२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्य

अनलाइन कक्षा

संवाद

सरस्वती श्रेष्ठ ‘सरू’

संसारभर कोरेना  महामारीको फैलिएको कारण देश दुई महिना पूरै बन्दाबन्दीमा बित्यो । असारको सुरुवातसँगै बन्दाबन्दी केही खुकुलो गरियो । खुकुलो गरिएसँगै दिनानुदिन संक्रमितहरू बढिरहेको छ । त्यसैले सर्वसाधरणमा त्रास फैलिनु स्वाभाविक छ । यस्तो विषम परिस्थितिको असरबाट विद्यालय र विद्यार्थी पनि अछुतो रहन सकेन । सरकारले असार एक गतेबाट अनलाइन कक्षा संचालन गर्ने भनेपछि सबैतिर यसको प्रभाव कस्तो रहेको छ त भन्ने विषयलाई लिएर पोखरा महानगरपालिका –१३ मा अवस्थित ताराकुञ्ज सेकेण्डरी स्कुलका ६ कक्षाका नानीहरूको टेलिफोन वार्ता यहाँ प्रस्तुत गरिएको छ । 

रिवाज –  हेल्लो रिती, सन्चै छौ ?

रिती  –  हजुर रिवाज, म सन्चै छु, तिमी नि ?

रिवाज – म पनि यतिञ्जेल सन्चै छु । के गरेर बसेकी छौ घरमा ? कोरोनाको यो महामारीले स्कुल बन्द भयो । पढ्न पाइएन । साथीहरू भेट्न पाइएन । कस्तो दिक्कलाग्दो समय हो ।  

रिती  – म अहिले गृहकार्य गर्दैछु रिवाज । अनलाइन कक्षा चलिरहेको छ नि । साँच्चि  अनलाइन कक्षामा देख्दिनँ नि  । के भयो तिमीलाई ?

रिवाज –  अँ हेर न आउने प्रयास गरेको हो तर मिलेन ।  

रिती  – हँ के भयो र त्यस्तो ?

रिवाज – तिमीलाई यो अनलाइन कक्षा कत्तिको प्रभावकारी लागेको छ रिती ?

रिती   – केही नहुनुभन्दा त केही हुनु राम्रो हो नि होइन र रिवाज ?

रिवाज  – त्यो त हो तर मजस्तै समस्यामा पर्ने कति होलान् ? पढ्न चाहेर पनि पढ्न नसकेका । हाम्रोमा हेर न बाबाको काम यतिबेला ठप्प छ । कमाउन सक्नुभएको छैन । उहाँसँग एउटा सामसुङको पुरानो मोबाइल छ । जुन मैले अहिले तिमीसँग कुरा गरिरहेछु । यो मोबाइलमा पहिला त जुम एप डाउनलोड गर्न नजानेर हैरान । पल्लो घरको काकाले डाउनलोड गरिदिनुभयो । त्यो पनि संसार जितेको अनुभव भयो । अब पढ्न पाइने भयो भनेर रमाएको त कक्षामा जोडिन मुस्किल भयो । म्याथ सरको आवाज यसो के सुनेथें,  अड्केर आयो आवाज । पढाएको केही बुझिन । यत्तिकै कक्षा सकियो । पछि जितलाई सोधेको उसले त राम्रै भएको सुनायो । मेरो मात्रै किन यस्तो भयो ?

रिती  – यसको कारण धेरै छन् रिवाज । एक त यतिबेला देशैभरि इन्टरनेटबाट विभिन्न कामहरू भइहेछन् । सबैले एकैपटक चलाउँदा नेटवर्कले काम गर्न ढिला भएको हुन सक्छ । अर्को हाम्रो डिभाइस पनि भर पर्छ के । नयाँनयाँ भर्जनको मोबाइल, ल्यापटप भए राम्रै हुन्छ । नत्र यस्तै समस्या हुन्छ रिवाज ।

रिवाज  – ए के गर्नु त, अहिले नयाँ किन्न सकिन्न भन्नुहुन्छ बाबा । अब मेरो पढाइ छुट्ने भयो । म पछि पर्ने भएँ ।

रिती   – नआत्तिऊ रिवाज । पछि पूरै बन्दाबन्दी खुलेपछि हाम्रो भेट भैहाल्छ नि । म अहिले पढेको जति नोट बनाएर राख्छु । तिमी मेरो नोट सार्न सक्छौ । ए साँच्चि सुन त, प्याव्सनले नेट नहुने ठाउँका लागि भनेर टिभीमा पढाइ संचालन गरेको छ भन्नुहुन्थ्यो सरले । यसो टिभी खोलरे बुझ्न । अझ सरकारले त टिभी नहुनेका लागि रेडियोबाट पनि पढाउन थालेको छ रे ।

रिवाज  – ए हो र ? उसो भए त म अहिल्यै टिभी खोलेर बुझ्छु । तिमीसँग कुरा गरेर पाइदै भयो ।  

रिती  – हुन्छ रिवाज अहिले छुटौं । नबुझेको कुरा फेरि छलफल गरौंला ।

रिवाज – हुन्छ रिती बाई ।

रिती  – बाई रिवाज ।

  (दुवै बिदा हुन्छन् । )

प्रकाशित: ७ असार २०७७ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App