९ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्य

नक्कली निरीक्षक र सहायक पक्राउ

महेश्वर चामलिङ राई, उदयपुर, चैत ११- एसएलसी परीक्षामा निरीक्षक र कार्यालय सहायक हुँ भन्दै छिरेका दर्जन शिक्षक पक्राउ परेर छाडिएका छन्। जिल्लाको दुर्गम गाविस इनामेस्थित उमावि झिल्के पोखरी केन्द्रमा शुक्रबार सञ्चालित गणित विषयको परीक्षामा निरीक्षक र कार्यालय सहायकको विल्ला भिरेर छिरेका १० मध्ये ९ जनालाई अनुगमन गर्नेक्रममा पक्राउ गरिएको जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ पर्नेमा ताप्ली मावि चिसापानीका शिक्षक रामअवतार यादव र उद्धवबहादुर श्रेष्ठ, बाराहा माविका मानबहादुर कार्की र रामपुकार भारती, उमावि रुपाटारका लिलाकान्त झा र सिपमान विक, उमावि ठानागाउँका लक्ष्मीप्रसाद पटेल तथा उमावि बलम्ताका अमृतलाल साह र विनोद राई रहेको शिक्षा अधिकारी खडानन्द पराजुलीले बताए। एकजना भने तत्कालै भागेकाले उनको नाम खुल्न सकेको छैन।

परीक्षा सुरु भएको एकघण्टापछि पुगेको शिक्षा कार्यालयको टोलीले अनुगमन गर्नेक्रममा नक्कली भनेर पत्ता लगाई उनीहरुलाई पक्राउ गरी माफी मगाएर छाडेको टोली प्रमुख निर्मल निरौलाले बताए। उनीहरुलाई कक्षामा निरीक्षण गरेजस्तो गरेर चिट चोराउने नियत राखेको पाइएपछि अनुसन्धान गर्दा नक्कली पत्ता लागेको निरौलाले बताए। शिक्षाका अनुसार ५ वटा विद्यालयका परीक्षार्थीको सहभागिता रहेको सो केन्द्रमा पक्राउ परेका नक्कली निरीक्षक र सहायकहरु तिनै विद्यालयका शिक्षकहरु हुन्।

परीक्षा निर्देशिकाविपरित गरेको पाइएपछि उनीहरुलाई तत्काल परीक्षा हलबाट निस्कासन गरेर माफी मगाई छाडिएको केन्द्राध्यक्ष श्यामदेव झालाई उद्धृत गर्दै पराजुलीले बताए।

प्रकाशित: १० चैत्र २०६८ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App