योनी फ्रिडोफ
अहिलेका टेलिभिजन कार्यक्रम, लोकप्रिय पोडकास्ट र डाइटसम्बन्धी लेखिएका न्युयोर्क टाइम्स बेस्टसेलर सूचीका किताबहरु सबैसबै हेर्न थाल्नुभयो भने स्वस्थ रहनु कति क्लिष्ट कुरा हो भन्ने भान पर्छ । ती सबैले सिकाउँछन्– हामीले स्वस्थ रहनका लागि नवीनतम सुपरफुड खानुपर्छ, उत्तम सप्लिमेन्ट औषधि किन्नुपर्छ अथवा चल्तीमा रहेका फिटनेस गुरुहरुलाई पछ्याउनुपर्छ । यी सिद्धान्त यतिबेला निकै लोकप्रिय छन् । झन् नयाँ वर्षको अवसरमा केही न केही संकल्प प्रस्ताव पास गर्नेहरुमाझ त जरुरी नै जस्तो देखिएको छ ।
१६ वर्षे लामो फेमिली मेडिसिन अभ्यास गरेपछि पोषण र मोटोपनमा ध्यान केन्द्रित गर्दैरहँदाका यत्तिका वर्षको अनुभवले मैले चाहिँ राम्रो स्वास्थ्यको कुँजी कुनै क्लिष्ट सिद्धान्त वा भारीभरकम कुरा होइनन् बरु एकदमै सरल रहेछ भन्ने महसुस गरेँ । खासमा भन्ने हो भने, स्वास्थ्यका बारेमा सर्वोत्तम सुझावलाई जम्माजम्मी ४५ शब्दमा नै उमाल्न सकिन्छ ।उसो भए ती ४५ शब्दहरु के–के हुन् त ? तिनलाई कुनै खास क्रमाङ्कमा नमिलाई मैले यसरी सूचीकृत गरेँ ।
धूमपान नगर्नुस् (२), भ्याक्सिन लगाउनुस् (४), अत्ति तारिएका खान्कीलाई उपेक्षा (८), सक्नुहुन्छ भने उमालिएका खान्कीमा जोड (१३), रेस्टुराँका खान्कीलाई घटाउँदै सबै किसिमका पोषक खान्कीमा जोड (२१), अल्ट्रा प्रोसेस गरिएका घटाउने (२५), नयाँ सम्बन्धहरु जोड्नुस् (२८), निद्रा बढाउनुस् (३०), मद्यपान (जाँडरक्सी) पर्याप्त घटाउनुस् (३३), तपाईंले मज्जा मानुञ्जेल शारीरिक कसरतमा जोड (३९), तपाईंलाई रुच्दो क्यालोरीयुक्त पेय मात्र लिनुस् (४५) ।
अब यसबारे केही व्याख्या गरौँ क्यार ! धूमपान संसारभरि नै सबैभन्दा बढी मृत्यु बेहोर्ने कारक हो । यसले वार्षिक रुपमा अमेरिकामा मात्रै ४ लाख ८० हजार मानिसको ज्यान लिन्छ । जबकि यस्तो मृत्यु रोक्न सकिन्छ । तपाईं धूमपान गर्नु हुन्न भने शुरु नगरेकै राम्रो । अब चुरौटे नै हुनुहुन्छ भने यसलाई कसरी छाड्ने भन्नेबारे इन्टरनेटमा यत्रतत्र सूचना पाइन्छ है !
कतिपय रोग त भ्याक्सिन हानेर नै ठीक हुन्छन् र ती कतिपय अवस्थामा निर्मूल नै हुन्छन् । तर भ्याक्सिन नलगाउँदा तिनले पछिल्लो समय महामारीकै रुप लेलान् कि जस्तो अवस्थामा हामी आइपुगेका छौँ । उदाहरणका रुपमा सन् २०१८ मा संसारभर दादुराका कारणले एक लाख ४० हजारभन्दा बढीको मृत्यु भयो र त्यसमध्ये पाँच वर्ष मुनिका बालबालिकाको संख्या बढी थियो ।
अथवा, इन्फ्लुएन्जाकै कुरा गरौँ न । संसारभर तीनदेखि साढे ६ लाख व्यक्ति हरेक वर्ष यसैका कारण मृत्यु बेहोर्न बाध्य भए । हरेक वर्ष बालबालिकाले पूर्ण खोप र एचपिभीको खोप लिने वातावरण भएको भए, तिनको ज्यान जोगिने थियो । त्यति मात्र होइन, चिकित्सक र भ्याक्सिन दिने स्वास्थ्यकर्मीले नवीनतम खोपका बारेमा जानकारी हासिल गरेर बालबालिकालाई बालापनमा नै खोप दिन सकेको खण्डमा निमोनिया र दादलाई पहिल्यै साँध लगाउन सकिन्थ्यो ।
कृत्रिम तवरले बनाइएका ट्रान्स फ्याटले तपाईंको मुटुको जोखिम बढाइरहेका छन् । हुन त त्यस्ता ट्रान्स फ्याटका बारेमा उत्पादकहरु कानुनी रुपमा मान्यता पाएका कारण उत्पादन गरिएको दाबी गरिरहेका हुन्छन् । ०.५ ग्रामभन्दा बढी मात्राको ट्रान्स फ्याटका खाद्यसामग्री देख्नेबित्तिकै तपाईंले तिनलाई नउठाएकै राम्रो । भलै तिनले ‘आंशिक रुपमा हाइड्रोजनीकृत’ भनेर उल्लेख गरेका किन नहोऊन् !
यसको अर्थ तपाईंको डाइटमा फ्याटको मात्रालाई पूर्ण निषेध गर्नु भने होइन । मौका पाउनेबित्तिकै अनस्याचुरेटेड फ्याट (जस्तो ओलाइभ आयल, एभोकाडो, बदाम, दलहन तथा माछा)जस्ता खाद्यतर्फ लम्किनुहोस् ।
पौष्टिक महामारीविज्ञानले हामीलाई ‘बेस्ट’ डाइट के हो भनेर ठ्याक्कै बताउन सक्तैन र खासगरी म्यागेजिन पढेर त यसबारे ज्ञान पाउनै सकिँदैन । बरु घरेलु पाककलाले वृहद् स्तरमा खान्कीको बान्की पस्कन्छ । हाम्रो शारीरिक तौललाई कम हानिकारक खान्कीहरु फलफूल र तरकारीहरु बढीजसो घरेलु भान्सामै पाक्छन् । उता रेस्टुराँका खान्कीमा भने बढीभन्दा बढी क्यालोरीयुक्त खाना र नूनको मात्रा बढी हुन्छ । त्यसमाथि झन् परिवारका साथ रेस्टुराँ गइयो भने मासुको परिकार थपिन्छ र थपिने अनेकन् अस्वस्थकर खान्की पनि पर्न थाल्छन् ।
तर यही कुरा घरमा पकाइयो भने ती बढ्ता स्वस्थकर मात्र होइन, रेस्टुराँमा गरिने खर्चमा पनि व्यापक कटौती हुन्छ र केही रकम त तपाईंले वचत नै गर्न सक्नुहुन्छ । त्यति मात्र होइन, तपाईंले यो पाककला आफ्ना हुर्किरहेका सन्तानलाई सिकाउनुभयो भने तिनीहरु जागिरका लागि निस्कदा निकै काम लाग्छ ।
अत्यधिक प्रोसेस गरिएका खान्कीले संसारभरि नै मोटोपन बढाउन भूमिका खेलिरहेको छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका लागि केभिन हलले हालै अमेरिकामा गरेको अध्ययनले हिजोआज मानिसहरु आफूलाई चाहिनेभन्दा बढी नै अत्यधिक प्रोसेस खाना खाइरहेका छन् । चाहे त्यो रमाइलोका लागि होस् या बाध्यताका नाउँमा ।
त्यसैले बाँच्नका लागि खाने कि खानका लागि बाँच्ने भन्ने गम्भीर प्रश्न उब्जिन थालेको छ ।
पछिल्लो समय हामीमा सामाजिकीकरण, भेटघाटजस्ता कुराबाट टाढिँदै जाँदैछौँ । यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर गरिरहेको छ । सन् २०१० मा अमेरिकामा नै तीन लाख मानिसहरुमाझ गरिएको सर्भेमा शारीरिक गतिविधिको अभावले मानिसलाई एक्लोपनातर्फ धकेल्ने र त्यसले मोटोपन अत्यधिक बढाउने देखाएको थियो । त्यस्ता मानिस बढ्ता धूमपान र मद्यपानमा रमाइरहेको पनि देखिएको थियो ।
यसलाई ठीक ठाउँमा ल्याउने कुनै सूत्र छैन । सक्रिय कसरी हुने भनेर सिकाउने कुनै मेलो पनि छैन । कसैलाई पुराना साथीभाइ खोजीखोजी भेटौँ लाग्छ, कोही नयाँ साथी बनाउन मात्र इच्छुक हुन्छन् । कहिलेकाहीँ भोलुन्टरी काम वा कुनै खेलकुदका गतिविधिमा सहभागिता भएर पनि एक्लोपना हटाउन सकिन्छ । तर अनलाइनका साथीले भने तपाईंको यो महान् कार्यमा सघाउ पुर्याउन सक्दैनन् ।
कसैको मरीमराउ परेको, चिनी रोग लागेको, उच्च रक्तचाप भएको, मुटुको रोगी र मोटोपनका रोगीलाई सुत्नमा ठूलो समस्या हुन्छ । अमेरिकामा मात्र यस्ता ५० लाख रोगी छन् । सुत्नका लागि अँध्यारो, शितल र शान्त कोठा चाहिन्छ । सुत्नका लागि तपाईं सधैँ उही समयमा ओछ्यानमा जानु पर्छ । कफी र चियाको मात्रा कम गर्नुपर्छ । यसो गर्दा निद्राको मात्रा बढ्न थाल्छ । हिजोआज त कतिसम्म हुन थालेको छ भने तपाईंको निद्रा कसरी बढाउने भन्नेबारे अनलाइन क्विज पनि खेल्न सक्नुहुन्छ । त्यसमा तीन वा त्योभन्दा बढी स्कोर गर्नुभयो भने कसरी मज्जाले सुत्न सकिन्छ भन्ने सूत्र पनि पाउन सक्नुहुन्छ ।
मद्यपानका कारण बर्सेनि अमेरिकामा मात्र प्रत्यक्ष रुपमा ९० हजारको मृत्यु हुने गर्छ । यसले निम्त्याउने घाउ, हिंसा, मुटुको रोग, कलेजोको रोग र क्यान्सरको कुरा गरिसाध्य छैन । तर मद्यपान लिइरहनु भएको छ भने महिलाको हकमा एक सानो पेग र पुरुषहरुको हकमा दुई सानो पेग प्रतिदिन गर्दै घटाउँदै लैजानु उपयुक्त हुन्छ । त्योभन्दा बढ्दै जान थाल्यो भने यसलाई नियन्त्रण गर्न गाह्रो छ । यस्तोमा चिकित्सकको सल्लाह र सहयोग अति आवश्यक हुन्छ । लामो आयुका लागि शारीरिक अभ्यास निकै महत्वपूर्ण हुन्छ । यसले त कतिपय रोग निरोधको कार्य पनि गर्छ ।
कतिपय क्रोनिक नसर्ने रोगको त यस्ता अभ्यास निकै लाभदायी पनि हुन्छन् । बरु दैनिक बढीभन्दा बढी शारीरिक अभ्यास गर्नेभन्दा पनि आफूलाई हल्का लाग्ने र सक्ने जत्तिको अभ्यास मात्र गर्नुपर्छ । मैले मेरा साथीहरुलाई सल्लाह दिँदै भन्ने गरेकी छुः थोरै शारीरिक अभ्यास राम्रो, बढी अभ्यास अझ राम्रो । सबै कुरा उत्तिकै महत्वका हुन्छन् तर सबैभन्दा महत्वपूर्ण चाहिँ नियमितता हो । धेरै शारीरिक अभ्यास कम समयका लागि गर्नुभन्दा थोरैथोरै अभ्यास लामो समयसम्म गर्नु निकै राम्रो हुन्छ ।
तपाईंले क्यालोरीका लागि पेयमा भर पर्नु उचित हुँदैन । त्यसका लागि अन्न नै लिनुपर्ने हुन्छ । पेय नै लिँदा पनि तपाईंको चित्त प्रफुल्ल हुनुपर्छ । प्रफुल्ल चित्तले लिएको पेय या अन्नले ठूलो काम गर्छ ।
त्यसैले मैले माथि भनेका ४५ शब्दमा ध्यान दिनुस् । यसले तपाईंको जीवनशैलीलाई साँच्चिकै परिवर्तन गर्न मद्दत गर्नेछ । जब तपाईं यसमा अभ्यस्त हुन थाल्नुहुन्छ, तपाईंले ती शब्द पनि स्मरण गर्नुपर्ने बाध्यता रहनेछैन ।
योनी फ्रिडोफ ओटावा विश्वविद्यालयमा फ्यामिली मेडिसिनकी एसोसिएट प्रोफेसर हुन् । उनी वेटीम्याटर्स ब्लग पनि चलाउँछिन् । उनले ‘द डाइट फिक्सः ह्वाई डाइट्स फेल एन्ड हाउ टु मेक योर्स वर्क’ पुस्तकसमेत लेखेकी छन् ।
प्रकाशित: १९ माघ २०७६ ०७:०७ आइतबार





