२४ श्रावण २०७७ शनिबार
अन्य

दुबईको कमाइबाट ब्युटिपार्लर

बनेपा - मंगलबार बिहान प्रभा श्रेष्ठ बनेपा भीमसेनथानस्थित आफ्नो ब्युटिपार्लरमा व्यस्त थिइन्। ग्राहकको ‘हेयर ट्रिटमेन्ट’ सकेपछि उनले कुराकानीका लागि समय निकालिन्। दुई वर्षयता उनी ‘न्यु लुक ब्युटिपार्लर एन्ड कस्मेटिक सेन्टर’मा व्यस्त हुँदै आएकी छन्। उनले यो ब्युटिपार्लर वैदेशिक रोजगारीबाट कमाएको पैसाले खोलेकी हुन्। सन् २०१४ मा प्रभा घुमघामका लागि दुबई पुगेकी थिइन्। त्यतिबेला उनका श्रीमान् (मोहनकुमार श्रेष्ठ) दुबईमा जागिरे थिए। केही समय दुबईमा बिताएर नेपाल फर्कने उनको योजना थियो। योजनाअनुसार नै घुमघाम गरेर उनी नेपाल फर्कने तयारीमा थिइन्, त्यहीबेला उनलाई रोजगारीको अवसर मिल्यो। उनले श्रीमान्सँग सल्लाह गरेर ‘भिजिट भिसा’लाई ‘रेजिडेन्स भिसा’मा बदलिन्। उनी भन्छिन्, ‘संयोगले जागिरको अवसर जुट्यो, मौका गुमाउन मन लागेन।’

नेपालबाट स्नातक गरेकी उनले दुबईको रिलाएबल कनेक्सन कम्पनीमा एयर टिकेटिङमा काम पाएकी थिइन्। ‘काम सजिलै भए पनि चाप धेरै थियो,’ उनी भन्छिन्, ‘विदेशमा नेपालमा जस्तो एउटा मात्र काम गरेर नहुँदो रहेछ।’ कामको कन्ट्र्याक्ट आठ घन्टा भए पनि उनले त्यहाँ १० घन्टा काम गर्नुपथ्र्यो। त्यसमाथि अत्यधिक गर्मी। ‘भित्र बस्दा चिसो र बाहिर ५५ डिग्रीको तालु पोल्ने गर्मी हुन्थ्यो,’ उनी परदेश सम्झिँदै भन्छिन्, ‘गर्मीले तालुको पसिना पैतालासम्म पुग्थ्यो। त्यहाँ एक ठाउँबाट अर्को ठाउँ आउजाउ गर्दा धेरै नेपाली बिरामी पर्थे।’ बिरामी हुनुको कारण हो– मौसमको फेरबदल। चिसोचिसो मौसममा हुर्किएका नेपाली प्रचण्ड गर्मीमा समायोजन हुन धेरै समय लाग्थ्यो। कति मौसममा भिज्न सक्थे, कति सक्दैनथे।

‘सानातिना उद्यम गर्न लजाउने नेपाली प्रवृत्ति मलाई मन पर्दैन। काम सानो–ठूलो हुँदैन। ब्युटिसियनको सीप सिक्ने बेलामा धेरैले मलाई हतोत्साहित पार्न खोजेका थिए। धेरैले भनेका थिए– विदेश गएर त्यस्तो राम्रो काम गरेकीले किन यो काम गर्नू ?’
 

तर, उनी दुबईको वातावरणमा सजिलै भिज्दै गइन्। उनमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएन। उनको काम थियो– तीन दिन टिकेटिङ र तीन दिन प्याकेजिङ गर्नु। उनी तनमनसाथ काम गर्थिन्, हरबखत सोच्थिन्– कस्टुमर खुसी हुनुपर्छ। उनी कस्टुमरलाई गुणस्तरीय सेवा दिन खुबै दत्तचित्त भएर लाग्थिन्। ‘राम्रो काम पाएकामा आफूलाई भाग्यमानी ठानेँ, किनकि धेरै नेपाली दाजुभाइ दिदीबहिनीले दुःख पाएका छन्,’ उनी भन्छिन्, ‘धेरै नेपाली महिलाले दुःख पाएको मैले नै देखेँ।’

गर्भ र सन्तानबीच जागिर
दुई वर्ष काम गरेपछि उनले नेपाल फर्किने सोच बनाइन्। सन् २०१६ मा नेपाल फर्किंदा उनी सात महिनाकी गर्भवती थिइन्। श्रीमान्–श्रीमतीबीचको सल्लाहअनुसारै उनी नेपाल फर्किएकी थिइन्। उनी भन्छिन्, ‘आमा र बच्चाको स्याहारसुसारकै लागि नेपाल आउन कर लाग्यो।’ घर (काभ्रेको भकुण्डे) फर्केर उनले छोरालाई जन्म दिइन्। एक वर्षसम्म परिवारको स्याहारसुसारमा रहेपछि उनले फेरि कुनै काम गर्ने सोच बनाइन्। त्यही बेला उनले सूचना पाइन्– घरेलु उद्योगमा सहायक पदको जागिर खुलेको। जागिरका लागि परीक्षा दिनुपथ्र्यो, उनले घरमै बसेर तयारी गरिन् र नाम निकालिन्। त्यसपछि उनी नयाँ उमंगसहित जागिरमा लागिन्, सानो छोरालाई आमाबुबाको जिम्मामा छाडेर। त्यतिबेला उनी माइती (बनेपा भीमसेनथान)मा बस्थिन्। कार्यालयमा काम गरिरहेका बेला उनलाई सानो छोराको चिन्ता हुन्थ्यो– भोकायो, रोयो कि ! यता, आमाबुबालाई पनि सानो छोराको स्याहार गर्न हम्मे हुन्थ्यो, त्यसैले उनले जागिर छाडिन्। त्यसपछि उनको दैनिकी छोराको स्याहारमा बित्न थाल्यो।

आफ्नै काम
छोरा हुर्कंदै थिए, उनलाई कुनै सीप सिक्नुपर्छ भन्ने लाग्यो। त्यसपछि उनी तीनमहिने ब्युटिसियन तालिममा सहभागी भइन्। उनी भन्छिन्, ‘तालिम लिएपछि धेरै मानिससँग चिनजान भयो। उहाँहरूले व्यावसायिक रूपमा अगाडि बढ्न हौसला दिनुभयो र स्वउद्यम गर्न जाँगर पलायो।’ सीप सिकेपछि उनले आफ्नै ब्युटिपार्लर खोलिन्। ब्युटिपार्लरको लगानीका लागि उनीसँग  विदेशको कमाइ छँदै थियो। हातमा सीप र लगानी भए काम खोज्दै भौँतारिनुपर्दैन। ब्युटिपार्लरबाट उनलाई आम्दानी हुन थाल्यो। उनीसँग एउटा गुनासो छ, नेपालमा क्षमताअनुसारको काम पाइँदैन। उनले शिक्षित तथा दक्ष नेपाली बिदेसिन बाध्य हुने गरेको उनले सुनाइन्। उनी भन्छिन्, ‘सानातिना उद्यम गर्न लजाउने नेपाली प्रवृत्ति मलाई मन पर्दैन। काम सानो–ठूलो हुँदैन। ब्युटिसियनको सीप सिक्ने बेलामा धेरैले मलाई हतोत्साहित पार्न खोजेका थिए। धेरैले भनेका थिए– विदेश गएर त्यस्तो राम्रो काम गरेकीले किन यो काम गर्नू ?’ उनले सबैका सल्लाह सुनिन्, तर निर्णय आफ्नै गरिन्। अहिले उनी आफ्नै ब्युटिपार्लरमा रमाइरहेकी छन्।

प्रकाशित: २४ फाल्गुन २०७६ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App