शाश्वतप्रसाद लाकोजू,
कक्षा –९,
सूर्याेदय माध्यमिक बोर्डिङ स्कूल, पनौती, काभ्रे।
सूर्याेदय माध्यमिक बोर्डिङ स्कूल पनौतीको निजी क्षेत्रबाट संचालित पहिलो विद्यालय हो। म यसै विद्यालयमा ९ कक्षामा पढ्छु। फागुन महिनामा मेरो विद्यालयको वार्षिकोत्सव पर्दछ। उक्त दिन विविध कार्यक्रम गरी मनाउने गरिन्छ। विसं २०४० सालमा स्थापना भएको यस विद्यालयको वार्षिकोसव हालै सम्पन्न भएको छ।
त्यस दिन म बिहानै उठें। छात्रतर्फबाट विद्यालयबारे बोल्ने अवसर मलाई दिइएको थियो। मलाई कसरी राम्रो बोल्ने भन्ने लागिरहेको थियोे। त्यसैले केही समय घरमै बसेर अभ्यास गरें। त्यसपछि खाना खाई विद्यालय गएँ। विद्यालयमा पुग्दा धेरै साथी आइसकेका रहेछन्। साथीहरू मञ्च सजावटमा लागेका रहेछन्। सुन्दर सजावट देखेर म प्रफुल्ल भएँ। केही समयमै विद्यालयको वार्षिकोत्सवमा भाग लिन आउने विद्यार्थी, अभिभावक र अतिथिहरूको भीड लाग्यो। केहीबेरमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिविक्रम कर्माचार्यको सभापतित्वमा कार्यक्रमले औपचारिक रूप लियो।
पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा प्रमुख अतिथि र पनौती नगरका शिक्षाशाखा प्रमुख मधुसूदन अधिकारी विशेष अतिथि हुनुहुन्थ्यो।लोकगायक मच्छेश्वर सापकोटा, पत्रकार महासंघ काभ्रेका सभापति मोतिराम तिमल्सिना, साहित्यकार धु्रवकृष्ण ताम्राकार, जनप्रतिनिधि पुरुषोत्तम कर्माचार्य, रिता कार्की बस्नेत र प्रल्हाद शर्मा हुमागाई अतिथिको रूपमा निम्त्याइएको थियो। हाम्रो विद्यालयका प्रिन्सिपल सूर्यप्रसाद लाकोजूले उपस्थित सम्पूर्ण अतिथि र अभिभावकलाई स्वागत गर्नुभएको थियो। उहाँले सोही क्रममा सूर्योदय स्कुल गुणात्मक शिक्षा दिन प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै प्रमुख अतिथि गीता बन्जाराले स्कूलले गुणस्तरीय शिक्षा दिई शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो। त्यस्तै पनौती नगरपालिकाका शिक्षा शाखा प्रमुख मधुसूदन अधिकारी, पुरुषोत्तम कर्माचार्य र रिता बस्नेतले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नेपालकै ख्यातिप्राप्त लोकगायक मच्छेश्वर सापकोटाले मीठो गीत सुनाउनुभयो। उहाँको गीतले निकै आनन्द दिलाएको थियो। त्यस्तै कक्षा ८, ९ र १० का साथीहरूले बाँसुरीको विशेष प्रदर्शन गरेका थिए। बाँसुरीको प्रस्तुति पनि हेर्नलायक थियो। लाखे नाचसहितको सांस्कृतिक झाँकी पनि देखाइएको थियो। यो झाँकी विशेष आकर्षक थियो। यसको साथै कक्षा एलकेजी, युकेजी र १ का भाइबहिनीहरूको नृत्य झन् लोभलाग्दो थियो। कार्यक्रम १४ वटा जति नृत्य देखाइएको थियो। ती सबै नृत्य राम्रा थिए। कार्यक्रममा तीन ओटा नाटक देखाइएका थिए। छोरीलाई शिक्षा, जातीय भेदभाव र टीका शीर्षकका तीनओटै नाटक निकै राम्रा र सन्देशमूलक थिए।
वार्षिक उत्सवकै अवसर पारेर छात्रवृत्ति प्रदान गर्ने शिक्षासेवी अच्युतप्रसाद भट्टराई, जमुना ताम्राकार र तुलसीदास श्रेष्ठलाई दोसल्ला ओढाई सम्मानपत्र, फूलमाला र टीकाका साथ सम्मान गरिएको थियो। त्यस्तै विद्यालयको छत्तीसौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो। कार्यक्रमको बीचैमा मलाई विद्यालयबारे बोल्न मञ्चमा बोलाइयो। कस्तो बोल्छु होला भन्ने लागिरहेका थियो। मञ्चबाट फर्किएपछि साथीहरूले राम्रो बोल्यौ भनेर बधाई दिएपछि म ढुक्क भएँ।
हाम्रो विद्यालयले २०७५ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट सुभेस धाँजूलाई नगद ५ हजारसहित सम्मान गरेको थियो। त्यस्तै एसइई परीक्षामा ए प्लस ल्याउने सम्पूर्ण विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद चार हजारसहित सम्मान गरेको थियो। मेरो विद्यालयले विद्यार्थीको प्रोत्साहनका लागि समयसमयमा विभिन्न योजनाहरू ल्याउने गरेको छ। कार्यक्रमका सभापति त्रिविक्रम कर्माचार्यले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो। त्यसपछि जलपान गरेर सबै आआफ्ना घरतर्फ लागे। म पनि घर गएँ। तर, मन भने वार्षिक उत्सवकै वरपर घुमिरहेको छ।
प्रकाशित: १७ फाल्गुन २०७६ ०२:२७ शनिबार





