२० श्रावण २०७७ मंगलबार
अन्य

बालबालिकालाई कसरी पढ्ने ?

डा.पुष्करराज भट्ट

अधिकांश अभिभावकले घरमा आफ्ना छोराछोरालाई पढ्पढ्  मात्र भन्ने गर्छन् । उनीहरूलाई यो कुरा थाहा छ, ‘पढेपछि ठूलो मानिस बनिन्छ । नपढे मानिसको मूल्य हुँदैन र समाजमा हेलाको पात्र बनिन्छ ।’ एक सामान्य मजदूरदेखि लिएर पढेलेखेका, ठूल्ठूला पदप्रतिष्ठामा बाँचेका, धनसम्पत्ति अथाह भएका अभिभावकसम्मको पनि यही भाषा हुन्छ । यसरी उनीहरूले आफ्ना सन्तानमाथि मनोवैज्ञानिक दबाबको माध्यमले केटाकेटीमाथि प्रभुत्व जमाउँछन् र उनीहरूलाई सधैं त्रासमा बाँच्न सिकाउँछन् । 

के असल नागरिक निर्माणको यात्रा यही हो त ? अवश्य होइन ।

अहिले बेफुर्सदी युग हो । आजको अभिभावक संकटमा बाँचेका छन् । उनीहरूलाई कसरी जीवनमा आर्थिक समृद्धि ल्याउने र कसरी समाजमा प्रतिष्ठामा बाँच्ने भन्ने चिन्ता छ । बालबालिकाको सिंगो भविष्य बनाउने ठेक्का शिक्षकवर्गको काँधमा छ । उनीहरूको जीवन राम्रो बने अभिभावकले नाक ठाडो पार्छन् । केटाकेटी बिग्रे शिक्षक र शिक्षण संस्थालाई दोष दिन्छन् ।विडम्बनापूर्ण अवस्था छ यहाँ ।बालबालिकाको निर्माणको ठेक्का एकल रूपमा शिक्षण संस्थाको मात्र होइन । यसमा विभिन्न पक्षको भूमिका रहेको हुन्छ । बालबालिका असचेत अवस्थामा रहँदा घरपरिवार एवं अभिभावको भूमिका रहन्छ । सचेत अवस्थामा पुगिसकेपछि सम्बन्धित पात्रको पनि भूमिका रहन्छ ।

पुस्तक पढ्न सजिलो छ, मानिस पढ्न कठिन । पुस्तक पढ्न अक्षर चिने पुग्छ, मानिस चिन्न अक्षर चिनेर मात्र पुग्दैन । मानिस चिन्न सकारात्मक सोच र जीवनप्रतिको आशावादिता चाहिन्छ । अझ बालबालिका चिन्न त उनीहरूको जीवन, सम्वेदना र कर्मसँग नजोडिई कामै छैन ।

अभिभावक मार्गनिर्देशक मात्र होइन्, सम्वेदना र भावना बुझ्न सक्ने एक असल साथी पनि हो । आजका अधिकांश अभिभावक आफ्ना बालबालिका लागि समय दिँदैनन्, उनीहरूको सम्वेदना बुझ्दैन र एकोहोरो आफ्नो धारणा र भोगाइको अनुभव मात्र बाँडिरहन्छन् । एकोहोरो वाचनले मुर्दा शान्ति ल्याउँछ । यसले जीवनको गतिलाई बुझ्ने, समयसँगै आएका चुनौतीको सामनालाई मात्र रोक्छ । हामी कसैको सम्वेदनासँग जोडिँदैनौं भने उसबाट हामीले कतिको आशा गरने ? हामीले कसैबाट केही आशा गर्दछौं भने उसका लागि हामीले के गरेका छौं भन्ने कुरा पनि सम्झनै पर्छ ।

एक परिवारमा अभिभावकले बाँचेको जीवन र तिनका छोराछोरीले बाँचेको जीवन निश्चित रूपमा फरक नै हुन्छ । अब अभिभावकको बाल्यकाल र उसले भोगेका सहजता–असहजता फर्केर आउँदैन । कुनै पनि मानिसले आफ्नो अतीतप्रति अत्यधिक प्रेम गर्दछ । अतीत जतिसुकै कष्टप्रद भए पनि त्यो उसको सम्पत्ति हो, उसको आफ्नो जीवनको अभिन्न अंग हो । हरेक अभिभावकले आफ्ना पछिल्ल्ला पुस्तालाई हेर्दा आफूले अतीतमा बाँचेको समयका आधारमा होइन, अहिलेको समयको आँखाले हेर्नुपर्छ ।

बालबालिकालाई सही मार्गमा पुरयाउन हरेक अभिभावकले उनीहरूलाई पढ्नुपर्छ । मानिस पढ्न उसका आचारविचार, सोचाइ, क्रियाकलाप आदिलाई सम्झनुपर्छ । एक अभिभावकले आफ्ना पछिल्ला पुस्ताका बालबालिकामा आएका सकारात्मक एवं नकारात्मक परिवर्तनलाई बुझ्नुपर्छ । सकारात्मक परिवर्तनलाई असल संस्कृतिको रूपमा कसरी ढाल्ने ? यो एउटा अध्ययनको विषय हो भने नकारात्मक परिवर्तनलाई कसरी हटाउँदै जाने र सकारात्मक परिवर्तनमा ढाल्दै जाने अर्को पक्ष हो ।

अभिभावकले आफ्ना सन्तानलाई असल आनीबानी सिकाउँदै गर्नुपर्छ । यी कुरा अर्तीउपदेशभन्दा व्यावहारिक उदाहरणका रूपमा विभिन्न कविता, गीत र चित्रका माध्यमबाट पनि सम्झाउन सकिन्छ । आज प्रविधिका अनेक साधन छन् । ती साधनको उचित प्रयोगका माध्यमबाट पनि उनीहरूलाई असल बाटामा लगाउनै पर्छ ।

बालबालिकाको असल पक्षको प्रशंसा गर्नुपर्छ । धेरै मानिसको बीच प्रशंसा गर्दा झन् हौसला मिल्छ ।  उत्प्रेरणा जगाउँदै उनीहरूलाई असल कार्यमा लागिरहन निरन्तर खबरदारी गरिरहनुपर्छ । बालबालिकाले कति नराम्रा बानीव्यवहोरा पनि देखाउँछन् । यस किसिमको कार्य उनीहरू कतिले जानेर र कतिले नजानेर गर्दछन् । जानेर नजानेर जसरी गरे पनि खराब त खराबै हो । बालबालिकाका खराब बानीलाई एकैचोटि हटाउन सकिन्छ त ? यो सोचनीय पक्ष हो । बालबालिकामा भएका चिन्तनगत एवं व्यवहारगत धारणा हटाउन एकै दिन सम्भव छैन । निरन्तरको अभ्यास र जागरूकताको  माध्यमबाट उनीहरूमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ । बालबालिकाका गलत पक्ष हटाउन उनीहरूलाई एक्लै राखेर सम्झाउनु उपयुक्त हुन्छ । मानिसको बीचमा लगेर हप्काउँदा नराम्र्रो असर पर्छ । त्यसैले तिनलाई एक्लै सम्झाउने पारामा गल्तीको अनुभूति गराउने र त्यसपछि उनीहरूलाई सही बाटो पनि देखाउँदै जानुपर्छ ।

हामीले बालबालिकामा असल पक्षको खोजी गरिहँदा घरपरिवारको वातावरण, साथीसँगी एवं टोलछिमेकको वातावरणको पनि असल पक्षको खोजी गर्नैपर्छ । एक असल अभिभावकको निरन्तरको जागरुकता एवं बालमैत्री व्यवहारले भविष्यको असल नागरिक निर्माण गर्दछ । असल साथीको प्रभावले बिग्रिन लागेका बालबालिका पनि सही मार्गमा आउँछन् । असल छिमेकीका कारण बालबालिकाले असल वातावरण पाउँछन् र उनीहरूको असल व्यक्तित्वको निर्माण हुँदै जान्छ । यसो भएकाले असल अभिभावक, साथी र छिमेकी मानिसको विकासका महत्वपूर्ण आधार हुन् भनेर हामीले बुझ्नैपर्छ ।

नेपाली समाजमा विविधता छ । यो विविधताभित्र मानिसको पहिचान जोडिएको छ । मानिसको आर्थिक वर्ग, शैक्षिक अवस्था, जाति, क्षेत्र, लिंग आदिमा अनेकता छ । अनेकताभित्र एकताको खोजी हाम्रो जीवनको सही मार्ग हो । आजको अभिभावक आर्थिक, सामाजिक एवं सांस्कृतिक हिसाबले परकफरक पहिचानको हुनसक्छ तर सबैमा पाइने एक साझा विशेषता हो, नेपाली माटो र मुटुको सुगन्ध । अभिभावक आफ्नो जीवन जतिसुकै असहज भए पनि भविष्यमा आफ्ना सन्तान असल मार्गमा लागून् भन्ने चाहन्छ । खराब मार्गमा लागेको अभिभावक पनि आफ्ना सन्तान असल मार्गमा लागून् भन्ने चाहन्छ । असल र राम्रो त सबले खोज्छन् तर असल बन्ने बाटो कसरी तयार गर्ने ? यही प्रश्नले उनीहरूको मथिंगलमा हल्लाइरहन्छ । 

अभिभावकले बालबालिका पढ्नुभन्दा पहिले आफूलाई पढ्नुपर्छ । आफूलाई पढ्न सके बालबालिकालाई पनि पढ्न सकिन्छ । आफू सही मार्गमा हिँडनेले मात्र अरूलाई सही मार्गमा लग्न सक्छ । सही बाटामा हिँडेकोले सही र गलत छु्ट्याउन सक्छ । गलत बाटामा हिँडेकोले गलतलाई पनि सही भनेर भ्रमित गरिहन्छ ।

आजको युग सूचनाप्रविधिको युग हो । सूचनाप्रविधिलाई उपयोग कसरी गर्ने ? आजका अभिभावकले सोच्नै पर्छ । आज हाम्रा गाउँबस्तीमा मानिसले उपचारका लागि औषधि पाउँदैन तर घरघरमा मोबाइल र हातहातमा मोबाइल पाउँछ । सूचनाप्रविधिसँगै मानिसमा एक प्रकारको जिज्ञासा त उत्पन्न भएको छ तर प्राप्त सूचनालाई कसरी ग्रहण गर्ने ? यसबारे सोच्न सकेको छैन । आजको युगमा नेपाली संस्कार, संस्कृति, नेपाली पौरख, पुर्खाको योगदानभन्दा विदेशीको अन्धअनुकरण गर्ने प्रवृत्ति बढेको छ । यो रोग अभिभावक हुँदै नयाँ पुस्तामा पनि सरेको छ । आफ्नो राष्ट्र, समाज एवं संस्कृतिका असल पक्षको जगेर्ना, समयसँगै आएका ज्ञान, सूचना, सीप एवं कलाकौशलप्रति सकारात्मक उपयोगको चेतना विकास गर्न सक्ने नयाँ पुस्ता निर्माण हुनैपर्छ । पुरानो वा नयाँ जुनसुकै कुरा भए पनि मानव उपयोगी पक्षको जगेर्ना हुनैपर्छ । आजको युगको अभिभावक अहिलेको सूचनाप्रविधिसँगै आएका चुनौतीको सामना गर्न समर्थ छ । भोलिको नेपाली समाजको अभिभावक अर्थात् आजका बालबालिकालाई सही रूपमा बुझेर असल बाटोमा हिँडाउन सकिन्छ । यसले नयाँ नेपालको सही मार्गचित्रको खाका कोर्दै जाने विश्वास लिन सक्छौं । 

प्रकाशित: ६ असार २०७७ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App