१९ श्रावण २०७७ सोमबार
अन्य

उत्कृष्ट दर्जन होम स्टे

मुलुकभित्र होम स्टे सुविधा भएका सयौं गाउँ छन् । होम स्टेमा पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको सुवास पाइन्छ । आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण होम स्टेमा पर्यटकको आकर्षण बढ्दै छ । त्यहाँ सामान्यतः आठ सयदेखि पन्ध्र सय रुपैयाँको एक राते प्याकेज पाइन्छ । प्याकेजमा ब्रेकफास्ट, लन्च, डिनर र बेड सुविधा हुन्छ ।

१. सिरुबारी
ग्रामीण पर्यटनको नमुना गन्तव्य होे–सिरुबारी (१,६१० मिटर) । आँधिखोला गाउँपालिका–१ स्याङ्जामा अवस्थित गाउँमा गुरुङका ३९ घर छन् । गुरुङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि सिरुबारी । गाउँमा गुम्बा, गुरुङ सङ्ग्रहालय, जंगल, क्याप्टेन रुद्रमान गुरुङको जन्मघरलगायत सम्पदा छन् । गाउँ मास्तिरको गोरुजुरे डाँडाबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्ररे र लमजुङ हिमाल देखन्छ ।

नेपालमै पहिलोपटक विसं २०५४ मा सिरुबारीमा क्याप्टेन रुद्रमानको परिकल्पना एवं अगुवाइमा होम स्टे शुभारम्भ गरिएको थियो । अहिले गाउँका १७ घरमा पाहुना राखिन्छ ।

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि, बसमा ६ घण्टा । काठमाडौं–पोखरा हवाई यात्रा २५ मिनेट । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि । पोखराको पृथ्वीचोकबाट सिरुबारी जाने बस छुट्छन् ।  
सम्पर्क  : जुम गुरुङ–९८४६१५९३८८

२. घलेगाउँ
हिमालको उज्यालोमा झलमल्ल छ घलेगाउँ । गाउँबाट अन्नपूर्ण, माछापुच्छे«, लमजुङदेखि मनास्लु हिमाल देखिन्छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा १२५ घर छन् । गुरुङका ८० र दलितका ४५ घर । गाउँमा उत्तरकन्या मन्दिर, चिया बगान, भ्यू टावर, क्होइबो, गुरुङ संग्रहालय आदि सम्पदा छन् । त्यहाँका ३२ घरमा होम स्टे सुविधा छ । दुई घर दलितका हुन् भने बाँकी ३० घर गुरुङका । गाउँमा होटल र रेष्टुराँ पनि छन् । साँझ पाहुनाको डिमाण्ड अनुसार सांस्कृतिक कार्यक्रम देखाइन्छ ।

कसरी पुग्ने : काठमाडौं–बेशिसहर १७२ किमि, बसमा ५ घण्टा । बेशिसहर–घलेगाउँ २४ किमि जिपमा । बेशीसहरबाट हिँडेर जाँदा ६ घण्टा । सम्पर्क : प्रेम घले–९८५६०४५०१२

३. ताङतिङ
मादी गाउँपालिका–२ कास्कीमा पर्ने ताङतिङ (१,६६५ मिटर) गुरुङ बस्ती हो । ताङतिङ गाउँको पारिपट्टि सिक्लेसको शिरमा अन्नपूर्ण र लमजुङ हिम शृङखला देखिन्छ । ताङतिङमा गाउँमा दुई सय घर छन् । ताङतिङमा रमणीय डाँडा, बोन गुम्बा कोइवा धिँ र बौद्धगुम्बा छन् । गाउँमा ५ वटा होटल छन् भने १४ घरमा होम स्टे सुविधा छ । त्यहाँ सांस्कृतिक कार्यक्रममा घाटु, झ्याउरे, सोरठी र ठेटर नाच देखाइन्छ । गाउँबाट मह, भाँग्रा, गेडागुडी र सागसब्जी कोसेली ल्याउन पाइन्छ ।

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि, बसमा ६ घण्टा । अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा । पोखरा–ताङतिङ २१ किमि । पोखराको काहुँखोलाबाट बिहान ८ र अपराह्न ४ बजे बस छुट्छन् । सम्पर्क : प्रकाश गुरुङ–९८५६०२८८२७

४. भादा
कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा थारू समुदायका दुई सय घर छन् । थारू जीवनशैलीका लागि प्रख्यात गाउँमा घुम्नका लागि गणेश सामुदायिक वन, जोगिन्या ताल, बेहडाबाबा मन्दिर, रामेश्वर मन्दिर, सहदेवा ताललगायत सम्पदा छन् । गाउँमा विसं २०६७ पुसदेखि होम स्टे शुभारम्भ गरिएकोमा अचेल १९ घरमा पाहुना राखिन्छ । पाहुनालाई गोरु गाडा वा साइकलमा गाउँ घुमाइन्छ । गाउँलेहरू सखिया, झुमरा, मघौटा, लठौहवा, बैठक्की, मुंग्रहुवा र गुरुवा नाच देखाउँछन् । र थारू परिकार खुवाउँछन् ।

कसरी पुग्ने : काठमाडौं–धनगढी ६८० किमि । अथवा काठमाडौं–धनगढी १ घण्टा १० मिनेट हवाई यात्रा । धनगढीबाट बेली हुँदै भादा १७ किलोमिटर । पूर्व–पश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिल चौराहाबाट १२ किमि ।    
सम्पर्क : लक्ष्मीनारायण चौधरी–९७४९०२८००४  

५. अमलटारी
अमलटारी वाइल्ड लाइफ डेस्टिनेसन हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१५ अमलटारीमा थारू, बोटे र मुसहर जातिको बसोबास छ । गाउँमा बसेर सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, जंगलमा बर्ड वाचिङ गर्न सकिन्छ । गाउँमा केही रिसोर्ट छन् । विसं २०७० जेठ ५ देखि त्यहाँ होम स्टे सुरु गरिएकोमा हाल थारूका २२ र बोटेका ९ गरी ३१ घरमा पाहुना राखिन्छ । साँझ सामुदायिक भवनमा चौधरी र बोटे समुदायको नाच देखाइन्छ ।

कसरी पुग्ने : काठमाडौं–अमलटारी १८५ किमि । काठमाडौंबाट लुम्बिनी जाने बसमा कावासोती पर्तिर डन्डा बजारसम्म जाने । डन्डा बजारबाट ६ किमिमा अमलटारी ।  
सम्पर्क –धनिराम बुरौं–९८०२६३७८११

६. ठिनी
जोमसोम बजारको दक्षिणपट्टि छ ठिनी गाउँ । घरपझोङ गाउँपालिका–५ मुस्ताङमा पर्ने ठिनी (२,८६२ मिटर) मा थकालीका सय घर छन् । गाउँमा निलगिरि हिमाल, हिउँचितुवा गुफा, ढुम्बा ताल, वोन गुम्बा, कुछब तेरङा गुम्बा, घरपझोङ किल्ला, स्याउ बगान, यारुझु भ्यू प्वाइन्ट, थकाली संग्रहालय आदि छन् । ठिनीमा मुलुककै पहिलो थकाली सामुदायिक होम स्टे खुलेको छ–विसं २०७४ वैशाखदेखि । गाउँमा केही होटल छन् भने १२ घरमा होम स्टे सुविधा छ ।  

कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घण्टा । बेनी–जोमसोम ७५ किमि, बसमा ६ घण्टा । अथवा पोखरा–जोमसोम हवाई यात्रा १८ मिनेट । जोमसोम–ठिनी २ किमि । ठिनीसम्मै मोटर बाटो छ ।   सम्पर्क : जुमा थकाली–९८५७६५०६००

७. शुक्लाफाँटा
बाह्रसिंगाका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रख्यात छ जहाँ २५ सय बाह्रसिंगा छन् । त्यसबाहेक निकुञ्जमा अरु थुप्रै जनाबर र सयौं थरि चरा बस्छन् । निकुञ्ज वरपर सिद्धबाबा मन्दिर, महाकाली पुल, बेतकोट र झिलमिला ताल, टनकपुर बाँधलगायत सम्पदा छन् ।  शुक्लाफाँटा नजिकै केही होटल छन् । निकुञ्जको प्रवेशद्वार नजिकै राना थारू समुदायको बस्ती छ । त्यहाँका ८ घरमा होम स्टे सुविधा छ । त्यहाँ थारू परिकारको स्वाद र संस्कृति अवलोकन गर्न पाइन्छ ।   

कसरी पुग्ने : काठमाडौं–महेन्द्रनगर ७०० किमि, बसमा १२ घण्टा । अथवा काठमाडौं–धनगढी १ घण्टा १० मिनेट हवाई उडान । धनगढी–महेन्द्रनगर बसमा १ घण्टा । महेन्द्रनगर–होम स्टे ७ किमि ।  
सम्पर्क : चेतराम राना–९८४८७०५४४७

८. नाम्जे
अमेरिकी समाचार संस्था सिएनएनले ०६८ सालमा विश्वका घुम्नै पर्ने १२ वटा गाउँको सूचीमा नाम्जेलाई समावेश गरेको थियो । त्यही बेलादेखि धनकुटाको नाम्जे चर्चामा आएको हो । मगर संस्कृति र त्यहाँ बनाइएको आत्मा बस्ने घर प्रमुख आकर्षण हुन् । पुर्खाको लास गाडिएका २१३ चिहानमा भेटिएका ढुंगा बटुलेर अमेरिकी आर्किटेक्टले बनाएको सामूहिक चिहानलाई आत्मा बस्ने घर भनिन्छ । हिलस्टेसन भेडेटार नजिकै पर्छ नाम्जे । गाउँका एक दर्जन घरमा होम स्टे सुविधा छ । त्यहाँ अर्गानिक परिकार पाइन्छ । त्यसबाहेक साँझमा उनीहरू हुर्रा नाच नाच्छन् ।

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि, बसमा १२ घण्टा । धरान–नाम्जे २१ किमि । धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ ।
सम्पर्क : अनिलकुमार राना–९८४२५६३१९९

९. डल्ला
बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज । बाघ, गैंडा र गोहीका लागि संसारमै ख्याति कमाएको छ बर्दियाले । निकुञ्ज क्षेत्रमा जंगल सफारी, गोही प्रजनन् केन्द्र भ्रमण, थारू संग्रहालय अवलोकन र ठाकुरबाबा मन्दिर दर्शन गर्न सकिन्छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मधुवन नगरपालिका–१ मा पर्ने डल्ला गाउँमा थारू र कुमालका दुई दर्जन घरमा होम स्टे सुविधा छ । होम स्टे थारू परिकार र संस्कृतिको संगम हो । गाउँले साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाउँछन् । त्यसमा झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य हुन्छ ।

कसरी पुग्ने : काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घण्टा । पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा । ठाकुरद्वारा–डल्ला ५ किमि । नेपालगञ्ज–ठाकुरद्वारा ९० किलोमिटर ।
सम्पर्क –परशुराम चौधरी–९८४४८२३३०८

१०. चित्लाङ
उत्तर दक्षिण फैलेको चित्लाङ उपत्यका काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर) मुन्तिर छ । गाउँमा नेवार, तामाङ, क्षत्री, बाहुन र बलामीको लगायतको बसोबास छ । त्यहाँ अशोक चैत्य, तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फार्म, स्वच्छन्द भैरवलगायत सम्पदा छन् ।
चित्लाङमा होटल तथा रिसोर्ट खुलिरहेका छन् । गाउँमा नेपाल पर्यटन वर्ष २०११ देखि ६ घरमा होम स्टे गराउन थालिएको थियो । अचेल निजी होम स्टे पनि खुलेका छन् । नेवार, ठकुरी र क्षत्रीका घरमा पाहुना राखिन्छ ।      

कसरी पुग्ने : काठमाडौंको थानकोट पार्क पछाडि गोदामबाट जीपमा वा चन्द्रागिरि केबलकार चढेर टाकुरामा पुगेपछि ओरालो झर्नु पर्छ । गोदाम–चित्लाङ १३ किमि ।
सम्पर्क : राधाकृष्ण बस्नेत–९८०४३९१८८२  

११. टुटेपानी
भानु नगरपालिका–१३ तनहुँमा पर्ने टुटेपानी (१,२७५ मिटर) प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणीधाम मानिन्छ । गुरुङ बस्तीको शिरमा मिर्लुङकोट (१,६४५ मिटर) छ । गाउँबाट अन्नपूर्ण, हिमचुली, माछापुच्छे«देखि लमजुङ हिमालसम्म देखिन्छ ।
गाउँमा सिद्ध गुफा, ठूलो ढुंगा, सुनसरी भ्यू पोइन्ट आदि सम्पदा छन् । टुटेपानीबाट चालीस मिनेट पदयात्रामा पुलिमराङ गाउँ पुग्न सकिन्छ । त्यहाँ शहीद स्मारक छ जहाँ विसं २००७ देखि विभिन्न कालखण्डमा शहीद भएका योद्धाहरूको प्रतिमा छ ।
गाउँका ३० गुरुङ घरमध्ये १६ घरमा होम स्टे सुविधा छ । होम स्टेको स्वागत र बिदाइले भावुक बनाउँछ । त्यहाँ मिठो खाना खुवाइन्छ ।  
कसरी पुग्ने : काठमाडौं–दमौली १४७ किमि, बसमा ५ घण्टा । दमौली–टुटेपानी २४ किमि ।
सम्पर्क : अमर गुरुङ–९८४६२९६३८२  

१२. जमुवा
सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिका–६ जमुवा विशुद्ध थारू बस्ती हो । त्यहाँ बसेर नजिकैको कोसीटप्पु भ्रमण गर्न सकिन्छ । कोसीटप्पुको आकर्षण जंगली भैंसी अर्ना, चरा, कोसी नदी र जंगल हुन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल १७५ वर्ग किमि छ । त्यहाँ पर्यटकले जीप सफारी, जंगल वाक, हात्ती सफारी र डुंगा सयर गर्न सक्छन् । रामसार सूचीमा सूचीकृत कोसीटप्पुमा ४४१ वटा अर्ना छन् । त्यस्तै ३०० प्रजातिका रैथाने चरा । जाडो याममा साइबेरियादेखिका फिरन्ते चरा आउँछन् ।
जमुवा गाउँका ७ घरमा होम स्टे सुविधा छ । त्यहाँ जीवनशैली र संस्कृति अवलोकन गर्न सकिन्छ ।  
कसरी पुग्ने : काठमाडौं–कोसीटप्पु ५०० किमि अथवा काठमाडौं–विराटनगर हवाई यात्रा ३५ किमि । विराटनगर–कोसीटप्पु ४७ किमि ।   
सम्पर्क : नन्दलाल माझी–९८४१२९३५२०

ग्रामीण पर्यटनका पिता
नेपालको पहिलो पर्यटन गाउँ–सिरुबारी । होम स्टेसहित ग्रामीण पर्यटनको अभ्यास स्याङ्जाको सिरुबारीबाटै भएको हो । भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र अगुवाईमा विसं २०५४ असोजमा सिरुबारीलाई नेपालकै पहिलो पर्यटन गाउँ घोषणा गरिएको थियो ।
गुरुङले विसं २०४८ सालदेखि गाउँमा आवश्यक पूर्वाधार विकासमा जोड दिएर सबै तयारी भैसकेपछि पर्यटन गाउँ घोषणा गराए । उनैले हो नेपालमा सामुदायिक होम स्टेको अवधारणा भिœयाएको । पर्यटकलाई होटलमा होइन, गाउँले घरमा पारिवारिक वातावरणमा बसाउन सकिन्छ भन्ने प्रमाणित गरिदिए उनले ।  

शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार होम स्टेका विशेषता । त्यही कारण होम स्टे लोकप्रिय बन्दै गएका छन् । सिरुबारीलाई पच्छयाउँदै मुलुकभर होम स्टे खुलेका छन् । ग्रामीण जीवनशैली बुझ्न चाहनेहरू त सिरुबारी पुग्छन् नै, होम स्टेको अभ्यास गर्न चाहनेहरू पनि त्यहाँ पुगेर सिक्छन् । यसरी सिरुबारी ग्रामीण पर्यटनको पाठशाला बनिसक्यो ।
सिरुबारीका बासिन्दाको आँखामा आत्मीयता, व्यवहारमा हार्दिकता र इमानदारी पाइन्छ जुन दिगो पर्यटनका लागि अत्यावश्यक तत्व हुन् ।

एउटा अनकण्टार गाउँमा पर्यटनको फूल फुलाएर संसारलाई उदाहरण पस्किए गुरुङले । उनले नेपालमा होम स्टेको अवधारणा भित्र्याएको एक दशकपछि मात्र नेपाल सरकारले पर्यटन ऐन ०६५ मा होम स्टेलाई सम्बोधन गर्‍यो । अनि बल्ल विसं २०६७ सालमा होम स्टेको कार्यविधि ल्यायो तर उसले ग्रामीण पर्यटनका पिता रुद्रमानलाई कहिल्यै सम्झेन । कुनै सम्मान अर्पण गरेन ।  
क्याप्टेनसाप आज यस धर्तीमा छैनन् । उनी ८६ वर्षको उमेरमा १५ फागुन २०७२ का दिन बिदा भए । तर, उनले देखाएको पर्यटनको उज्यालो बाटोमा सयौं गाउँ हिँडिरहेका छन् । हिँडिरहनेछन् ।
पर्यटनको इतिहासमा सुनौला अक्षरले लेखिएको उनको नाउँ कहिल्यै मेटिने छैन ।

घुमन्तेलाई ५ सुझाव
तारानाथ पहारी
पर्यटनविज्ञ
१. गाउँमा जानुभन्दा पहिल्यै होम स्टे सञ्चालकलाई खबर गरेर आउने जानकारी गराउनु पर्छ । र, घाम नडुब्दै गाउँमा पुग्नु पर्छ । होम स्टे व्यवस्थापन समितिले पाहुनालाई घरघरमा बाँडेर राख्छ । समितिको निर्णय पालना गर्नु पर्छ ।
२. राति १० बजेभन्दा पछाडि भान्छामा बस्नु हुँदैन । मेनुमा उल्लेख भएभन्दा बाहेक सेवा सुविधा माग गर्न मिल्दैन । होहल्ला र वादविवाद गर्नु हुँदैन ।  
३. होस्ट फेमिलीलाई खाना बनाउन वा सरसफाइमा सहयोग गरेमा आत्मीयता गाढा बन्छ ।
४. धार्मिकस्थलका नियम पालना गर्नुपर्छ । गाउँलेको जीवनशैली, लवज र संस्कृतिको सम्मान गर्नुपर्छ ।
५. गाउँबाट फर्कँदा स्थानीय उत्पादन हस्तकला, गेडागुडी, तरकारी वा फलफूल कोसेली ल्याउँदा ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ । र, आफूले ल्याएको कोसेली आफन्तलाई हस्तान्तरण गर्दा स्याबासी पाइन्छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App