६ वैशाख २०८१ बिहीबार
अन्य

लकडाउन अभिशाप कि वरदान ?

शारदा पराजुली

‘आहा, असार एक गतेदेखि त स्कुल खुल्छ अरे है ममी ?’ छोरीको एक मुठी खुसी ह्वात्तै बाहिर पोखियो । थाहा छ ममी, स्कुल खुलेपछि त हामी सबै साथी मिलेर ऊ त्यो माथिको डाँडामा पार्क छ नि त्यहाँ जाने अनि मजाले फोटो खिच्न प्लान गरेका छौै ।’  

छोरीको खुसी सुनेर मन त्यसैत्यसै अमिलो भएर आयो । यो लकडाउनले बाहिरी वातावरण हेर्न र घुमफिर गर्न नपाएकी छोरीको इच्छा जस्तै छ मेरो  इच्छा पनि तर के गर्नु घरमा कैदीझैं भएर बस्नुपर्दाको पीडा मैले मात्र होइन सम्पूर्ण विश्व जगत्ले नै भोगिरहेको सामुहिक पीडा हो । अढाई महिना भइसक्यो कहिले खुल्ने हो कुन्नि यो लकडाउन ? खै क्षेत्र छुट्याएर खुलाउने त भन्दै छन् । के गर्छन् के गर्छन् । यसै भन्न सकिने अवस्था छैन अहिले ।

भर्खर त कोरोना पोजेटिभको संख्या दिनहुँ सय दुई सय गर्दै बढ्दै छन् । मनले यस्तै सोच्दै थियो ।  ‘ममी’ छोरी बोल्दा म त झसङ्ग भएछु । म झस्केको देखेर ऊ छक्क परी र फेरि भनी, ‘ममी स्कुलमा किताब पनि आयो अरे । भोलि किन्न जाने है । आठ कक्षाको परीक्षा त जिल्लास्तरीय हुन्छ । यसो किताब भए पढ्दै गर्थें।’ छोरी एकोहोरो बोलि नै रहेकी थिई । किताब किन्न स्कुलमा जाने कि नजाने म दुविधामा परें । किताब किन्न पैसा खर्च गरौं घरखर्चमा समस्या छ । घरखर्च गर्न थालौं छोरीको पढाइलाई पनि सुचारु गर्नु छ । 

लकडाउन थपिँदै जाँदा आम्दानी नभएपछि त राखेका पैसाले पनि के पुग्दो रहेछ र । परीक्षा सकिएपछि किताब नै नपल्टाएकी छोरीलाई किताब किनिदिन पाए त यसो दुईचार अक्षर भए पनि पढ्थी होला । उसको पनि पढ्ने इच्छा छ । हरे शिव, कस्तो फसाद पारयो यो लकडाउनले । म त आत्मकेन्द्रित बन्न पुगेंछु अनि छोरीका कुराको प्रत्युत्तरै नदिईकन नै खाना बसाल्न थालेंछु । 

छोरी फेरि म नजिकै आएर भन्न थाली, ‘अब त असार एक गते आउन धेरै दिन छैन है ममी ?’ छोरीको  इच्छा सुनेर मन भारी भएर आयो । म उसलाई सम्झाउन थालें, ‘छोरी असार एक गतेदेखि स्कुल लाग्छ भन्नुको अर्थ सधैंझैं किताबकापी बोकेर ड्रेस लगाएर स्कुल जान पाइने भनेको हैन । घरमै बसीबसी अनलाइन कक्षा सञ्चालन गर्ने मात्र भनेको हो क्या । यस्तो महामारीमा कसले पठाउँछ र आफ्ना छोराछोरीलाई स्कुल । टिभीमा समाचार हेर्नु छैन । खाली फिलिम हेरयो । मोबाइल चलायो । खै के अरे त्यो पप्जी र सप्जी पनि कति खेल्नु परेको हो । त्यो टिकटक मात्र बनाएर कुरा बुझिन्छ र ? समाचार हेर्नु परयो नि ।’  

‘अनि के गर्नु त ? बाहिरी किताब किनेर कहिल्यै ल्याइदिएको छ ? पढ्न त घरमा किताब पनि त हुनु परयो नि । यसो सामान्य ज्ञानका किताब, साहित्यिक किताब, कहिल्यै किनेर ल्याउने गर्नुभएको छ ? एउटा पत्रिकाको ग्राहक बनौं भन्दा त मान्नु भएन । अनि अहिले पढ्पढ् भनेर मात्र हुन्छ ।’ छोरीको कुरा ठीक थिए । यस बेला आफैंलाई पछुतो लाग्यो । यसो बजार जाँदा केही पुस्तक ल्याइदिनुपर्ने रहेछ भन्ने कुराको महसुस भयो ।

 हामीले आफ्ना आवश्यकता पूरा गर्दै जाँदा बालबालिकाका लागि केही सोच्न सकेनछौं भन्ने सम्झेर पछुतो लाग्यो । छोरी अझै  फ्ना मागहरू फेरि पनि पस्कन थाली, ‘फेसबुकमा भोलिदेखि स्टेसनरी खुल्छ भन्ने कुरा आएको छ । यदि स्टेसनरी खुल्यो भने कलर पेपर, चार्ट पेपर, पेन्सिल र कलरबक्स ल्याइदिनू । म चार्ट पेपरमा म्याथका फर्मुलाहरू बनाउँछु  । साइन्सका  बेसिक कुराहरू पनि चार्ट पेपरमा लेखेर यो भित्तामा टाँस्छु ।’ 

छोरीका कुरा सही लागे । हामीले बालबालिकालाई क्रिएटिभ बनाऔं भन्ने कुरा मिडियामा आइरहेको छ । तर, क्रिएटिभ बनाउने आधार खोई त ? उनीहरूसँग साधन हुनु पर्दैन भन्ने लाग्योे । अनि उसलाई मैले ढाढस दिँदै भनें, ‘हुन्छ छोरी, भोलि हामी दुवै जना जाऔंला अनि जेजे चाहिन्छ किनौला नि हुन्न ?’  

मेरो कुराले छोरीको मन खुसी भयो होला भनेको त ऊ बेखुसी नै रहिछे । उसले मन दुखाउँदै भनी, ‘यत्रो लकडाउन सुतेर अनि मोवाइल चलाएरै बित्यो । व्याट छ कक छैन, क्यारामबोर्ड छ गुटी छैन । कहिलेकहीँ व्याटमिन्टन खेल्न हुन्थ्यो नि । कहिले क्यारामबोर्ड कहिले चेस खेल्न हुन्थ्यो । केही छैन । खाली उठ्, खा । टिभी हेर् । मोबाइल चला । यति नै त हो काम ।’  

‘भैगो नि त भोलि किनौला सबैथोक । हामीलाई के थाहा यत्रो लामो समयसम्म लकडाउन होला भन्ने । अनि यी सामग्री यो अवस्थाका लागि चाहिन्छन् भनेर । आवश्यवकता परेपछि मात्र महसुस हुँदो रहेछ ।’  

हामीलाई पसल राम्ररी चलोस्, आम्दानी राम्रो होस्, घरखर्च चलाउन सजिलो होस् भन्नेतिर मात्र ध्याउन्न भयो । यस्ता सामग्री चाहिएलान् जस्तो लागेन । अहिले कक भएको भए म पनि बिहानबेलुका व्याटमिन्टन खेल्थें । यहाँ घर बसेर मोटाइसकें । खै लकडाउन पनि कति दिन हुने हो । न अझै  समय थप्ने पो हो कि । 

दिनैपिछे दुईतिन सय कोरोना संक्रमित थपिँदै छन् । झन् महामारी नै  फैलेला जस्तो छ । अमेरिका, इटाली, स्पेन, फ्रान्स जस्ता देशलाई त आच्छुआच्छु पार्ने यो कोरोना भाइरसले हाम्रो देशलाई के राख्थ्यो होला र । बरु चाइनाले बलबुद्धि लगाएर धेरै मान्छे मर्नबाट जोगायो । अरू देशमा लकडाउन खुकुलो पारिसके । हाम्रो देशमा भर्खर त संक्रमण बढ्दै छ । कोठाभाडा, पसलको भाडा केले तिर्नु, खाइखर्च कसरी जुटाउनु । अब त न दिनमा भोक न रातमा निद्रा हुन थालिसक्यो ।’

‘अनि के अब सधै अनलाइनबाटै पढाइ हुने हो त ममी ?’ यो पनि के कुरा गर्छे । सधैं अनलाइन क्लास त कहाँ हुन्छ र । यो कोरोना साम्य नहुन्जेलसम्म पो त । स्कुलमा हूलमूल धेरै हुन्छ । एउटालाई कोरोना लाग्यो भने आगोझैं यो फैलिहाल्छ । बरु घरमै बसेर पढ्ने नि हैन ?’

‘विकसित मुलुकमा अनलाइनबाट पढाइ हुन्छ भन्ने सुनेकी थिएँ । अब आफैंले प्रयोग गर्ने भइयो ।’ एकातिर कोरोनाले लाखौं मानिसको ज्यान लिइरहेको छ भने अर्कोतिर मानिसलाई धेरै कुरा सिकाएको पनि छ । घरपरिवारसँग बस्ने वातावरण मिलाइदिएको छ । सधैं काममा जोतिरहने मानिसलाई आराम दिलाएको छ । वातावरणमा स्वच्छता ल्याएको छ । प्रविधिको प्रयोग गर्न सिकाएको छ । बाँझो खेतबारी खेतीयोग्य बनाएको छ । दुःख पर्दा आफ्नो देश नै चाहिने रहेछ भन्ने पाठ सिकाएको छ । गाउँघरमा दुःख हुन्छ भनेर सहर पसेकालाई गाउँको महत्व दिलाएको छ । यो लकडाउन अभिशाप मात्र हैन वरदान पनि बनेर आएको छ ।’ छोरी त गुरुआमाझैं मलाई पो पढाउन थाली । म छक्क परेर उसका कुरा सुनिरहें ।  

प्रकाशित: २३ जेष्ठ २०७७ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App