१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

कर्तव्य ज्यानमा सफाइ

खिलानाथ ढकाल, विराटनगर, वैशाख ९- कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले जन्मकैद सजाय सुनाएका अभियुक्तलाई पुनरावेदन अदालतले सफाई दिएको छ। मोरङ, हरैंचा गाविस-८ का दिलीपकुमार खवासलाई धारिलो हतियार प्रहार गरी कोखा र घाँटी रेटेर हत्या गरेको अभियोगमा २०६८ भदौ १८ गते जिल्ला अदालतले जन्मकैद सुनाएका डंग्राहा-९ का खगेन्द्र गच्छदार र हरैंचा ८ की कौशिल्या खवासलाई पुनरावेदन अदालतले बुधबार सफाई दिएको हो।

 
न्यायधिश देवेन्द्रगोपाल श्रेष्ठ र शिवनारायण यादवको संयुक्त इजलाशले बारदातमा संलग्न भएको नदेखिएको ठहर गर्दै उनीहरुलाई सफाई दिएको हो। सोही मुद्दामा जन्मकैद सजाए सुनाएकी दिलीपकुमारकी श्रीमती सुमित्रा खवासको हकमा भने जिल्लाकै फैसला सदर भएको छ।
दिलीपको २०६५ साल भदौ २४ गते सुतिरहेको अवस्थामा हत्या गरिएको र त्यसमा संलग्न रहेको अभियोगमा उनीहरुविरुद्व मृतकका भाई उत्तमकुमारले किटानी जाहेरी दिएका थिए। 'सुमित्राबाहेक अन्य व्यक्तिहरु घटनास्थलमा पुगी बारदातमा संलग्न भएको नदेखिएको हुँदा सफाइ दिइएको छ,' पुनरावेदन अदालतको राय किताबमा उल्लेख छ।
दिलीप हत्या प्रकरणमा प्रतिवादी बनाइएका कृत्यानन्द मण्डल र किशोर खवासलाई जिल्ला अदालतले कसुरदार नरहेको ठहर गरी त्यतिबेलै रिहा गरेको थियो। खगेन्द्रसँग अनैतिक सम्बन्ध रहेको, सँगै हिँडडुल, शारीरिक सम्बन्ध राख्ने गरेको दिलीपले थाहा पाएपछि तीन जनाबीच रिसिईबी बढेको र त्यही रिसमा कौशिल्याको घरमा योजना बनाई तिनैजनाले धारिलो हतियार प्रयोग गरी घाँटी र कोखामा काटेर हत्या गरेको प्रहरी प्रतिवेदनलाई आधार मान्दै जिल्ला अदालतका तत्कालीन न्यायाधिश चण्डीराज ढकालको इजलाशले जन्मकैद सजाय सुनाएको थियो।
'खगेन्द्र र सुमित्राबीच शारिरीक सम्बन्ध हुने गरेको कुरा मृतकले पूर्वजानकारी पाएको र सोही विषयमा श्रीमान श्रीमतीबीच बारम्बार झगडा हुने गरेको छ,' फैसलामा उल्लेख छ, 'घटनापूर्व खगेन्द्र र दिलीपबीच भनाभन चलेको, अनुसन्धानका क्रममा खगेन्द्रले शारीरिक सम्बन्ध हुने गरेको स्वीकारेको र त्यसैको रिसइबी कारण कर्तव्य गरी मारेको देखियो।'
घटनाको दिन सुमित्राले कौशिल्याको घरमा खाना खाएकी थिइन्। घटनाभन्दा पहिले खगेन्द्रले सुमित्रासँगको सम्बन्धको बारेमा दिलीपले बाहिर कुरा गर्दा इज्जतमा बाधा पुगेकाले उनलाई मार्ने धम्की दिने गरेको र 'एक्लै पनि मार्न सकिने नभए अरुको सहयोग लिने' भन्ने गरेको वयान कौशिल्याले दिएकी थिइन्। त्यसैको आधारमा उनलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको थियो।
त्यसैगरी, घटनाको दिन दिलीपसँगै रहेको, परस्पर झगडा हुने गरेको, घटनाअघि विष खुवाउने प्रयास गरेको लगायत आधार देखाउँदै सुमित्रालाई जिल्ला अदालतले कसुरदार ठहर्‍याएको थियो। उक्त फैसलाविरुद्व अभियुक्तले गत मंसिरमा पुनरावेदन निवेदन दिएका थिए।
प्रहरी प्रतिवेदनमा हत्या हुनुअघि भदौ २० देखि २३ गतेसम्म सुमित्रा र खगेन्द्रबीच २ घन्टा १८ मिनेट टेलिफोन सम्पर्क भएको कल विवरण पनि अदालत पेश गरिएको थियो। घटनाको करिब डेढ वर्षअघि सुमित्रा, कौशिल्या र खगेन्द्रले दिलीपलाई आक्रमण गर्न खोजेका थिए। गाउँलेले थाहा पाएपछि त्यतिबेला सम्झाईबुझाई पठाएका थिए।
जाहेरवाला भाइ उत्तमकुमारका अनुसार सुमित्रा खगेन्द्रसँग खुलेआम हिँडडुल गर्दा दिलीपले अवरोध गर्ने गरेका थिए। 'दाजुले बिरोध गर्दा दिनहुँजसो झगडा हुन्थ्यो', उत्तमकुमारले भने, 'त्यसैको रिसमा उहाँको हत्या भएको हो।'
फैसलाप्रति पीडित पक्षले असन्तुष्टि जनाएको छ। 'न्यायको प्रत्याभूति मलाई भएन', उत्तमकुमारले नागरिकसँग भने। उक्त फैसलाविरुद्व सरकारी वकिल सर्वोच्च अदालत जाने भएको छ।

प्रकाशित: ८ वैशाख २०६९ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App