२३ असार २०७७ मंगलबार
अन्य

टुर जाने रहर

 प्रशंसा पराजुली

‘आहा ! कस्तो मज्जा आउँछ होला है टुर जाँदा त । टुरमा त खूब फोटो खिच्नुपर्छ ल । म टिकटकको साउन्ड पनि ड्राफ्टमा राखेर आउँछु ।’ तान्याले खुसीको भावमा भनी । हामीले स्लो–मो बनाउन पाएको भए चैँ मजा आउँथ्यो के  तर आइफोन नै छैन कसैको । पेमा तँ तेरो दिदीको आइफोन ले न है ?’ सुप्रियाले पेमातिर फर्केर भनी । ‘अँ, दिदीले दिनुपरयो नि । दिदीका पर्सनल कुरा हुन्छन् । कहाँ दिनुहुन्छ । म पनि मेरो आइफोन भएको भए भाइबहिनीलाई चलाउन दिन्नँथे बुझिस् ।’ पेमाले तात्तातै जवाफ फर्काई ।

कक्षा एघारको दोस्रो आन्तरिक परीक्षापछि कलेजले टुर लाने सूचना सुनाउँदा खुसी हुँदै तान्या र उसका साथीहरूले आआफ्ना भाव पोखेका थिए । नयाँ साथीहरूसँग घुम्न जाने कुराले सबैमा एक किसिमको रौनक छाएको थियो । घुम्न जाने कुरा सुन्दा मात्रै त कलेजका प्रायः विद्यार्थीमा बेग्लै ऊर्जा थपिदिएको थियो भने झन् घुम्नै जान पाएको भए कति रमाइलो हुने थियो वर्णन गरेर साध्यै हुने थिएन होला ।

चार दिनको टुर त्यही पनि नयाँ साथीहरूसँग । प्रायः विद्यार्थीहरू १५ दिनअघि गरिएको सूचनाबाटै उत्साहित थिए । सरले सूचना सुनाइसक्नेबित्तिकै खुसी हुँदै सबैले ताली बजाए । सर बाहिर निस्कनासाथ सुप्रियाले तान्यालाई र पेमाले सिम्रनलाई गम्लङ्ङ अँगालो हालेर रमाए । तान्यालाई यो कुरा कतिखेर बाबामामुलाई सुनाउँझैं लाग्यो । ऊ कलेजबाट आउँदा बाटाभरि टुर जाने योजना बनाउँदै आई । घरमा आइपुग्दा पो झल्याँस्स भई । ‘ए साँची बाबामामु त अफिस पो जानुभएको छ । मैले त भुसुक्कै बिर्सेछु । ठीकै छ भरे आएपछि सुनाउँछु ।’ ऊ ढोका खोलेर भित्र पसी र खाना खाएर ओछ्यानमा डङरङ्ङ पल्टी ।

बेलुका मामु आउनेबित्तिकै सुनाइहाली, ‘मामु, थाहा छ, हाम्रो कलेजले चार दिनका लागि टुर लान्छ रे । हामीले त केके लुगा लाने योजना पनि गरिसक्यौं ।’ तान्याले मामुलाई फकाउने पारामा भनी ।

– अँ कहाँ पाउनु भन्दाभन्दै पैसा । लुगा मात्र किनिदिएर हुन्छ र ? कलेजमा टुर जानचाहिँ पैसा तिर्नु पर्दैन र ? 

– ल मामु पनि कलेजले पैसा नतिरी टुर लान्छ कि क्या हो ? तिर्नु त परिहाल्यो नि ।

– कति रे पैसा ।

– सात हजार अरे मामु ।

‘सात हजार कलेजमा तिरेर लुगा पनि कसरी किनिदिनु छोरी । के हामीसँग चाहिँ पैसाको बोट छ ?’ मामुको आवाज चर्को थियो ।

‘ह्या, मामु पनि, टुर जाँदा त नयाँ लुगा चाइहाल्यो नि । कति फोटो खिच्नुपर्छ । एउटै लुगामा त के फोटो खिच्नु । मेरा साथी पेमा, सर्जु, याङ्जी, सुप्रिया सबैले लुगा र जुत्ता किन्ने रे । मलाई पनि लुगा किनिदिनै पर्छ के ।’ मामु उसका कुराको प्रतिउत्तरै नदिई चिया पकाउन थाल्नुभयो ।

भोलिपल्टदेखि कलेजमा तान्या र उसका साथीहरू घरिघरि उही टुरका विषयमा योजना बनाउन थाले । जतिजति उनीहरू योजनाका गाँठाहरू कस्थे उतिउति दिनहुँ पानी पर्न थाल्यो । ‘म त टुर जाने दिन बिहानै उठेर कपाल स्ट्रेट गर्छु ।’ पेमाले यति मात्र के भनेकी थिई सुप्रियाले जवाफ फर्काइहाली ‘बरु स्ट्रेटनर बोकेर हिँड्न, उही बनाउने हो कपाल बाटाभरि त बिग्रिहाल्छ नि ।’ 

‘ह्या छाड यी सब कुरा । बरु कोको सुत्ने त्यो कुराचाहिँ गर न यार ।’ सर्जुलाई हातले पन्छाएझैं गरी याङ्जीले भनी, ‘बल्लबल्ल टुर जान पाइने भएको छ । टुरमा पनि को सुत्छ ? रातभरि नाच्ने हो ।’ 

‘अँ रातभरि नाच्न हामी मात्रै हुन्छौं र होटेलमा । अरू पनि त हुन्छन् नि । अरूलाई बाधा गर्नुभएन ।’ तान्या अन्त्यमा बोली ।

आजभन्दा भोलिभन्दा पानी झन् थपिंदै गयो । ‘माघ महिनामा पनि पानी यसरी पर्छ र मामु ? पोहोरपरार पनि यसरी नै पानी परथ्यो त ?’

‘खोई कोनि त । तँलाई पनि थाहा होला नि । पोहोर परारको कुरा त ।’

‘मलाई त पोहोरपरार त यसरी पानी परेजस्तो लागेको थिएन मामु । फेरि हिउँ पनि ठाउँठाउँमा परिरहेको छ । यस्तै झरी परिरहे त हाम्रो टुर पनि हुन्न रे । हे भगवान्, यो झरी बन्द होओस् ।’ तान्याले दुई हात जोडेर भगवान् पुकारी ।

तान्याको पुकारलाई भगवान्ले सुन्दै सुनेनन् । लगातार पाँचछ दिन पानी परेकाले जाडो अचाक्ली बढ्यो । ठाउँठाउँमा हिउँ खसेर बाटो अवरुद्ध हुन थाले । मौसम प्रतिकूलताका कारण कलेजले टुरलाई स्थगित गरेको र सहज परिस्थिति भएपछि पुनः टुरको कुरा अगाडि बढाउने सूचना सुनाइयो । ‘ह्या, झन् यस्तो प्लान बनाएको सबै खेर गयो ।’ याङ्जीले नमिठो मान्दै भनी ।

‘त्यही त कत्रो प्लान थियो, गयो । यो पानी, असिना, हिउँ सबैथोक यही बेला किन पर्नु परेको होला । क्या बोर भयो नि साथी हो ।’ सुप्रियाले गुनासो पोखी ।

तान्या खिन्न मन लिएर कलेजबाट घर फर्की । बेलुका मामु आउनेसाथ चित्त दुखेको भावमा भनी, ‘कत्रो प्लान गरेको सबै खेर गयो । हामीलाई टुर नलाने भए । हैन यो पानी पनि कति पर्न सकेको । हेर कक्षा दसमा हुँदा पनि टुर जाने भनेर पैसा तिरें । धेरै विद्यार्थी नजाने भए भनेर पैसा नै फिर्ता गरे । जति जनाले पैसा दिएका थिए तिनलाई लगेको भए भइहाल्थ्यो नि । दसमा पनि जान पाइनँ । एघारमा जान पाइन्छ भनेर फुरुक्क परेको  थिएँ तर अहिले पनि जान पाइनँ ।’ 

‘ठीकै छ नि छोरी । पछि मौसम राम्रो भए पछि गए भइहाल्छ नि ।’ मामुले ढाढस दिंदै तान्यालाई सम्झाउनुभयो ।

एक महिनापछि फेरि कलेजले फागुनको २८ गते टुर जाने सूचना गरयो । तान्या र उसका साथीहरू फुरुङ्ङ भए । कलेजले टुरको पैसा पनि उठाउन थाल्यो । तान्या र उसका साथीहरूले पनि टुरका लागि लुगाजुत्ता किने । ल अबचाहिँ टुर जान पाइने भयो भनेर खुसी भए तर उनीहरूको खुसी तीन दिन पनि टिकेन ।

 चीनबाट फैलिएको कोरोना भाइरस दिनप्रतिदिन चीन , इटाली, फ्रान्स, जापान, कोरिया, अमेरिका गर्दै विश्वमै फैलिंदै  गयो । यसरी विश्वमै फैलिएको कोरोना भाइरसको संक्रमणको नेपालमा पनि असर देखियो । त्यसलाई आधार मानेर नेपाल सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्ने सूचना निकाल्यो ।

विश्वमा फैलिंदै गएको महामारीले दिनहुँ  दिनहुँ सयौं मान्छे मर्दै गएको समाचार सुनेर यो महामारी नेपालमा पनि फैलियो भने भयावह हुन्छ भन्ने कुराले सबै मान्छे डराउन थाले । जसको फलस्वरूप हाम्रो कलेजले फेरि टुरको कुरा स्थगित गरयो । केही दिन अगाडिसम्मको योजन काँचका चुरा फुटेझैं झरयामझुरुम भए ।

टुर जाने कुरा मात्र होइन केही दिनपछि कलेज, स्कुल, कलकारखाना, होटेल, व्यापार, व्यवसाय पनि बन्द भए । त्यसका दुईतीन दिनपछि देशैभरि लकडाउन सुरु भयो । लकडाउन हुँदा कलेजमा अनलाइन क्लास हुँदै थियो । नेपालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गयो । दिनभरि घरमा बसेर मोबाइल चलायो, अलिअलि घरको काम सघायो । त्यसरी नै दिन बिताउँदा तान्यालाई वाक्क लाग्यो । ऊ सम्झन्थी, ‘यो कोरोना नआएको भए टुर जान पाइने थियो । कति रमाइलो हुन्थ्यो होला । मेरो त टुर जाने कर्ममै छैन कि क्या हो ? टुर जाने भन्यो एउटा न एउटा बाधा आइहाल्छ ।’ तान्याले दुखमनाउ गर्दै मामुसँग भनी ।

मामुले सान्त्वना दिँदै भन्नु भयो, ‘अहिले जान नपाएर को भयो त छोरी, १२ कक्षामा जान पाइहालिन्छ नि । त्यसबेला मजाले घुम्नु ।’

प्रकाशित: १२ असार २०७७ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App