कक्षा –१०,
श्री त्रिभुवन नमुना मावि, कोहलपुर, बाँके ।
अहिले हामी लकडाउनमा बसिरहेका छौं । लकडाउनले हाम्रो दिनचर्या पूरै बदलिएको छ । मन मिल्ने साथीहरूको अनुहार आँखा वरिपरि घुमिरहन्छ । साथीहरूसित छुटेको झण्डै तीन महिना भएको थियो । भेटघाट सामाजिक संजाल र मोबाइलमा मात्र सीमित भएको थियो । मान्छेसँग डराउनुपर्ने समयमा भेट पनि कसरी हुनु र ? एक अर्काको घरमा जाने कुरा पनि भएन ।
हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण पाटा हुन् साथीहरू । एसइईको तयारी गर्दा वा एसइई रोकिंदा साथीहरूको खूब सम्झना आयो । उनीहरू मेरो लागि कति खास थिए भन्ने कुरा अहिले महसुस भइरहेको छ । अहिले साथीहरूसँग खुशी र दुःख दुवै बाँड्न सकिएन ।
हामी अहिले बालबालिका छौं । हाम्रो मस्तिष्कको बिस्तारै बृद्धि र विकास हुँदै छ । हामीले बिस्तारै धेरै कुराहरू सिक्दै छौं । जीवन र जगतलाई बुझ्दै छौं । आमासँग मात्र सीमित रहेको हाम्रो सम्बन्ध बिस्तारै बाबा र घरपरिवार हुँदै छरछिमेकी र साथीसम्म पुग्दछ ।
घर हाम्रो पहिलो पाठशाला हो । आमा हाम्रो पहिलो शिक्षक । आमाले नै हाम्रा धेरै कौतुहलता मेटाउनु हुन्थ्यो । हाम्रा कतिपय अनुत्तरित प्रश्नहरूको जवाफ हामीले बुबा र आमाबाट पाउँछौं । घरबाट सबै ज्ञान लिन संभव पनि त हुँदैन । त्यसपछि हामी विद्यालय गयौं र विभिन्न साथीहरूसँग घुलमिल भयौं । छरछिमेकका साथीहरू सँगसँगै नयाँ साथीहरू बन्दै गए । जोसँग सबै कुरा, आनीबानी, स्वभाव मिल्यो तिनै साथीहरू खास हुन पुगे । खास साथीहरूको याद त्यतिबेला बढी हुने रहेछ जतिबेला उनीहरू टाढा हुने गर्दछन् ।
साथीसँगको सम्बन्ध बडो अनौठो हुने रहेछ । मनको गरुङ्गोपन र मनमा खेलेका तर्कवितर्कहरू तिनै खास साथीहरूसँग बाँड्न सकिने रहेछ । न त उनीहरूसँग बोल्न हिच्किचाहट हुने न त संकोच नै । साथीसँगको सम्बन्ध न त तराजुमा जोख्न मिल्ने न त मूल्य निर्धारण गर्न नै । आमा बाबाले सजिलैसँग सिकाउन नसकेका धेरै कुरा साथीहरूसँगको सम्बन्धबाट सिक्न सकियो ।
महत्वपूर्ण समय साथीहरूसँग बित्ने हुनाले पनि साथीहरू प्यारा हुने गर्छन् । आपूmसरहको उमेरका साथीहरू आफ्नो वरिपरि हुँदा आनन्द आउँछ । उनै साथीहरूसँग बस्दा समय बितेको पत्तै हुँदैन ।
हाम्रो परिचय तिनै साथीहरूसँग जोडिएको हुन्छ । तिनै साथीहरूसँगको संगतले नै हामीलाई चिनाउँछ । असल साथीहरूको संगत असलसँग नै हुन्छ भने खराब साथीहरूको जमात छुट्टै हुन्छ । ‘कार्टुनमा रहेको एउटा सडेको स्याउले पूरै कार्टुनको स्याउलाई बिगार्छ’ भनेजस्तै खराब साथीको संगत लामो समयसम्म बढ्दै गयो भने बिग्रने डर हुन्छ । उनीहरूको व्यवहारले हामीलाई पनि असर गर्न थाल्छ । उनीहरुका नराम्रा कुराहरू पनि राम्रा लाग्न थाल्छन् । जसले गर्दा समाजले हामीलाई हेर्ने नजर पनि नकारात्मक हुन थाल्छ ।
हाम्रा साथीहरू हामीसँग मिल्ने उमेर समूहका हुन्छन् । व्यवहार राम्रो भएका र सहयोगी साथीहरूको संगत गर्दै जाँदा हामीले धेरै कुरा सिक्न सक्छौं । किशोरावस्थाको उमेर साथीहरूसँग बढी मिल्ने र विश्वास गर्ने उमेर हो । उनीहरूले भनेका कुराहरू नै आफूलाई सही भएजस्तो लाग्छ । विश्वास र भरोसा जितेका साथीहरूसँग मनमा लागेका गोप्य कुराहरू पनि गर्न सकिन्छ ।
हामीले असल साथीको पहिचान बनाउन सक्नुपर्छ । एकपटक विश्वास गरेको साथीप्रति सधै राम्रो काम गर्न सक्नुपर्छ । हामी साथीहरूको भरोसाको लायक बन्नुपर्छ । एक साथीले अर्काे साथीलाई विश्वास गरेर सुनाएका कुराहरू तस्रो साथीलाई सुनाउनु हुँदैन ।
साथीहरू थरिथरिका हुन्छन् । कोही छरछिमेक र कक्षाकोठामा हाइहेलो भनेर मित्रता पूरा हुने खालका हुन्छन् । उनीहरूसँग धेरै कुरा गरिदैंन । भेटमा औपचारिकता मात्र पूरा गरिन्छ तर मिल्ने साथीहरू मनमा बसेका हुन्छन् । हाम्रा राम्रानराम्रा सबै कुरा उनीहरूलाई थाहा हुन्छ । राम्रा साथीले दिएका सुझाव र सल्लाह हाम्रो लागि मार्गदर्शन हुन्छन् ।
मेरा पनि केही अत्यन्तै मिल्ने साथी छन् । उनीहरूसँग मेरो नियमित सम्पर्क भइरहन्छ । मलाई अप्ठ्यारो पर्दा उनीहरूले सहयोग गर्छन् । दुःख, सुख, खुशी, रमाइलो सबै कुरामा सहयात्री भइरहन्छन् । हाम्रो भावना मिल्छ । विचार मिल्छ । स्वभाव मिल्छ । त्यसैले उनीहरूलाई म मेरो मनमा लागेका सबै कुरा भन्न सक्छु । उनीहरू पनि मसँग आफ्ना सबै कुरा गर्छन् । मेरो राम्रो र नराम्रो कामको विश्लेषण र मूल्यांकन गरिदिन्छन् । मेरो खुशीमा सामेल भइदिन्छन् । मलाई चित्त दुख्दा सम्झाउँछन् । म उनीहरूको प्रगति भएको देख्न चाहन्छु । यो हाम्रो अमूल्य मित्रता सधै यसरी नै रहिरहोस् भन्ने चाहन्छु ।
हाम्रो समाजमा प्रायः केटा–केटा र केटी–केटीबीच साथीत्वको सम्बन्ध प्रगाढ भएको देखिन्छ । समाजले पनि यही सम्बन्धलाई स्वीकार गरेको देखिन्छ तर असल र कुरा बुझ्ने भए भने केटा र केटी पनि एक अर्काका राम्रा साथी बन्न सक्छन् । सहयोग गर्न सक्छन् । साथी बन्नका लागि उमेर र लिङ्ग होइन कुरा मिल्नुपर्छ । विचार मिल्नुपर्छ । मन मिल्नुपर्छ । एक अर्कालाई अप्ठ्यारो भएको बेलामा सहयोग गर्न सक्नुपर्छ ।
हामीलाई बनाउने र बिगार्ने साथीहरू नै हुन् । त्यस्ता केही साथीहरू स्वार्थका लागि मात्र बनेका हुन्छन् । स्वार्थ पूरा गरेपछि सम्बन्ध टुटाउँछन् । त्यसैले असल साथीको पहिचान गरेर मात्र साथी बनाउनुपर्छ । साथीको सधैं भलो चिताउनुपर्छ । आफू पनि राम्रो बन्ने र अरूलाई पनि राम्रो बन्न प्रेरणा दिनुपर्छ ।
एसइई रोकियो । विद्यालयले दिने नतीजाको पर्खाइमा छौं । अब आफूले पढ्ने विषय र स्थान छनौटमा छौं । मनमा अनेकौं जिज्ञासा उठिरहेको छ । मन मिल्ने साथीहरूसँग अगाडि पनि पढ्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ । अबको पढाइमा कोही साथीहरू छुट्ने र कोही थपिने निश्चित छ । अब बन्ने साथीहरू कस्ता होलान् भन्ने खुलदुली बढेको छ । मेरा जीवनका महत्वपूर्ण हिस्सा बनेका साथीहरू मनबाट कहिल्यै नछुटुन् । थपिने साथीहरू पनि असल र इमानदार थपिउन् ।
प्रकाशित: ४ असार २०७७ ०१:०६ बिहीबार