९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

लकडाउनमा भाषिक तथा ललितकलाका अभ्यास

प्रश्ना सुवेदी

कक्षा –९, बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, बर्दिया ।

हुन त अहिले पनि कतिपय अभिभावकले आफ्ना बालबालिकाहरूलाई विज्ञान र गणित जस्ता विषय मात्र सो अध्ययन गर्ने परामर्श दिने गर्दछन् । विद्यार्थीहरू पनि विज्ञान, गणित, अंग्रेजी जस्ता विषय कठिन हुने भएकाले त्यही विषयहरू अध्ययन गर्दछन् । हुन पनि ठीकै हो त्यस्ता विषयहरू विद्यालयभन्दा घरमा पढ्दा इन्टरनेट र मल्टिमिडियाको प्रयोग गरिने भएकोले प्रभावकारी हुन्छ ।  म पनि जुम, टिम, युटयुव लगायत विभिन्न शैक्षिक वेभसाइटहरू र एप्लिकेसनहरूको प्रयोग गरेर सबै विषयहरूको समानुपातिक रूपमा पढ्ने गरेको छु । सबैको अभ्यास आफै अभ्यास पुस्तिकामा पनि गर्छु तर मैले यस लकडाउनमा आफ्नो अभ्यासलाई निरन्तरता दिएको छु  ।

म कक्षा आठमा कक्षामा पढ्दा विद्यालयबाट बृहद् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थीमैत्री भेलामा सुर्खेत गएको थिएँ । मलाई त त्यहाँ स्वर्गजस्तो अनुभूति भएको थियो । कारण त्यहाँ जापानको माइको हाइस्कुलबाट थुप्रै विद्यार्थीहरू आएका थिए । हामीसँगै बसेर विभिन्न क्रियाकलापहरूमा सँगसँगै सहभागी भयौं तर हामीबीच अंग्रेजीमा राम्रोसँग भलाकुसारी हुन सकेन । जापानीज भाषामा कुरा गरौं भने मलाई पनि ज्ञान थिएन तथापि हामी सबैमा गहिरो मित्रता भयो ।  

घर आएपछि जापानिज भाषा सिक्ने रहर जाग्यो र अहिलेसम्म मैले हिराकानाका सम्पूर्ण अक्षरहरू सिकिसकेको छु । सम्बोधन र परिचय गर्न पनि आउँछ ।  यो के हो, त्यो के हो भन्न र त्यसको जवाफ दिन पनि आँउछ तर सम्पूर्ण रूपमा सिक्न सकेको भने छैन ।  अझै अभ्यास गर्दै छु । जापानी भाषा सिक्न मलाई निकै रमाइलो लाग्छ । केही दिन भयो मैले नाइनाइ भन्दा बुसा भनेको अर्थात् मैले चाहिने भाषा पनि विस्तारै सिक्दै छु । आफ्ना कुराहरू व्यक्त गर्न भाषा अत्यन्तै आवश्यक हुन्छ ।  त्यसैले त्यही कुरा बुझेर मैले भाषा सिक्ने निर्णय गरेको छु ।  

भाषा सिक्दा आउने समस्याहरू  

‘क’ लेख्दा जति त्यो अक्षरमा  आफ्नोपन महसुस हुन्छ । त्यस्तो अनुभव अन्य भाषाका अक्षरहरू लेख्दा हुँदो रहेनछ । त्यस्तै शब्दको संरचना फरक भएकाले पनि दिमागमा याद राख्न पनि असजिलो हुँदोरहेछ र शब्द मात्र होइन वाक्यमा पनि आफ्नै नेपाली शब्द खोज्छौं र त्यसलाई पढेर कहिलेकाहीँ त हाँस्छौँ  ।  भाषाअनुसार यदि अंग्रेजीमा मर्निङमा मरले गाली गरेको सम्झियो भने त झन् बरबादै हुन्छ ।  त्यसैले भाषा सिक्दा दोष होइन त्यसको गुणलाई बुझेर सिक्दा अत्यन्तै प्रभावकारी हुन्छ ।

हस्तलेखन –

म लेख्नको निम्ति बायाँ हातको प्रयोग गर्छु ।  बायाँ हातले लेख्दा पनि मलाई अहिले दुवै हातको प्रयोगबाट लेख्ने रहर जागेर आएको छ ।  पहिले त म बायाँ हातबाट चाल्दा प्रारम्भिक अक्षरका सरचनाहरू लेख्ने गरेको छु । अक्षरको यो संरचना मैले विद्यालयबाट सिकेको हुँ । सादा अक्षरलाई राम्रो बनाउन मैले कम्प्युटरको माइक्रोसफ्ट वर्डमा रहेका अक्षरहरुबाट केही नक्कल गरेको छु ।  

अक्षर राम्रो बनाउने तरीका –

अक्षर राम्रो भएको फाइदा हरेक व्यक्तिलाई थाहा छ तर राम्रो कसरी पार्ने भन्नेबारे धेरैजसो अन्योलमा  छन् होला ।  तर अक्षर राम्रो लेख्ने कार्य कुनै चुनौतीपूर्ण कार्य होइन पहिले कपीमा गोलाकार र सीधा धर्का खिच्न आउनुपर्छ र त्यो गोलाकार अण्डाकार जस्तो नभई सम्पूर्ण रूपमा गोलाकार नै हुनुपर्छ र  सीधा रेखा सीधा नै हुनुपर्दछ अनि मात्र अक्षर राम्रो देखिन्छ ।

त्यसैगरी गोलो आकार र सीधा रेखाहरूबाट पनि धेरै अक्षरहरू सुन्दर तरीकाबाट लेख्न सिकिन्छ ।  यसैगरी साधारण अक्षर पनि सुन्दर हुन सक्छ ।  यी त भए शब्दका कुरा तर वाक्य लेख्दा पनि हामीले ध्यान पुरयाउनुपर्ने आवश्यक छ ।  दुई वाक्यहरूबीच बराबर खाली ठाउँ हुनुपर्दछ उचाइ र शब्द पनि बराबर हुनुपर्दछ । त्यसका लागि दुई लाइनहरूको  बीचमा अर्को लाइनको परिकल्पना गर्नुपर्दछ ।  यस्ता कुराहरूलाई ध्यान दिन सकिएमा मात्र हस्तलेखन सुधार्न सकिन्छ । आफ्नो हस्तलेखन सुधार्नका लागि कम्प्युटरमा प्रयोग गर्ने शब्द को संरचनात्मक तुलना गर्न पनि सकिन्छ ।  

लकडाउनमा अरू के गर्न सकिन्छ त ,  

अध्ययन त निरन्तर जारी राख्नुपर्दछ र यसको साथसाथै आफूलाई मनपर्ने सिर्जनात्मक कार्यहरू पनि गर्न सकिन्छ । सकिन्छ भने स्केचिङ र पेन्टिङमा पनि निकै आनन्द महसुस हुन्छ र आफ्नो प्रतिभालाई पनि परिस्कृत गर्न सकिन्छ  ।  

सबैभन्दा सजिलो पेन्टिङ  

सबैभन्दा सजिलो पेन्टिङ भनेको सूर्यास्त हुँदाको दृश्यलाई रङको माध्यमबाट कागजमा उतार्न हुन्छ ।  सूर्यास्तको चित्र बनाउँदा पहेंलो, रातो, नीलोे, गुलाबी, सेतो र कालो रङको प्रयोग गर्नुपर्दछ ।  सबैभन्दा माथि नीलोे रङको प्रयोग गर्नुपर्दछ र त्यसको तल्लो भागमा गुलाबी रङ लगाई ब्रसले नीलोे र गुलाबी रङ मिसाउनुपर्दछ र यसको तल रातो रङको प्रयोग गर्नुपर्दछ ।  

रातो रङको तल पहेंलो रङको प्रयोग गरी पहेंलो र रातो रङलाई ब्रसले मिसाउनुपर्दछ ।  तर फेरि फेदसम्म पहेंलो रङ सेतो रङ मिसाएर लगाउनुपर्छ । अब कालो रङको प्रयोग गरौं । कालो रङबाट केही संरचनाहरू बनाउन सकिन्छ जस्तै ,  भवन , पुल , बिजुलीको पोल अथवा रूखहरू यस्तैयस्तै । अन्तिममा बादलको लागि आकाशमा सेतो रङले चारपाँचवटा सीधाधर्सा कोर्नुपर्दछ र  फोमको टुक्रालाई सेतो रङमा भिजाएर बिस्तारै आकाशको भागमा सुस्तरी थिच्नुपर्छ । केहीबेर सुक्न दिएपछि सूर्यास्तको चित्र तयार हुन्छ ।  यस्तै प्रकारबाट सूर्यास्तका विभिन्न दृश्यहरूलाई हामी चित्रमा उतार्न सक्दछौं ।  

यसरी लकडाउनको समयमा हामीले ललितकलाका विभिन्न क्षेत्रहरूलाई समेटेर अभ्यास गर्न सक्दछौं ।  मैले पनि सम्पूर्ण साथीहरूलाई यसैगरी अभ्यासलाई जारी राख्न अनुरोध गर्दछु ।  साथै खाली समयको सदुपयोग गर्दै विभिन्न प्रविधिहरूको प्रयोग गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिन पनि म अनुरोध गर्दछु ।  यसरी निरन्तरता दिन विभिन्न संघसंस्थाहरूले आफ्नै  प्रयास र पहलमा विभिन्न किसिमका सिर्जनात्मक कार्यहरूको थालनी गरेका छन् ।  यस्ता कार्यहरू अत्यन्तै प्रशंसनीय छन् ।  यसै सन्दर्भमा मैले पनि विभिन्न अनलाइन प्रतियोगिताहरूमा भाग लिइरहेको छु । अनलाइन कक्षाहरूबाट मैले आफ्नो पढाइलाई  निरन्तरता पनि दिँदै छु  ।  

त्यसैले समयको महत्वलाई बुझेर यो लकडाउनको समयमा पनि सम्पूर्ण साथीहरूलाई आफ्नो रुचिअनुसारका क्रियाकलापहरूमा ध्यान  दिएर आफ्नो प्रतिभालाई निखारता ल्याउन पनि म अनुरोध छ ।

साथै यस्तै किसिमबाट आफूले जानेका कुराहरूलाई लेखका माध्यमबाट विभिन्न पत्रपत्रिकाहरू र अनलाइन वेबसाइटहरूमा पनि प्रकाशन गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेकै समय हो । त्यसैले समयको सदुपयोग गरौ । समयलाई पालना गर्ने व्यक्ति नै महान् व्यक्ति बन्न सक्दछ ।

अन्त्यमा, यो महामारीको अवस्थामा सबैलाई घरमै सुरक्षित रहन आफ्ना सुरक्षाका लागि पारिवारिक स्वास्थ्यका सम्पूर्ण उपायहरू अपनाउन को लागि समेत म सबैलाई अनुरोध छ धन्यवाद ।

प्रकाशित: १ असार २०७७ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App