९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

कृषकलाई सलाम !

अदिती केसी,कक्षा–१०,
काञ्जीरोवा नेसनल मावि,कोटेश्वर, काठमाडौँ।

प्रत्येक मानिसका रूपरङ्ग फरक भएजस्तै जीवनका रुचि र इच्छा पनि फरक–फरक हुन्छन् । सबैले केही न केही बन्ने अठोट लिएकै हुन्छन् । परिवार, छिमेक, समाज, राष्ट्र र विश्वमा नाम कमाएका व्यक्तिलाई आदर्श बनाएर आफू पनि त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने चाहना गर्छन् । कुरा यत्ति हो, कोही लक्ष्यमा सफल हुन्छन् । कोही सफल नभएर अर्कै मार्ग रोज्न पुग्छन् ।

मेरा पनि आफ्नै आदर्श व्यक्ति छन् । रातदिन खेतबारीमा दसनङ्ग्रा खियाई पसिना बगाएर आफू बाँच्ने र धर्तीलाई समेत बचाउन खाद्यान्न उत्पादन गरी विश्व सेवा गर्ने कृषकलाई आदर्श मानेकी छु । बाँच्न खाना चाहिन्छ । बाँचेपछि बल्ल हामी अरू कुरा गर्न सक्छौँ । जीवन धान्ने आधार तिनै कृषकले दिएका छन् । सोचौँ त, कृषकले खाद्यान्न उत्पादन गरेनन् भने हामी के खाएर बाँच्ने ? त्यसैले कृषकभन्दा अरू आदर्श व्यक्ति मैले कोही भेटिनँ ।

नेपाल कृषि प्रधान देश । हाम्रो कृषि प्रणाली परम्परामुखी छ । कृषि प्रधान देश भएकाले हामीले प्रशस्त खाद्यान्न उत्पादन गरी अरू देशमा निर्यात गर्न सक्नुपर्ने हो । तर, प्रशस्त कृषि उपज आयात गरी बाँचिरहेका छौँ । युगले ल्याएका नयाँ प्रविधि उपयोग गर्न नसक्दा हामी खाद्यान्नमा आत्मनिर्भर छैनौँ । कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । मेरुदण्ड नै कमजोर भएको अवस्थामा शरीर कसरी बलियो होला ?

कृषकभन्दा अरू आदर्श व्यक्ति मैले कोही भेटिनँ । त्यसैले म भबिश्यमा वैज्ञानिक बनेर कृषिमा आधुनिकीकरण ल्याउन पहल गर्नेछु ।  

आफ्नो देशलाई प्रकृतिले जे वरदानस्वरूप उपलब्ध गराएको छ त्यसैलाई भरपुर उपयोग गरी देशलाई समृद्ध बनाउन सक्नु बुद्धिमानी हुन्छ । ‘कृषि प्रधान राष्ट्र’ नेपालको मूल पहिचान भएकाले म पनि यही क्षेत्रमा भविष्य समर्पण गर्न चाहन्छु । त्यसैले सफल कृषि वैज्ञानिक बनेर कृषिमा आधुनिकीकरण ल्याउनु मेरो लक्ष्य हो ।

नेपालको कृषिलाई आधुनिकीकरणतर्फ डोयाउने विज्ञको कमी छ । यद्यपि कृषि वैज्ञानिक बन्नु आफैँमा सजिलो छैन । यसका लागि धेरै मेहेनत गर्नुपर्छ । एसईई पूरा गरे पछि म  कृषिविज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्नेछु । यसमा आफैँ अनुसन्धान गरेर धेरैभन्दा धेरै ज्ञान हासिल गर्ने प्रयत्न गर्नेछु । गाउँगाउँ पुगेर नेपाली कृषकका समस्या केके छन् भनी बुझ्नेछु । उनीहरूलाई कृषिमा आधुनिक प्रविधिको उपयोगबारे प्रशिक्षण दिनेछु । कृषिलाई आधुनिकीकरण गरेर सफल भएका देशका कथा खोजीखोजी अध्ययन गर्नेछु । थोरै जग्गामा धेरै उत्पादन गरेर सफल भएका देशको कृषि नीति अवलम्बन गर्न नेपाल सरकारलाई सुझाव दिनेछु ।

खेतबारीमा काम गर्ने युवा जनशक्ति विदेसिएको छ । त्यसैले हाम्रा धेरै खेतबारी बाँझै छन् । खेती गरिएका केही जग्गामा पनि उत्पादन राम्रो हुन सकिरहेको छैन । त्यसैले खाद्यान्न किन्नमै नेपालीको पैसा सकिएको छ । कृषि प्रधान देशका लागि यो भन्दा दुःखद् कुरा अरू के होला ? मलाई राम्ररी थाहा छ, यस क्षेत्रमा हात हाले पछि मेरो भविष्य चुनौतीपूर्ण बन्नेछ । नेपालको भौगोलिक बनावटका कारण आधुनिक कृषि प्रणाली प्रयोगमा ल्याउन त्यति सहज छैन । हाम्रा नेताहरूको कार्यशैलीमा परिवर्तन ल्याउन धेरै गाह्रो छ । सरकारको इच्छाशक्ति सुदृढ पार्न पनि सजिलौ छैन । तर, काम गर्दै जाँदा सहज हुने विश्वास लिएकी छु । 

आजैदेखि मैले यही क्षेत्रमा भविष्यको जग हाल्ने काम गरिसकेकी छु । फुर्सदका समयमा आधुनिक कृषि प्रणाली सम्बन्धी पुस्तक अध्ययन गर्छु । गुगलमा यसैका बारेमा सामग्री खोजीखोजी पढ्छु । कुन देशमा कस्तो प्रविधि प्रयोग गरेर खेती गरिन्छ भन्ने युट्युबमा हेर्छु । यी सबै कुराले ममा आत्मविश्वास बढाएको छ । 
यसरी सबैको सहयोगमा कृषि वैज्ञानिक बनि देशको मुहार फेर्नेछु ।

प्रकाशित: १४ वैशाख २०७७ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App