१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

माछा तार्न सिकें

लकडाउन डायरी

कामना पौडेल

कामना पौडेल  

कक्षा: ४, अरुणिमा मावि, बौद्ध, काठमाडौं  

म १० वर्षकी छुकछुके केटी हुँ । केटाकेटीको उमेर नै पढ्ने, खाने र खेल्ने हो । यतिबेला विद्यालय बन्द छ । म आफ्नै घरमा अर्को फ्ल्याटमा बस्ने साथीसँग खेल्छु । बिहान र बेलुकीको समयमा पढ्छु । दिउँसो बाबा र ममीसँग चेस र लुडो खेल्छु । नयाँनयाँ खानेकुरा बनाउने सिप सिक्न पनि मन लाग्छ ।  

मलाई तारेको माछा र कुखुराको रोष्ट एकदमै मनपर्छ । यी परिकार घरमा बाबाले बनाउनुहुन्छ । बाबा पनि माछा र रोष्टको सौखिन हुनुहुन्छ । त्यसलाई चाहिने मसला र अन्य किसमिस ममीले तयार गर्नुहुन्छ । म ती परिकार बनाउन बाबा ममीबाट सिक्दैछु । आफूलाई मीठो लागेको खानेकुरा आफैंले बनाएर खाँदा कस्तो मजा हुन्छ, म त्यो अनुभव गरिरहेकी छु ।  

मैले लकडाउनमा माछा कसरी बनाउने भन्ने जानी सकेकी छु । अहिले म बाबालाई कराइमा राखेको माछा फर्काउन र मसला मोल्न पनि सघाउन थालेकी छु । मसला केके राख्ने र कति राख्ने त्यो पनि सिक्दै छु ।

मलाई तारेको माछा र कुखुराको रोष्ट एकदमै मनपर्छ । आफूलाई मीठो लागेको खानेकुरा आफैंले बनाएर खाँदा कस्तो मजा हुन्छ ।  

म आज तपाइँहरूलाई माछा तार्ने र रोष्ट बनाउन मैले कसरी सिकें भन्ने कुरा बताउँछु । पहिला माछा वा कुखुराको मासु बाबासँग गएर बजारबाट ल्याउँछु । घरमा ल्याएपछि त्यसलाई सफा पानीमा राम्रोसँग धुन्छु । माछाको कत्ला र दाँत हटाउन बाबाको मद्दत चाहिन्छ ।  

सफा पारेको माछा वा मासुलाई तेल, वेसार, नुन, मसला, अमिलो र तोरी वा सस्र्यूकोे छोप हालेर राम्रोसँग मोल्छु । यो काम आफैं गर्नसक्छु । तर मसला बाबाले ठिक्क पार्नुहुन्छ । यसरी मोलेको माछा वा मासुलाई आधा घण्टासम्म छोपेर राख्छु । आधा घण्टा पछि त्यसलाई फेरि चलाएर तार्नका लागि तयारी गर्छु ।  

कराहीमा तोरीको तेल तताउँछु । तोरीको तेलमा माछा राम्रो देखिन्छ । तेल राम्रोसँग तातेपछि त्यसमा डुब्ने गरेर माछा वा मासु राख्नुपर्छ । मलाई तातो तेलले हात पोल्छ भन्ने डर लाग्छ । यसका लागि बाबाको साथ लिन्छु । माछा वा मासुलाई रातो र खरो पारेर पकाउँछु । राम्रोसँग पाकेपछि त्यसलाई चिम्टाको सहायताले झिकेर तेल छानिने भाँडोमा राख्छु । यसो गर्दा तेल माछा वा रोष्टमा रहँदैन । माछालाई चोपेर खान टिम्मुर, आलस र टमाटरको अचार ग्राइन्डरमा आफैं बनाउँछु । मलाई नुन अड्कल्न आउँदैन । यसमा ममीको सहायता लिन्छु ।  

पाकेको माछा वा रोष्टलाई केही समय सेलाउन दिएपछि अचारसँग चोपेर खान्छु । साथीहरू ! माछामा काँडा पनि हुन्छ । यसलाई खादा राम्रोसँग केलाएर र चपाएर खानु पर्छ । नत्र काँडा अड्किन पनि सक्छ है ।  

प्रकाशित: १८ जेष्ठ २०७७ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App