६ आश्विन २०७७ मंगलबार
अन्य

कुकुरले छोएको चल्ने, मान्छेले छोएको नचल्ने ?

इना न्यौपाने

इना न्यौपाने  

कक्षा १०, एसओएस हर्मन माइनर स्कुल, भक्तपुर ।

हाम्रो समाज थुप्रै जात, धर्म र वर्ग मिलेर बनेको छ । हिन्दू धर्म मान्नेको बाहुल्य भएको समाज हो हाम्रो । यहाँ जातजातिबीच विभेद छ । महिला र पुरुषबीच पनि विभेद छ । यस्तो देख्दा मलाई विभेदको अन्त्य कसरी गर्ने होला भन्ने चिन्ता लागिरहन्छ । म सामान्य मान्छे हुँ । सानो मान्छेले धेरै काम त गर्न नसक्ला तर आफ्नो तहबाट गर्न सकिने धेरै काम छन् ।  

विद्यार्थीको भूमिका के हुन सक्छ भनेर चर्चा गर्नुअघि हाम्रो समाजको बनावटबारे चर्चा गर्नै पर्छ । हाम्रो देशमा अनेक खालका परम्परा छन् । ती पुस्तौंदेखि चलिआएका छन् । त्यस्ता परम्परामा हामी आँखा चिम्लेर विश्वास गर्छाै । यो गलत हो । आँखाले नदेखेका कुरामा कसरी विश्वास गर्नु ? केही राम्रा परम्परा छन्, त्यसलाई त मानेकै छौं । मान्दा केही फरक पर्दैन तर मान्छेलाई नै असर गर्ने परम्परा किन मान्ने ? जस्तो दलित जातिमाथि हुने छुवाछूत । यसलाई किन मान्ने ? यो त अमानवीय छ नि । हामी कुकुरले छोएकोचाहिँ खान्छौं, मान्छेले छोएको खाँदैनौं । यो कस्तो अन्याय हो ?

छुवाछूत दण्डनीय अपराध हो । घरघरमा छुवाछूतविरुद्ध कुरा गरौं ।   

मचाहिँ नदेखेका कुरामा विश्वास गर्दिनँ । अरूलाई पनि विश्वास नगर्नुस् भन्छु । म विद्यार्थी भएका नाताले यो काम गर्न सक्छु ।  

महिलामाथि हुने विभेद पनि त डरलाग्दो छ । छाउपडी गोठमा बस्दा सर्पले डसेर मरेका समाचार सुन्छु । यस्ता समाचार सुन्दा आङ नै जिरिङग हुन्छ । अहिले धेरै त घटेको छ भन्छन् । यस्तो परम्परा  निमिटयान्न नै हुनुपर्छ ।  

पश्चिममा मात्र किन ? काठमाडौंका घरघरमा छाउपडी छ । महिनावारी हुँदा ‘यो छोऊ, ऊ नछोऊ’ भनेर नियम बनाइराख्नु पनि त छाउपडी नै हो नि । जसको व्रतबन्ध भयो, उसलाई छुनै नहुने रे । के हुन्छ छुँदा ? यो अन्धविश्वास भएन ? छुनु हुँदैन भन्ने प्रमाण कहाँ ? अहिलेको पुस्ताले प्रमाण खोज्नुपर्छ । प्रमाण देखाऊ नत्र म मान्दिनँ भन्न सक्नुपर्छ । विद्यार्थीले यस्तो गरेर पनि विभेदविरुद्ध आवाज उठाउन सक्छन् नि ।  

हाम्रो समाज भगवानमा विश्वास गर्छ । ठीक छ, भगवान् मानौं । म पनि मान्छु । भगवानले त दुख दिने होइन नि । हामी दुःख पर्दा भगवानको नाम लिन्छौं । भगवानले छाउगोठमा जाऊ भन्नुहुन्छ त ? भन्नु हुन्न । त्यस्तो भन्नुहुन्छ भने उहाँ भगवानै होइन, राक्षस हो । मान्छेलाई दुख दिने पनि भगवान् हुन्छ ? यो भगवान्ले होइन्, हामी मान्छेले नै बनाएको नियम हो । त्यही भएर यसलाई हामीले नै तोड्नुपर्छ । हामीले यसो भनेर हाम्रो अभिभावलाई सम्झाउन सक्छौं । विद्यार्थीले गर्न सक्ने यो पनि काम भयो नि विभेद हटाउन ।  

भेदभाव हटाउन कानुन बनेका छन् । विभेदविरुद्धका कानुन छन् । जाति लिङ्ग, वर्ण, केहीका आधारमा पनि विभेद गर्न पाइँदैन भन्छ कानुनले । त्यही भएर कानुन विपरीत कसैले काम गर्छ भने दण्डनीय हुन्छ भनेर हामीले भन्न सक्नुपर्छ । कानुनमा यस्तो व्यवस्था छ भनेर झक्झकाउनुपर्छ । कानुन नमान्ने त अपराधी हुन्छ है भनेर घरघरमा भन्न सक्नुपर्छ । हामीले आआफ्नो घरमा भन्नुपर्छ । यसरी भन्दाभन्दै चेतना जगाउन सकिन्छ । कहिले लेखेर पनि चेतना जगाउन सकिन्छ । सामाजिक संजालमा लेखेर पनि विभेद हटाउन सकिन्छ ।  

संचार माध्यमले यस्ता विषयका लेखलाई प्राथमिकता दिएमा विभेद हटाउन सजिलो हुन्छ । हाम्रा कुरा सुनिदिने प्लेटफर्म भए भने हामी विद्यार्थीलाई अझै जागरूक  बनाउन सक्छौं । मुख्य कुरा चेतना जगाउने हो । चेतना जगाएर छुवाछूतको अन्त्य गर्न सकिन्छ । हामीले विज्ञानलाई महत्व दिनुपर्छ । छुवाछूतका अवैज्ञानिक र अमानवीय काम हो ।  

प्रकाशित: २७ जेष्ठ २०७७ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App