२३ फाल्गुन २०७७ आइतबार
अन्य

मर्नुभन्दा पहिला बाँच्नु पर्छ

कृष्ण,
मलाई बाँच्छु भन्ने थिएन । न्युयोर्कमा यस्तो अवस्था भइसकेको थियो, कोरोनाले भेटेमध्ये धेरै कम मात्र बाँचिरहेका थिए । हरेक दिन जुन प्रकारले बिरामीहरूको संख्या थपिँदै थियो त्यसले यस्तो लाग्न थालेको थियो यो नै मानवसभ्यताको अन्तिम समय हो ।

नर्स भनेको युद्ध मैदानमा सबैभन्दा अगाडि उभिने सैनिकजस्तै हो । शत्रुका बन्दुकबाट छुटेको पहिलो गोली थाप्न उभिएको छातीजस्तै हो हामी नर्सहरूको जागिर । यसलाई हामीले जागिरको रूपमा लिएका पनि हुँदैनौं । यो पढ्दै पनि केवल जागिर सोचेर पढिएको हुँदैन । सेवाको भावनाले नै हामी परिचालित हुन्छौं । जब सेता गाउन लगाएर म बिरामीका अघि पुग्थेँ र उनीहरूले आशाको नजरले हेर्थे मलाई मेरो कर्ममाथि गर्व लाग्थ्यो ।

मैले सोचेँ–‘ म जे गरिरहेकी छु, यो काम त जसले पनि गर्न सक्छ । म नरहे पनि यो पेसा रहिरहन्छ र यो काम गर्ने नर्सहरू पनि भई नै रहन्छन् । म मात्र सँधै रहन्न र मैले चाहेको कुरा मबाहेक अरू कसैले पूरा गरिदिदैनन् पनि । बाँच्नु भनेको सास फेरिरहनु होइन । आफू हुनुको अर्थ सहित बाँच्नु पो बाँच्नु हो ।’

मैले यो बाहेक अरू नै विषय पढेर अरू नै काम पनि गर्न सक्थेँ । अमेरिकामा काम पाउन र पैसा कमाउन एउटै पेसामा सधैँ अड्किरहनु पर्दैन । तर मलाई सानैदेखिको रुचि नै यही थियो । मैले यो विषय रोजेकोमा मेरी आमा पनि मसँग खुसी भएकी थिइन् । उनले बेलाबेला फोन गरेर मलाई सम्झाइ रहन्थिन्–‘दयालु हुनु ! सहयोगी हुनु ।’

हरेक दिन अनेकौं फरक–फरक रोगले सताइएका मानिससँग भेट हुन्थ्यो र उनीहरूका पीडा र निराशाहरू सुन्नु पथ्र्यो । नियमित अपोइन्टमेन्टमा आउनेहरू आउँदा आउँदै आउनै छोड्थे ।  कसैको बारेमा तत्काल, कसैको बारेमा धेरैपछि थाहा पाइन्थ्यो बितिसकेको ।

म जब एक्लो अनुभव गर्थें हरेक शनिबार आमाबाबुको चिहानमा गएर फूल चढाउँथेँ, प्रार्थना गर्थेँ र दुई थोपा आँसु पुछेर फकिन्थेँ ।  त्यसबेला लाग्थ्यो मैले आमाबाबुलाई जिउँदै भेटेकी छु । अनि नयाँ आँट र जोशका साथ काममा जुट्थेँ ।

प्रशस्त कमाइ नभए पनि एकजनालाई पुग्दो थियो । जीवनमा धेरै ठूला सपना पनि थिएनन् । छोरी मान्छेको रहर सन्तानकी आमा बन्ने हुन्छ नै । मैले पनि त्यो रहर पालेकै थिएँ तर, मेरा दुवै केटासाथीहरूले मलाई त्यो रहर पूरा गर्न सहयोग गरेनन् । मलाई सिङ्गल मदर हुन मन थिएन । बाबुको मायाविनाका बच्चाको मन कस्तो हुन्छ भन्ने मलाई अनुभव भएकाले म एउटा व्यवस्थित वैवाहिक जीवन चाहन्थेँ । तर मैलेजस्तो वैवाहिक जिम्मेवारीमा पस्न उनीहरूले मन गरेनन् । उनीहरू भन्थे, बच्चा नभए पनि हुन्छ वा चाहिए पनि चालीस पचास वर्षको उमेर पुगेपछि आरामले बनाउने । उनीहरूले त पचास वर्षपछि पनि कुनै पच्चिस वर्षकी केटीलाई पेट बोकाउन सक्थे तर म पचास वर्षपछि गर्भवती हुन कहाँ सक्थेँ !
मैले मन नहुँदा नहुँदै पनि उनीहरूबाट आफूलाई अलग गरेँ । त्यसपछि पनि मलाई सिंगल होस् ? भनेर सोध्नेहरू धेरै आए तर अब मलाई केटाहरूबाट विश्वास उठ्न लागेको थियो । उनीहरू केवल शरीरको भोग गर्नका लागि मात्र नजिक आउन चाहन्थे ।

मलाई थाहा छ पुरुषको सहयोगविना आमा बन्न सकिँदैन । कुनै महिला आमा नहुने हो भने यो संसारको निरन्तरता रहँदैन । तर पुरुषहरू किन त्यस्ता गैर जिम्मेवार बन्छन् ? किन उनीहरूलाई महिलालाई जति सन्तानको रहर लाग्दैन ?

प्रजनन् अवधिको निश्चितता महिलाका भावनात्मक कमजोरी हुन् जसलाई पुरुषहरूले दुरुपयोग गरिरहन्छन् । जब म पैँतीस वर्षकी थिएँ, एकपल्ट मलाई कुमारी आमा हुन मन लागेर आयो तर त्यसका लागि मसँग दुईटा सर्त थिए–कि त त्यो बच्चा कुनै मेरो अत्यन्त प्रिय केटा साथीको होस्, कि त त्यस्तो मान्छेको होस् जो धेरै प्रतिष्ठित र परिपक्व होस् । यी दुवै कुरा सजिला थिएनन् । म केवल शरीर सुखको प्रतिफलको रूपमा फुत्त जन्मिएको बच्चाको आमा बन्न इच्छुक थिइनँ । मेरो त्यस्तो इच्छा पूरा गरिदिने मानिस पनि भेटिएन ।

जब चालीस वर्षकी भएँ, मैल त्यो सोचाइलाई स्थगित गरिदिएँ । अनि अध्यात्मको अध्ययनतिर लागेँ । मलाई मेरी आमाले बालककालदेखि नै पवित्र बाइबलका कथाहरूले दीक्षित गराएकी थिइन् तर किन हो त्यसले मात्र मलाई पुगेजस्तो लागेको थिएन ।

यस्तै बेलामा एकपल्ट एउटा भारतीय युवक मेरो डाक्टरसँगको अपोइन्टमेन्टमा आयो । मलाई त्यसको अनुहारको आभाले अचम्म प्रकारले आकर्षित ग¥यो । बाहिरबाट हेर्दा त्यो खासै रोगी जस्तो थिएन तर ऊ बिस्तारै गम्भीर रोगको सिकार हुन लागेको थियो । उसलाई आफ्नो रोगको बारेमा सबै कुरा थाहा भएर पनि पटक्कै पिर गरेको थिएन । मैले मेरो पन्ध्र वर्षको नर्स जीवनमा यस्तो तनावहीन रोगी भेटेकी थिइनँ । त्यही भएर पनि म ऊतिर आकर्षित भएथेँ होला । तर ऊप्रति भएको त्यो आकर्षण मेरा पुराना केटासाथीसँगको जस्तो थिएन ।

तेस्रोपल्टको अपोइन्टमेन्टमा आएपछि मैले ऊसँग विशेष रुचि लिएर उसको फोन नम्बर मागेँ । मलाई उसको त्यो व्यक्तित्व मेरो आमा बन्ने दोस्रो विकल्पको व्यक्ति हुनसक्छ जस्तो पनि लाग्न थालेको थियो । मैले ऊसँग निरन्तर सम्पर्क गर्न लागेँ । ऊ हरेकपल्ट सहजरूपमा संवादमा आउँथ्यो । उसका कुराहरू सधैँ फरक शैलीका लाग्थे । जीवनका बारेमा उसका सोचाइ र धारणाहरू एकदम नै सरल र सामान्य थिए । उसमा हतार, तनाव र उच्च लक्ष्यहरू केही थिएनन् । जब ऊ बोल्न थाल्थ्यो, ऊ यो दुनियाँको कुरा गरिरहेजस्तो लाग्दैन थियो ।

जतिजति मलाई उसको चासो बढ्दै गयो उतिउति उसको रोगको चिन्ता मलाई पनि सर्न थाल्यो । त्यस्तो राम्रो मान्छेलाई किन लागेको होला त्यति नराम्रो रोग । उसले मलाई हरेकपल्ट भेट्न समय दिन्थ्यो । तर हामी बीचमा कहिल्यै प्रेमजस्ता कुरा भएनन् । यौनजन्य प्रेमको प्रसङ्ग नहुँदा पनि पुरुष र स्त्रीको बीचमा मित्रताजस्तो बेग्लै सम्बन्ध पनि हुन सक्दो रहेछ भन्ने उसकै संगतबाट मैले बुझेकी हुँ ।

एकदिन मैले उसलाई पाँच वर्षअघि मलाई आमा हुन मन लागेको र त्यसका लागि रोजेका पुरुषबारे कुरा सुनाएँ । उसले त्यसलाई एकदमै सरल ढंगबाट लियो र संस्कृत साहित्यको महान ग्रन्थको बारेमा निकै दिनसम्म पढायो । उसले भन्या, यो ग्रन्थभित्र मानिसका सबै प्रश्नहरूको उत्तर छ । तिमी यो पढ ।’ भनेर मलाई एउटा अंग्रेजीमा अनुदित महाभारत नामको किताब दियो । निकै दिन लगाएर मैले त्यो पढेँ । वास्तवमा त्यहाँ मेरा धेरै प्रश्नहरूका उत्तर थिए । त्यसमा थियो कुन्तीले आमा बन्नका लागि मनले रोजेका पुरुषहरूबाट वीर्य लिएर सन्तान जन्माएको कथा । त्यो किताब पढेपछि मलाई मेरो जीवनभित्रका सबै अन्योलहरूको अन्त्य भएजस्तो लाग्यो ।’

एकदिन उसले भन्यो– ‘तिमीले संस्कृत भाषामै पढ्न सक्ने हो भने झन् धेरै रमाउन सक्ने थियौ । उसले मभित्र अनौठो जिज्ञासा भरी दियो । एकाएक म अर्कै संसारमा प्रवेश गर्न लागेकी थिएँ । तर दुःखको कुरा त्यो युवक धेरै बाँचेन । ब्लड क्यान्सर अरू क्यान्सरजस्तो नभए पनि उसले त्यसको औषधिलाई पचाउन सकेन । मर्नुभन्दा केही दिन अघि उसले भनेको थियो, सबै काम सकेर कोही पनि मर्दैन, त्यसैले जहिले मरे पनि केही फरक पर्दैन ।’

मलाई उसको त्यो भनाइ एकदम नै घत लागेको थियो । त्यही दिन मैले सोचेँ–‘ म जे गरिरहेकी छु, यो काम त जसले पनि गर्न सक्छ । म नरहे पनि यो पेसा रहिरहन्छ र यो काम गर्ने नर्सहरू पनि भई नै रहन्छन् । म मात्र सँधै रहन्न र मैले चाहेको कुरा मबाहेक अरू कसैले पूरा गरिदिदैनन् पनि । बाँच्नु भनेको सास फेरिरहनु होइन । आफू हुनुको अर्थ सहित बाँच्नु पो बाँच्नु हो ।’

उसको फेनरलको भोलिपल्टै मैले काम छोडेँ र भारत भ्रमणका लागि हवाई टिकट काटेँ । अन्तिममा उसले एउटा अर्को किताब पनि दिएको थियो– ‘एन अटोवायोग्राफी अफ योगी’ । त्यो किताबले त मलाई झन रुमानी बनाइ दिएको थियो । कल्पनालोकको अर्कै संसारमा पौडिन लागेँ । त्यसपछि पटक–पटक तीन वर्षसम्म भारत, नेपाल र श्रीलङ्काका अनेकौँ धार्मिकस्थलहरू घुमेँ । यी कुरा मैले तिमीलाई पहिले नै भनिसकेकै थिएँ । हरिद्वारका गुरुकुलहरूमा घुमीघुमी संस्कृत भाषा सिकेँ र सिधै संस्कृतमा उपनिषद्हरू पढ्न थालेँ ।

आफैँभित्र आनन्दको ज्योति बलेजस्तो लाग्न थालेको थियो । मलाई यसै पनि बाँध्ने कुराहरू त्यस्ता केही थिएनन् । मैले अठार वर्षदेखि काम गरेर जोगाएको पैसा यो तीन वर्षमा सबै खर्च गरिसकेकी थिएँ । अब फेरि म काममा फर्किनु पर्ने भो । अनि मैले आफूलाई आफ्नै पेशामा फर्काएँ । अब मलाई पहिलेको जस्तो हतार, तनाव, लोभ, डर, शङ्का केही पनि थिएन । जब मैले गीता पढेँ, मलाई आफ्नो उपस्थितिका विशेष अर्थ लाग्यो । अब मैले कर्म र कर्मका भेदहरू बुझेकी थिएँ ।   

मलाई आफैँभित्र आनन्दको ज्योति बलेजस्तो लाग्न थाल्यो । व्यक्तिगत र पारिवारिक कुनै जिम्मेवारीहरू थिएनन् । मैले कमाएर कसैका लागि थुपार्नु पनि थिएन । मेरो जन्म र मृत्यु कसैको निमित्त पनि त्यति खास कुरा होइन रहेछ भन्ने बुझेको दिन नै मैले आफूलाई एक प्रकारले लोभ, डर र घृणाबाट मुक्त गरेकी थिएँ ।
त्यसपछि मलाई झन् धेरै मेरो पेशाप्रति आस्था बढेर आयो । सबैभन्दा निःस्वार्थ सेवा भनेकै असक्त, कमजोर र रोगीको सेवा गर्नु हो । यिनै कुरा मैले बाइबलमा पनि पढिसकेकै थिएँ । म अब कुनै खास धर्महरूबाट माथि उडेकी थिएँ र यो संसारलाई प्रकृतिको सुन्दर बगैँचा देख्न थालेकी थिएँ ।

कृष्ण,
मलाई मर्नुसँग कुनै डर थिएन । किनकि संसारमा नमर्ने कुनै कुरा थिएन । मेरो महत्व म भएसम्मको मात्र हो । म छैन भनेकै क्षणदेखि मेरो हुनुलाई समेत सबैले बिर्सिसकेका हुनेछन् । त्यसैले यो संसारमा बाँच्ने भनेको आफैंँले हो र त्यो केवल आफ्ना लागि मात्र हो तर आफू बाँच्नका लागि अर्कालाई बाँच्न अवरोध पु¥याउन होइन । म मरेका दिन पनि आकाशका ताराहरू, पृथ्वीका बोट, वनस्पति, जीवजन्तु सबै हुनेछन् र आफ्ना नाताकाहरू पनि त्यत्तिकै हुनेछन् । हाम्रो लाशलाई विद्युत शवदाहगृहभित्र पठाएर फर्किने बित्तिकै उनीहरू घरमा आएर वियर पिउँदै एकछिन मेरो निम्ति रुँदै प्रार्थना गर्ने छन् र त्यही क्षण उनीहरूले सदाकालका लागि बिर्सिसक्ने छन् ।

मैले बुझेको यही सत्यलाई हर्मन हेसको सिद्धार्थ भन्ने उपन्यासले पनि पुष्टि गरेको थियो । अनि म कुनै तनाव र कौतुहलताविनाको जीवन बाँच्न थालेकी थिएँ ।

तर जब यो कोरोना १९ को आतंक फैलियो, सहजकालमा मेरो बुद्धिमा पसेका ज्ञानका सबै कुरा स्थगित भए । म आफैँ छक्क परेँ, कसरी मभित्र जीवनको यस्तो मोह पलाएर आयो ? मलाई किन यति धेरै बाँच्न मन लाग्यो ?

यो यति भयानक होला भन्ने सुरुमा कसैले पनि सोचेको थिएन । अस्पतालमा आउनेहरूलार्ई पनि सामान्य प्रकारले नै उपचार गर्दै थियौँ तर एकाएक यो यस्तो आक्रामक भएर देखापर्न थाल्यो, हाम्रा सबै उपचार प्रविधिहरू किनारा लागे । मलाई मात्र हैन, संसारकै कुनै मानिसलाई पनि अमेरिका आकस्मिक उपचार पद्धतिकालाई यति धेरै अव्यवस्थित होला भन्ने लागेको थिएन । अमेरिकाले हरेक कुरामा संसारलाई दिएको सक्षमताको सूचना एकाएक धरासयी भएको थियो । हामी स्वास्थ्य कर्मीहरूके लागि अत्यावश्यक प्रतिरक्षात्मक सामग्रीहरू पनि थिएनन् । नभन्दै एकदिन अचानक म ढलेँ । म ढलिसकेको पाँचौँ दिन मैले मेसेञ्जरमा तिमीसँग बोलेर केही कुरा गरेकी थिएँ । त्यसबेला मलाई आफू बाँच्छु होला भन्ने लागेकै थिएन ।

त्यसबेला म आश्चर्यचकित भएकी थिएँ, जब अमेरिकाले एउटा सामान्य भाइरससँग हारेको थियो र हजारौँजना मृत्युको मुखमा जाँदै थिए । अमेरिकाले संसारभरि हतियारको भरमा गरेको शासन, अमेरिकी डलरले संसारभरि गरेको व्यापार र नासाले गरेको अन्तरिक्षको विजय सबैले एकै चोटी घुँडा टेकेको थियो । सन् २०१९ मार्च चौधमा जब अमेरिकी वैज्ञानिकहरूले पहिलोपल्ट पचपन्न लाख मिलियन प्रकाश वर्ष टाढाको :  ग्यालेक्सीको केन्द्रको ब्ल्याक होलको फोटो खिचेर सार्वजनिक गरेको थियो, त्यो दिन मैले कृष्णले विराट स्वरुपमा मुख बाएर ब्रह्माण्डमा भएका सबै चिजलाई निलिरहेको दृश्यलाई बुझेकी थिएँ । त्यो दिन लागेको थियो विज्ञान अध्यात्मको नजिक पुग्न लागेको छ । तर जब तमाम औषधि विज्ञानले हात उठायो, अन्तरिक्षको मानवयात्राको अभियान एउटा जीवाणुको विषभन्दा कमजोर रहेछ ।

मैले आफूलाई फ्लोरेन्स नाइटिङ्गेलको अवतारको रूपमा प्रस्तुत गरिरहँदा थाहै भएन कतिखेर, कसबाट मैले कोरोना उपहार पाएँ । मलाई थाहा थियो, यो रोग लागेपछि अस्पतालमा बस्नु भनेको छटपटाउँदै मर्नु मात्र हो । अनि आफैँ सेल्फ क्वारेन्टाइनमा बसेर जीवन वा मृत्युमध्ये एकको प्रतिक्षामा थिएँ । जुन दिन मेरो तिमीसँग कुरा भयो, त्यसको भोलिपल्ट बिहान दशतला माथि रहेको मेरो अपार्टमेन्टकै छिमेकी कोठाको झ्यालबाट एउटा विद्यार्थी युवकले हाम फालेर शरीरत्याग गरेको थियो ।

ऊ कोठामा एक्लै बस्थ्यो । अत्यन्त भलाद्मी थियो । कम बोल्थ्यो । आइटीको विद्यार्थी थियो । तर उसले आत्मबल कमजोर बनायो । मृत्युको डरले मर्नुभन्दा पहिल्यै मर्‍यो । मर्नुभन्दा पनि मर्ने डर ठूलो रैछ । तर मैले आफ्नालाई हरेक क्षण बाँच्नु पर्छ भनिरहेँ । अर्धचेतमा पनि मेरो मनमा एउटै कुरा थियो–‘म छिट्टै जाती हुन्छु । मैले यो रोगलाई जित्छु ।’

आज म फेरि बाँचेको खबर तिमीलाई इमेलबाट दिइरहेछु । अब तिमी ढुक्क हुनु । म तिमीले दिएको कलमबाटै एउटा किताब लेख्नेछु, यही जीवन र मृत्युबीचको अनुभूति  । त्यसको पहिलो पाठक पनि तिमी नै हुने छौ ।  बाँकी पछि ।
                                            तिम्री
                                            लाउरा

 

प्रकाशित: २८ वैशाख २०७७ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App