३ कार्तिक २०७८ बुधबार
अन्य

सकारात्मक संवेगले ऊर्जा

गोपाल ढकाल
मनोविद्

व्यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो । यो भावनात्मकतासँग सम्बन्धित हुन्छ । संवेग व्यक्तिको अद्वितीय क्षमता हो । संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पुर्‍याउँछ । व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ । संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ ।

रोगको संवेग
कतिपय मानसिक रोग लागेका व्यक्तिले संवेगलाई नियन्त्रण गर्न मुस्किल पर्छ । मेनियाको समस्या भएको व्यक्ति चाँडै उत्तेजित हुने भएकाले यस्तो व्यक्तिलाई आफ्नो संवेग नियन्त्रण गर्न कठिन हुन्छ । सिजोफेनिया जस्तो कडा किसिमको मानसिक रोग लागेका व्यक्तिमा पनि सोच, विचार तथा भावनाको सन्तुलन गर्न कठिन हुन्छ । त्यसैगरि व्यक्तित्वसम्बन्धी समस्या भएका व्यक्तिमा पनि आफ्नो भावनालाई सन्तुलित राख्न मुस्किल पर्छ । ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ जस्तो व्यक्तित्वसम्बन्धी मानसिक समस्या भएका व्यक्तिको भावनाको उतारचढाव हुन्छ । जसले व्यक्तिलाई आवेगात्मक स्थितिमा पुर्‍याउँछ । हिस्टोनिक, इमोस्नली अन्स्टेबलका कारण पनि समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा उपचार विधि अपनाउनुपर्छ । यस्तो भावनात्मक उतारचढावका कारणले गर्दा आफ्नो दैनिक जीवनमा असर गर्ने, सम्बन्ध बिग्रनेजस्ता समस्या भएको अवस्थामा मानसिक रोगको रुपमा बुझेर उपचार विधि अपनाउनुपर्छ ।

सकारात्मक संवेगले ऊर्जा
माया, प्रेम, सुःख, आनन्द सकारात्मक किसिमका संवेग हुन्, भने दुःख, चिन्ता, पीर, रिस, डाहा, इस्र्याजस्ताजस्ता नकारात्मक संवेग हुन् । व्यक्ति खुसी भएको अवस्थामा मस्तिष्कबाट अक्सिटोसिन, डोपामिनजस्ता खुसी दिने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिको सोच, विचार तथा भावनामा सकारात्मक प्रभाव पार्छ । जसले व्यक्तिको सकारात्मक संवेग पैदा हुन्छ । त्यसैगरी रिस, लोभ, डाहाजस्ता नकारात्मक संवेगको पैदा भएको अवस्थामा मस्तिष्कबाट तनाव उत्पन्न हुने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिलाई तनावको स्थितिमा पुर्‍याउँछ ।

व्यक्तिले आफूमा भएका संवेगप्रति सचेत भएर त्यसको सही रूपमा व्यवस्थापन गर्न नसकेको अवस्थामा समस्या निम्तिने जोखिम हुन्छ । सकारात्मक किसिमको संवेगले व्यक्तिको मन शान्त तथा आनन्दित हुन्छ । सकारात्मक संवेगको सोचले व्यक्तिको शारीरिक तथा मानसिक अवस्था पनि तनावरहीत हुने भएकाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा ऊर्जावान् हुन्छ । जसका कारण व्यक्तिको तिक्ष्ण क्षमताको वृद्धि हुन्छ । संवेग सकारात्मक तथा नकारात्मक दुवै विषयसँग सम्बन्धित हुन्छ, भने आवेग नकारात्मकतासँग सम्बन्धित हुन्छ ।

रिस, चिन्ता, इष्र्या, डाहाजस्ता संवेगलाई सहीरूपमा चिन्न र समाधान गर्न नसकिएको अवस्थामा व्यक्तिको भावनात्मक मात्रै हैन शारीरिक क्षमतामा पनि असर पुग्ने जोखिम हुन्छ । व्यक्तिको  सुखद् जीवनका लागि डर, ईष्र्या, घृणा, क्रोधजस्ता नकारात्मक संवेगलाई नियन्त्रण गरेर दया, माया, प्रेम, सद्भाव सहयोगजस्ता सकारात्मक संवेगको वेगलाई बढाउन आवश्यक हुन्छ । व्यक्तिको बौद्धिक क्षमता, विवेक, चेतनाजस्ता विषयलाई जाँच्ने कसी भनेको व्यक्तिको संवेगात्मक व्यवहार नै हो । व्यक्तिको व्यक्तित्व तथा स्वभावलाई उसले अभिव्यक्त गरेको संवेगको आधारमा पनि खुट्याउन सकिन्छ ।  

व्यक्ति मानसिक रूपमा जतिसुकै बौद्धिक भए पनि त्यस्तो बौद्धिक क्षमतालाई स्वस्थ ढंगले व्यवहारमा अभिव्यक्त गर्न नसकेको अवस्थामा व्यक्तिमा नकारात्मक भावनाको पैदा भई तनावको स्तिथि सृजना हुन्छ । त्यसैले व्यक्तिले सकारात्मक संवेगलाई व्यवहारमा पनि उतार्न आवश्यक देखिन्छ ।

संवेगलाई नियन्त्रण तथा सदुपयोग गरेको खण्डमा सफलता हात पार्न सकिन्छ । तर त्यही संवेगलाई नियन्त्रण गर्न नसक्दा संवेग आवेगमा परिणत हुन जान्छ । आवेगले व्यक्तिलाई दुर्घटनाको बाटोमा पुर्‍याउने जोखिम हुन्छ ।

तिरस्कारको जोखिम
दुःख, सुखमा नआत्तिनु संवेगलाई नियन्त्रण गर्ने क्षमता हो । संवेगलाई नियन्त्रण गर्न सक्ने क्षमता भएका व्यक्तिलाई कुशल र बौद्धिक क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छ । यसको विपरीत व्यक्तिको मस्तिष्कबाट उत्पन्न हुने संवेगलाई नियन्त्रण गर्न नसकी झट्ट रिसाइहाल्ने, रिसले चुर हुने व्यक्ति समाजबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था उत्पन्न हुन्छ । संवेग नियन्त्रण गर्न नसक्दा समाज मात्रै हैन पारिवारिक कलहको अवस्था पनि सृजना हुन्छ ।

संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्था यौन जोडीबीचमा पनि खटपट हुने तथा सन्तुलित यौन सम्पर्क नहुने र यौन जोडीबीच मनमुटाव भई सम्बन्ध विच्छेदको जोखिम हुन्छ ।

संवेग नियन्त्रण गर्न जान्नु जीवनको ओखती बन्छ । संवेगलाई नियन्त्रण गर्न नसक्दा समाजमा हत्या, हिंसा, लडाइँ झै–झगडा कुटपिटजस्ता घटना घट्ने जोखिम हुन्छ । आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले आफ्नो जीवनमा धेरै दुःख, आरोप, प्रत्यारोप, घृणा र तिरस्कार भोग्नुपर्ने अवस्था हुन्छ ।

संवेग नियन्त्रण गर्ने उपाय
संवेगलाई नियन्त्रण गर्न नसक्नु मानसिक अस्वस्थताको संकेत पनि हो । उचित शिक्षा र चेतना पाएको अवस्थामा व्यक्तिले संवेग नियन्त्रण गर्न सक्छ । चेतनशील तथा विवेकशील व्यक्तिले संवेगलाई नियन्त्रण गर्न सक्छ । नकारात्मक संवेगलाई नियन्त्रण गरेको खण्डमा व्यक्तिले विपक्षी तथा विरोधीका आरोप तथा आलोचना पनि धैर्य भएर ग्रहण गर्न सक्छ । यस्ता व्यक्ति शालिन पनि हुन्छन् । तर संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले झट्ट प्रतिक्रिया जनाउँछ, यसले कलहको स्थिति सृजना हुन्छ ।

संवेगलाई नियन्त्रण गरी इश्र्या तथा आवेगलाई नियन्त्रण गर्न सकेको खण्डमा त्यसले जीवनमा सकारात्मक परिणाम नै ल्याउँछ । संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ । संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त, सूक्ष्म अवलोकन तथा मूल्यांकन गरी संवेगहरुको प्रकृति तथा स्वरूपका बारेमा व्यक्ति सचेत हुन आवश्यक छ ।

आफ्नो मात्रै हैन अन्य व्यक्तिको रुचि, इच्छा, भावनात्मक अवस्था, मुडलाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सकेको अवस्थामा सफल हुन सकिन्छ । तर संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्थामा असमझदारी, कलह, वैमनस्यता नै हात लाग्छ ।

आफू बाहेकका व्यक्तिकोे मानसिक अवस्थालाई बुझ्न सक्नु ठूलो उपलब्धि हो । कुनै पनि पेशा–व्यवसाय गर्ने व्यक्तिले अन्य व्यक्तिको भावना तथा संवेगलाई बुझेर व्यवहार गर्न सके व्यक्ति पेशा तथा व्यवसायमा सफल हुन सहयोग मिल्छ ।

संवेगात्मक क्षमताको ज्ञान भएका व्यक्तिले सकारात्मक तथा नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्छ । आफ्नो भावना, संवेगात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाडस दिने, आफूले आफैँलाई उत्प्रेरित गर्न सकिन्छ । सकारात्मक सोच राखी उत्प्रेरित भएको अवस्थामा सफलता मिल्छ ।

आफैँले आफ्नो भावना तथा संवेगको मूल्यांकन गर्न सक्नुपर्छ । आफ्नो भावनाको मूल्यांकन गर्न सकेको खण्डमा व्यक्तिलाई सन्तुष्टि मिल्छ । तर आफ्नै भावना चिन्न नसक्दा व्यक्तिलाई सन्तुष्टि मिल्दैन । यसमा व्यक्ति सचेत हुन आवश्यक देखिन्छ । आफ्नो संवेग बुझेको खण्डमा व्यक्तिमा हौसला, उत्साह, समर्पण भाव जाग्छ । जसले व्यक्तिलाई सकारात्मकताको बाटोमा डोर्‍याउँछ ।

व्यक्तिले  संवेगलाई नियन्त्रण गर्न नसक्दा गलत क्रियाकलाप गर्न पुग्छ । लोभ, लालच, चाँडै धनी हुने लालसाका कारण व्यक्तिले चोरी गर्न पुग्छ । त्यसैगरी व्यक्तिले आफूले भनेजस्तो नभएको अवस्थामा अन्य व्यक्तिलाई गाली गर्ने झगडा गर्नेजस्ता व्यवहार देखाउँछ । संवेगलाई नियन्त्रण गर्न नसकेको खण्डमा काम बिग्रँदा, दुःख पर्दा व्यक्ति निराश भएर मद्यपान तथा धूमपानको लतमा फस्ने जोखिम हुन्छ ।

विभिन्न कुराले मानिसलाई उत्तेजित बनाउनु स्वाभाविकै हो । तर सानोतिनो कुरामा पनि ज्यादै उत्तेजित हुनु तथा संवेगहरुलाई नियन्त्रित र व्यवस्थित गर्न नसक्नु भने कमजोरी हो । संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । संवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई मात्र परिपक्व मानिन्छ । परिपक्व मानिस मात्र सुखी हुन सक्छ । सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु संवेग नियन्त्रण गर्ने उपाय हो ।  ध्यान, तपस्याले पनि मन शान्त हुने भएकाले ध्यान नियमित गर्नु आवश्यक हुन्छ । लोभलालसा गर्नु हुन्न ।

संंवेग नियन्त्रण गरे खुसी
सुख, हाँसो, खुसी  भावनासँग सम्बन्धित विषय हुन् । धन, सम्पत्ति हुँदैमा खुसी प्राप्त गर्न सकिन्छ नै भन्ने हुन्न । सधैँ सुखी भएर बाँच्न सक्नु पनि संवेग नियन्त्रणको एउटा राम्रो कला हो । त्यो व्यक्ति मात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने कला हुन्छ ।

मनोविज्ञानको भाषामा भन्नुपर्दा  सुख, दुःख, हाँसो, रोदनआदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्न मात्र सक्छ । सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ । सुखको अनुभूति गर्न सक्ने मान्छे मात्र जीवनमा सुखी हुन्छन् । विभिन्न कुराले व्यक्तिलाई उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु आउँछन् । जसमध्ये एक वातावरणीय प्रभाव पनि हो ।

गौतम बुद्धलाई समेत एक पटक यस्ता संवेगहरुले व्याकुल बनाएको पाइन्छ । वृद्ध–वृद्धा, रोगी, मृत्युभएका मान्छेहरु देखेर उनी दुःखी भए । मानिस कसरी सुखी हुनसक्छ भन्ने कुराको खोजी गर्न एक दिन उनी घर छाडेर जंगल पसे ।

बुद्ध एकान्तमा  बसेर तपस्या गर्न थाले । उनी भोकभोकै तपस्या गर्थे । उनले धेरै वर्षसम्म यसरी नै तपस्या गर्दै गए । भोकै तपस्या गर्दा ज्यादै कमजोर हुँदै गए । तर केही समाधान भेटेनन् । भोक पनि एउटा संवेग हो । भोकको संवेगलाई नियन्त्रण गर्न गाह्रो पर्छ । यस संवेगले गौतम बुद्धलाई पनि सताइरह्यो । उनले कति गर्दा पनि सुखको अनुभूति गर्न सकेनन् । उनले भोकै बसेर तपस्या गर्नु बेकार रहेछ भन्ने थाहा पाएपछि खाना खान थाले । तपस्या गर्ने क्रममा गौतम बुद्धले सबै किसिमका संवेगहरुलाई नियन्त्रण गर्न सिके । बुद्धलाई सुखको अनुभूति हुनथाल्यो । त्यही नै उनको ज्ञान प्राप्ति थियो ।

गौतम बुद्धले सधैँ साँचो बोल्नु, चोरी नगर्नु, लोभी नहुनु, सबै प्राणीमाथि दया गर्नु, शुद्ध आचरण राख्नु, सानो भनेर हेला नगर्नु, ठूलाको आज्ञा पालना गर्नुजस्ता उपदेश दिँदै यी कुराको पालन गरेको खण्डमा मानिस सुखी हुन्छ, भनेका छन् । संवेगलाई नियन्त्रण गर्न नसक्दा नै मानिसले चोरी गर्ने, झुठो बोल्ने, आपराधिक क्रियाकलापमा संलग्न हुन सक्छ । त्यसैले चोरी नगर्नु, झुटो नबोल्नु, लोभी नहुनु, प्राणीको हत्या नगर्नु भनेको पनि संवेगलाई नियन्त्रण गर्नु हो । बुद्धले दिएका उपदेशहरुको आशय पनि यही हो ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

प्रकाशित: ३० चैत्र २०७६ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App