधन र ज्ञानसीपले अनुभवी कृषकलाई सफल वैज्ञानिक बनाउँछ।

फरक रोगकीराविरुद्ध अपनाउन सकिने आइपिएमका केही विधिहरूः  

बोडीको घुन  

यो कीरा बोडी लगायतका बालीमा देखिन्छ। खेतबारीमा फैलिँदै गरेको बालीदेखि भकारीमा भण्डारण गरिएको बीउबीजनमा समेत यसले क्षति पु-याउँछ। पोथी घुनले बोडीको कोसा वा दानामा अण्डा पारेर छाडेको केही दिनमा लार्भा अवस्था विकास हुन्छ जसले बोडीको दाना छाडेर नराम्ररी क्षति पु¥याउँछ। लार्भा अवस्थापछि प्युपा र वयस्कमा विकास भई सानो प्वाल पारेर बाहिर निस्कन्छ। यसले बाली उत्पादनको पचासदेखि ६० प्रतिशतमा कमी ल्याउन सक्छ। यो कीरा नियन्त्रण गर्न स्वस्थ बीउ मात्र छान्ने, बेलाबेलामा खेतबारी वा भण्डारण गरेको ठाउँमा अवलोकन गरी संक्रमित बिरुवा वा दानालाई हटाउनुपर्छ । भण्डारण गरेको ठाउँको तापक्रम शून्य डिग्री सेल्सियस भन्दा कम गर्न सकियो भने यो कीराको वृद्धि विकास रोक्न सकिन्छ।  

अमेरिकी फौजी कीरा  

यसले नेपालको कृषि प्रणालीमै ठूलो क्षति पु¥याउँदै आएको छ। यो कीराले तराईदेखि पहाडसम्मका मकै, धान, जुनेलो आदिको उत्पादनमा कमी गराएको छ। यो कीरा नियन्त्रणका निम्ति विज्ञद्वारा विभिन्न अध्ययन भइसकेको छ। हालै नेपाल मकैबाली अनुसन्धान केन्द्र, रामपुर चितवनले स्थानीय वनस्पति जस्तै तितेपाती, असुरो, निम, बकाइनो, खुर्सानी, नुन आदिको झोल बनाई गाईको पिसाबमा उमालेर तयार पारेको विषादीलाई पानीसँग मात्रा मिलाएर प्रयोग गर्दा यो कीरा नियन्त्रणमा आएको विज्ञले बताएका छन्।  

मकैको डाँठमा लाग्ने गभारो  

यो पुतली वर्गको एक प्रजाति हो जसले मकै कोदो जन्मेर जस्ता थुप्रै बालीमा  क्षति पु¥याउँछ। यो कीराको लार्भाले बिरुवाको डाँठ छेडेर बिरुवाको भस्कुलर टिस्यूलाई क्षति पु¥याउँछ जसले गर्दा बिरुवा कमजोर भएर ढल्न सक्छ। यो कीरा नियन्त्रण गर्न अण्डा परजीवीको प्रयोग गर्न सक्छौं। यसले यो कीराको अण्डामा लार्भा हुर्काउँछ र यो कीराको अण्डालाई नष्ट गरिदिन्छ। त्यसैगरी पहिलो अवस्थाको लार्भाविरुद्ध एक किसिमको व्याक्टेरिया प्रयोग गर्न सकिन्छ। र वयस्कका  निम्ति बत्ती र फेरोमोने पासोको प्रयोग गर्न सकिन्छ।

गहुँको कालो सिन्दुरे रोग  

यो रोग ढुसीका कारणले लाग्छ। यो रोग नियन्त्रण गर्न खेतबारीको गहिरो खनजोत गर्ने, झरपात हटाउने, राम्ररी सरसफाइ गर्ने, घुम्ती बाली लगाउने, युरिया मलको अत्यधिक प्रयोग नगर्ने, रोगप्रतिरोधी जात लगाउने आदि उपाय गर्न सकिन्छ।

कृषक पाठशाला  

कृषक पाठशाला भनेको आइपिएमका सिद्धान्तलाई व्यवहारमा उतार्न कृषकको सहभागितामा कृषककै खेतबारीमा सञ्चालन गरिने कार्यक्रम हो। यसमा कृषकको खेतबारीको अवस्थालाई अध्ययन गरेर त्यहाँका समस्या बुझेर तिनकाविरुद्ध अपनाउन सकिने प्रविधिबारे छलफल गरिन्छ। खेतबारी खनजोत गरेदेखि बाली  नभित्र्याइन्जेलसम्म कृषकलाई विषय विज्ञले मार्गदर्शन गर्छन्। यसरी विज्ञको सँगै एकै ठाउँमा बसेर गरिएको छलफलले कृषकमा व्यावहारिक ज्ञान मात्र नभई आत्मविश्वास पनि बढाउँछ।  

कृषक पाठशालाको मुख्य सिद्धान्त नै गरेर सिक्ने हो। कृषकलाई तालीम दिनुपर्छ भन्ने सोचको सुरुवात फिलिपिन्सबाट भएको हो र यसलाई परिमार्जन गर्दै कृषक पाठशालाको मोडलमा परिमार्जन गर्ने पहिलो देश इन्डोनेसिया हो।    

यसरी इन्डोनेसिया, भियतनाम, बंगलादेश, भारत हुँदै यसको विस्तार नेपालसम्म भएको हो। एउटा कृषक पाठशाला अध्ययन गर्न क्षेत्रफल कम्तीमा एक हजार वर्गमिटर हुनुपर्छ। २४÷२५ जना सदस्य भएको पाठशालामा ४–५ जनाको उपसमूह बनाएर अध्ययन र छलफल गर्ने गरिन्छ, जसले गर्दा सिक्ने र सिकाउने प्रक्रिया अझ प्रभावकारी हुन्छ। कृषकले हरेक हप्ताको सामूहिक छलफलमा आआफ्नो नयाँ विचार आपसमा साटासाट गर्ने हुनाले कृषक आफैं दक्ष र अनुभवी बन्छन।  

कृषक पाठशालाको तालीम निम्न सिद्धान्तमा आधारित छन्:  

सुनेर, देखेरभन्दा गरेर बढी सिकिन्छ।  

अनुभव नै सिकाइको सुरुवात हो।  

कृषकको खेतीबारी नै कृषक पाठशाला हो।  

कृषक आफैं दक्ष निणर्यकर्ता बन्छन् ।  

कृषक पाठशालाको विषयवस्तु चयन स्थानीय आवश्यकता र अवस्थाले निर्धारण  गर्दछ।

अन्त्यमा

बढ्दो जनसंख्या र शहरीकरणले गर्दा कृषियोग्य जमीन घट्दो छ। थोरै जमीनमा बढ्दो पेटको भोक टार्न कृषिमा हुँदै आइरहेको आधुनिकीकरण र प्रविधि विकाससंगै रासायनिक विषादीको उच्च र असुरक्षित प्रयोगले गर्दा पर्यावरण, जीवजन्तु र मानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुगिरहेको छ। त्यसैले रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै स्थानीय स्रोतसाधन प्रयोग गरी जैविक पद्धतिबाट शत्रुजीव व्यवस्थापन गरी दिगो कृषि विकास र जैविक कृषि क्रान्तिमा एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीले विशेष योगदान पु-याउन सक्छ। 

प्रकाशित: १४ असार २०७७ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App