११ आश्विन २०७७ आइतबार
अन्य

नगरा बजाउने जागिर

झुस्स देखिने फुलेका दाह्रीजुंगा, दौरा–सुरुवाल, इस्टकोट/कोट र टोपी– सधैँ एकनासको हुलिया हुन्छ ७५ वर्षीय भुन्टे दमाईको। ६० वर्षयता उनको काम पनि उस्तै एकनासको छ– बिहान उठ्यो,नित्यकर्म र चोखीनिती ग-यो, घरनजिकै गोरखा दरबारछेउको गोरखनाथ मन्दिर पुग्यो, अनित्यहाँ पूजा सुरु हुनुअघि नगरा (दमाहा) बजायो। बिहानको पूजाअघि मात्रै होइन, बेलुकी पूजा सकिने बेला आरती हुँदा पनि उनी पुग्नैपर्छ,नत्र गोरखनाथका पुजारीले पूजा सुरु र अन्त्य गर्न मिल्दैन।

भुन्टेले १४ वर्षको उमेरदेखि यहाँ नगरा बजाउने जागिर खाएका हुन्, जतिबेला उनको मासिक तलब १३ रुपैयाँ थियो, जुनअवकाश पाउँदा(२०५८ साल)सम्मबढेर चार हजार एक सय रुपैयाँ पुग्यो। उनले जागिर सुरु गर्दा एकपटक बाजा बजाउने मान्छे थोरै भए, त्यसैले उनले आफ्नो तलबबाट ५ रुपैयाँ दिएर अर्को एकजनालाई जागिरदिए। राजा वीरेन्द्र गोरखा दरबारपुगेका बेला उनले भने, ‘सरकार, मेरै तलबबाट पाँच रुपैयाँ दिएर एकजना राखेको छु।’ त्यतिबेलै वीरेन्द्रको हुकुमबाट उनले पूरै तलब पाउन थाले।

गोरखनाथ मन्दिरमा उनीसँगै अन्य चारजनालेबाजा बजाउँथे। उमेरहदका कारण सबैको जागिर सकियो, दरबारमा बजाउने कोही भएनन्। दरबारको परम्परा नै टुट्ने भएपछि गोरखा दरबार हेरचाह अड्डाले भुन्टेलाई अहिले मासिक ६ हजार रुपैयाँ दिएरबाजा बजाउन राखेको हो।पहिले गोरखकाली मन्दिरतर्फ १९ र गोरखनाथमा५गरी २४ वाद्यवादक कर्मचारी थिए। तर, अहिले गोरखकालीतर्फ स्थायी दरबन्दीमा रामकृष्ण परियार मात्रै छन्।रामकृष्णबाहेक सबैलेअवकाश पाइसके। वर्षौंदेखि बाजा बजाउने दरबन्दीमा नियुक्ति खुलेको छैन। पहिले बडादशैँ, चैतेदशैँ जस्ता पर्वमा बाजागाजाले दरबार क्षेत्रमा रौनकता छाउँथ्यो। ‘अहिले त्यो रमाइलो छैन,’भुन्टे भन्छन्, ‘अहिले त बजाउन जान्ने मानिस भेट्न पनि मुस्किल छ।’ उनले आफ्नो छोरालाई नगरा बजाउन सिकाएका छन् तर दरबन्दी नखुल्दा काम लगाउन सकेका छैनन्।

दरबारमा  काहाल, कर्नाल, धोपजस्ता बाजा छन्। भगवान्लाई ती बाजाको धुन सुनाएपछि कर्मसिद्धीहुने विश्वास गरिन्छ। यी बाजा बजे मात्रै पूजाको विधि पुग्ने मान्यता छ। बाजाबाटै थरीथरीको धुन निस्कन्थ्यो। पुराना मान्छेसँग बाजा बजाउने बेग्लै कला थियो। उनीहरूले त्यो कला आफ्ना सन्ततिलाई सिकाउन सकेनन्। कारण बाबुबाजेले गर्दै आएको जागिर छोरानातिले पाउँछन् भन्ने विश्वास अहिले टुटिसकेको छ। पहिले दरबार र मन्दिरमा बाजा बजाउनेको पद रिक्त भएमा वा काम गरिरहेकाले कारणवश नसक्ने भएमा छोरा वा नजिकको आफन्तलाई काम सिकाएर सिधै नियुक्त गरिन्थ्यो। भुन्टेका बाबु नरे दमाई गोरखा दरबारमै काम गर्थे। उनको शेषपछि भुन्टे जागिरे भए। अहिले पहिले जस्तो सीधै स्थायी नियुक्ति गर्न लोक सेवा आयोगले प्रतिबन्ध गरेको छ। अहिले यहाँ बाजा बजाउने मात्रै होइन, पुजारी पनि करारमा छन्। ‘पहिले घर, थर र परम्परा अनुसार रिक्त पदमा पुजारी, बाजा बजाउनेहरू, बली काट्नेहरू नियुक्त हुन्थे,’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसाल भन्छन्, ‘अहिले त्यसो गर्न मिल्दैन।’

एक सय ५० भन्दाबढी कर्मचारी रहेको गोरखा दरबारमा अहिले २६ जना कार्यरत छन्। केही अत्यावश्यक पूजा रोकिने पदकालागि करारमा लिइएको छ। दरबार हेरचाह अड्डाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई दरबार अवलोकनमा आउँदा कर्मचारी घट्दै गएकाले छुट्टै नियम बनाउन अनुरोध गरेको थियो। तर, अहिलेसम्म बनेको छैन। अड्डा प्रमुख भुसाल भन्छन्, ‘पढेको, लोकसेवा पास गरेरआएको व्यक्ति बाजा बजाउने र गोरखकाली मन्दिर, गोरखनाथ गुफामा पूजा गर्ने विधिमा पोख्त नहुन सक्छ। परम्परादेखि बाजे–बाबु, छोरा–नाति हुँदै सन्ततिमा सर्दै आएको धार्मिक मान्यतालाई प्राथमिकता दिँदा इतिहासको संरक्षण हुने थियो।

सानै उमेरमा जागिरे भुन्टेको संगत गोरखा दरबारका पूजारीसँग बाक्लै हुन्थ्यो। रविदत्त नाम गरेका ब्राह्मणपूजारी भएका बेलाउनले बाजासँगै पूजापाठ पनि सिके। उनी दमाई परिवारका पूजारी समेत हुन्। उनी भन्छन्, ‘२०१७ सालदेखि मैले कर्मकाण्डको काम पनि गर्दै आएको छु।’ अहिले पनि उनी गोरखा दरबार आसपासका गाउँमा आफ्नो समुदायमा पण्डितका रूपमा चिनिन्छन्। पूजापाठ गर्नुप-यो भने नगर्ची पण्डितलाई सम्पर्क गर्नुस् भन्दै उनले रेडियोमार्फत आफ्नो विज्ञापन समेत गरेका छन्। गोरखनाथपट्टिको बाजा बजाउने उनी मुख्य हुन्। हरेक वर्ष बडादशैँमा नगरा बाजाका लागि छुट्टै बलि दिइन्छ। नेपाल सरकारले गोरखकालीमा बज्ने बाजाका लागि पनि बलि दिने प्रचलनलाई निरन्तता दिएको छ। बाजागाजा नबिग्रियोस् भनेर छुट्टै पूजा गर्ने प्रचलन छ। तर, नियमित बजाउने मान्छे नहुँदा नगरा घरका बाजामा खिया लागेको छ। बाजा बजाउनेहरू घट्दै गएका बेला नयाँ नियुक्त नहुँदा परम्परा नै लोप हुने चिन्ता उनलाई छ।

भूकम्पले भत्केको नगरा बजाउने घरपनि अझै बनेको छैन। त्यहीँ बसेर उनी नगरा बजाउँछन्। चार वर्ष बित्दासम्म भूकम्पमा ध्वस्त गोरखा दरबारको पुनर्निर्माणले गति लिन सकेको छैन। भुन्टे गुनासो गर्छन्, ‘नगरा बजाउँदा बस्ने पाटी त कहिले बन्ने हो !

प्रकाशित: २५ माघ २०७६ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App