२० जेष्ठ २०७७ मंगलबार
अन्य

अनुभवले पिएचडी

अनुभूति

नेत्रकुमारी गुरुङ

बुबा ब्रिटिस आर्मीको पेन्सनमा आएपछि दुई भाइ पाँच बहिनी छोराछोरी जन्मिए । तीमध्ये छोरीहरू चित्रा र काउँस्यो बिते ।  माहिँला भाइ गणेशबहादुर लामो समयदेखि अरबमा, कान्छा भाइ  केशबहादुर र साहिँली बैनी आमाबुवासँग बेलायतमा बसेकी छिन् । कान्छी बैनी पनि युरोपतिर छिन् । अनि माहिली बैनी काठमाडौंमा बस्छिन् ।  

हाम्रो घरमा परिवारका सदस्य सबै सँगै हुँदा धेरै रमाइलो हुन्थ्यो । परिस्थितिले अहिले घर खाली छ जहाँ हामीले गाउँको पर्यटन विकासमा टेवा पु¥याउन होमस्टे चलाएका छौं ।

दुई भाइ गणेशबहादुर र केशबहादुर अनि तीन बहिनी नन्दा, भीमकाशी र हिराकाशी सबैले आआफ्नो क्षेत्रमा राम्रो गरेका छन् ।  हाम्रो अध्ययन र पालनपोषणका लागि आमाबुवाले धेरै दुःख गर्नुभयो । उहाँहरूले गर्दा नै मैले संसार चिन्ने मौका पाएँ । म आफ्ना आमाबुवाप्रति सदा ऋणी छु । अन्तरआत्मादेखि उहाँहरूको पाउमा पर्दछु ।  

आमाबुवापछि सबैभन्दा नजिक रहेर मेरा सपना पूरा गर्न सघाउने पात्र हुन्–जीवनसँगी नेत्रकुमारी । हाम्रा सन्तानलाई हुर्काउन, बढाउन र असल बनाउन उनको भूमिका मेरोभन्दा ठूलो छ । उनले घरव्यवहार सम्हालिन् । मैले छोराछोरीलाई हुर्काउन समय दिन पाइनँ । विश्वविद्यालयको अध्ययन गर्न पोखरा बस्नु प¥यो । अरू बेला पनि स्वाध्ययन र सामाजिक काममा धेरै समय बिताउनु प¥यो ।  

कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् । 

नेत्रकुमारी गुरुङ 

मेरा छोराछोरी असल छन् । उनीहरूलाई बाटो देखाउने नेत्रकुमारी नै हुन् । हुर्काउन, बढाउन र पढाउन उनले पूरै समय दिइन् । मलाई दुईदुई विषयमा स्नातकोत्तरको अध्ययन पूरा गर्न उनैले सधैं साथ दिइरहिन् । उनले मैन बत्तीझैं आफू जलेर उज्यालो दिइरहिन् । आफूले चाहिँ कलेज पढ्ने समय पाइनन् । यद्यपि पढेरभन्दा परेर धेरै सिकेकी छिन् ।  

कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् ।    

हाम्रो विवाह २०४८ साल मंसिरमा भएको थियो । उनको माइती पनि ताङतिङ । पूर्णबहादुर र जौमायाकी छोरी । हाम्रा दुई छोरी र दुई छोरा ससुरालमै हुर्किए । मैले अध्ययन, शिक्षण र सामाजिक काममा धेरै समय बिताउने भएकाले श्रीमती र मेरो ससुराली परिवारले हाम्रो बालबच्चाको स्याहारसुसार र शिक्षादीक्षामा ठूलो योगदान गरेका छन् ।  

छोराछोरी सबैले राम्रो शिक्षादीक्षा पाएका छन् । तीन दशकअघि र अहिलेको परिवेशमा धेरै परिवर्तन आएको छ । सूचना, संचार र प्रविधिको विकासले विश्व सानो गाउँ जस्तो भएको छ । विश्व सबैका लागि एक ठाउँबाट अर्काे ठाउँमा आफ्नो क्षमता, ज्ञान र सीप प्रयोग गर्ने प्लेटफर्म बनेको छ । जेठो छोरा होमबहादुर (हितमान)ले विएस्सी पढ्दापढ्दै ब्रिटिस आर्मीमा भर्ना भएर बाजेका पाइला पछ्यायो । छोरीहरू खेमसुवा (ममता) स्टाफ नर्स हुन्, हाल  हङकङमा छिन् । कान्छी छोरी भेषकुमारी (गौरी) को स्नातक तहमा पढ्दै गर्दा विवाह भयो । उनी बेलायतमा छिन् । कान्छा छोरा टेकमान १२ कक्षा पढिसक्यो ।  

छोराछोरी आआफ्नै सपनाको लहरामा जेलिएका छन् । बुबा सधैं भन्नुहुन्थ्यो, ‘म जस्तै बन्नुपर्छ छोरा ।’ मैले उहाँको इच्छा पूरा गर्न सकिनँ । गाउँमै बसें । मैले मेरो छोराले यतै पढेर विश्वविद्यालयतिर काम गरोस् भन्ने चाहना राखेको थिएँ । तर, काका केशबहादुर, कान्छी फुपू र टोलका साथीसँगी पनि उतै भएकाले ऊ पनि विदेशियो । यसरी हितमान पनि लाहुरे बन्यो ।    वास्तवमा आफ्नो जिन्दगीको रथ कता कुदाउने भन्ने हात आफैंमा हुन्छ । हाम्रा छोराछोरी जहाँसुकै पुगून्, उनीहरूको शिरमा हाम्रो आशीर्वाद छ ।  

मेरी जीवनसँगी नेत्रकुमारी । नेत्रको अर्थ आँखा,उनी मेरा लागि आँखा जत्तिकै प्रिय छिन् । उनी र मैले समाज सेवामा रमाउँदै बाँकी जीवन विताउने अठोट गरेका छौं ।  

समुद्रमा पानीजहाज चलाउने क्याप्टेन जस्तै रहेछन् घरपरिवारमा आमा र श्रीमती  । धन्य छौं नेत्रकुमारी !  

(हिमालय मिलन मावि, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’ पुस्तकको अंश ।)  

प्रकाशित: १० जेष्ठ २०७७ ०९:४२ शनिबार

खुशी 85.7%
दुखी 14.3%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App