२३ असार २०७७ मंगलबार
अन्य

बालबालिकाको लागि समय व्यवस्थापन

कौशिला रिसाल

 देश करीब तीन महिनादेखि लकडाउनमा छ । लामो समयसम्म ठप्छ सडकमा एम्बुलेन्स र आकस्मिक सेवाका साधन मात्र गुडे  । आधिकारिक पासबाहेकका सवारी साधनलाई निशेध गरियो । असार लागेपछि भने नेपाल सरकारले बन्दाबन्दीलाई केही खुकुलो गर्ने नीति तय गरेको छ । यससँगै मुलुकमा कोरोनाको जोखिम बढ्दै गएको छ । कोरोना सङ्क्रमितका सङ्ख्या दश हजारको हाराहारीमा पुग्दै छन् ।

स्कुल, मन्दिर, पार्टीप्यालेस, सिनेमा हल, होटल, पार्कजस्ता धेरैको जमघट हुने सबै स्थानहरू बन्द छन् । हामी सबैका बालबालिका हामीसँगै घरमा थुनिएर बस्न बाध्य छन् । डेरामा बस्ने अभिभावकका छोराछोरीका सवालमा त झन् लकडाउन अभिशाप भएको छ । उनीहरूको भुल्ने माध्यम इन्टरनेट बनेको छ । त्यसैले हामी भनिरहेका छौं,‘बिजुली र इन्टरनेटको सुविधा नभएको ठाउँमा त बस्नै सकिंदैन ।’ तर यो अकाट्य भने होइन । बालबालिका इन्टरनेटविना बस्न सक्छन् । हामीले बालबालिकालाई इन्टरनेटविना बस्न सक्ने बनाउन प्रयत्न गर्नुपर्छ ।

विभिन्न समयमा लामो समय विद्यालय छुट्टी हुँदा बालबालिकामा पर्ने मनोवैज्ञानिक असर, तत्कालका लागि समाधानको खोजी र विद्यालय खुलेपछि पनि अपनाउन सकिने सजगताबारे केन्द्रित रही यो सानो आलेख तयार गर्ने कोसिस गरेको छु ।

बालबालिका धेरै जिज्ञासु हुन्छन् । यो उनीहरूको स्वभाव वा गुण हो । कोही बालबालिका नयाँ विषयका लागि थोरै जिज्ञासा राख्ने हुन्छ्न् भने कोही धेरै नै जान्न चाहन्छन् । उनीहरूले नयाँ विषयमा थाहा पाउने माध्यम भनेका बाबुआमा, आफूभन्दा ठूला दाइदिदी तथा विद्यालयका गुरुहरू हुन् । यसबाहेक विभिन्न सूचनाका सामग्री र बाल उपयोगी पुस्तक तथा पत्रपत्रिका पनि हुन् ।

घरपरिवारको अवस्था, उनीहरू हुर्किएका वरिपरिका वातावरण लगायतले तिनको संवेगात्मक विकासमा खास प्रभाव पारेको हुन्छ । विद्यालय जाने उमेर भएका र विद्यालय जान थालेका केटाकेटीका लागि त झनै यो विषय निकै गम्भीर हुने गर्दछ । कतिपय बाबुआमा र स्कुलका शिक्षकले आफ्ना बालबालिकाका बारेमा बुझ्न नसक्दा उनीहरू तनावमा परेका हुन्छन् ।

जति फराकिलो क्षेत्रमा खेल्न र हुर्कन पायो त्यति नै बालबालिकामा बाहिरी ज्ञानको विकास हुँदै जान्छ । आफूले खोजेका हरेक कुरा प्राप्त गर्नमै उनीहरू तल्लीन हुन्छन् र सफलता वा खुसी थपिएसँगै अर्को नयाँ विषयमा सोच्न थालिहाल्छन् । हामीले बालबालिकाको कुरामा कसरी समर्थन जनाउने र कसरी अस्वीकार गर्ने भन्ने कुरामा निकै ध्यान दिनुपर्छ । राम्रा कुराको समर्थन गर्न सजिलो हुन्छ, पुरस्कारविना नै उनीहरू फुरुङ्ङ हुन्छन् । तर, नराम्रो वा अनुचित कुराको समर्थन गर्न र नकार्न दुवै असजिलो काम हो । बालबालिका सीधै गल्ती स्वीकार गर्न तयार हुँदैनन् । प्रथम त गल्ती सबैका हुन्छन् । गल्ती भएमा स्वीकार गर्नुपर्छ । त्यसलाई सच्याउँदै लानुपर्छ ।  गल्ती गर्नु ठूलो होइन । ठूलाको पनि गल्ती हुन्छन् । यो सामान्य कमजोरी हो तापनि एउटै गल्ती पटकपटक दोहोरयाउन हुन्न भन्ने कुरा बालबालिकामा बुझाउनु जरुरी छ ।

अझै विद्यालय खुल्न केही समय पर्खनुपर्छ । त्यसैले हामीले हाम्रा नानीबाबुहरूलाई विभिन्न कामहरूमा क्रियाशील राख्ने प्रयत्न गर्नुपर्छ । उनीहरूको मनोरञ्जनका लागि विभिन्न रचनात्मक कार्यमा जोड दिनुपर्छ । कतिपय बालबालिकाले मन लाग्दैन भनेर आफ्ना अभिभावकले अराएको काम गर्दैनन् । यसो भनेर कहाँ सुख पाइन्छ ? यसमा मन लाग्ने बनाउनु जुनसुकै अभिभावकको कर्तव्य हो ।

बालबालिकाको पठनपाठनका लागि शैक्षिक क्षेत्रका सरोकारवाला, विद्यालय तथा सम्बन्धित निकायले केही न केही पहल गरिरहेका छन् । पाठ्यपुस्तकहरू हरेक बालबालिकाको घरघरमा पुरयाउन स्थानीय निकायले सहयोग गरिरहेका छन् । अनलाइन कक्षा संचालन हुँदैछन् । नेटको सुविधा भएमा आफ्ना बालबालिकालाई भर्चुअल कक्षामा जोड्ने प्रयास गर्नु अभिभावकको अनिवार्य दायित्व हो ।

बजारमा पुस्तक पसल खुलेका छन् र सम्बन्धित जुनसुकै तहका पुस्तकहरू पाइने सुविधा छन् । अभिभावकले बालबालिकाका निम्ति किताब किन्न ढिला नगरौं । नयाँ किताबमा भएका नयाँनयाँ विषयवस्तुमा उनीहरूको रुचि बढ्छ । पुस्तककका हरेक पाना पल्टाएर हेर्छन् । अघिल्लो कक्षा र यस कक्षाका पाठहरूमा फरक के छ जान्ने जिज्ञासा हुन्छ । बाआमा वा अभिभावकसँग नयाँ पाठसम्बन्धी आफ्नो जिज्ञासा बढ्छ । पाठसम्बन्धी विभिन्न क्रियाकलापमा उनीहरूको ध्यान पुग्छ । आफ्ना वरिपरि पुस्तक भएपछि आफूलाई मन लागेको र फुर्सदको बेलामा हेर्छन् । उनीहरूका लागि केही काम दिन तपाईलाई सहज हुन्छ । यसले बालबालिकामा पढाइप्रति जिज्ञासा र क्रियाशीलता बढेर जान्छ । विद्यालय जान नपाएको बेला नयाँ पुस्तकले बालबालिकाको मनोविज्ञानमा सकारात्मक असर पार्ने हुँदा पुस्तक किन्नमा ढिला नगरौं ।

यो बन्दाबन्दीलाई अभिभावकले बालबालिकालाई समय दिने सुनौलो अवसर सम्झनुहोस् । आफूमाथि उनीहरूको पूर्ण भरोसा जगाउने प्रयत्न गरौँ । भोलिको सहज वातावरणप्रति बालबालिकालाई विश्वस्त पारौं ।

सम्भव भएसम्म घरमा उपलब्ध भएका खाद्यसामग्रीबाट बालबालिकालाई मन पर्ने खानाका परिकार बनाएर खुवाऔं । बालबालिकाको रुचिअनुसारका क्रियाकलापमा प्रोत्साहन गरौं । उनीहरूमा आत्मविश्वास बढाउँदै सिर्जनात्मक कार्यमा अभिप्रेरित गरौं ।

निराशा हुन नदिन मन परेका र टाढा रहेका आफन्तसँग टेलिफोन वा भिडियोकलमार्फत कुराकानी गराऔं । त्यस्तै मनपर्ने शिक्षक वा साथीहरूसँग पनि बेलाबेला कुराकानीको माध्यम मिलाऔं । यस्ता क्रियाकलापले बालबालिकामा सकारात्मक भावनाको विकास भई भोलिप्रति आशावादी बन्न प्रेरित गर्न सकिन्छ । 

प्रकाशित: ११ असार २०७७ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App