१४ जेष्ठ २०७७ बुधबार
अन्य

उखेलेको मुला

लघुकथा

खेमराज पोखरेल

मेरो साथीको श्रीमती मरेको सातौं दिन भएथ्यो । उसको ३० वर्षे छोरो कोरामा थियो । म भेट्न गएथें । समवेदनाका दुई औपचारिक शब्द भनेंथें ।

त्यहाँ जम्मा भएका मान्छेहरू उसको बिहेका बारेमा चर्चा गर्दै थिए ः

– राधाकृष्णेकी बहिनी बूढीकन्ने बसेकी छे, त्यही बिहे गरिदिनुपर्छ ।

अर्को थप्दै थियो ः होइन अलि गतिली नै पाइन्छ नि, त्यो बूढीकन्ने किन सोहोर्नु हौ । बरु डल्लेकी छोरी २५ वर्षकी भई । बिहे भएको छैन । त्यही बिहे गरिदिनुपर्छ । त्यो गरीबकी छोरीले धनमाथि राज गर्छे बरु ।

ऊ त्यो कुरा मजाले सुनिरहेको थियो । आमा गुमाएकी छोरी भने कुना पसेर विह्वल भएर रुँदै थिई ।

उसको ६० वर्षे जन्म दिन मनाएको दुई महिना मात्र भएथ्यो । म दिक्दारी भावले घर फर्केथें । मनमा लागिरहेथ्यो ः छ्या, यी लोग्ने मान्छेहरू कस्ता पापी, कस्ता निर्मोही ।

म गाउँको घर गएथें । यही सर्कामा कान्दाइको घर गएँथें । उनको श्रीमती बितेको पनि एक वर्ष नाघिसकेथ्यो । समवेदनाको औपचारिकता बाँकी थियो । म कान्दाइको घरमा पुग्दा घरका अरू कोही थिएनन् । कान्दाइ ओसारीमा झोक्य्राएर बसेकाथे । नीरव शान्ति थियो ।

मैले उनलाई सोधेंथें ः सञ्चै छ कान्दाइ ?

उनले मलाई विस्फारित नेत्रले हेरेथे र ग्वाँग्वाँ रुन थालेथे । भक्कानिदै उनी भन्न थालेथे ः

–कालले मलाई किन लगेन । बाटाघाटा, घरओछ्यान सबै रित्ता छन् । ऊ थिई र पो म थिएँ । म त बाह्र आना मरिसकेको छु बाबु । म त उखेलेको मुला त हो । उखेलेको मुलाको के हालखबर हुन्छ र बाबु ?

प्रकाशित: १० जेष्ठ २०७७ ११:३५ शनिबार

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App