हामी ताङतिङेको मुख्य पेशा–कृषि, पशुपालन र वैदेशिक रोजगारी । परापूर्वकालदेखि हाम्रा भेडाबाख्रा र गाईभैँसी हिँउदमा बेंसी र बर्खामा हिमाली बुगेनमा लैजाने चलन छ । थोरै भेडाबाख्रा, गाईभैसी पाल्ने ताङतिङेहरू पनि जाडो छल्न तथा खेत मलिलो बनाउन घरपालुवा जनावर र कुखुरासहित मंसिर १० गते बेंसीमा झर्थे । उनीहरू माघको पहिलो हप्ता मात्र गाउँमा फर्कन्थे । हामी सानो छँदा गाउँ नै खाली हुने गरी कोही तल्लो बेंसी, कोही उपल्लो बेंसीका खेत मलिलो बनाउँथे ।
खेतमा गाइँभैंसी र भेडाबाख्रा राखेपछि तिनका गोबरले खेत मलिलो बन्थ्यो । बेंसी झर्नुको अर्को उद्देश्य हुन्थ्यो–जाडो छल्नु । बसाईंसराइले गर्दा अचेल त्यो चलन कम भैसक्यो ।
मादी गाउँपालिका–२, कास्कीमा पर्छ रोहीफाँट । तल मादी नदी, वरिपरि सालडाँडा, फुलोप्रो, नामार्जुङ डाँडा तथा माथि रोहीगाउँ । रोहीगाउँ, नामार्जुङ, रोहीफाँट, सेती खोला र रोहीफाँटमा परिश्रमी मान्छेको बसोबास छ । उनीहरूसँग हाम्रो साइनो गाँसिएको धेरै भैसक्यो । हामी बीचको सम्बन्ध सनपाटको डोरी जस्तै कसिलो छ ।
अन्नपूर्णको सेरोफेरोका हाम्रा गाउँहरू पार्चे, सिक्लेसको खेतबारीे तप्राङ, सोंधा र ताङतिङका बासिन्दाको खेतबारी, रोहीफाँट खेती खोलासम्म छ ।
ताङतिङको बेसी गाउँदेखि तल कुलो, स्योई, म्याउदु वरपरको भागलाई तुं बेसी र रोहीफाँट क्षेत्रलाई मु बेंसी अर्थात् तल्लो बेसी भनिन्छ । उपल्लो बेंसीभन्दा तल्लो बेंसी उर्वर मानिन्छ । हाम्रोमा गाउँमाथि र खेत बेंसीमा हुन्छ । पहिलेपहिले लाहुरेहरू गाउँ फर्केपछि बेंसीमा खेत किन्ने चलन थियो । लाहुरेहरू आफ्नो कमाइ गाउँमै खेतबारी जोड्ने काममा प्रयोग गर्थे । उनीहरू छोराछोरीलाई गाउँकै स्कुलमा पढाउँथे ।
आफ्नो पसिना गाउँकै खेतबारीमा चुहाउँथे । पोखरा एवं तराईतिर गर्मी र मलेरियाको डर थियो । मेरा लाहुरे बुबाले रिटायर्ड भएपछि हाम्रो भविष्यका लागि रोहीफाँटमा अलिकति खेत किन्नुभयो । फाँट अत्यन्तै उर्वर, सुन्दर र समथर छ ।
हामीले पहिलेदेखि नै ‘तु’ बेंसी र ‘मु’ बेंसीमा धान र मकै खेती गर्दै आएका छौं । ताङतिङे धर्तीका पूजारी धेरै परिश्रमी छन् । राजाको नीतिभन्दा गुरुङको थिति ठूलो मानिन्छ । त्यसैले गाउँमा पैडीले दिन हेराएर एकैसाथ एकै समय काम गर्ने परम्परा छ ।
बेंसीमा नभई डाँडापाखामा गुचुमुच्च बस्न रुचाउने अनि बिहानबेलुका उकालीओरालीे गर्दै बेंसीमा काम गर्ने हामी गुरुङको चलन । हामी असार र मंसिरमा भने गाउँ नै खाली गरेर बेंसीमा झथ्र्यौं । उपल्लो बेंसीको टौवखल (अस्थायी रूपमा बस्न बनाइएको धनसार) स्युई, तल्ला बेंसीका सेती खोला रोहीफाँट लगायतमा असार र मंसिरमा अस्थायी रूपमा बस्नेहरूको भीड लाग्थ्यो । आज बढ्दो वैदेशिक रोजगार, गाउँबाट पोखरातिरको बसाईसराइले बेंसीका खेत बाँझो हुँदैछ । त्यसैले गाउँबाट बेंसीमा झर्ने परम्परा घट्दो छ ।
हाम्रो परिवार मात्र होइन, गाउँका सबै घर तथा गोठाला मंसिर १० गते लस्करै गाउँबाट खेत मोल्न बेसी झर्थे । त्यतिबेला गाईगोरु सहित मान्छेको लर्कन हेर्नलायक हुन्थ्यो । गोठ नहुनेहरू पनि घरमा पालिएको एक हल गोरु र भैसी लिएर बेंसी झर्ने चलन थियो ।
यस्तै प्रकारले असार १५ गते सबै परिवार रोपाइँ गर्न बेंसीमा आउने चलन छँदैछ । हाम्रो परिवार पनि एक हल गोरु, भैँसी र कुखुरा लिएर मंसिर १० गते रोही फाँटमा झथ्र्यो र सिक्लेसको माघे सङ्क्रान्ति मेला शुरू भएपछि मात्र हामी गाउँ फर्कन्थ्यौं । रोही फाँटको हाम्रो बसाइ रोचक हुन्थ्यो ।
त्यो मिश्रित समाज आफैंमा एउटा पाठशाला बनेको थियो । त्यहाँबाट हामीले समूहमा काम, कडा परिश्रम, बहस र आफ्नो काम आफैं गर्ने जस्ता उपयोगी सीप सिकेका थियौं ।
हाम्रो खासै गोठ थिएन, बुबाले खेतमा एउटा दुहुनो भैँसी, एक हल गोरु बाँध्ने भकारीको सानो गोठ बनाउनुहुन्थ्यो । हामी सपरिवार त्यही गोठमा बस्थ्यौं । त्यस्तै सबै गाउँलेका गोठ हुन्थे । हाम्रो खेत नजिकै ठूले बाबा ‘पाउ ठूलेको’ को खेतमा ठूलो गाईगोठ थियो । गोठमा हाम्रा हारा बाजे बस्नुहुन्थ्यो । टाउकामा पगरी बाँधेको सधैँ भोटो, कछाड बाँध्ने, कहिले खुट्टामा चप्पल नलगाउने हारा बाजे ज्यादै बलवान र परिश्रमी हुनुहुन्थ्यो ।
हामी बिहान ढिलो उठेमा उहाँले गोठबाट गाली गर्नुहुन्थ्यो । वनबाट घाँस थोरै ल्याएमा पनि पैन नभएको भनेर गाली दिनुहुन्थ्यो । रोही फाँटभरि भकारीका गाईगोठ र भैँसीगोठहरू छपक्कै हुन्थे । माथि नामार्जुङ गाउँका सापकोटा बन्धुहरूको भैँसी, बाख्रा गोठ पनि रोही फाँटमै ल्याउँथे ।
तागी खोला फुलोप्रो, सालडाँडातिर गाईवस्तुको घाँस काट्न जाने, रोही फाँटमाथि रोही गाउँ माथिको घना जङ्गलमा तरुल खन्न जाने र कहिलेकाहीँ तागी खोलामा दुवाली थुनेर माछा मार्ने हाम्रो दिनचर्या थियो ।
त्यस्तै कहिलेकाहीँ डोको बोकेर गाईभैँसी चर्ने वनतिर मल खोज्न जान्थ्यौं । खेतमा हलो नारेर खेत जोत्थ्यौं । हामी सिजनमा रोही फाँटबाट चाउलनीको पाखा हुँदै मुरीका मुरी धान र मकैका डोका दिनको दुई पटक माथि ताङतिङमा पुर्याउँथ्यौं । तागी खोलामाथि चाउलनी पाखामा भारी बोकेर खलखली पसिना काढ्दै उकाली चढ्दा बेग्लै आनन्द आउँथ्यो । हामी पर्म लगाएर पालैपालो भारी बोक्थ्यौं ।
भारी बोकेर चाउलनीको उकालो चढ्दा हामी ठिटाहरू को कति बलियो छ प्रस्ट छुट्टिन्थ्यो ।
रोही फाँट र सेती खोलाको बस्तीमा मिश्रित समुदायको बसोबास थियो । त्यो ठाउँ आफैंमा मेल्टिङ पट थियो । थरिथरिका जातजाति गुरुङ, बाहुन, क्षेत्री, कामी, दमाई, सार्कीका बीच अन्तक्र्रिया हुन्थ्यो । त्यहाँ हामी र गोठाला बीच राजनीतिक, सामाजिक र सांस्कृतिक बहस चल्थ्यो । हामी कहिले बाघचाल खेल्थ्यौं । कहिले घाँस काट्न जाँदा डन्डीबियो र आँसी खेल खेल्थ्यौं ।
हामी ताङतिङबाट झरेका ठिटा रोही गाउँ र सेती खोला गाउँतिर हुने चाडपर्वमा बाक्लै उपस्थिति जनाउँथ्यौं । गाउँमा राति हुने भजनचुड्का र नाचगानमा पनि रम्थ्यौं ।
नामार्जुङ गाउँ तथा रोही फाँटमा बस्ने सापकोटा बन्धुहरूसँग हामी लामै अन्तत्र्रिmया गथ्र्यौं । त्यसैले बौद्धिक तथा सामाजिक रूपान्तरण सम्बन्धी धेरै कुरा सिक्न पाएका थियौं । हाम्रा लागि त्यो मिश्रित समाज आफैंमा एउटा पाठशाला बनेको थियो । त्यहाँबाट हामीले समूहमा समयमै काम, कडा परिश्रम, बहस र आफ्नो काम आफैं गर्ने जस्ता उपयोगी सीप सिकेका थियौं ।
ताङतिङे ठिटा जो रोहीफाँटमा बर्सेनि अस्थायी रूपमा बस्न आउँथे । ती सबैले आआफ्नो क्षेत्रमा प्रगति गरेका छन् । संक्षेपमा भन्दा रोही फाँट हाम्रा लागि एउटा खुल्ला विश्वविद्यालय थियो जहाँबाट हामीले बाल्यकालमै जीवनपयोगी ज्ञान र सीप पायौं ।
त्यहाँको उर्वर माटोले हाम्रो सम्पूर्ण परिवार पाल्न सहयोग गर्यो । अचेल बाल्यकालका सम्झनाहरूको छोटाछोटा नोट बनाएको छु । त्यही रोही फाँट डीलको खेतलाई खूब सम्झन्छु । रोही गाउँमाथिको घना जङ्गललाई सम्झन्छु । फाँटबाट धान र मकै बोकेर उकालो चढेको सम्झन्छु । यसरी हिउँदे जाडो छल्ने रोही फाँटलाई मिस गरिराख्छु । रोहिफाँटको नारायणी आधारभूत विद्यालयमा पढाउन बागलुङबाट आएका प्रेमबहादुर थापाको सम्पर्कबाट बीस घर मगर समुदाय बसाइँ सरेर फाँटमा बसेका छन् । त्यस्तै त्यहाँबाट कतिपय ब्राम्हण र दलित परिवार बसाईं सरेर पोखरा गएका छन् ।
मलाई लाग्छ किताबका पानामा पढेका कुरा भन्दा घरब्यबहारमा सिकेकाले जीवनलाई सजिलो बनाउँछन् ।
(गुरुङ हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन् ।)
प्रकाशित: ३ जेष्ठ २०७७ ०३:५७ शनिबार