३ कार्तिक २०७८ बुधबार
अन्य

संस्कृतीले सम्पन्न भक्तपुर

साँघुरा गल्लीमा हाकु पटासीमा सजिएका महिलाका निर्दोष मुस्कान । भादगाउँले टोपीमा सजिएर फलैँचामा वात मार्दै गरेका वृद्धका रहरलाग्दो उन्मुक्त हाँसो । प्राचीन पाटीहरूमा बसेर भजन गाइरहेका वृद्धहरू । र, चर्खा चलाउँदै उनीहरूलाई सुनिरहेका वृद्धाहरू ।

कोही छहारीमा बाघचाल खेल्दैछन् त कोही माटाको भाँडा बनाउँदै । ठाउँ–ठाउँमा माटाकै भाँडामा बेच्न राखिएका छन् जुजु धौ अर्थात् भक्तपुरे दही । जात्रा, पर्वै÷पर्व र नाचगानको पर्याय सांस्कृतिक नगरी भक्तपुरको बाहिरी आवरण हो यो । यहाँ आउने पर्यटक मल्लकालीन अद्भूत कलाको अनुपम नमुना ५५ झ्याले दरबार, स्वर्णद्वारलगायत शहरका भित्री भागमा रहेका टौमढी, दत्तात्रय आदि अवलोकन गर्छन् ।

नगरको मूल ढोकाबाट भक्तपुर जति आकर्षक देखिन्छ त्योभन्दा बढी आकर्षक देखिन्छ सर्वसाधारणको ढोकाबाट चियाइने जीवनशैली यस अर्थमा भक्तपुरभित्रको भक्तपुर झनै जीवन्त छ ।

नगरको मूल ढोकाबाट भक्तपुर जति आकर्षक देखिन्छ त्योभन्दा बढी आकर्षक देखिन्छ सर्वसाधारणको ढोकाबाट चियाइने जीवनशैली । यस अर्थमा भक्तपुरभित्रको भक्तपुर झनै जीवन्त छ ।

त्यसैले होला, सर्वसाधारणका घरभित्र छिरेर जीवनशैली नियाल्दै गरेका पनि सर्वत्र भेटिन्छन् यहाँ । कति त जात्रामा सहभागी भएर केही समय यहीँकै जीवनशैली अपनाउन लालायित हुने पनि छन् ।

चार वर्षअगाडिको भूकम्पले सर्वसाधारणका घर भत्कायो तर यहाँको जीवनशैली र संस्कृतिलाई भने छुन पनि सकेन । शायद जरा निकै बलियो भएकाले होला । त्यसैले त भूकम्पले पनि डराएर छाडिदिएका यहाँका पाटीमा हरेक साँझ भजन गुञ्जन्छ । लाग्छ, भाँडा बनाउन घुमिरहेका चक्रले भक्तपुरको गति कति तीव्र छ भन्ने जनाउ दिइरहेका छन् । यी यस्ता कला र संस्कृति हुन् जसले नयाँ पाहुनालाई एउटा मौलिक नगरको आभास गराइरहेका हुन्छन् । त्यो पनि हरक्षण ।

भौतिक सम्पदाभन्दा पनि यहाँका मानिसमा देखिने जीवनशैलीले पर्यटकको ध्यान खिच्ने गरेको छ । यहाँका मूर्ति आकर्षक छन् तर त्योभन्दा राम्रो यहाँका सर्वसाधारणका निश्छल मुस्कान छन् । त्यसैले त ढुंगाको सौन्दर्यमा जीवन्त मुस्कान मिसाएर हेर्न चाहने पर्यटकको भक्तपुरमा सधैँ सधैँ तँछाड् मछाड हुने गर्छ ।

स्थानीयस्तरमै उत्पादित विशेष दही मात्र हैन, माटोका भाँडा तथा ह्यान्डी क्राफ्टका सामग्री, कृषि उपज अनि मठ÷मन्दिरसँगै यहाँका सर्वसाधारणको पृथक जीवनयापन शैली पनि सात समुद्रपारका मानिसलाई तान्ने चुम्बक बनेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र, अन्य कला–संस्कृति र यहाँको मौलिक उत्पादन अनि जीवनशैली त्यस्ता गहना हुन् जसले भक्तपुरलाई जीवन्त बनाइरहने मलमको काम गरेका छन् । भौगोलिक हिसाबले नेपालकै सबभन्दा सानो जिल्ला भइकन पनि प्राचीन वास्तुकला र गौरवमय संस्कृतिको अभूतपूर्व समायोजनले नेपालको मात्र हैन, संसारकै प्रसिद्ध ठाउँमध्ये पुर्‍याएको छ भक्तपुरलाई । त्यसैले त सिङ्गो भक्तपुर नगर नै एउटा सजीव सङ्ग्रहालय लाग्छ । त्यो पनि जो/कोहीलाई ।

भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण जस्ता विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलसँगै नेवारी जीवनशैलीले भक्तपुरलाई सम्पदाको धनी बनाएको छ । त्यसैले त भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष रामसुन्दर भेले परम्परागत सीप, शैली, प्राकृतिक ऋतुसँगै मनाइने विशिष्ट जात्राहरूको उत्सव र त्यससँग जोडिएको जीवनशैलीले पर्यटकलाई मुग्धै पार्ने गरेको अनुभव सुनाएर थाक्दैनन् ।

‘भक्तपुरका हरेक कुना र गल्लीबाट अझै पनि शताब्दीऔँदेखिको परम्परागत आकर्षक दृश्य बाहिर चियाइरहेका हुन्छन् । यस्तो सांस्कृतिक स्पर्श शायदै अन्त मिल्छ । यही त हो जीवन्त भक्तपुर’– जीवन्तता र भक्तपुरको सम्बन्ध खोतल्न खोज्नेलाई उनको जवाफ हुने गर्छ ।

धेरैलाई लाग्ने गर्छ, साँस्कृतिक जात्रा र पर्व मनोरञ्जनका साधन मात्र हुन् । तर भक्तपुरको सन्दर्भमा यो विल्कुल फरक छ । किनकि सांस्कृतिक पर्व भक्तपुरका आत्मा हुन् । ‘यहाँ बाँच्नेहरूका लागि र मर्नेको सम्झनाका लागि पनि जात्रा मनाउने गरिन्छ’, संस्कृतविद् तेजेश्वरबाबु ग्वंगले यसलाई थप प्रस्ट पारे– घण्टाकर्ण चतुर्दशी सुरु भएसँगै यहाँका बूढापाका ‘बाछिया छगु छगु नखा बोइगु’ (हरेक १५ दिनमा एउटा जात्रा) भन्दै रमाउँछन् ।

हाँसोमा होस् या आँसुमा, भक्तपुरले बाँच्दै र साँच्दै आएको समग्र जीवन नै जात्रामय छ । त्यही भएर होला शायद, भक्तपुरले साँस्कृतिक राजधानीको पदवी पाएको । अर्काे अर्थमा भन्दा पीडा र अवरोधका बाबजुद पनि यहाँका बासिन्दा आफ्नो कला÷संस्कृति भुल्न सक्दैनन् । चाहेरै पनि ।

‘दुःख/सुख जे भए पनि जात्रा मनाउँदै छौँ’, भूकम्पले घर भत्केपछि शिविरमा बस्दै आएकी सानुमाया अवालको प्रस्टोक्ति छ– ‘पर्वमा रमाएरै हामीले दुःख भुलेका थियाैं ।’ कतिसम्म भने सन् २०१५ को भूकम्पलगत्तै भग्नावशेषमा पनि जात्रा मनाएको देखेर पर्यटकसमेत अचम्भित बनेका थिए । विपद्मा पनि भक्तपुरवासीले न जात्रा र संस्कृति भुले न त अतिथि सत्कारको सनातनी परम्परा नै ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका शब्द सापटी लिएर भन्ने हो भने भूकम्पपछि जात्रा निरन्तर चल्नु नै यहाँको गौरव बन्यो । नेपाली समाज समस्याका बाबजुद पनि कसरी अगाडि बढ्न सक्छ भन्ने शिक्षा पीडाका माझ पनि यहाँका बासिन्दाले संसारभर दिन सके । भक्तपुर न सुखमा मात्तिन्छ न दुःखमै आत्तिन्छ भन्ने प्रमाण हो यो ।

पाटा उत्साहजनक मात्र छैनन् । चुनौतीका पर्खाल पनि उत्तिकै बलिया छन् । आधुनिकता पछ्याउने नाममा अङ्गालिएका विकृतिले भक्तपुरे वैभवलाई टिकिखान गाह्रो पारिरहेका छन् । ‘चर्खा कात्नेहरूको धागो बिक्न गाह्रो हुँदै गइरहेको छ । माटाका भाडाको प्रयोग घट्दा कुम्हाले पेसा सङ्कटतर्फ अघि बढिरहेको छ । ज्येष्ठ नागरिकले सम्हालेका संस्कृति पुस्तारणमा समस्या देखिएको छ ।

तर पनि भक्तपुर निराश छैन । यहाँको जीवन्ततालाई कायम राख्न नगरपालिकाले हरसम्भव प्रयास गर्दै आएको देखिन्छ । नगरभित्र  सदियौँदेखि लुकेर बसेका मनमोहक जीवनशैलीलाई उजागर गर्ने मात्र हैन,  बदलिँदो परस्थितिमा प्राचीन संस्कृतिको फेरो समातेर कसरी तैरिन सकिन्छ भन्ने पनि सिकाउने गरेको छ ।

खानपिन
एउटा भनाइ छ– खान लाज माने भोकै परिन्छ । यो कुन ठाउँ र परिवेशमा भनिएको हो, थाहा छैन । तर नेवार समुदायको भोजमा भने तपाईं जतिसुकै लाज माने पनि भोकै पर्नुहुन्न । अर्थात् लाज मान्दामान्दै तपाईंको पेट भरिइसक्छ । त्यो पनि थाहै नपाइकन ।

नभरिनु पनि किन ? दर्जनौँ परिकार अनि दर्जनौँ पटक पस्कने नेवारी शैलीले तपाईंभित्रको सङ्कोच चिरेर पेट चाहिँ भरिदिन्छ । झो भ्वे (नेवारी भोज) यही कारण अचेल त रेस्टुरेन्टका मेनुसमेत बन्न थालेका छन् । यसबाट पनि थाहा हुन्छ कि भक्तपुरमा बाहुल्यता रहेका नेवार समुदायको खानाको कति महत्व छ भन्ने । यो खानपिनको थप विशेषता संस्कृतिविद् ओम धौभडेलको शब्दमा यस्तो छ– अतिथि सत्कार गर्ने नेवार प्रचलनमा जतिसुकै सङ्कोच मान्ने पनि अघाएरै जान्छ । थपौँ थपौँ भनेर सोधिरहनेले पेटका कुनै पनि कुना खाली राख्ने अवसर नै उपलब्ध गराउँदैन ।

अन्न बन्छ कला
भोकाएको मानिसलाई चन्द्रमा देखाएर कविता लेखाउँदा रोटी लेखे रे । अघाएको मानिसलाई रोटी दिए के लेख्लान् ? आकाशमा धेरैले ठूलो एकादशी ठानिने हरिबोधनी एकादशीको ५ दिनपछिको पूर्णिमा ‘चन्द्रमा’ नियाल्दै गर्दा भक्तपुरका किसान भने मठ/मन्दिरअगाडि चन्द्रमाजस्तै चम्किला  अन्नका कलाकृति पस्कन्छन् । भर्खरै भकारीमा धान भित्र्याएका यहाँका किसानले भुटेको अन्नद्वारा मठ/मन्दिर र भगवान्का विभिन्न आकृति कोर्दा पूर्णिमाको रात आकास मात्र होइन, जमिन पनि झिलिमिली बन्छ । यो चित्रकलाले यहाँका प्राचीन वैभव झल्काउन मद्दत गर्छन्।

इटलीको लुक्काबाट घुम्न आएकी कार्ला रोतान्दुले भक्तपुरमा बारा र पकौडाको स्वाद चाखिन् । ‘पिरो र मसलेदार भए पनि मीठो छ’, पिज्जाको शहरबाट आएकी उनले थपिन्– ‘पहिलोपटक यस्तो स्वादको अनुभव गर्दैछु ।’ यसैबाट पनि थाहा हुन्छ कि यहाँको खानाको टिपिकल विशेषता ।

दही पर्यटन
२०७३ पुसमा भक्तपुर घुम्न आएका चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुखलाई नेपाल मजदुर किसान पार्टीका तत्कालीन सभासद प्रेम सुवालले सगुनको रूपमा दहीको कतारो दिँदै फेरि भक्तपुर भ्रमणमा आउन निम्तो दिए ।

चिनियाँले मात्र होइन, विश्वभरका पर्यटकले त्यो निम्तो स्वीकारे जस्तो देखिन्छ । भक्तपुरवासीले सगुन र शुभ सङ्केतका रूपमा लिन्छन् जुजु धौलाई । दही मन पराउने पर्यटकमा चिनियाँ पहिलो स्थानमा छन् भने भारतीय दोस्रोमा । हाडा कोल्ड स्टोरका अनुज हाडा पर्यटक दही खाने मात्र नभई सेल्फी खिच्ने र सोसल मिडियामा पोस्टसमेत गर्ने भएकाले ‘दही पर्यटन’ फस्टाएको अनुभव व्यक्त गर्छन् । त्यसैले होला, विश्व प्रसिद्ध गाइड बुक ‘लोन्ली प्लानेट’ ले पनि जुजु धौको उल्लेख गर्न भ्याएको ।

संस्कृतिविद् ओम धौभडेल लिच्छविकालदेखि नै जुजु धौै बन्न थालेको र मल्लकालमा लोकप्रिय भएको इतिहास सुनाउँछन् । ‘जुजु धौै कसले राम्रो बनाउने भनेर प्रतिस्पर्धा समेत हुने गरेको र कतिपयले त टोकरीमा समेत दही जमाउँथे भन्ने किंवदन्ती छ’– यो दही कतिसम्म बाक्लो हुन्छ भन्ने प्रस्ट पार्न थप सुनाउँछन् धौभडेल ।

यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको संस्कृतविद् तेजेश्वरबाबु ग्वंग सुनाउँछन्– ‘कतै कथा जोडिएका छन्, कतै इतिहास । अनि यहाँको जीवन नै जात्रासँग जोडिएको छ ।’ लिङ्गो ठड्याउने प्रसिद्ध बिस्केट जात्राको उदाहरण दिँदै उनी थप्छन्– यति रमाइलो जात्रा अन्त कतै छैन । लिङ्गो ठडाउँदा पनि खुसी, ढल्दा पनि खुसी ।

सँगै जात्रा मनाउँछन् भगवान् र मनुष्य
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरमा देवता र मानिस सँगसँगै जात्रा मनाउने सुनाउँछन् । नवदुर्गा नाचको वर्णन गर्दै मुखुण्डो लगाएका देवआकृति सँगै शहर जात्रामा डुब्ने उनले सुुनाए । नवदुर्गा नाचका पात्रहरूले मानिसको जन्म, जीवन र मृत्युको सन्देश दिने सुनाउँदै थपे– जात्रा अन्त्य हुँदा सर्वसाधारण रुन्छन्, यसैबाट बुझिन्छ कि जात्रा जीवनसँग कसरी जोडिएको छ भन्ने ।

लोभलाग्दो युवा मोह
भक्तपुरमा कुनै दिन यस्तो हुँदैन जुन दिन कतै न कतै केही न केही जात्रा नभएको होस् । तर यस्ता जात्रामा बूढापाकाको रुचि घट्दो छ । यो स्वाभाविक पनि हो । जसले जात्राप्रेमीलाई चिन्तित बनाउनु पथ्र्यो तर भक्तपुरमा यो चिन्ता देखिन्न । कारण– युवा सहभागिता भने बढ्दो छ । कला संस्कृतिप्रति उनीहरूमा देखिएको मोहले भक्तपुरलाई भक्तपुर नै बनाइराख्न सघाउने निश्चित छ । जसले भक्तपुरको वैभव मात्र जोगाउँदैन, तिनै युवाको भविष्य पनि सुनौलो हुन्छ । जात्रालाई भनेर टोल–टोलमा धिमे बजाउने अभ्यास, रथको डोरी तान्न र बिन्दासतवरले सहभागी हुन युवाहरूले देखाएका रुचि आशलाग्दा छन् । मानौँ उनीहरू रथको डोरी मात्रै हैन, सँगै संस्कृति पनि तानिरहेका छन् ।

धार्मिक सद्भाव
सवेरा बुद्ध धर्मावलम्बी हुन् । तर उनलाई धेरै मन पर्ने भने हिन्दू देवी महाकाली । गाईजात्राको अवसरमा आयोजित देवी नाचमा महाकालीको भूमिका निभाएकी यिनै सवेरा महिलातर्फ उत्कृष्ट कलाकारसमेत घोषित भइन् ।

यसबाट पनि थाहा हुन्छ कि भक्तपुरमा बुद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीबीच सदियौँदेखि एकअर्काप्रति अगाध स्नेह छ । एकै ठाउँमा मिलेर बसेका मन्दिर र चैत्यले आपसी भाइचाराको सन्देश प्रवाह गरिरहेको भान हुन्छ । अन्य धार्मिक सम्प्रदायबीच पनि उत्तिकै मिलाप छ ।

शाक्य कुलकी छोरीलाई कुमारी मानेर पुज्ने चलनदेखि चैत्यको किनारमा गणेशका मूर्तिसमेत भेटिन्छन् । ‘पञ्चदानमा हिँडाइने बुद्धका पाँच आकृतिलाई हिन्दू समुदायले पाण्डवका रूपमा मानेर पुज्ने प्रचलनबाटै थाहा हुन्छ कि यहाँको धार्मिक सहिष्णुता कति प्रगाढ छ भन्ने । एउटै आकृतिलाई दुवैले आ–आफ्नै तवरले पुज्ने यो धार्मिक शैली अन्यत्र कहाँ होला र ?

उस्तै सर्वसाधारण
सर्वसाधारणमा पनि विज्ञान र अध्यात्मको यस्तै अन्तर्सम्बन्ध देखिन्छ । उदाहरण हुन्  भक्तपुर तलेजु मन्दिरका पुजारी प्रा. डा. शिद्धिवीर कर्माचार्य ।

उनको बिहान नित्य पूजाबाट सुरु हुन्छ । दिन विज्ञान अध्ययन÷अध्यापनमा बित्छ । साँझ आरतीमा रमाउँछ । उनको जीवन आधुनिक विज्ञान र अध्यात्मको उत्कृष्ट संयोजनको प्रमाण हो । जुन यात्रामा उनी रमाएका पनि छन् । विज्ञानले अध्यात्मसँग जोड्ने अनि अध्यात्मले वैज्ञानिक ढङ्गले सोच्न सहयोग पुर्‍याउने उनको बुझाइ साँच्चै अनुशरणात्मक लाग्छ ।

नेवार समुदायको बाहुल्य भएको यस नगरमा गैरनेवारले पनि नेवारी संस्कृति प्रवद्र्धनमा योगदान पुर्‍याएको छर्लङ्गै देखिन्छ । मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षण हो । तर जात्राको मुख्य पात्र बन्न कोही रुचाउँदैनन् । अरुले मन नपराउने यही भूमिका यहाँ एक गैरनेवारले निर्वाह गर्दै आएका छन् । रामेछाप, गुम्देलका ७० वर्षीय मकरबहादुर भुजेल मुपात्र बन्दै डेढ दशकदेखि नेवार संस्कृतिको निरन्तरतामा सहयोगमा सामेल छन् । यस्ता मेल धेरै देखिन्छन् यो नगरीमा जसले बेमेललाई पाखा लगाएको छ । ‘नेवारी संस्कृतिमा यो पात्र बन्नुलाई राम्रो मानिँदो रहेनछ त्यसैले मैले यो भूमिकामा सघाएको हुँ’– कस्तो राम्रो सोच।

त्यसो त कतिपय समयमा भक्तपुरवासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण (जङ्को) मा सहभागी भएर विदेशी पर्यटक रमाएको पनि आफ्नै आँखाले मज्जाले देख्न पाएका छन् । जर्मनीको ब्रेमन शहरबाट २२ आफन्तसहित भक्तपुर आएका ७७ वर्षीय पिटर हेस परम्परागत नेवारी पहिरनमा सजिएर पत्नी एमेलीसँगै भीमरथारोहणमा सहभागी भएका थिए । यो त एउटा उदाहरण मात्र हो ।  

रात पर्दैन भक्तपुरमा
भक्तपुर यति चलायमान छ कि यसले विभिन्न प्रहरमा आफ्नो स्वरूप फेरिरहन्छ । बिहान घामको किरणसँगै उज्यालिने भक्तपुर दिउँसो देश÷परदेशका पाहुनासँगै झिलमिलिन्छ । धरैलाई लाग्दो हो, अनि साँझको आरतीसँगै यो पनि सुत्छ । तर हैन, त्यही आरतीको दियोसँगै यो झन् जाग्राम हुन्छ । पूर्वनिर्धारित होस् या पारम्परिक, आफ्नैखाले विविधताले रात परेपछि पनि आफ्नो कर्ममा खटिइरहेकै हुन्छ भक्तपुर ।

बिहान मिर्मिरेमै खर्पन बोकेर आफ्नो कर्म थलो खेत÷बारीमा पुग्ने किसान साँझसम्म उतै रहन्छन् । जब उनीहरू फर्कन्छन् तब सुरु हुन्छ भक्तपुरको नयाँ रौनक । अर्थात् साँझ परेपछि सुरु हुन्छ किसानको परम्परा, चाहे त्यो जात्रा होस् वा अरु कुनै पर्व ।

त्यसो त नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र भक्तपुरको पर्यटनलाई बढावा दिने उद्देश्यका साथ भक्तपुरमा नगरपालिकाको पहलमा सन्ध्याकालीन सम्पदा क्षेत्र पदयात्रा पनि थालनी गरिएको छ ।

प्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई साँस्कृतिक स्वागत गरेको छ । राजा जितामित्र मल्लले तलेजु भवानीलाई चढाएको ऐतिहासिक नगरा र बडेमानको घण्टा पुण्यराम थिमी र हरेराम थिमीले बजाएसँगै सांस्कृतिक नगर संसारभरका पर्यटकलाई स्वागत गर्न आतुर रहेको नगरप्रमुख सुनिल प्रजापतिले उद्घोष गरे ।

हामी पनि आशा गरौँ– नगराको ध्वनिले निदाएकालाई मात्र हैन, निदाएको बहाना गर्नेलाई पनि पक्कै ब्युँझाउनेछ, भक्तपुर जानका लागि ।   

प्रकाशित: ३० चैत्र २०७६ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App