coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

व्रतबन्धमा नयाँ कुरा सिक्दा

मधुसूदन लामिछाने

कक्षा  – ४,

न्यु सिरस स्कुल, तारकेश्वर–१०, काठमाडौं ।

विश्वभर कोरोना महामारी फैलिएको छ । यसैको कारण कैंयौले ज्यान गुमाएका छन । यो महामारीबाट सुरक्षित रहन सरकारले लकडाउन घोषणा गरेको दुई महिना बितेको छ । तपाईहामी सबै घरघरैमा बसेका छौं ।  

विद्यार्थी साथीहरुले चित्र कोरेको, कथा भनेको, खाना र खाजा बनाउन सिकेको जस्ता  विभिन्न काम गरेको संचार माध्यमबाट थाहा पाइएको छ । यतिबेला तपाईहरुलाई घरमा बस्दाबस्दा दिक्क लागेको हुन सक्छ । त्यसैले म तपाईहरुलाई मेरो व्रतबन्ध हुँदाको रमाइलो अनुभव सुनाउँदै छु ।  

गएको फागुन १६ गते मेरो व्रतबन्ध भयो । म त्यतिबेला आठ वर्षको थिएँ  । व्रतबन्ध गर्ने कुरा हुँदा मलाई अनौठो लाग्थ्यो । व्रतबन्ध भनेको के हो मलाई थाहै थिएन । त्यस दिन मैले धेरै कुरा सिक्ने अवसर पाएँ ।  

त्यस दिन म एकाबिहानै उठें । कपालमा रोटी झुन्डयाएर, दुम्सीको काँडाले कपाल बेरेर राखियो । मामाले कपाल भिजाएर खौरिदिनुभयो र टाउको मुडुलो भयो । तामाको खड्कुँलामा बसेर नुहाएँ । दिदीहरूले हलेदो, तोरी, मेथी र दही मिसाएर पिनेको पहेंलो लेदो दलेर नुहाइदिनुभयो । त्यसपछि मलाई निकै जाडो भयो । जाडो भए पनि लुगा लगाउन नपाइने रहेछ । पहेंलो पछ्यौरा ओढेर बसें ।  

व्रतबन्ध गर्न बनाइएको यज्ञमण्डपमा गएँ । बाबा र पुरेत बा साथमै हुनुहुन्थ्यो । पुरेत बाले मन्त्र पढ्न थाल्नुभयो । मैले उहाँले भनेको काम खुरुखुरु गरें । बाबाले नजानेको काम मलाई सिकाइदिनुभयो । एकैछिनपछि कन्दनी भन्दै पहेंलो कपडाको धजा र लँगौटी भन्दै एउटा टालो लगाइदिनुभयो । लँगौटी लगाएर बस्दा मलाई लाज लाग्यो ।  

पुरेत बाले तीन डोरा जनै पनि लगााइदिनुभयो । मृगको छाला भिरें । टाउकामा पनि पहेंलो कपडा बेरिदिनुभयो । त्यसपछि एउटा लौरो टेक्न दिनुभयो र अर्कोे काँधमा तेस्र्याएँ । कपडाको थैली बेरेको लौरो तेर्सो पार्नुपर्ने रहेछ । जाडो धेरै भएकाले नसिलाएको पहेंलो कपडा बेरिदिनुभयो । म त जोगी जस्तै देखिएँ ।

फेरि पुरेत बाले मण्डप घुम्न लगाउनुभयो । म लौरो टेकेर घुम्न थालें । उहाँले अराएका सबै गरें । पढाएको सबै कुरा पढें । बेलाबेलामा काठका समिधा हवन गरें । बाबाले मलाई व्रतबन्धमा गायत्री मन्त्रदान गर्नुभयो । मैले वेदको मन्त्र पनि सिकें ।

व्रतबन्धमा पुरेत बाले गुरुको सेवा गर्नू, माछामासु नखानू, चुर्लुम्म डुबेर ननुहाउनू, उपरखुट्टी लगाएर नबस्नू, नांगी आइमाईलाई नहेर्नू, झूटो नबोल्नू, चोरी नगर्नू, सत्य बोल्नू, सधैं गुरुको आज्ञा पालना गर्नू जस्ता धेरै कुरा सिकाउनु हुँदोरहेछ ।  

व्रतबन्धमा मामासँगै जोगीको रूपमा भिक्षा माग्नु पर्दोरहेछ । सबैभन्दा पहिले आमाले भिक्षा दिनुभयो । घरको ढोकामा बसेर आमाले भिक्षा दिनुभयो । त्यसपछि अरूहरूले भिक्षा दिनुभयो । भिक्षामा नरिवल, जनै सुपारी, फलफूल, चामल र पैसा मिसाइएको हुँदोरहेछ । मैले तीनचोटि घुमेर भिक्षा मागें । चामलको थुन्से समाउन मामाले सहयोग गर्नुभयो ।

भिक्षा मागेर म फेरि मण्डपमा गएँ । केही पूजा गरें । औसनी घुमाएर खाना खान सिकें । मामासँग देशान्तर गएँ । देशान्तर जाँदा खाजा र किताब लगें । बाटामा मन्दिरको दर्शन गरें । लगेको किताब पढें । देशान्तरबाट फर्किएपछि पाहुनाहरूले टीका लगाइदिँदै आशीर्वाद र उपहार दिनुभयो ।  

त्यो दिन घरमा धेरै पाहुनाहरू आउनुभयो । उहाँहरूसँग रमाइलो गरियो । स्कुलबाट आउनुभएका सरमिस र साथीहरूसँग पनि रमाइलो गरियो । उहाँहरू पनि धेरै खुसी हुनुभयो ।  

प्रकाशित: ११ जेष्ठ २०७७ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App