इन्दिरा प्रसाई
‘ए बूढा मान्छे एउटा कुरा सोधौं ?’ घुस्याहामा नाउँ चलेको सरकारको बहालवाला अति उच्च अधिकारीकी पढेलेखेकी स्वास्नी दिनभरि पप्लुमा थाकेपछि बिछयौनामा आइपुगेको लोग्नेलाई सुम्सुम्याउँदै जिज्ञासु भएकी थिई ।
‘के जान्नु परयो मेरी प्यारीलाई यतिबेला हँ ?’ जाँडको नशाले धुत लोग्नेचाहिँ स्वास्नीको मादकतामा परिसकेको थियो ।
‘अमेरिका जस्तो धनी देशले लकडाउनमा मात्रै सधैं बसे देशको अर्थतन्त्र धराशायी हुन्छ । अब सतर्क रहेर काम गर’ भन्यो । त्यहाँ कतै जनता मर्दै पनि छन् अनि सबैतिर काम पनि गर्दैछन् । हाम्रो मुलुकमा भने लकडाउनले दुई महिना नाघिसक्यो हजुरहरू अझै लकडाउन थप्दै होइसिन्छ । अनि हाम्रो अर्थतन्त्र चैं ...’ स्वास्नीको मुख थुनेर लोग्ने आफ्नो खुसीयाली मनाउन उद्यत थियो ।
‘पख एकछिन पख, म भनौंला है प्यारी !’ मायालु भएर आफ्नो आवश्यकता पूरा गर्न अग्रसर लोग्ने क्रियाशील थियो । उम्लिएको पोखेपछि लोग्ने शान्त भएको थियो ।
...अनि लकडाउनको कुरा...’ निदाउन लागेको लोग्नेलाई अशान्त स्वास्नीले सोधेकी थिई ।
‘हे मूर्ख आइमाई ! यति कुरा पनि तैंले बुझ्न सकिनस् । अमेरिका जस्तो महाशक्ति राष्ट्रले संसारका अगाडि भाँडो थापेर मेरा देशका जनता भोकै छन् भन्दै चन्दा माग्न मिल्छ ? अनि, हाम्रो कंगाल सरकारलाई त देशमा जति विपत् परयो त्यति नाफा !’ महाभूकम्पमा आएको आम्दानीले हामीले पनि छोरालाई न्यूजर्सीमा बङ्लो किनिदिएको बिर्सिस् कि क्या हो । ए नाथे ! यसपालिको आम्दानीले छोरीलाई अस्ट्रेलियामा किनिदिने हो । बुझिस् अब ?’ प्रसन्न र लखतरान अर्धनिद्रित लोग्ने स्वास्नीको जिज्ञासा शान्त पार्दा नपार्दै घुर्न थालिसकेको थियो ।
प्रकाशित: १८ जेष्ठ २०७७ ०४:३७ आइतबार